Home - समाचार - कुवेतमा नेपालीहरुको अवस्था र साथीको रुपमा श्रमिक सन्जाल

कुवेतमा नेपालीहरुको अवस्था र साथीको रुपमा श्रमिक सन्जाल

हरी कृष्ण न्यौपाने – कुवेत

धेरै नेपालीहरुको श्रम गन्तव्य मुलुकहरु मध्येमा रहेको कुवेतमा करिब ८५ हजार नेपालीहरु कार्यरत छन। नेपाल र कुवेत बिच द्विपक्षिय सम्बन्ध सन १९७२ मा भएको हो।बिशेष गरी निर्माण कार्य, सुरक्षाकर्मी, होटल-रेस्टुरेन्ट, सरसफाइ(क्लिनिङ), ब्यूटी पार्लर, सेल्स, सबारी चालक तथा घरेलु कामदारको रुपमा नेपालीहरु कुवेतमा कार्यरत छन।

कुवेत सरकारले पछील्लो समय कुवेतमा काम गर्न आउने नेपाली कामदाहरुलाई बस्ने सुबिधा सहित न्यूनतम पारिश्रमिक ७५ केडी (नेरु.करिब २८,५००) – घर भित्र काम गर्नेलाई र ८५ केडी (नेरु.करिब ३२,३०० ) घर बाहिर काम गर्नेलाई तोकेको छ।यो न्यूनतम पारिश्रमिक अदक्ष (सामान्य कामदारहरु) का लागि मात्र हो भने उनिहरुले खानाको लागि थप मासिक २० केडी(नेरु.करीब ७,६००)पाउने छन। त्यसै गरी धेरै नेपालीहरु कुवेतमा अर्धदक्ष वा दक्ष कामदारका रुपमा पनि काम गरिरहेका छन। उनिहरुको पारिश्रमिक बढीमा ५५० केडी (नेरु.करिब २,०९,०००) र खाना बापत २० केडी (नेरु.करीब ७,६००) रहेको छ। तर पनि नेपालबाट गन्तब्य मुलुक आउनु पूर्व एउटा र उक्त मुलुक पुगे पछी अर्को सम्झौता पत्रमा हस्ताक्षर गराउने घटनाक्रम (दोहोरो श्रम सम्झौता) बढीरहेकोले धेरै श्रमिकहरु समस्यामा पर्ने गरेका छन। दोहोरो श्रम सम्झौताको कारण नेपालमा तोकिएको सेवा सुबिधा गन्तब्य मुलुकमा नपाए पछी सम्बन्धित श्रमिकहरु धेरै पैसा कमाउने सपना देखेर आफ्नो स्पोन्सर छोडेर भाग्ने समेत गरेका छन। त्यसै गरी कतिपय अवस्थामा सम्झौतामा भने अनुसारको काम पनि नदिने गरिएको छ।जसले गर्दा श्रमिकहरु झनै समस्यामा पर्ने गरेका छन।

नेपाल सरकारले मध्यपूर्ब र मलेशियामा बढीमा १० हजार नेपाली रुपैया मात्र सेवा शुल्क लिएर कामदार पठाउने सरकारी निती लिएको छ। “फ्री भिसा-फ्री टिकट” अन्ततर्गत श्रमिकले बढीमा १० हजार मात्र तिर्नु पर्ने भनिए पनि कुवेत आउने कामदारहरुले ७०० केडी (करिब दुई लाख सत्तरी हजार नेरु) सम्म तिरेको पाइएको छ। तर बिडम्बना सम्बन्धित श्रमिकले पठाउने मेन पावर एजेन्सीबाट १० हजार तिरेको रसिद मात्र पाउछन। बाँकी नगद कारोबार टेबुल मुनी (अन्डर टेबल) बाट हुने गरेको छ।फलस्वरुप गन्तब्य मुलुकमा पुगे पछी श्रमिकहरुमा समस्या परेर फर्किन परे उसले प्रमाणको आधारमा बढीमा त्यही १० हजार मात्र क्षतिपूर्ती पाउने गरेका छन जसले गर्दा पीडित श्रमिकहरु झन पीडित बन्ने गरेका छन।

कुवेत बिषेश गरी घरेलु महिला कामदारहरुको लागि आकर्षक गन्तब्य बनेको छ।”काम सानो हुँदैन र सबैले आफ्नो योग्यता अनुसारको काम गर्न पाउनु पर्छ” भन्ने विश्वका श्रमिकहरुको अधिकार हो।तर पनि घरेलु महिला कामदारहरुको समस्या कुवेतमा धेरै बढे पछी सन २०१७ मार्चबाटनै नेपाल सरकारले बैधानिक रुपमा श्रम स्विक्रिती लिएर घरेलु कामदार भिसा बन्द गरेको छ। यती हुँदा-हुँदै पनि खुल्ला सिमाना र एजेन्टहरुको सेटिङ (अबैधानिक बाटोबाट पठाउने बिभिन्न तरिका) को कारण अबैधानिक बाटो समाएर भारत वा अन्य कुनै मार्गबाट कुवेतमा घरेलु महिला कामदारहरु दैनिक आउने गरेका छन।जसले गर्दा नेपाल सरकार संग कुनै अभिलेख नहुने, उनिहरुलाई समस्या परेमा झनै कानुनी समस्या हुने लगाएतका घट्ना क्रमहरु बढेका छन। त्यती मात्र होइन कुवेती नागरिक र साउदी अरबका नागरिकहरु बिच बैबाहिक र घनिष्ट पारिवारिक सम्बन्ध रहेका कारण कुवेतको भिसा भएका केही घरेलु कामदारहरुलाई मोटरबाटो साउदी अरब पुर्याइन्छ। यदी उक्त कामदार बिरामी परेमा, उनिहरुको मृत्‍यु भएमा वा ६ महिना भन्दा बढी समय साउदी बसेमा कुवेतको भिसा रद्द हुने हुँदा यसरी लगिएकाहरु अझै समस्यामा पर्ने गरेका छन। यसरी साउदी अरब लगिने कामदारहरुलाई सिमानामा राहदानीमा साउदी अरब भित्रीएको र बहिरिएको छाप मात्र लगाइने गरिको र साउदी अरबको आबासिय छुट्टै भिसा नहुने हुँदा समस्यामा पर्दा उनिहरु अबैधानिक हुने गरेका हुन।

कम पढेलेखेका र नेपालको पनि दुर्गम ठाउँहरुबाट राहदानी पनि अर्कैको सहयोगमा बनाउदै अरुकै साहारामा कुनै तालिम बिना बिदेशिने महिलाहरुको अवस्था बिदेश आए पछी झन दयनिय बन्ने गरेको छ।सामान्य घरको काम अनी घरमा प्रयोग गरिने आईरन, वासिङ मेशिन, भ्याकुम क्लिनर,ग्यास चुलो समेत चलाऊन नआउदा घरेलु महिला कामदारहरु झन समस्यामा पर्ने गरेका छन। कुवेतमा केही महिलाहरु यस्ता पनि भेटिएका छन,जसले आफ्नो पुरा नाम र नेपालको ठेगाना समेत बताउन सक्दैनन।बिशेषत पढ्न लेख्न नसक्ने र स्थानिय भाषाको सामान्य ज्ञान समेत नहुने हुनाले त्यस्ता महिलाहरु बढी समस्यामा पर्ने गरेका छन। अझ दु:खको कुरा त घरेलु महिला कामदारहरु चौबिसै घण्टा आफ्नो मालिक(स्पोन्सर) को घरमा बस्नु पर्ने र कुनै छुट्टी वा आराम गर्ने समय तालिका नहुने हुँदा मालिकले चाहे अनुसार उनिहरुले काम र सुबिधाहरु पाउनु पर्ने वाध्यात्मक अवस्था रहेको छ। यती सम्मकी घरेलु कामदारहरुको समस्या यहाँको श्रमिकहरुको नियम (लेबर ल) ले समेत समेट्न सकेको छैन।

यस्तै प्रकृतिका समस्याहरु कतार, साउदि अरब, युएइ, बहराइन, ओमान र मलेशियामा पनि धेरै नै छ। यस्तो अवस्थामा उनिहरुको आवाजलाइ के कसरि सामुहिक आवाज बनाएर लान सकिन्छ भन्ने हेतुले सन २०१६ मा काठमाण्डौमा मध्यपुर्व र मलेशिया जस्ता देशहरुमा श्रम गरिरहेका नेपाली श्रमिकहरु भेला भइ श्रमिक सन्जालको स्थापना गरिएको हो।

श्रमिक सन्जालको एउटा हिस्सा कुवेत च्याप्टर पनि हो। श्रमिक सन्जाल कुवेत टिमले २०१६ देखि हाल सम्म यस्ता समस्यामा परेका नेपाली श्रमिकहरुलाई बिभिन्न किसिमले साथ-सहयोग र समस्या समाधानका लागि माध्यम बनिरहेको छ। श्रमिक सन्जालको कुवेत च्याप्टरमा बिभिन्न क्षेत्रमा काम गर्ने करिब ११ जना स्वयंसेवि सदस्यहरु सकृय रुपमा लागि रहेका छन।

श्रमिक सन्जाल कुवेतले हालसम्म गरेका केही कार्यहरु:-
१) एक लाख पचास हजार नेपाली रुपैया सेवा शुल्क तिरेर कुवेत आएका दाङका दन्ड वीर राउत जो कुवेत आएको एक महिनामा बाथरुम सफा गर्ने क्रममा मुर्छा परेका थिए। उनलाई अस्पातल लगिदा मानशिक रोगले सताइ सकेको थियो।राहदानीमा भिसा नलागेका उनलाई श्रमिक सन्जालको सदस्य घर जाँदा एउटै उडानमा संगै लिएर गएको र मेनपावर (एस. आर. के. मेनपावर) लाई उनी कुवेत आउँदाको सबै पैसा फिर्ता गर्न लगाउने देखी नेपालमा परिवार संग संपर्क गरी पुनर्मिलन गराइएको। 

२) कुवेतको अलकुत क्लिनिङ कम्पनीमा एसआरके मेनपावर-सामाखुसीबाट काम गर्न आएका नेपाली श्रमिकहरुलाई भने अनुसारको काम र पारिश्रमिक नदिएको  र बस्न खानको पनि समस्या परे पछी नेपाली राजदूताबास र मेनपावर प्रबन्धक किशोर केसीसंग समन्वय गरेको। कम्पनीमा आएका ९३ जना नेपाली कामदारहरु मध्ये घर फर्किन चाहने ६३ जनालाई टिकट सुबिधा सहित नेपाल पठाइएको र नेपाल पुगे पछी सेवा सुबिधा बापत लिएको पैसा फिर्ता गर्न पहल गरिएको।

३) भिक्टोरिया मेन पावरबाट कुवेतमा अनमी (सहायक नर्स) कामका लागि आएका बिराटनगरकी ममता राउत र ललितपुरकी सोनिका तामाङलाई कुवेतको दाना मेनपावरले भनेको काम र पारिश्रमिक नदिए पछी उनिहरुलाई घर फर्काउन सहयोग गरिएको। आएको ३ महिना हुन लाग्द पनि एक जनाको भिसा नलगाएको र काम पनि घरेलु सप्लाईमा रहेकाले उनिहरुलाई पारिश्रमिक सहित नेपाल फर्काइेको र नेपालबाट पनि सेवा शुल्क फिर्ताको लागि सहयोग गरिएको।

४) ईराकको अर्बिलमा समस्यामा परेकी सिन्धुपाल्चोक बाँसखर्ककी सुनिता बि.क.लाई घर फर्काउन नेपाली राजदूताबाससंग समन्वय गरेको।

५) कुवेतको इन्फा गल्फ जनरल ट्रेडिङ कम्पनीमा एसआरके मेनपावर-सामाखुसी मार्फत आएका बाग्लुङका जंगबिर सुनार सहितका २३ जना कामदारहरु लाई भने अनुसारको सबारी चालकको काम नदिएर सामान्य लेवर कामका लागि वाध्य पारीएको थियो। उनिहरुलाई भने अनुसारको सेवा सुबिधा पनि नदिएकोले कामदारहरुको चाहना अनुसार नेपाली राजदूताबास र मेन पावर प्रबन्धक किशोर केसी संग समन्वय गरी उनिहरुलाई टिकट सुबिधा सहित नेपाल पठाइएको र नेपाल पुगे पछी सेवा सुबिधा बापत लिएको पैसा फिर्ता गर्न बैदेशिक रोजगार बोर्डमा मुद्दा दायर गरी पैसा फिर्ता गर्न सहजीकरण गरिएको।

६) दाङ घर भई कुवेतमा घरेलु महिला कामदारका रुपमा कार्यरत सविना बुढालाई स्पोन्सरले शरीरिक यातना तथा कुटपिट गरे पछी उनलाई नेपाली दूताबास ल्याएर बुझाईयो। उनलाई कुवेत ल्याउने एजेन्टसंग समन्वय गरी उनले पाउन बाँकी पारिश्रमिक तथा राहदानी दिलाएर नेपाल पठाईयो।  

७) कुवेतमा घरेलु महिला कामदारको रुपमा आएकी सुनसरीकी पविता खत्रीलाई स्तन क्यान्सर हुँदा पनि उपचार नपाए पछी उनलाई घरबाट उद्दार गरी दुताबास पुर्याइयो। उनको प्रारम्भिक उपचार पछी उनलाई काम गरेको घरबाट पाउन बाँकी पारिश्रमिक, हावाइटिकट सहित नेपाल पठाइयो।

८) श्रमिक सन्जाल कुवेतले कुवेतमा रहेर समस्यामा परेका नेपाली कामदारहरुलाई भेला गराइ कुवेत ड्रेड यूनियन, कुवेत सोल्यारिटी सेन्टर र फाइब कोरिडोर प्रोजेक्ट (फाबियन गोवा) का प्रतिनिधिहरु सहितको टिमसंग बसी समस्या के के हुन र कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे अन्तर्कृया गरियो। यसै गरी समस्यामा परेर कानुनी सहयोग चाहिने अवस्थामा श्रमिक सन्जाल मार्फत आएका कामदारहरुलाई कुवेत ट्रेड यूनियनले निशुल्क वकिलको ब्यबस्था गर्ने गराउने प्रतिबद्दता ब्यक्त गरेका छन।  

कोभिड १९ कोरोना भाइरसको महामारीमा कुवेतमा रहेको फिलोपिनो सामुदाहिक संस्था Sandigan Kuwait, Migrant Right.Org, कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु र नेपाली राजदूताबास कुवेतसंग सहकार्य गर्दै गरिएका सामाजिक सेवा र उद्दारहरु:-

१) कोभिड-१९को संक्रमण बढ्दै गए पछी कुवेतको अल कैरान रिसोर्टलाई कुवेत सरकारले कोरोना संक्रमितहरुको लागि क्वेरन्टाइन बनाउने निर्णय गरे संगै त्यस रिसोर्टमा कार्यरत उदयपुरका तुला राम दाहाल, पुष्प राज निरौला लगाएत ११ जनाले आफुहरु असुरक्षित भएको कारण घर फर्क्नने निर्णय गरे।उनिहरुको घर फिर्तीको लागि नेपाली राजादूताबासका श्रमचारी ज्ञानेन्द्र शर्मा र कम्पनीसंग कुरा गरी मार्च १२, २०२० का दिन उनिहरुलाई घर फर्काउन सफल। 

२) कोरोना महामारीकै बिच कुवेतमा एप्रिल २६ देखी ३० तारिक २०२० सम्म खुलेको आममाफीका बेला कुवेतमा रहेका अबैधानिक नेपाली श्रमिक दाजुभाइ-दिदिबहिनीहरुलाई दूताबासमा ट्राभल डकुमेन्ट बनाउन देखी कागजात जुटाउने सम्ममा श्रमिक सन्जालका सदस्यहरुको प्रतक्ष साथ-सहयोग।
  
३) कोभिड १९ कोरोना भाइरसको महामारीमा कुवेतमा रहेको फिलोपिनो सामुदाहिक संस्था Sandigan Kuwait, Migrant Right.Org, कुवेतमा रहेका नेपाली संघ-संस्थाहरु र नेपाली राजदूताबास कुवेतसंग सहकार्य गर्दै खानै नपाउने अवस्थामा रहेका करिब ३०० भन्दा बढी नेपाली श्रमिक दाजुभाइ-दिदीबहिनिहरुलाई खाद्द्यान्न सहयोग बितरण।