
मेरो नाम वीरेन्द्र अधिकारी हो । मेरो घर बैतडी हो । सामान्य कृषक परिवारमा जन्मेकाले मेरो जीवन सानैदेखि अभावैअभावमा बित्यो । हामी परिवारमा बाबुआमासहित दुई दाजु, दुई बहिनीसहित सात जना थियौँ । सामान्य खेती किसानीको भरमा परिवारले निर्वाह गर्नु परेकाले सोचेअनुसार शिक्षा पाइएन । त्यति मात्र कहाँ हो र? दैनिकी चलाउन पनि हम्मेहम्मे थियो हामीलाई । यस्तो परिस्थितिले गर्दा नै होला, सामान्य साक्षर भएपछि पढाइ छोडेर ज्यालादारी कामतिर लागियो । दाइहरू एक जना भारत र अर्को कतार जानु भएपछि भने घरको अभावमा केही राहत मिल्यो।
पछि दाइहरूको विवाह भएपछि परिवारको संख्या थपियो । मेरो पनि विवाह भयो । झन् जिम्मेवारी बढ्दै गयो । मेरा आफ्नै दुई बच्चा जन्मिएपछि त आवश्यकता झनै बढ्दै गयो । परिवारको संख्या बढे पनि आम्दानीमा वृद्धि नभएपछि विदेश जानुको विकल्प थिएन । यत्तिकैमा कतारमा रहेका माइला दाइले पासपोर्ट बनाएर विदेश जान तयार हुन भनेपछि मैले पनि हार्न सकिनँ । दाइले हामीजस्ता कम पढेलेखेका लागि मलेसिया नै राम्रो हुने बताएपछि म मलेसिया पठाउने म्यानपावर/बिचौलियाको खोजीमा लागेँ ।
सामान्य कामदारका रूपमा मलेसिया जान गाउँको एक जना दाइको साथ लागेर काठमाडौँ आएँ । उनीसँगै नयाँ बसपार्कको छेउमा रहेको एक होटेलमा बसियो । उनैले मलेसिया जान प्रक्रिया मिलाउने भनी सामाखुसीको एउटा म्यानपावरमा लिएर गए । म्यानपावर गएकै दिन मेडिकल गर्न पठाइयो । मेडिकल गरेको शुल्क ९ हजार ६ सय रुपैयाँ लिइयो। अनि करिब एक हप्ता त्यही दाइसँग दैनिक म्यानपावर धाएँ । अन्तर्वार्ता नै नदिई मलाई मलेसिया जान योग्य भएको बताइयो । प्रक्रिया सुरु गर्ने भन्दै केही दिन घरमै गएर पर्खिन भनियो । पासपोर्ट उनीहरूले नै राखे । भिसा आएपछि उनीहरूले बोलाउने भनेपछि म बैतडी फर्किएँ ।
करिब तीन महिनापछि म्यानपावरबाट भिसा प्राप्त भएको भन्दै फोन आयो । मलेसिया जान लाग्ने ३ लाख १५ हजारसहित सकेसम्म छिटो काठमाडौँ आउन भनियो । बुबाले कताकता गरी ऋण खोजेर म्यानपावरमा तिर्न, केही सामान किन्न र बाटो खर्च गर्न भनी तीन दिनमा पैसा जुटाउनुभयो । घरमा बाबुआमा अनि श्रीमती, दुई बच्चा र बहिनीहरूलाई छोडी घरबाट बिदा भइयो । मन उसै भारी थियो । झन् घरबाट कहिल्यै बाहिर नबसेको मान्छे विदेशमा कसरी दिन काट्ने होला भन्ने कुराले मन बेचैन थियो ।
भिसा प्रोसेस गर्न सँगै काठमाडौँ आएका दाइसँग फेरि लागियो बाटो । सुनधाराको एक होटेलमा बसियो । त्यो पहिलो रात निन्द्रा पनि परेन। भोलिपल्ट म्यानपावर गइयो । पहिले गरेको मेडिकलको म्याद सकिएको भनी फेरी मेडिकल गर्न लगाइयो। त्यसपछि भने प्रहरी रिपोर्ट, अभिमुखी तालिम अनि श्रम स्वीकृति गर्दागर्दै एक हप्ता बित्यो । म्यानपावरले मलेसिया जान ३ लाख १५ हजार नगद पैसा लियो। घरबाट हिँडेको दशौँ दिन म मलेसिया उडेँ।
घरको दुःखले कामका लागि मलेसिया गएको थिएँ । दुखसँग काम नगरी त सुखै थिएन । मलेसियाको जोहरबारु भन्ने ठाउँमा मलाई पुर्याइयो। बिस्कुट बनाउने कम्पनी रहेछ। सामान्य कामदारको रूपमा गएकोले जे काम अर्हायो, त्यही गर्नु मेरो बाध्यता थियो । काम कहिले दिनमा त कहिले रातमा महिना–महिना दिनको सिफ्ट थियो । कम्पनी धेरै ठुलो थिएन। जम्माजम्मी सय जना कामदार थिए होला ।
काम जसोतसो चल्दै थियो । तलब पनि समयमै दिन्थे । बस्ने सुविधा राम्रै थियो, तर खाना भने त्यति राम्रो थिएन । त्यसो हुँदा पनि गुनासो नगरीकन हामीले काम राम्रोसँग गरिरहेकै थियौँ । हामी कम्पनीमा नयाँ पुराना गरी तीस जना जति नेपाली थियौँ । दिन र रातीमा आधाआधा काम गर्थ्यौं । सुपरभाइजरचाहिं सधैँ मेरो पछि लागिरहेझैं लाग्थ्यो। कहिल्यै काम गरेको जस दिदैँनथियो ।
कहिले के कहिले के भनेर उनले मसँगको असन्तुष्टि मेनेजरसम्म पुर्याएछ । त्यसपछि त बिना गल्ती पनि मलाई अफिसमा बोलाएर केरकार गर्न थालियो। रातिको काम गर्दा पनि हप्तैपिच्छे दिनको समयमा एक दुई घण्टा अफिस बोलाउन थलियो । नगरेको काम पनि किन गरेको भनी थर्काउन थालियो । अरूको गल्तीलाई पनि मैलै नै गरेजस्तो गर्न थालियो । दुई वटा त वार्निङ लेटर पनि थमाए । तैपनि मैले घरको दुःख सम्झँदै काम गरिरहेँ ।
काम गर्दागर्दै मलाई अत्यन्तै कमजोर महसुस हुन थाल्यो । रातिको सिफ्टले होला, रिँगटा लाग्ने र खाना पनि नरुच्ने हुन थाल्यो । रगत पनि कम भएजस्तो लाग्न थाल्यो । सुपरभाइजरमार्फत कम्पनीलाई स्वास्थ्यमा समस्या देखिन थालेकाले समयमै उपचारमा सहयोग गर्न अनुरोध गरेँ । तर उनीहरूले सामान्य सिटामोल दिनेभन्दा केही गरेनन् । मलाई थप समस्या देखिन थाल्यो । टाउको दुख्ने अनि चक्कर लाग्ने र निन्द्रा नपर्ने हुन थाल्यो । म बिमारीकै कारण दुई दिन काममा जान सकिनँ । काम नगएको तेस्रो दिन डिसेम्बर १८, २०२३ देखि सस्पेन्स कोटीमा राख्दै मलाई हाउजिङको कोठामै राख्यो ।
कम्पनीको ड्राइभरले मलाई करिब ३ घण्टामा जोहरबारुबाट मलेसियाको एयरपोर्ट पुर्याए । एयरपोर्ट पुगेपछि ड्राइभर फर्कियो । म एक्लै भित्र छिरेँ । बोर्डिङ पास लिएर इमिग्रेसनतिर गएँ । इमिग्रेसनमा आफ्नो करार समय नसकिँदै फर्कन चाहिने स्पेसल पास वा एक्जिट पेपर मागियो, जुन मसँग थिएन । त्यसपछि प्रहरीले मलाई नियन्त्रणमा लियो ।
प्रहरी थानामा मोबाइल र ब्याग सबै राखियो । बारम्बार सोधपुछ गरियो । राम्रोसँग खान र सुत्न पनि नपाइने अवस्था थियो । फोन गर्न पनि नदिने । त्यहाँ १७ दिन बस्दा १७ वर्ष बसेजस्तो भयो ।
पछि काजाङ जेल पठाइयो । खान बस्न अलि राम्रो थियो तर उपचार भएन । पछि नेपाली दूतावासका प्रतिनिधि आएर खोजी भएको जानकारी दिए । घर फर्काउने प्रक्रिया सुरु भयो ।
त्यसपछि डिपोर्टेसन जेलमा लगियो । कागजी प्रक्रिया पूरा गरी टिकट काटियो । मार्च २०, २०२४ मा नेपाल फर्काइयो ।
नेपाल फर्किएपछि परिवारसँग भेट भयो । उपचार जारी छ । जेल बसाइको अनुभवले अझै मानसिक असर छ । विदेश जाँदा नियम र कानुन राम्रोसँग बुझेर मात्र जान सबैलाई अनुरोध छ ।