
दुलही बनाएर भित्र्याएको
१६ दिन नपुग्दै त हो म परदेश आएको
आज सातौं वसन्त पार भएछ
सँगै बाच्ने अनि सँगै मर्ने कसम खाएको
एक अर्काको दुख अनि शुखमा हरपल साथ दिन्छौँ
भन्दै जग्गेमा अग्नी साक्षी राखेर सात फेरो घुमेको
तिम्रो हात समाएर, आँखा जुधाई कहिल्यै नछुट्टिने वाचा गरेको
तर आज फर्किएर हेर्दैछु अनि सोच्दै छु
कति पुरा गर्न सके मैले मेरा बाचाहरू!
आठौं वसन्तमा आइपुग्दा आठ महिना सँङ्गै बसेको छैन
तिम्रो दु:खमा आँसु अनि खुशीमा हासि बाढ्न सकुँ भन्थें
तर सात जन्म सँगै जिउने कसम खाएको तिमीसँग
बिना दिन गनेर नै दिन कटाउन सकेको छैन
दुख लाग्छ मलाई
आफूले आफैँलाइ सम्झाउँदै सम्हालिन्छु
म उसकै खुशीको लागि त हो नि परदेश आएको
संसारका सबै खुशी किनिदिन!
वैंशमा दु:ख गरेर बुढेसकालमा सुख काट्न
म रगत पसिनाले पैसा साट्न अनि
पैसाले खुसि किन्न परदेश आएको मान्छे
तर, आज फेरि सोच्दै छु
कहिले पुग्ला मलाई खुशी किन्ने पैसा?
कसरी फिर्ता लिने होला मैले ?
सुख र खुसीको तलासमा
गुमाइ सकेँ मैले मेरो वैँश
गुमाई सकेँ मैले उसका हाँसोहरु
दिनहरु गन्दागन्दै बिर्सन लागेँ उसको सामिप्यता
सम्झने कोसिस गर्दैछु याे बन्जढ मरुभुमिमा
खजुरको बोटमुनि बसेर !
नियाल्दै छु सिटि सेन्टर र पर्ल कतारलाई
यसैमा त हो मेरो पसिना बगेको
जुन पसिनासँग मैले पैसा साटेँ
अनि त्यही पैसाले खुशी साट्न खोजिरहेछु
तर मैले त्यो खुशी अझै भेटन सकिरहेको छैन
त्यसैले त प्रिय, म कसरी तिमीलाइ भनुँ?
याे पवित्र दिनकाे शुभकामना,
वैवाहिक बर्षगाँठको शुभकामना!