
रासअल खेमाको छाती चिरेर फुजेराहतर्फ अघि बढेको शेख खलिफा फ्रि वेको देब्रेतिर फुजेराह सेन्टर जेलको विशाल प्राङ्गण देखिन्छ ।
डिसेम्बर महिना, पहिलो बिहीबारको चिसो बिहान, चिया खाइसकेपछि गाडी स्टार्ट गरेर म हुइँकिएँ । कता कताबाट मेरो हाइलक्सको सीसामा ठोकिन आएको एउटा ढुकुर, मैले गाडी रोकेर हातमा लिनासाथै यो दुनियाँ छोडेर गयो।
म बडा भारी मन लिएर अफिस पुगेँ। अरबाब(साहू) सपरिवार बेल्जियम गएको थियो। मुसलमानहरूको महान पर्व रमजान नजिकिँदै थियो, अफिसमा कामको चाप लगातार बढिरहेको थियो। मलाई सास फेर्ने फुर्सद थिएन।
मोबाइल घ्यार्र गर्यो अरबाबको म्यासेज रहेछ। लेखेको थियो – हबिबि स्लामवालिक, कैफ हालक? कैफ सोगल?( अभिवादन प्यारे, कस्तो छ तिम्लाई? काम कस्तो चलिरहेको छ?) मैले उत्तर दिएँ– “सेन्ट्रल जेलको डेकोरेसनको टेन्डर हामीलाई पर्यो ।“ आधाघन्टा पछि रिप्लाई आयो– “कामदार, सामान, गाडी सबै तिम्रो जिम्मामा छ, राम्रोसँग काम गर्नु । हुकूमतको ( सरकारी) काम गर्न पाउनु अहोभाग्य हो। भोलीबाटै काम सुरु गर्नु। अब्दुल्लाहलाई म्यासेज गरेको छु। भित्र जाने प्रबन्ध उसैले गर्छ । नियम पूरा पालना गर्नू । जजाक अल्लाह खैर! ( भगवानले रक्षा गरुन्)।
म सेन्ट्रल जेलको मुख्य गेटमा गाडीभित्र बसिरहेको छु। चारैतिर सिसीटिभी क्यामेरा ३६० डिग्रीमा घुमिरहेका छन्। वरपर हिँड्न समेत निषेधित छ।
एकछिनपछि अब्दुल्लाह आयो । सुर्ता इजि, सुर्ता इजि – (पुलिस आयो पुलिस आयो) मेरो सुडानी कामदार सासले बोल्यो । माफी मुस्किला। (आउन दे, केहि समस्या छैन) – मैले भनेँ।
अब्दुल्लाह सहायक रहेछन् । हामी सबैको हवेइया(परिचय पत्र) लिएर इन्ट्री गरे । त्यसपछि भने – हबिबि ! कुल्लु सामान मौजुद? (तिमीलाई चाहिने सबै सामान छ?)
मैले भनेँ – नाम नाम, मौजुद ! (अँ अँ, छ ।)
उनी – लेन सा खम्सा मघ्रब, ममनू रो बर्रा । (साँझ ५ बजेसम्म बाहिर निस्किन पाउँदैनौ नि)
म – ला ला, माइ सिर बर्रा नफरात। ( नाइँ नाइँ, हामी कोहि निस्किन्नौँ)।
लेबरका पर्स, मोबाइल र सुर्तिजन्य बस्तुहरु भित्र रिसेप्सनको लकरमा छोडेर आउन आदेश दियो। सबै राखेर लकरको चाबी लिएर आयौँ। र मैले गेटको स्क्यानर मेसिनमा गाडी छिराएँ। स्क्यानर मेसिनले हामी सबै कामदार, गाडीका कुना कुना, हाम्रा सामान सबथोक एकैपटक स्क्यान गरेर हरियो बत्ती बालिदियो। हरियो बत्ती बलेपछि ढोका आँफै खुल्यो । त्यसपछि अर्को चेक भयो । त्यसपछि अर्को । क्रमशः ३ वटा चेक भए । त्यसपछि बल्ल जेलभित्र प्रवेश गरियो । मेरा साथमा एउटा सुडानी लेबर थियो । अर्को लेबर फिलिपिनो थियो । ३ जना मिस्त्री चाहिँ बिहारी मुस्लिम केटाहरू थिए। हाम्रो गाडी त्यहाँभन्दा अगाडि लैजान नमिल्ने रहेछ। सामान झिक्न सहज हुनेगरी पार्किङ गरेँ।
जेलकै गाडी चढाएर हामीलाई “महिला–सेल“मा लगियो । महिला सेलको सलाह (प्रार्थना हल) मा डेकोरेसन र सीसी क्यामेरा मर्मत गर्नुपर्ने रहेछ ।
हामी महिला कैदीहरूको कक्षमा थियौं । ३÷३ मिटरको फरकमा सिसीटिभी क्यामेरा थिए । महिलाहरूलाई केही दिन यता नआउनु भन्ने आदेश रहेछ ।
मैले नाप लिएँ । केटाहरूले सामान निकाले ।
एकजना अरबी बोल्ने महिलाले हामीलाई काम देखाइन् । कालो कपडामा सजिएकी एकजना मङ्गोलियन अनुहारकी युवती ’मइ’ (पानी) र ’बोर्तुगल’ (सुन्तला) लिएर आइन् ।
म भारतीयलाई काम सम्झाउन हिन्दीमा बोलिरहेको थिएँ । यत्तिकैमा ती युवतीले भनिन् – “सा’प ! आप के लिए सुन्तला र पानी पठाया है, मैडम ने ।“
उनको बोलीमा नेपाली सुवास आयो । मैले भनेँ – नानु ! हाम्रै भाषामा बोल न, म बुझ्छु नि !
आम्मै नेपाली पो ! – उनका आँखा ठूला भए । निकै खुशी भइन् । महिनौँपछि नेपाली बोल्न पाएकोमा उनको खुशी सम्हालिनसक्नु थियो ।
सिसीटिभीले नभेट्ने ठाउँमा उभिएर परिचय मागेँ । जेलमा कसरी परेउ ? कालो कपडा किन लगाएको ?
उनले भनिन् – मलाई झूटो मुद्दामा फसाएका। अदालतले केही महिना जेल बसेर घर पठाउने भनेर सही गरायो। सही गरेपछि जेल ल्यायो । अहिले जेलमा हामी ४ जनाको छुट्टै कोठा छ । यहाँ आउने बित्तिकै कपडा बदल्दियो । अरु लगाउन पाइँदैन, यिनैले दिन्छन् । खबुस र कुखुराको मासु खान पाइन्छ।
अनि घरमा खबर भयो कि नाइँ ? – मैले सोधेँ ।
जेलमा लाउड स्पिकरमा दिउसोको अजान भयो। सबै जना कालो कपडा ओढेर नमाज पढ्न अर्को हलतिर गएको देखियो। “यसमा नगए त कति हेलाँ गर्छन्, मन नभए नि जानुपर्छ, म गएँ है ! हजुरसँग कति बोल्ने मन छ । अब म आज यता आउन मिल्दैन, भोली आउनुहुन्छ नि ?“ यति भनेर उनी कुदिन्।
मैले जवाफ दिन पाइनँ ।
उनलाई कालो कपडामा देख्दा मेरो होस उडिसकेको थियो। कालो कपडा तिनीहरूलाई लगाइन्छ जो मृत्युदण्ड कुरिरहेका छन्।
बेलुका रुम फर्किँदा मेरा हातले गाडीको स्टेरिङ समात्न मानिरहेका थिएनन्। लुकिङ ग्लासबाट घरिघरि जल्लादले मलाई नै हेरिरहेको जस्तो भान भइरह्यो।
अर्को दिन, म फेरी सेन्टर जेलको महिला सेलभित्र थिएँ। गफ गर्ने मौका मिल्यो। हेलम्बूकी रहिछन्। बुबाले अर्की लिएर हिँडेका। घरमा लाटी आमा। दाजुभाइ कोही नभएकी।
‘‘म सन्चै छु, ४ महिनापछि फर्किन्छु ‘भनेर मेरी आमालाई चिठी लेखिदिनुस् न है ! कसैले पढेर सुनाइदेला । हुन त कसले पढिदेओस् ? २÷३ वटा कुखुरा, परेवा र बाख्रा बाहेक को छ र बुढी आमालाई माया गर्ने ? ‘‘उनका एक एक शब्दले आँखाका डिल भत्काउँथे।
जेलमा काम चल्दासम्म भेट भइरह्यो। उनका आँखा मलाई कुरिरहन्थे। म भारी मन लिएर जान्थेँ र समय मिलेसम्म उनका कुरा सुन्थेँ। जसरी उनी मेरो नजिक आउँथिन्, त्यसै गरी मृत्यु उनको नजिक आइरहेको थियो । उनी बेखबर थिइन् त्यसबाट। एकपटक मेरो नाम नम्बर सबै मागिन्। लेखेर दिएँ। हामीलाई पानी ल्याइदिने ट्रेको मुनि लुकाएर ट्वाइलेटमा लगेर लुकाइछन्। डराई डराई लुकाएको कुरा सुनाएकी थिइन्।
काम सकियो। काम सकेपछि जेलभित्र जाने अवस्था रहेन। न फोन चलाउन मिल्ने, न चिठी लेख्न मिल्ने। म बाहिर थिएँ, मन जेलभित्र थियो। समय निकै उदासलाग्दो भयो। राति २ बजेसम्म पनि निद्रा लाग्दैनथ्यो। अचम्मको डर हृदयमा छाएको थियो।
४÷५ महिना यसैगरी बिते। दिनमा २ बट्टा चुरोट सकिन थाले। पीडाले रक्सी पसलसम्म पुर्यायो।
म कस्तो हो कस्तो प्रेममा परेछु, थाहै भएन।
एकदिन बिहानीपख निकै डरलाग्दो सपना देखेँ। हेलम्बूको भिरालो बारीमा उनका बुबा हलो जोतिरहेका। उनकी लाटी आमा बारीमा मासचामल छरिरहेकी। उनी छेउमा बसेर मासु खाइरहेकी। म उभिएर नङ काटिहेको। कसैले उनको घरको आँगन लिप्दै थियो।
एक्कासी गाह्रो भयो, ऐठन भएछ क्यार! कालो छायाँ मेरो छातिमा बसेर थिचिरहेको थियो। म चल्न चटपटाउन सकिरहेको थिइनँ।
अचानक, मेरो मोबाइलमा निकै चर्को घण्टी बज्यो। जुर्मुरिएर उठ्न खोजेँ। कालो छायाँ हरायो। हतारिँदै फोन उठाएँ।
“स्लामवालिक हबिबि! ताल हिनी सेन्तर जेल। सुरा ! माफी ताइम“ – कुनै अरबी महिलाको अङ्ग्रेजी मिसिएको आवाज थियो यो।
कपडा लगाएर कोठाबाट बाहिर निस्केँ। एकोहोरो कराइरहेका गधाहरुको कहालीलाग्दो आवाजले कुनै अनिष्टको सङ्केत गरेजस्तो लाग्थ्यो। गाडी चलाइरहेको थिइनँ, मानौँ उडाइरहेको थिएँ। १ घन्टा लाग्ने जेलको बाटो ३५ मिनेटमा पार गरिएछ। बिहान ५ बजे म जेलको गेटमा उपस्थित थिएँ।
कसैले मेरो हातमा एउटा चिठी थमाइदियो। खोलेर हेरेँ –
राज !
हृदयभरिको माया !
नेपालीको मुखै नदेखी मर्छु कि भन्ने लागेको थियो, हजुरको दर्शन पाएँ। जीवन सँगै बिताउन मन थियो, भाग्यमा मृत्युदण्ड लेखेको रहेछ। अन्तिममा थाहा भयो। सायद लास र चिठी हजुरले नै पाउनुहुन्छ होला। सके यतैबाट, नभए काठमाडौंबाट लास बोकेर घरसम्म गइदिनू बिन्ती। यो देशमा हजुरबाहेक कसैलाई चिनेको छैन। आमालाई सम्झाइ बुझाई गरिदिनू। हेलम्बूमा जहाँ मलाई गाडिदिन्छन्, चिहानमाथि रातो लालीगुराँसको फूल चढाइदिनू। चढाउनुअघि फूलमा चुम्नू, स्पर्श मेरो गालासम्म आउनेछ .......।
कोरोनाले काम गरिराख्न दिएन । मलाई त्यो देशमा बस्न मन पनि थिएन। नेपाल फर्किएँ।
बेहोसीले उचालेर मलाई कहिले कोशी पुर्याउँथ्यो, कहिले मुक्तिनाथ। कहिले उरालिएर गोसाइकुण्ड पुग्थेँ, कहिले हलेसी।
भदौका दिनहरू निकै पट्यारलाग्दा थिए। कृष्ण जन्माष्टमीको साँझ पाटन दरबार जाने विचारमा थिएँ। अबुधाबीस्थित नेपाली दूतावासले मलाई नेपालको नम्बरमा फोन गरेर खबर दियो – उनको लास आज राति साढे एघार बजे एयर अरेबियाको फ्लाईटमा शारजाहबाट नेपाल आउँदैछ।
बौलाहा जस्तै भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ। घरि कफी खान्छु, घरि चिया पिउँछु। समय कटाउन निकै गाह्रो भयो। बल्लतल्ल मध्यरात्री भयो। सारा शहर कृष्णको जन्मदिवस धूमधामले मनाउँदै छ, म उनको मृतशरीरको पर्खाइमा एयरपोर्टमा छु।
आमाको मोबाइल नम्बरबाट एक्कासी आएको फोनमा बुबाको रुन्चे आवाज सुनियो। दमले स्याँ स्याँ गर्दै बुबा बोल्नुभो – बाबु ! दिनभरि व्रत बसेकी आमा अहिले गाह्रो भयो भनेर बाहिर निस्केकी, पीँढिमा ढलेकी छ। सास भएजस्तो मान्दिनँ। तिमी झट्टै घर आउ त!
मेरो हंसले ठाउँ छोड्यो। कतिबेला बाहिर निस्केँर गाडी खोजेँ, काठमाडौंबाट चितवन पुगेँ, थाहा भएन। घर पुग्दा आमाको निष्प्राण शरीर काखमा लिएर बुबा भित्तामा अढेसा लागेर चुपचाप अश्रुगङ्गा बगाइरहनु भएको थियो। गाउँभरीका छिमेकी र आफन्तहरु आँगनमा उभिएर आमाको निष्प्राण शरीर नियालिरहेका थिए। साथीको लास बोकेर घरसम्म जान्छु भनेर निस्किएको म, आमाको लाश काँधहाल्न रातारात घर आइपुगेँको थिएँ। घरमा गरिने सबै काम सकेर आमाको लाश काँधमा हालें। आमाको दाहसंस्कार भयो। कोरामा बस्नुप¥यो । घर हेर्यो , आमालाई सम्झ्यो, बुबाको अवस्था हेर्यो, एयरपोर्टमा अलपत्र उनको शव सम्झ्यो, बस् ! साइनाइट किनेर कसैले दिए भने आँखा चिम्लेर खान र आमासँगै अनन्तमा जान मन लागिरहेको थियो।
किरियामा बसेको पाचौँ दिन । मोबाइल चलाउन पण्डितले छुट दिएका थिए। गाग्रीबाट पानी पोखेजस्तै गरी वर्षा हुन थाल्यो। फेसबुकभरी बाढीले गाउँ नै बगाएको र पुरेको खबर भरियो।
अचानक आँखा हेलम्बूको समाचारमा गए । पहिरो खसेर सिङ्गो गाउँ नै बगाएछ। गाउँमा भर्खर आइपुगेको लासको बाकस र बिलौना गरिरहेकी आमासहित घरै बगाएर नदीमा पुर्याएको खबर देखियो। खोज्दै जाँदा उनैको लास रहेछ, उनकै लाटी आमा रहिछन्, बाख्रा परेवा रहेछन्।
यता गरुणपुराण सुरु भयो। कथामा आत्मा उडेर नरक पुग्ने भनेजस्तै मेरा सपनाहरु, उनका सपनाहरु सबै रौरव, महारौरव नरकका धुवाँका मुस्लामाथि आत्तिँदै आत्तिँदै उडिरहे...!
No related articles available.