Home - समाचार - श्रमिकको बैंक खातामा तलब दिने प्रक्रिया साउन १ देखि सुरु, २ महिनाभित्र कार्यान्वयन गर्नुपर्ने

श्रमिकको बैंक खातामा तलब दिने प्रक्रिया साउन १ देखि सुरु, २ महिनाभित्र कार्यान्वयन गर्नुपर्ने

काठमाडौं।

रोजगारदाता कम्पनीले वा व्यक्तिले अनिवार्य रुपमा श्रमिकको बैंक खातामा तलव दिनुपर्ने मन्त्रीपरिषदले निर्णय गरेको छ।

यसकालागि यहि साउन १ गतेदेखि प्रक्रिया सुरु गरी असोज मसान्तसम्म कार्यान्वयनमा ल्याइसक्नुपर्ने निर्णय गरिएको छ। केही कम्पनीलाई भने पुस मसान्त सम्मको समय दिइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले, रोजगारदाताले सबै श्रमिकको बैंक खातामा तलब भुक्तानी गर्नुपर्ने मन्त्रीपरिषदमा प्रस्ताव लगेका थिए।

श्रम मन्त्रालयको प्रस्तावमा नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपालसरकारको पूर्ण वा आंशिक स्वामित्वमा भएका संस्थान, समिति, परियोजना, प्रतिष्ठान र मातहतका निकायमा काम गर्ने सबै श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक एवं वित्तीय सुविधा साउन १ गतेदेखि प्रक्रिया सुरु गरी असोज मसान्त सम्म अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानीको व्यवस्था मिलाउन मन्त्रीपरिषदले निर्णय गरेको छ।

त्यसैगरी बैंक, वित्तीय संस्था, बीमा कम्पनी, होटल, एयरलाइन्स, ट्राभल एजेन्सी लगायत सेवा उद्योग, सहकारी संस्था र श्रमिक आपूर्तिकर्ता, सामुदायिक  एवं संस्थागत शिक्षण संस्था तथा कानुन बमोजिम दर्ता भएका गैरसरकारी संघसंस्था, ट्रष्ट, कम्पनी ऐन, विशेष ऐन, गठन आदेश लगायतका कानुन बमोजिम गठित सबै संघसंस्थाहरुले आफु मातहत काम गर्ने श्रमिक तथा कर्मचारीलाई आगामी २०७५ पुस मसान्तसम्म अनिवार्य रुपमा बैंक खाता मार्फत पारिश्रमिक तथा वित्तीय सुविधा भुक्तानीको व्यवस्था मिलाउन पनि निर्णय गरिएको छ।

ति बाहेक अन्य सबै प्रतिष्ठान मातहत काम गर्ने श्रमिक तथा कर्मचारी र घरेलु श्रमिकको पारिश्रमिक एवं वित्तीय सुविधा अर्को वर्ष २०७६ पुस देखि अनिवार्य रुपमा बैंक वा वित्तीय संस्था मार्फत सम्बन्धित श्रमिक तथा कर्मचारीहरुको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि मन्त्रीपरिषदले निर्णय गरेको छ।

अहिले बैंक तथा वित्तीय संस्था नपुगेका कुनैपनि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना भएको मितिले ३ महिनाभित्र श्रमिक तथा कर्मचारीलाई अनिवार्य रुपमा बैंक खाता मार्फत पारिश्रमिक एवं वित्तीय सुविधा भुक्तानीको व्यवस्था मिलाउनुपर्ने भनिएको छ।

आकस्मिक वा आंशिक रोजगारीको भुक्तानी भने नगद वा चेक मार्फत भुक्तानी गर्न सकिने छ।

श्रोत: विजमान्डू – http://bizmandu.com/content/20180716170008.html