गएको जेठ तेस्रो साता मलेसिया जानका लागि त्रिभुवन विमानस्थलको अध्यागमन कक्ष पुग्दा एउटा अनौठो दृष्य देखेँ। मलाई त्यो दृष्य अनौठो लागेपनि त्यहाँ हुने त्यो नियमित प्रक्रिया नै होजस्तो लाग्यो। त्यहाँ अध्यागमन पार गर्ने डेस्कहरु रोजगारीका लागि विदेश जाने, विद्यार्थी र भिजिट भिसामा जाने डिप्लोम्याट र बिदेशी पर्यटकका लागि गरी छुट्टाछुट्टै छन्।

म आफू भिजिट भिसामा मलेसिया जाँदै थिए केही दिनको लागि। अध्यागमनमा लाइन बस्दै गर्दा एक हुल (करिव ८–१० जना) मधेशतिरका युवा हातमा म्यानपावरको फाइल बोकेर भिजिट र विद्यार्थी लेखिएको लाइनमा मभन्दा अगाडि उभिइरहेका थिए। भित्रबाट एक जना अध्यागमनका कर्मचारी फोनमा बोल्दै आए र तिनीहरुलाई छुट्टै बस्न लगाएर एउटा अर्कै काउण्टरतर्फ जान संकेत गरे। म त्यो सबै दृष्य नियाली रहेको थिएँ। उनीहरु एकएक गर्दै उक्त काउण्टरमा गए।

खाडी र मलेसियामा भिजिट भिसामा जानेहरूलाई सरकारले मापदण्ड बनाएको छ। र, अध्यागमनका अधिकारीहरूले भिजिट भिसामा जानेहरूलाई केही प्रश्नहरू सोध्नु पनि पर्ने हो तर केही पनि नसोधी उनीहरुलाई अध्यागमनले पासपोर्टमा स्ट्याम्प हानेर छोडिदियो। ती युवाहरू एयर अरेबियाको उडानमार्फत यूएई जाँदै थिए। म अध्यागमनको डेस्कमा पुगे। सरकारले बनाएका सबै मापदण्ड पूरा गरेर मैले भिसाको आवेदन दिएको थिएँ अनलाइनमार्फत। आवश्यक कागजात पूरा गरेकाले मलेसियाले सजिलै भिषा पनि दियो। तर मलाई भने अध्यागमनमा ‘किन जान लागेको? कति दिन बस्ने? कति डलर बोक्नु भएको छ? लुकेर या भागेर त्यतै काम पो गर्ने पो हो की?’ लगायतका प्रश्नहरू अध्यागमनका अधिकारीले तेस्र्याए।

मैले सिधै भनेँ, ‘मलेसियामा भागेर काम गर्नुपर्ने भए कतारको प्रतिष्ठीत कम्पनीको सेवा सुबिधा भएको जागिर छाडेर किन आइन्थ्यो होला र सर?’ मेरो जवाफ सुनेपछि उनले फेरि भने, ‘न कतारकै जस्तो काम उता मलेसियामा पाउनुहुन्छ कि भनेर नी!’ मैले हाँसेर फेरि भनेँ, ‘उताकै जस्तो कामको अफर आयो भने त यतै आएर प्रक्रिया पूरा गरेर जाउला नी सर।’ मेरो जवाफ सुनेपछि उनले मेरो बैंक स्टेटमेन्ट, ट्राभल हिस्ट्री, होटल बुकिङ, ट्राभल इन्स्योरेन्स, रिर्टन टिकट, विदेशि मुद्रा सटहीको स्ट्याम्पहरू हेरेर मलाई छाडिदिए।

तर भिजिट भिसामा यूएई जान लागेका ती युवाहरूलाई भने कसैले केही पनि प्रश्न सोधेन। शायद मेनपावर र तिनका कथित एजेन्टहरूले भन्ने गरेको ‘सेटिङ’ त्यही होला। किनकी त्यहाँ पक्कै केही मिलीभगत थियो। म स्वयंले ती युवाहरु भिजिटमा जान लागेका होइन भन्ने कुरा पत्ता पाएँ भने अध्यागमनका अधिकारीहरूले त्यो कुरा पत्ता नपाउने भन्ने पक्कै थिएन। स्मरण गरौं, सरकारले २०७८ माघ १० गतेदेखि भिजिट भिसामा विदेश जानेहरुलाई नयाँ मापदण्ड जारी गर्यो। जसमा वार्षिक आय ६ लाख भएको बैंक खाता, खाडी र मलेसियाबाहेकका दुई वटा देश घुमिसकेको हुनुपर्ने उल्लेख छ।

त्यसो त नेपालबाट पछिल्लो एक वर्षमा ८० हजार भन्दा धेरै नेपाली भिजिट भिसामा यूएई पुगेका छन्। भिजिट भिसामार्फत यूएई जानेहरू अधिकांश रोजगारीका लागि जाने गरेका छन्। कतिपयले त्यहाँ रोजगारी पाउँछन् भने कतिपयहरू भने रोजगारी नपाएर अलपत्र पर्ने गरेका छन्। कतिपय काम नपाएर फर्कने गरेका छन्। यूएईमा भिजिटमा गएर काम गर्नु भनेको नेपाल र यूएईबीचको श्रम सम्झौता विपरितको कार्य हो।

नेपाल र यूएईबीच सन् २०१९ को जुलाई १४ मा द्विपक्षीय श्रम सम्झौता भएको थियो। उक्त श्रम सम्झौताले गैरकानुनी माध्यमबाट श्रमिकलाई रोजगारीमा लगाउन बन्देज गरेको छ। सम्झौताको धारा २ को उपधारा २ मा ‘श्रमिकको भर्ना, रोजगारी र स्वदेश फिर्ताको कार्यलाई नियमन गर्ने साथै पारदर्शी बनाउन भर्ना प्रक्रियालाई स्वच्छ बनाउने, निष्पक्षता र पारस्परिक लाभका निम्ति सहकार्य गर्ने’ भनेर उल्लेख गरिएको छ। सम्झौताको उपधारा ५ अनुसार श्रमिकहरूको अवैध भर्तीका मुद्दाहरूलाई सम्बोधन गर्न समन्वय गर्ने उल्लेख छ।

यता, यूएईमा भिजिट भिसामा कामदार लैजाने काममा नेपालका म्यानपावर र यूएईको कन्सलटेन्सीका संचालकहरू संलग्न हुने गरेका छन्। तर, यसको लागि उनीहरूले वैधानिक प्रक्रियाहरू पूरा गर्ने गरेका छैनन्। नेपालमा बेरोजगार भएर बसेका युवाहरूले आर्कषक रोजगारीको गन्तव्यका रुपमा यूएईलाई छान्ने गरेका छन्। भिजिट भिसामार्फत यूएई जाने र त्यहाँ आफ्नो स्किल अनुसारको काम पाइने र कमाइ पनि आर्कषक पाइने प्रलोभनमा युवाहरूलाई म्यानपावर र तिनका एजेन्टहरूले प्रलोभनमा पार्ने गर्छन्। यसका लागि एजेन्ट र म्यानपावरहरूले युवाहरूबाट २ लाख ५० हजारदेखि माथि असुल्ने गर्दछन्।

‘खान बस्न र काम खोजिदिने सम्मको व्यवस्थाको लागि’ भन्दै उनीहरूले त्यही अनुरुप पैसा असुल्छन् भने खाने, बस्ने र काम आफैंले खोज्नेहरूको लागि भने कम पैसा असुल असुल गर्छन्। यूएई पठाइसकेपछि भने कतिपय एजेन्टहरु सम्पर्कबिहीन पनि हुने गर्दछन्। भिजिट भिसावाला व्यक्ति यूएई उत्रेपछि विमानस्थलमा लिन नजाने, काम नखोजिदिने, एक–दुई दिन कुनै वासस्थानमा राखेर त्यहाँबाट निकालिदिने सम्म गर्छन्। काम नभेटिएको अवस्थामा यूएईमा काम खोजिदिने अर्को कोही एजेन्टलाई समेत केही पैसा कमिसन दिनुपर्छ। भनेको समयमा काम नलगाइदिने र एजेन्टको विरुद्ध उजुरी गर्छु भन्यो भने कुटपिटसम्म गर्ने गरिएको यूएईमा भिजिट भिसामा गएकाहरूले बेला–बेला बताउने गरेका छन्।

ऋण खोजेर भिजिटमा पुगेकाहरू समयमै काम नभेटेपछि ओभरस्टे भएर बस्ने गर्दछ। ओभरस्टे बसेबापत पहिलो दिन १२५ दिराम (४३५७ नेपाली रुपैयाँ) र त्यसपछि दैनिक २५ दिराम जरिवाना तिर्नु पर्ने हुन्छ। भिजिटमा गएर ठगिएकाहरू अधिकाशंले उजुरी गर्न समेत सक्दैनन्। खान, बस्न र समयमै काम नपाएपछि उनीहरूमध्ये धेरै मानसिक तनावले डिप्रेसनसम्म पुग्ने गरेका छन्। बिरामी परेको खण्डमा उपचार गर्न र कानुनी सहायता पाउन उनीहरूलाई एकदमै कठिन हुने गरेको छ। भिजिटमा गएर रोजगारी पाइहाले पनि रोजगारदाताले समयमै भिसा नलगाइदिने, समयमै तलव सुविधा नदिएको अवस्थामा उजुरी गर्ने निकाय हुँदैन। यही बीचमा ज्यान तलमाथी केही भईहालेको खण्डमा नेपाल सरकारले समेत उनीहरूलाई उद्दार र सहयोग गर्दैन। यस्तो अवस्थामा यूएईमा रहेका नेपाली र त्यहाँ स्थापना भएका नेपाली संघ संस्थाहरूले ५–१० दिराम उठाएर उद्धार गर्नु पर्ने स्थिति छ।

यूएईमा भिजिट भिसामा गएर अलपत्र पर्ने गरेको समस्या आएपछि तत्कालिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान कुमार श्रेष्ठ यूएई पुगेर आए। उनले त्यहाँ नेपाली समुदायको माझमा सम्बोधन गर्ने क्रममा भिजिट भिसामा यूएई ल्याएर अलपत्र पार्नेलाई नछाड्ने बताए। उनले त्यसो भनेको केही दिनपश्चात यूएई प्रहरीको सहयोगमा त्यहाँ कन्सलटेन्सी सञ्चालक नेपाली व्यवसायीलाई पक्राउ गरी नेपालसमेत पठायो।

अरुलाई पनि पक्राउ गर्ने जनाइएको छ। तर अहिले पनि यूएईमा सैयौँको संख्यामा नेपालीहरू भिजिट भिसामा गएर अलपत्र परिरहेका छन्। पीडित सुनसरीका होम बहादुर कार्कीका अनुसार संखुवासभाका बिमल कार्की, मोरङका लिलाकान्त चौलागाईं लगायत १५ जनालाई यूएईमै रहेका दुई जना नेपालीहरूले जनही २ लाख ९० हजार देखि ३ लाख ५० हजार रुपैँयाँसम्म असुलेर यूएई पु¥याएका थिए, सेक्यूरिटीमा काम लगाइदिने भनेर। गएको कार्तिक १९ गते फ्लाई दुबईको उडानमार्फत यूएई पुगेका सुनसरीका होम बहादुर कार्कीले जानकारी दिएअनुसार उनीहरूलाई १ महिना काम लगाइदिएपछि काम गर्ने स्थानमा काम लगाइदिएबापत कमिसन नपाएको भनेर आफूहरूलाई कामबाट निकालिएको बताए।

‘हामीहरू पनि ओभरस्टे भएर बसेका छौँ। खाना पनि नियमित पाइएको छैन, कहिले भोकै त कहिले एक छाक मात्र खाएर बस्नु परेको छ। धेरै साथीहरू ओभरस्टे हुने डरले नेपाल फर्किएका छन्। यूएईमा रहेका एजेन्टले नेपाल गएपछि पैसा फिर्ता गरिदिने भनेको थियो। तर अहिलेसम्म पैसा फिर्ता नपाएर काठमाडौंमै बसिरहेका छौँ,’ यूएईबाट फर्किएका आयुष अधिकारीले बताए। आयुषका अनुसार उनीहरूलाई म्यानपावरमार्फत लैजाने भनिएको थियो। ‘हाम्रो म्यानपावर पनि छ। ढुक्कले यूएई आउँदा हुन्छ भन्यो। पैसा २ लाख ५० हजार भन्दा माथि तिर्ने साथीहरू धेरै छौँ। सेक्युरीटी गार्डमा काम लगाइदिने भन्दै लैजाने गरेको र धेरैलाई बिचल्ली बनाएको’ आयुष बताउँछन्। यूएईमा रहेका पीडितहरूले बैदेशिक रोजगार विभागको श्रम कल सेन्टरमा अनलाइन मार्फत आफ्नो गुनासो दर्ता पनि गरेका छन्। त्यसो त सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याहरू समाधान गर्न बेलाबेला कार्यदल समेत बनाउने गरेको छ। २०७३ साल फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको प्याकेजमा समाधान गर्न ५ सदस्यीय कार्यदल गठन गरेको थियो। प्रधानमन्त्री कार्यालयका सचिव संयोजक रहने गरी गृह, अर्थ, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव रहने गरी कार्यदल बनेको थियो।

त्यसो त सरकारले भिजिट भिसामा विदेश काम गर्न जान र मानव तस्करीलाई रोक्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मार्सल टिम नै बनाएर खटाएको छ। भिजिट भिसाको आवरणमा दलाल र विमानस्थलका कर्मचारी आर्थिक प्रलोभनमा परेर अवैध रूपमा नेपालीलाई विमानस्थलदेखि यूएइसम्म मिलीभगतमा सेटिङ गरेर पुर्याउने गिरोह सक्रिय रहेको आशंकामा मार्सल टिम २०७८ माघ परिचालित छ। तर अवैध रूपमा भिजिट भिसामा विदेश पठाउने काममा विमानस्थलका कर्मचारी लागिरहेका पनि देखिन्छन्।

तत्कालिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान कुमार श्रेष्ठले ‘दलाल र दोसीलाई पानी मुनि गए पनि नछाडने र कारवाहीको दायरामा ल्याउने’ बताएका थिए। भिजिट भिसामार्फत यति ठुलो संख्यामा नेपालीहरू बाहिरिँदा एकातिर सरकारले करोडौं रुपैयाँ राजस्व गुमाएको छ भने अर्कोतर्फ भिजिटमा गएर समस्यामा परेका नेपालीलाई राहत र उद्धारमा कठिनाई परिरहेको अवस्था छ। सरोकारवाला निकायलाई जानकारी होस्।

Maheshwor Nepal; महेश्वर नेपाल