Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

May 6, 2026
सद्भाव नेपाली
फेरि आयो यूएईमा मोबाइल वार्निङ!

हिजो साँझ आकाशमा मल्याकमिलिक देखिएको थियो। नदी किनारको बाटो (कर्निस) तिरको पैदलयात्रा (इभनिङ वाक) बाट वासस्थान फर्कँदै गर्दा ‘लौ फेरि के भयो’ भन्ने तर्कना मनमा उठेको थियो। कोठामा आइपुगेर मोबाइल नियाल्दा सरकारी निकायबाट 'वार्निङ म्यासेज' (सचेत गराउने सन्देश) देखियो। फेरि पनि! 

यहाँको 'राष्ट्रिय आपतकालीन, संकट तथा विपद् व्यवस्थापन प्राधिकरण' (एनसीईएमए) ले सबैजसो निवासीलाई यस्तो खालको मेसेज पठाउन थालेको एक महिनाभन्दा बढी भयो। इरानबाट संयुक्त अरब इमिरेट्स (यूएई) लक्षित क्षेप्यास्त्र प्रहार हुँदा र त्यसलाई निस्तेज पारिँदा यस खालका सन्देशहरू आउँछन्। बीचतिर यस्ता सन्देशहरू आउन छाडेका थिए, तर फेरि हिजो सोमबार मोबाइलमा यस्तो सन्देश देखेपछि मन झनै तुलबुल तुलबुल भयो। मिसाइल प्रहारका कारण बिल्डिङमा झरेको आगोले तीन जना व्यक्ति फुजेरामा घाइते भएको खबर गल्फ न्युजले छापेको छ। 

तर यति कुरा भन्नैपर्छ— हामी जहाँ काम गर्छौँ, त्यस मुलुकको सैन्य प्रतिरक्षा प्रणाली अहिलेसम्म राम्रो देखिन्छ। एकाध अपवादका कुरा अलग भए, आम रूपमा यहाँका निवासी सुरक्षित छन्। एक महिनाअघि त यस्ता वार्निङ म्यासेज दिनकै धेरै पटक आउँथे। मानवीय क्षति उल्लेख्य नभए पनि पूर्वाधारहरूमा धेरै क्षति भएका समाचार हामीले पढ्यौँ। बीचमा अमेरिका र इरानबीच वार्ताका प्रयास भए। त्यसो हुँदा यस क्षेत्रमा इरानले मिसाइल हान्न छाडेको थियो। तर सोमबारबाट माहोल फेरि बिग्रिएको महसुस हुँदैछ। 

यूएई आएको चार वर्ष भयो। एउटा निजी सुपरमार्केट चेनमा सेल्स असिस्टन्टका रूपमा काम गर्छु। कमाइ ठीकै छ। यही कमाइकै कारण राजधानी काठमाडौँमा दुईवटा कोठामा आफ्नी आमा, दुई छोरी र श्रीमतीलाई राख्न सम्भव भएको छ। ठूली छोरी तीन कक्षामा पढ्छिन्। सानीचाहिँ स्कुल जान अझै एक वर्ष पर्खनुपर्ला। 

मध्यपहाडी भेगमा हाम्रो घर छ— २०७२ सालको भूकम्पले ढालेको। त्यसकै छेउमा सरकारी अनुदानमा बनेको एक कोठे घर मात्र छ। आकासे पानीको भर पर्नुपर्ने त्यहाँको पाखाबारीमा बर्खाको बेला मात्र एक/दुई बाली लाग्छ। खेतीको कुनै भर नभएपछि परिवारको एकमात्र सन्तान म राजधानी काठमाडौँ छिरेको थिएँ। काठमाडौँको कमाइले नथेगेपछि बल्लतल्ल यूएई छिरेँ। 

यूएई मात्र होइन, पश्चिम एसिया (मध्यपूर्व) का इस्लामिक देशहरूमा कामका लागि भारतीय, पाकिस्तानी, बंगलादेशी, भुटानी, मोरक्कन, फिलिपिनो र अफगानीसँगै प्रशस्त नेपालीहरू अनेकौँ क्षेत्रमा काम गरिरहेका भेटिन्छन्। मैले इरानबाट यहाँ आएका कामदारसमेत भेटेको छु— ठूला होटलका ठूलै दर्जादेखि बिल्डिङ कम्पनीमा सामान्य मजदुरका रूपमा सम्म। 

म काम गर्ने कम्पनीमा पनि एक दर्जनजति नेपाली छन्। इरान र अमेरिकाबीच सुरु भएको यो द्वन्द्वबाट हामी आश्रित रहेको यो क्षेत्र भुङ्ग्रोमा परेको कुरा भलिभाँती सबैजना जान्दछन् र सिङ्गो विश्व नै यसको मारमा परेको छ। विश्व अर्थतन्त्र नै डामाडोल भएको छ भनेर केही गन्नेमान्ने लेखक/पत्रकारहरूले बताएको फेसबुक र टिकटकमा बेलाबेला देख्छु। 

तर देश छाडेर दुई–चार पैसा कमाउन विदेश आएका हामीहरू विश्व राजनीतिका धेरै कुरा जान्दैनौँ। त्यो जान्ने फुर्सद र जाँगर पनि हामीमा छैन। यस क्षेत्रमा झन्डै २० लाखको हाराहारीमा रहेका हामीमध्ये अधिकांशको चिन्ता छ— अमेरिका र इरानको युद्धको भुङ्ग्रोमा हामीले खाइपाइ आएको जागिर नगुमे हुन्थ्यो। यहाँ निरन्तर युद्ध हुँदै गयो भने यहाँको अर्थतन्त्रमा गम्भीर असर पर्ने निश्चितजस्तै छ। अर्थतन्त्र कमजोर हुनेबित्तिकै रोजगारीका अवसर घट्ने कुरा धेरैलाई थाहा भएकै हो। 

युद्धकै असरस्वरूप पेट्रोलियम पदार्थको मूल्य बढेसँगै अमेरिका र इरानबीचको युद्धलाई लिएर संसारभर चिन्ता जनाइएको छ, तर हामी मजदुरलाई आफ्नै पेट र आफूमाथि आश्रित परिवारको चिन्ता ज्यादा छ। संसारको रीत नै यही त हो नि! पहिले आफू अनि बाँकी संसार। फेरि, सारा संसारको जटिलता हामी के जानौँ? जानेर पनि आकाशमा उड्ने सैनिक जहाज, मिसाइल र ड्रोन रोक्ने तागत हामीमा भए पो? 

भोको पेट हाम्रो लागि 'मिसाइल' हो, त्यसले हामी र हाम्रो परिवारलाई नहानोस्। रित्तो बैंक खाता क्रुज मिसाइल हो, त्यो नपड्कियोस्। गाउँ मात्रै नभई आफ्नो राजधानीको बसोबाससमेत छाडेर, कलिला छोरीहरूलाई छोडेर परदेशमा आएको यो रोजगारी कमसेकम नगुमोस्। धेरै समय पर्खिएर, धेरै अन्तर्वार्ता दिएर दुःखले पाएको यो जागिर ड्रोन बनेर नबिलाओस्। चाहना यत्ति हो। 

अर्को कुरा, यतिखेर मिसाइलको आवाजसँगै यस क्षेत्रमा कार्यरत लाखौँलाख आप्रवासी श्रमिकको आवाज झनै दबिएको छ। हाम्रो आवाज पहिलेभन्दा झनै मधुरो छ— विदेशमा रहेपछि यहाँकै नैतिक, धार्मिक र कानुनी अनुशासनमा बस्नुपर्ने बाध्यता हुन्छ। सञ्जाल चलाउने सवालमा पनि त्यो अनुशासन कायम गर्नैपर्‍यो। त्यसो हुँदा यहाँ चलेको युद्ध र राजनीतिबारे टिप्पणी गर्ने हाम्रो सामर्थ्य कम छ, निम्छरो छ। 

कमसेकम हामी जन्मे–हुर्केको देशमा भर्खरै जोशिला युवाहरूको नयाँ सरकार बनेको छ। पाखुरा खियाएर देशलाई रेमिट्यान्स पठाइरहेका आफ्ना नागरिकबारे त्यो बलियो जनमतले सोचोस्। भोलि अहिलेको युद्ध लम्कँदै जाँदा माहोल झनै खराब पनि हुन सक्छ। त्यस्तो अवस्थामा 'मर्नुभन्दा बहुलाउनु निको' ठानेर धेरै नेपाली देश फर्कनुपर्ने हुन सक्छ। त्यसबारे सरकारले अहिले नै तयारी र पूर्वअभ्यास थालोस्। 

फ्याट्ट मनमा आएको कुरा, हाम्रा प्रधानमन्त्रीबारे देश–विदेशका ठूला मिडियामा फोटोहरू छापिएका छन्। हाम्रो सरकारबारे प्रशस्त चर्चा भएको छ। केही समयअघि मात्र पाकिस्तानले इरान र अमेरिकालाई वार्ताको टेबलमा ल्याएको थियो। यसै सेरोफेरोमा हाम्रो सरकार र सरकारका प्रतिनिधिले आफ्नो ब्रान्डिङको उपयोग गर्न सम्भव छ। पश्चिम एसियामा रहेका आफ्ना झन्डै २० लाख नागरिकको जागिर कायम राख्ने सन्दर्भमा पनि नयाँ सरकारले कूटनीतिक भूमिका खेल्न सकोस् भन्ने हाम्रो कामना छ। जे होस्, भविष्यका चुनौती कसरी सामना गर्ने भन्नेबारे सोचोस् र रणनीति बनाओस्। 


Related Story and Articles

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

विदेश जाने युवकहरू 'राम' नै हुन् त?

विदेश जाने युवकहरू 'राम' नै हुन् त?

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.