Home - समाचार - कुवेतमा आममाफी – २०२० बाट ३०४२ जना नेपाली लाभान्वित

कुवेतमा आममाफी – २०२० बाट ३०४२ जना नेपाली लाभान्वित

हरी कृष्ण न्यौपाने – कुवेत

कुवेत सरकारले बिभिन्न कारणबस कुवेतमा अबैधानिक(अनडकुमेन्टेड)हुन पुगेका आप्रबासी कामदारहरुलाई आममाफी(एम्नेस्टी)को सुबिधा प्रदान गर्‍यो। कोरोना महामारीको बिच एप्रिल १ देखी एप्रिल ३०,२०२० सम्म एक महिनाको अबधी भरीमा नाम दर्ता गरेर जान सक्ने गरी खुलाईएको आममाफीको सदुपयोग गर्नेले कुनै सजाँय र जरिवाना नतिरी जान सक्ने प्राबधान राखिएको थियो।यती मात्र होइन,उनिहरुलाई कुवेत सरकारले सम्बन्धित मुलुकहरुमा निशुल्क हवाई उडान मार्फत पुर्याइदिएको थियो भने उनिहरु पुन:कुवेत आउन चाहेमा आउन सक्ने छन।

आममाफी-२०२० कुवेतमा सहभागी हुन नाम दर्ताको लागि एप्रिल १-५ फिलिपिनो, एप्रिल ६-१० इजिप्सियन, एप्रिल ११-१५ बंगालादेशी, एप्रिल १६-२० भारतीय, एप्रिल २१-२५ श्रिलंकन र एप्रिल २६-३० नेपाली लगाएत अन्य मुलुकका नागरिकहरुलाई छुट्ट्याइएको थियो। पुरुषहरुले जिलिब अल-सुएख, नयिम बिन मसुद स्कूल र महिलाहरुले जिलिब अल- सुएख, रूफाइदा अल – अस्लामिया प्राइमरी स्कूलमा नाम दर्ता गर्ने ब्यबस्था मिलाइएको थियो।नाम दर्ता गर्न जाँदानै सामान/लगेज २० के.जी र ह्याण्डक्यारी ७ के.जी नबढ्ने गरी लानु पर्ने र नाम दर्ता पछी उनिहरुलाई कुवेत सरकारले ब्यबस्था गरेको आश्रय स्थल(सेल्टर)मा लाने ब्यबस्था गरिएको थियो।
आममाफी-२०२० मार्फत नेपालीहरु कती र कसरी फर्किए ?

एप्रिल १ देखी ३० सम्मको एक महिना अबधिमा करिब २८ हजार आप्राबासीहरुले आममाफीको सदुपयोग गरेको कुवेतबाट प्रकाशित समाचारहरुमा जनाईएको छ।त्यसै गरी ३०४२ जना नेपाली दाजुभाइ-दिदिबहिनीहरुले आममाफीको सदुपयोग गरेका छन। जसमा १६ जना बच्चा समेत रहेका छन।उनिहरुलाई नेपाल फर्काउन जुन ११ तारिक,२०२०का दिन देखी जजिरा एयर्लाइन्सले उडान शुरु गरेको थियो।उनिहरुलाई जुलाई पहिलो हप्ता सम्मको २० वटा उडानबाट नेपाल फर्काइएको हो।  

कोरोना प्रकोपका कारण कुवेतमा आममाफीको समयमा अंशिक र पूर्ण लकडाउन पनि भएकोले निकै समस्याका साथ नेपालीहरुले आममाफीको सदुपयोग गरे।राहदानी साथमा नभएकाहरुको आस्थाइ यात्रा अनुमती पत्र(ट्राभल डकुमेन्ट)का लागि नेपाली राजादूताबास जाब्रियामा ठुलो भिड थियो। सक्कली र समयाबधी बाँकी भएको राहदानी साथमै भएकाहरु सिधै आममाफीका लागि नामदर्ता केन्द्रमा जान पाउने बनाईएको थियो। पूर्ण लकडाउन भएको महाबुल्ला र जिलिबमा भने नेपाली राजदूताबासका प्रतिनिधि र नेपाली संघ-संस्थाका प्रतिनिधि स्वयंसेवकहरुले उक्त स्थानमै गई ट्राभल डकुमेन्ट बनाउन सहयोग गरेका थिए।त्यसै गरी बिभिन्न ब्यक्तित्व र संघ-संस्थाका प्रतिनिधिहरुले बिभिन्न ठाउँमा स्वयंसेवकको भूमिका निभएका थिए भने दुताबास तथा आममाफीको लागि नाम दर्ता केन्द्र सम्म निशुल्क यातायातको ब्यबस्था गरिएको थियो। 

त्यसो त कुवेत सरकारले निशुल्क नेपाल सम्म हवाई सुबिधा र नेपाल जानु पूर्ब कोरोनाको र्यापिड टेस्ट गर्ने ब्यबस्था गरे पनि नेपाल सरकारले उडान अनुमती समयमै नदिएको कारण आममाफीको सुबिधा लिएका नेपालीहरुलाई आश्रय स्थलमै लामो समय राखिएको थियो।उनिहरु मध्ये केहीले नेपाल सरकारको बिरोध स्वरुप छिट्टै घर फर्काउ सरकार भनेर नाराबाजी समेत गरेका थिए। धेरैले आश्रय स्थलको भिडीयोनै बनाएर वा बिभिन्न माध्यमबाट लाइभ आएर नेपाल सरकारलाई छिट्टै घर फर्काउन दबाब दिएका थिए। 

करिब १ लाख ५० हजार आप्रबासीहरु अबैधानिक रहेको कुवेत सरकारको अनुमान रहेकोमा जम्मा करिब २८ हजारले मात्र एक महिना भित्र आममाफि सुबिधाका लिएका थिए।त्यसै गरी करिब १० हजार नेपाली कामदारहरु कुवेतमा अबैधानिक बसेको अनुमान गरिए पनि एप्रिल २६-३० सम्म  ५ दिनको समयाबधीमा ३०४२ जना नेपालीहरुले सुबिधा लिएका थिए। त्यसो त राजादूताबासबाट ट्राभल डकुमेन्ट लिएका करिब १२० जना नेपालीहरुले आममाफी केन्द्रमा भएको घुईचो वा स्वईक्ष्याले यो पटक फर्किएन। त्यस मध्ये केहीको मुद्दा(ट्राभल ब्यान्ड -यात्रा निषेध) र धेरैको मोबाइल तथा इन्टरनेटका बिलहरु र बैकको पैसा तिर्न बाँकी रहेको समेत पाइएको छ।

(माथी उल्लेखित सामाग्रीहरु नेपाली राजदूताबास कुवेत तथा कुवेतबाट प्रकाशित अरब टाइम्सबाटबाट साभार गरिएको हो।)