
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सालाखाला २२ देखि २३ सय नेपाली नागरिक विदेश जानका लागि हवाईजहाज चढ्छन्। चढ्नेमध्ये अधिकांशको गन्तव्य पश्चिम एसिया (जीसीसी मुलुक) र मलेसिया हुने गर्छ। तीमध्ये कतिपय फर्स्ट वर्ल्ड भनिने युरोप अमेरिकालगायत मुलुक पुग्छन्। चीन, जापान र कोरिया पुग्लान् केही भने केही भारत। (नेपाल र भारतबीच खुला सिमाना र नियमित ओहोरदोहोर भइरहने कारणले गर्दा त्यस देशमा कति सङ्ख्यामा नेपालीहरू छन् भन्ने यकिन छैन। कतिपय स्रोतले १५ देखि ५० लाखसम्मका अनुमान पेस गरेका छन्।)
केही नेपाली जन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हनिमुन गन्तव्यतर्फ जालान् त केही अध्ययनका लागि। केही व्यापारका लागि। केही सन्तान र आफन्त भेट्न या तिनको रेखदेख गर्न। तर यहाँबाट जहाज चढ्ने अधिकांश नेपाली नागरिक कुनै कम्पनीको श्रमिकको रूपमा नेपालबाट श्रम स्वीकृति लिएर त्यसतर्फ काम गर्नकै लागि जान्छन्। सबैजसो तथ्याङ्क र तथ्याङ्क विश्लेषणले अहिलेको नेपाली अर्थतन्त्रको मुख्य ड्राइभर तिनै नेपालीले कमाएको पैसा (रेमिटेन्स) लाई नै ठहर गरेका छन्।
त्रिभुवन विमानस्थलका बिदाइका भिजुअलाइजेसन
एकै छिन भिजुअलाइजेसन गरौँ। तपाईँ-हाम्रा सामाजिक सञ्जालमा आफन्त र साथीभाइले विमानस्थलमा आफ्ना प्रियजनलाई गर्ने गरेको बिदाइका फोटो/भिडियो र त्यसमा उल्लेख हुने व्याख्यात्मक पोस्टहरू सम्झौँ! अमेरिका, युरोपलगायत मुलुक जानेहरूको हकमा सप्रसंग व्याख्या हुन्छ। त्यसमा ठुलै गर्व र अपनत्व हुन्छ। हर्क बढाइँ हुन्छ। बिदाइ गर्न जाने पनि धेरै, खादामालाको थुप्रो पनि धेरै। जापान, चीन, कोरियालगायत मुलुकमा जानेहरूको हकमा पनि कमसेकम ती देशको नाम उल्लेख गर्दै यात्राको सफलताको कामना गरिन्छ। पढ्न र घुम्न जाने या जानेका आफन्तले गर्वसाथ घुम्न या पढ्न जान लागेको विषय उल्लेख गर्लान्।
जहाँसम्म श्रमका लागि पश्चिम एसिया (अरबी मुलुक) र मलेसिया जानेहरूको सवाल छ, आफू श्रमका लागि जान लागेको गन्तव्य मुलुकको नाम अधिकांश कामदारहरू उल्लेख गर्न चाहँदैनन्। 'बाइ बाइ नेपाल' लेख्लान् अथवा अरू केही! प्रशस्त तलब भएको रोजगारीमै जाँदा पनि गन्तव्य-देशको नाम हत्तपत्त सार्वजनिक रूपमा उल्लेख गर्न चाहँदैनन् यात्रु र यात्रुका आफन्त र साथीभाइ। (यद्यपि, आखिर उक्त तथ्य कतै न कतै प्रकट भइहाल्छ। आफन्त र प्रियजन कता जान लागेका छन् भन्नेबारे साथीभाइले ढिलो चाँडो थाहा पाउँछन्। सरकारी निकायले, कमसेकम हवाईजहाज चढेर जाने नागरिकहरूको रिपोर्ट सार्वजनिक गरिहाल्छ। अहिले पश्चिम एसियामा झन्डै १७ लाख र मलेसियामा सालाखाला ४ लाख हाराहारीमा नेपालीहरू छन्।)
भिजुअलाइजेसन र भाष्य
माथिको भिजुअलाइजेसनबाट हामी सहजै अनुमान गर्न सक्छौँ कि मध्यपूर्व र मलेसियाको श्रमलाई भाष्य निर्माणहरूमा वर्चस्व राख्ने नेपालको प्रभावशाली/सम्भ्रान्त समुदायले तल्लो स्तरको ठान्छ। अलिकति पुराना दिन फर्केर हेरौँ–९० को अन्त्यतिर जतिखेर नेपाली युवाहरू कामका लागि मलेसिया र खाडी मुलुकहरू जाँदै थिए–त्यतिखेर आजझैँ सूचना आम मान्छेको सहज पहुँचमा थिएन। त्यतिखेर देशको 'मूल सञ्चार'का रूपमा रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्र अत्यन्त प्रभावशाली थिए। अलि सहज र सस्तो माध्यम भएका कारण रेडियो नेपालको जगजगी थियो। र, ती मिडियामार्फत खास वर्ग समुदायका मान्छेहरूले भाष्य निर्माण गर्थे। तिनका भाष्य नै शक्तिशाली हुन्थे। र, तिनले रचेको (कन्स्ट्रक्ट गरेको) मनोविज्ञान आजपर्यन्त छ।
९० को अन्त्यतिर रेडियो नेपालमा काम गर्ने तिनै मान्छेहरूले रेडियोबाट निरन्तर उतिखेर फुक्ने गर्थे, "यही नेपाली माटोमा मोती फलाऊँ। विदेश जाने चक्करमा नलागौँ। विदेश जाने क्रममा हरेक ठाउँमा दलालहरूले ठग्छन्। स्वर्ग यतै छ। घरमै बस्नुपर्छ।"
देशमै बसेर देशको विकाश गर्नुपर्छ र यही देशलाई समुन्नत बनाउनुपर्छ भन्नु धेरै राम्रो हो। तर जति नै निमेक र ज्यालादारी गर्दासमेत आफ्ना बच्चाका नाङ्गा आङ टाल्न र भोको पेट भर्न नकस्नेहरूका लागि त्यस्तो उपदेश बेकार हो।) त्यसमाथि समृद्धि र सुखी जीवन मान्छेको स्वभाव हो। आफ्नो खुट्टामा आफै उभिन या टन्न पेट भर्न सक्ने भएपछि मात्र आम रूपमा जो कसैले देश र समाजबारे सोच्न सक्छ। भोको पेटमा पहरा र छहरामा मोती फुलाउने गफ बेकार हुन जान्छ।
यो भाष्य बन्दै आएकै थियो। त्यसमाथि, पहिले नै श्रमिक भन्ने बित्तिकै मैलाधैला र दुखिया मान्छेका रूपमा नेपाली समाजमा बुझिने र बुझाइने गरिन्छ। श्रमलाई हेला र अपमान गर्ने संस्कृति सम्भवतः संसारका धेरै समाजमा होलान्, हाम्रोमा त अझै त्यो जब्बर छ। सरकारी मिडियाहरूले गर्ने प्रचार र पहिल्यै स्थापित श्रमप्रतिको हेला संस्कृतिका कारण अन्ततः मध्यपूर्व (पश्चिम एसिया) र मलेसिया काम गर्न जाने नेपालीका हकमा त अझ धेरै पूर्वाग्रहपूर्ण मिथकहरू बनेका छन्। बाकसमा फर्कने, मरुभूमिको भुङ्ग्रोमा काम गर्न जाने अभागीका रूपमा समेत बेलाबेला मान्छेहरूले चित्रण गर्छन्।
हाते या बलाबलको काम (म्यानुअल वर्क) गर्ने सवालमा संसारभरका अधिकांश श्रमिकले घामपानी त झेल्नै पर्ने हुन्छ। काम गर्ने सवालमा नेपालको हावापानी पश्चिम एसियाको तुलनामा सहज भएको कुरा सत्य हो। पश्चिम एसियाको खास गरी पूर्वाधार निर्माण क्षेत्रमा चर्को घाममा काम गर्नु बेसिक लेभलका कामदारदेखि उच्च तहका इन्जिनियरका हकमा समेत चुनौतीपूर्ण हुन्छ। तर नेपालबाट मध्यपूर्वमा केवल पूर्वाधार क्षेत्रमा बालुवा र सिमेन्ट घोल्न, ठेला गुडाउन र फलाम बाँध्न मात्र जाँदैनन् (कठिन क्षेत्रमा काम गर्ने बित्तिकै तिनलाई दयाको पात्र बनाउनुभन्दा पनि कामदारको अवस्था सुधार्न पहल गर्नु आवश्यक हुन्छ)। नेपालीहरू हस्पिटालिटी, हस्पिटल, सपिङ कम्प्लेक्सदेखि प्रविधि कम्पनीसम्म काम गर्न जान्छन्। र, प्रचलित भाष्यजस्तो छैन तिनको जीवन।
दयाका पात्र होइनन् श्रमिक
पश्चिम एसिया र मलेसियामा रहेका नेपाली श्रमिकहरूको योगदानले हाम्रो अर्थतन्त्र चलायमान भइरहँदा सधैँ देश चलाउन योगदान गर्ने नेपालीहरूलाई केवल दयाको पात्र र 'भिक्टिम'का रूपमा चित्रण गरिनु उचित हुँदैन। (केही घट्नालाई सामान्यीकरण गरेर सबैको हालत त्यही छ भन्नु गलत हुन्छ।) त्यसमाथि, यी देशहरूमा कतिपय नेपालीहरू रोजगारी दिने र ठुलो सङ्ख्याका कर्मचारीहरूलाई परिचालन गर्ने तहसम्म पुगेका छन्। विदेशमा काम गर्न गएर नेपालीहरूले बहुभाषी र बहुसांस्कृतिक समुदायसँग परिचय बढाएका छन्। कैयौँ नेपालीले त अन्य देशका नागरिकसँग घरजम गरेका छन्; अन्तरसांस्कृतिक सम्बन्ध स्थापित भएको छ। प्रविधि र ज्ञानमा नेपालीहरू केही दशकभन्दा धेरै बलिया भइसकेका छन्। प्रवासबाट फर्केर उनीहरूले आफूले पाएको ज्ञानबाट देशलाई अनेक कोणबाट समृद्ध बनाइरहेका पनि छन्।
त्यति हुँदाहुँदै पनि ‘बिचरा मरुभूमि र मलेसियामा काम गर्ने नेपाली’ भन्ने भाष्यले यस्ता धेरै सत्यलाई निरन्तर छोपेको छ, ढाकेको छ। अमेरिका या जापान गएर, निन्द्राको समेत ख्याल नगरेर घण्टौँ काममा घोटिने श्रमिकचाहिँ 'विशिष्ट' र खाडीमा ८/१० घण्टा काम गर्ने श्रमिकचाहिँ 'बिचरा' हुँदैन। गन्तव्य देशको आधारमा मान्छेको हाइरार्की तोक्ने यस्तो असभ्य अभ्यास अब रोक्नुपर्छ। (यति भन्दाभन्दै पनि के कुरामा चाहिँ प्रस्ट हुनुपर्छ भने संसार साझा घरका रूपमा विकसित हुँदै गर्दा प्रत्येक देशले आफूलाई सामाजिक, धार्मिक र सांस्कृतिक रूपमा सहज बनाउन आवश्यक छ।)
आफ्नो असहमति टुङ्ग्याउँदै गर्दा के कुराचाहिँ बताउन मन लाग्यो भने मान्छे निरन्तर संसारभर डुलिरहेकै जाति हो। सभ्यताको प्रारम्भतिर होमो सेपियन्स र नियान्डरथलहरू सपरिवार सिकार र भोजनको खोजमा ठाउँ चहार्दै हिँडे। फलफूल र जीवजन्तु प्रशस्त भएका ठाउँतर्फ सर्दै गए। ओभानो बाससहितको सामुदायिक संस्कृतिमा बस्ने बानी परेका मान्छे (आजका मान्छे) आफू अनुकूलका ठाउँ चहार्छन् अर्थोपार्जनका लागि।
गाउँबाट काठमाडौँ, पोखरा र नेपालगञ्जलगायत सहरमा काम गर्न उहिल्यैदेखि घण्टौँ लगाएर मान्छेहरू सहर छिरेकै हुन्। लाहोर, लखनउ, देहरादुन, दिल्ली, बम्बई (अहिले मुम्बई) पुगेका हुन्। अहिले त दैनिकजसो खोजखबर र सन्चोबिसन्चो सोधिन्छ। पहिले त वर्षौँ लापत्ताझैँ भएर मान्छे 'लाहुर' र 'भर्ती'बाट फर्कन्थे। सूचना प्रविधि र सञ्चारको आजझैँ विकाश नभएको त्यस अँध्यारो युगमा एउटा सहरबाट अर्को सहर नै 'मुग्लान्' थियो। त्यसो हुँदा हाम्रा आफन्त र प्रियजन पहिले पनि सुख र समृद्धिको खोजीमा परिवार र संस्कृतिबाट टाढा भएकै हुन्। अहिले अचानक कुनै नयाँ ट्रेन्ड विकसित भएको होइन। र, यसरी समृद्धि र खुसीमा खोजमा हिँडेका हाम्रा पौरखी युवायुवतीहरूलाई कुनै देश र समाजकै आधारमा हाइरार्की तोक्नु गलत छ।
बरु, पहिले यस सरहदबाट पुरुष मात्र लाहुर जान्थे। अहिले महिलाको लहर समेत बढ्दो छ। त्यसका केही ब्याकड्रपहरू होलान्, तर आर्थिक समुन्नतिले मान्छेलाई थप सशक्त बनाएकै छ। अतः पश्चिम एसिया र मलेसिया जाने हाम्रा आफन्त हाम्रा गर्व हुन्। पसिनाका मोती हुन्। हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने उहाँहरूको योगदानका लागि हामीले धन्यवाद भन्नुपर्छ। हामीले अब भाष्य बदल्नुपर्छ।