Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

मैलो श्रमिक, सुकिलो श्रमिक

May 1, 2026
सद्भाव नेपाली
मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

मजदुर भन्नेबित्तिकै आम मान्छेको दिमागमा कस्तो चित्र आउँछ? समाज, समुदायले बनाएका परिभाषा र मनोविज्ञानअनुसार फरक–फरक व्यक्तिमा फरक चित्र र परिभाषा आउँदो हो।

नेपाल सरहदको मध्यपहाडी गाउँमा जन्मिएको पंक्तिकारको मनोविज्ञानमा मजदुर भन्नेबित्तिकै ढुंगा–बालुवा बोक्ने, माटो मुछ्ने, मैलो र च्यात्तिएको कपडा लगाएको, शरीरबाट ह्वास्स पसिना गन्हाउने व्यक्ति आउने गर्थ्यो पहिले।

चार दशक पहिले बाटोघाटो र बिजुलीले नछोएका अधिकांश नेपाली गाउँमा बाँच्नका लागि अत्यधिक शारीरिक श्रम गर्नुपर्थ्यो। (अहिले पनि त्यसरी बाँच्नुपर्नेहरू छन्, तर संख्या पहिलेभन्दा घटेकै छन्। आधुनिक मेसिनका कारण पनि शारीरिक श्रम घटेको हो।) त्यतिखेरदेखि झन्डै दशकअघिसम्मको बुझाइ थियो त्यो। त्यसो हुँदा मेरो पहिलेको बुझाइअनुसार आफ्नो खेतबारीमा काम गर्ने अधिकांश नेपाली किसान पनि मजदुर नै ठहरिनुपर्ने हो।

पंक्तिकारलाई लाग्थ्यो—हाम्रा घरमा जो ज्यालामा खन्न–जोत्न, रोप्न र पर्खाल लगाउन आउँछन्, ती मात्र मजदुर हुन्। हामी त मालिक! किसान भए पनि मालिक!

समयक्रममा बुझ्दै जाँदा थाहा भयो—आफ्नो उत्पादनका साधन (खेत, जमिन, कम्पनी, फार्म आदि…) मा अरूलाई काम लगाएर जीविकोपार्जन गर्ने/नाफा कमाउनेहरू मालिक ठहरिने रहेछन् भने अरूको उत्पादनका साधनमा संलग्न भएर काम गर्नेहरू चाहिँ श्रमिक। फेरि श्रम भन्नेबित्तिकै सबै शारीरिक नहुने पनि रहेछ। तलब खाएर लेखपढलगायत मानसिक कर्म गर्नेहरू पनि श्रमिककै कोटीमा पर्ने रहेछन्।

त्यसो हुँदा “मजदुर” परिचय केवल पेशामात्र नभएर समाजले बनाएको दृष्टिकोण पनि हो रहेछ। एउटा सीमित परिभाषालाई नियाल्दा नगद वा जिन्सी ज्याला लिएर कसैको काम गर्नेहरू नै मजदुर हुन्। त्यसको मतलब त ख्यातिप्राप्त विश्वविद्यालय, अनुसन्धान संस्था र अस्पतालका प्राध्यापक, वैज्ञानिक र डाक्टरदेखि ठूलाठूला बैंकका कार्यकारी अधिकृत (सीईओ) हरू पनि मजदुर नै ठहरिए! भारी बोक्ने, सफा गर्ने र ज्याला लिएर पर्खाल लगाउनेहरू मात्र होइनन्, सवारी साधन चलाउनेहरू मात्र होइनन्! त्यसो हुँदा उत्पादनका साधनमा नियन्त्रण भएका थोरै संख्याका मालिकबाहेक माहुरीझैँ नियमित रूपमा भुन्भुराइरहेका संसारका सबैजसो मान्छे मजदुर नै रहेछन्! म पनि मजदुर। मेरा हाकिम पनि मजदुर।

तर धेरै मान्छेले यो भेद छुट्याउन सक्दैनन्। तलब बढी खानेहरूले तलब खानेलाई मजदुर देख्छन्। कोट–टाइ लगाउनेले मैलो लुगामा काम गर्नेलाई मजदुर देख्छन्। स्क्रिनमा काम गर्नेले भुइँ बढार्नेलाई मजदुर देख्छन्। कार चलाएर काम गर्न जानेले ट्याक्सी चलाउनेलाई मजदुर देख्छन्। यो मनोदशा विचित्रको छ—ह्वाइट कलर बनाम ब्लु। यसभित्र कारण पनि छन्—सुपेरियरिटी र इन्फेरियरिटी कम्प्लेक्स, श्रेणीसँगै तलब र सुविधाले सिर्जना गरेको भौतिक र मानसिक खाडल।

यस्तो भेद स्वदेशमा मात्र नभएर खाडीदेखि मलेसिया पुगेका हाम्रै श्रमिक साथीहरूमा समेत भेटिन्छ। सम्भवत: कुनै सेभेन स्टार होटलमा काम गर्ने म्यानेजर र सेफहरू समेत त्यहाँ काम गर्ने सरसफाइ मजदुर र आफूबीच ‘को मजदुर?’ भन्ने मानसिक द्वन्द्वमा पर्छन्। आफूभन्दा कम तलब र सुविधा पाउनेहरूचाहिँ मजदुर हुन् र आफूचाहिँ मालिक हुँ भन्ने मनोदशा कतिपयमा हुन सक्छ।

उसो त मानव जातिले मात्र होइन, पृथ्वीका सबै ‘सचेत’ प्राणीले क्षणभरमै ‘पराया’ र ‘म’को रेखा कोर्छ। हामी मानव जाति पनि लिङ्ग, समुदाय, क्षेत्र, परिवार, वृहत् परिवार, जिल्ला, पालिका, भेग र देश आदिको आधारमा ‘म’ र ‘पराया’को काल्पनिक रेखा कोरिहाल्छौं।

तर अलि फराकिलो सोच राख्दा संसारका अधिकांश मानिस कहीँ न कतै ‘अरूको’ काम गर्छन् र ती सबै मजदुर नै हुन्। त्यसमाथि पुरानो शैलीको कृषि युग छाडेर मान्छे औद्योगिकीकरणतर्फ बढ्दै जाँदा पहिलेभन्दा धेरै मान्छे श्रमिक हुन पुगे। अरूको पूँजी र श्रमका साधनमा आश्रित हुन पुगे। कृषि स्वयंले औद्योगिकीकरणको रूप लिँदा त्यसमा पनि धेरै कृषि मजदुरहरू थपिए। पश्चिम एसिया (मध्यपूर्व) र मलेसियातिर अहिले पनि कतिपय नेपाली त्यसमा काम गर्छन्। नेपालमै पनि कृषिले केही ठाउँमा उद्योगको रूप लिएको देखिन्छ। त्यससँग अन्य उद्योगमा त श्रमिक नै श्रमिक छन्।

विश्वका सबैभन्दा धनी १०% मानिससँग विश्वको कुल सम्पत्तिको ७६% हिस्सा छ। यसको विपरीत, विश्वको आधा जनसंख्या (तल्लो ५०%) सँग कुल सम्पत्तिको मात्र २% हिस्सा छ। यसको मतलब अधिकांश मान्छे तिनै धनीहरूद्वारा सञ्चालित कम्पनी र तिनका वफादार सीईओ र हाकिमहरूको अन्तर्गत काम गर्छन्।

तर यहाँ हामीले गर्न खोजेको बहसचाहिँ ‘सफा’ कामदार र ‘मैलो’ कामदारको हो—हामीले छुट्याएको विभेदको रेखाको हो। त्यसलाई कम गर्न शिक्षित र जागरूक मान्छेले गर्नुपर्ने प्रयत्नको हो।

यो विभेदको रेखा मेटाउन शिक्षित वर्गले केवल कुरा गरेर पुग्दैन, व्यवहारमै परिवर्तन ल्याउन आवश्यक छ। समाजले हाम्रा मन–मस्तिष्कमा बसालेका विभेदकारी मनोविज्ञानलाई ‘फर्म्याट’ (डिलेट) गर्नु आवश्यक छ। जबसम्म हामी प्लम्बर, किसान वा सफाइ कर्मचारीलाई उहाँहरूको सीपका आधारमा सम्मान गर्दैनौं, तबसम्म यो विभेद मेटिँदैन।

शिक्षित वर्गले आफ्ना बालबालिकालाई “नपढे कामदार बन्छौ” भन्नुको साटो “हरेक कामको आफ्नै गौरव हुन्छ” भनेर सिकाउनुपर्छ। बालबालिकाले जाँगर लगाएर नपढ्दा “हलि बन्लाऊ है” भन्दै हियाउनु हुँदैन।

कुनै पनि विषयको औपचारिक डिग्रीलाई मात्र योग्यताको मापदण्ड मान्ने परिपाटी हटाएर सीपलाई प्राथमिकता दिनुपर्छ। ‘सफा’ र ‘मैलो’ बीचको दूरी घटाउन प्राविधिक शिक्षालाई मूलधारमा ल्याउनुपर्छ।

अर्को कुरा, “मैलो” मानिने काममा जोखिम बढी हुन्छ। त्यसैले यस्तो क्षेत्रमा काम गर्नेहरूको पारिश्रमिक र सामाजिक सुरक्षा (बीमा र स्वास्थ्य सुरक्षा) कुर्सी/टेबलमा बस्नेको भन्दा कम हुनु हुँदैन।

मजदुरप्रतिको घटिया व्यवहार र सम्बोधन हाम्रा रेस्टुरेन्ट, सवारी साधन र दैनिक जीवनमा प्रकट हुन्छन्। यातायात सहयोगी, रेस्टुरेन्टका वेटर, सवारीसाधन मर्मतकर्तालाई गरिने सम्बोधनहरूमा अहिले पनि ‘तिमी’ र ‘तँ’ प्रयोग हुन्छ। जबकि सुकिलोमुकिलो देख्नेबित्तिकै ‘जी–हजुरी’ गरिहाल्छ हाम्रो समाजको ठूलो तप्का। त्यो गलत हो।

परम्परागत र अपमानजनक शब्द छ—नोकर। समाजका धेरै मान्छेले सबै शारीरिक श्रम गर्नेहरूलाई नोकर ठानेर हेय दृष्टिले हेर्छन्। तर आज, श्रम दिवसको यो महत्वपूर्ण दिनमा कमसेकम हामीले प्रण गरौं—हामी त्यसो नगरौं।

आकाशमा उड्ने हवाईजहाज, महासागरमा दौडने पानीजहाज, जमिनमा गुड्ने अनेक पाङ्ग्रे साधन र हामीले प्रयोग गर्ने डिजिटल डिभाइसहरू—यी सबै मैला र सुकिला श्रमिकहरूको संयुक्त श्रमको परिणाम हुन्। यी रंगीन महल र कोठाहरू सुकिला इन्जिनियर र मैला मिस्त्री मिलेरै बनाएका हुन्। अद्भुत चिकित्सकीय आविष्कारदेखि अन्तरिक्षमा उड्ने रकेटसम्ममा दुवैको योगदान छ।

अधिकांश मजदुरहरूको शारीरिक र मानसिक श्रमले नै अँध्यारो संसारलाई उज्यालो बनाएको हो।

अतः सुकिलो र मैलोको यो डरलाग्दो विभेद त्यागौं। सबैलाई एकसाथ अँगालौं।

ह्याप्पी मे फर्स्ट।

Related Story and Articles

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

विदेश जाने युवकहरू 'राम' नै हुन् त?

विदेश जाने युवकहरू 'राम' नै हुन् त?

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.