
म वि.सं. २०५० मा बाग्लुङको बलेवामा जन्मेँ। तीन जना दाजूभाइमा म कान्छो छोरा हुँ। विपन्न परिवार, त्यसमाथि केबल आमाको मात्रै भरथेगमा हुर्किएको मैले सानैदेखि घरपरिवारको काम नगरी सुख पाइनँ। आमाले भन्नुभए अनुसार म सात दिनको हुँदा बुवाले हामीलाई छोडेर भारत जानुभएछ। त्यसपछिदेखि उहाँ सम्पर्कबिहीन हुनुभयो।
सारा घरका काम सकेर बल्लतल्ल भोकभोकै स्कुल जानुपर्ने नियति थियो मेरो। सोही कारण पढाइ पनि राम्रोसँग हुन सकेन, एसएलसीमा फेल भएँ। सरकारी विद्यालयमा पढ्ने धेरैजसो विधार्थीको अँग्रेजी विषय अलि कमजोर हुनेगर्छ। मलाई पनि अंग्रेजीले धोका दिएको थियो र एसएलसीमा असफल भएको थिएँ। यो २०६४ सालको कुरा थियो। उतिखेर १० कक्षा सकेपछि दिइने अचेलको एससिईई नै उबेलाको एसएलसी थियो।
एसएलसीको परिणाममा एउटा मात्रै विषय लाग्ने कुराखेर उति विघ्न प्रतिष्ठाको कुरो थिएन, किनकि सरकारी स्कुलका धेरैजसो विद्यार्थीलाई एक विषयमात्रै होइन, अनेकौँ विषय लाग्नेगर्थ्यो। यसो हुँदा मैले अवसर परिक्षा (कम्पार्टमेन्ट एक्जाम) दिन पाउँथेँ। तर बाँकी एउटा मात्रै परिक्षा दिने अवसर पाउँदा पनि परिक्षामा सफल हुन सकिनँ। त्यसपछि पढाईप्रति त्यति रुचि पनि लागेन। अब जीवनले अर्को मोड लियो।
१६ वर्षे अल्लारे उमेरका रुमानी सपना थिए। त्यसमाथि, गाउँघरमा खेतिपाति गरेर गाउँले जिवनबाट दिक्क भइसकेको थिएँ। शहर जान पाइयो भने कति रमाइलो हुन्छ होला भन्ने सोच बारम्बार आउँथ्यो। आफैँ कमाउने र रमाउने सोच आयो। जीवनका जटिलता र शहरका कठिनाइबारे ज्ञान नै थिएन। शहर गएर कम्प्यूटर सिक्छु भन्दै आमासँग तीन हजार रूपैयाँ मागेर बाग्लुङ बजार हिँडेँ।
शहर त आएँ, तर त्यति चिनजानको आफन्त कोही थिएनन्। कहाँ बस्ने र के गर्ने? यही अन्यौलमा रूमलिइरहेको थिएँ। त्यतिकैमा एकजना गाउँको चिनजानको दिदिसँग भेंट भयो। उहाँले कम्प्यूटर सिक्ने ठाउँ देखाईदिनु भयो। कम्प्यूटर कक्षा जोइन गरेँ, तर त्यहाँ पनि पढ्नै मन लागेन। आमाले दिनु भएको तीन हजार पनि कोठाभाडा र खानाखाजा गर्दा सकिन लागेको थियो। त्यसपछि जागिरकै खोज भनेर एक दुई दिन शहरतिर भौतारिएँ। त्यत्तिकैमा पिकअप जिपमा चालक सहयोगीका रूपमा काम पाएँ। खान र बस्न दिएर १५ सय मेरो मासिक तलव थियो।
चालक सहयोगीका रूपमा काम गर्दागर्दै ड्राइभिङ सिकेँ। मैले आठ कक्षा पढ्दा नै आफ्नो उमेर बढाएर फर्म भरेको थिएँ। त्यहिबाट पिकअप ड्राइभिङको चालक अनुमति पत्र निकाल्न सफल भएँ। त्यहाँ कामवापत कम तलब मिल्ने भएकाले नारायणघाट आएँ र नारायणघाट, बुटवल र सुनौलिको बसमा चालकको सहयोगीका रूपमा काम गरेँ। त्यहाँ भने मेरो मासिक तलव ४५ सय थियो। खाना यात्राका क्रममा निशुल्क उपलब्ध हुन्थ्यो भने हामी यात्राको क्रममा धेरैजसो गाडीमा नै सुत्ने गर्थ्यौं। यहीँ काम गर्ने क्रममा ठूलो गाडी सिकेँ र त्यसको चालक अनुमतिपत्र पनि निकाल्न सफल भएँ। यति भइसकेपछि मलाई विदेश जाने रहर मनमा चढ्दै थियो।
मेरो आफ्नै दाइ, सानु बुवा र सानो बुवाको छोरा यूएइमा हुनुहुन्थ्यो। मैले उहाँहरूसँग विदेश जान मन लागेको कुरा बताएँ। दाइलेचाहिँ मलाई कराउनु भयो। भर्खर १६–१७ वर्षको भएको छस्, किन पढाइ छाडेर विदेश जानुपर्यो भन्नुभयो। तर सानोबुवा र सानो बुवाको छोराले चाहिँ पढ्न पढि छाडिहालिस्, त्यत्तिकै बस्नुभन्दा यता आउने सोच छ भने मेरो कम्पनीमा भिसाको लागि कुरा गर्छु भन्नुभयो। त्यतिबेला म १६ वर्षको मात्र पुगेको थिएँ। विदेश जाने खुबै रहर लागेको थियो। त्यसैले २ वर्ष उमेर बढाएर भएपनि मैले पासपोर्ट बनाएँ।
पासपोर्ट बनाएको त्यस्तै एक महिनापछि दुबईको लागि भिसा पनि आयो। नेपालमा हुँदा कहिल्यै हवाइजहाज नचढेको म, विदेश जानेको एयरपोर्टको घुइँचो देखेर पहिलो पटक अतालिएको थिएँ। मेरो पहिलो वैदेशिक यात्रा कतार हुँदै दुबई थियो। कतारमा हामी २ घण्टाको ट्रान्जिट थियो। म त कतार एयरपोर्टभित्र नै हराएर कता जाने, के गर्ने एकदमै अलमल्लमा परेँ। त्यसपछि कस्टमर सर्भिसमा पुगेर अँग्रेजी बोल्दै टिकट देखाउँदा मेरो फ्लाइट त आधा घण्टा अघि नै अबुधावीका लागि उडिसकेको रहेछ। फ्लाइट छुटेपछि १२ घण्टा एयरपोर्टमै बसेर अर्को फ्लाइटमार्फत अबुधावी आइपुगेँ। एयरपोर्टमा दाइ लिन आउनु भएको थियो।
मेरो त्यही दिन बेलुकाबाट ड्यूटी सुरु गर्नुपर्ने भएकाले दुई तीन घण्टा आराम गरेपछि कम्पनीको गाडी चढेर कामतिर लागेँ। मेरो काम होटेलमा हाउस किपिङ थियो। पहिलो दिन भएकाले कामबारे सबै जानकारी गराइयो, जबकि त्यसअघिसम्म हाउस किपर भनेको के हो भन्नेबारे केही ज्ञान थिएन। तर विस्तारै सबै काम सिकेँ। पहिलो दिन भएकाले खाना आफैँ लिएर जानुपर्छ भन्नेबारे जानकारी पनि थिएन।
अन्य कर्मचारी साथीहरूले लगेको खाना बाँडीचुँडी खायौँ। मेरो म्यानेजर पाकिस्तानका थिए, उनी अंग्रेजी मात्र बोल्थे। धेरै दिन अंग्रेजी नबुझेर समस्या भयो। विस्तारै काम गर्दै जाँदा होटेलका पाहुना र साथीभाइसँग बोल्दै जाँदा कुराकानी सहज हुँदै गयो।
सुरूमा मैले १७ वटा कोठाको व्यवस्थापनको जिम्मा लिनुपर्थ्यो। पाहुनालाई राम्रो सेवा दिन सक्दा टिप्स पनि पाइन्थ्यो। एनिभर्सरी डेकोरेसन, किड्स सर्भिस, बर्थडे सेटअप जस्ता अवसर थिए। मैले उक्त कम्पनीमा २०१२ देखि २०१४ सम्म झन्डै २ वर्ष काम गरेँ। त्यसपछि घर फर्कन मन लाग्यो र जागिरबाट राजिनामा गरेर नेपाल फर्केँ।
पढाई अधुरो भएकाले फेरि पढ्ने सोच भयो। एसएलसीको लागि तयारी गरेर पुनः परीक्षा दिएँ, फेरि पनि अंग्रेजी विषय कटाउन सकिनँ। त्यसपछि २ वर्ष गाउँमा खेतिपाती सघाएँ। गाउँमा उपलब्धि नदेखेपछि फेरि विदेश जाने सोच पलायो र पुनः यूएइ पुगेँ।
२०२० को मार्चदेखि यूएइमा कोभिड–१९ का कारण पर्यटन ठप्प भयो। हस्पिटालिटी क्षेत्रमा असर पर्यो र कम्पनीबाट कामदार कटौती गरियो। म पनि परेँ। दूतावासको नामावलीबाट मात्र नेपाल फर्कन पाइने व्यवस्था थियो। लामो पर्खाइपछि नाम निस्कियो र नेपाल आएँ, तर परिवार भेट्न डेढ महिना लाग्यो।
क्वारेन्टाइनका कारण बाग्लुङमा १५ दिन बसेँ, त्यसपछि गाउँमा होम क्वारेन्टाइन बसेँ। रिपोर्ट नेगेटिभ आएपछि खाद्यान्न ट्रकको सहारामा राति हिँडेर दमौली पुगेँ। बाटोमा प्रहरी जाँच पनि भयो, निकै तनाव झेलेँ। अन्ततः परिवारसँग भेट हुँदा खुसीको सीमा रहेन।
अब विदेश नजाने सोच बनाएको थिएँ। बाग्लुङ फर्केर कृषिमा लगानी गरेँ। कुखुरा फार्म र आलू खेती सुरु गरेँ। तर रोग र बजार समस्याका कारण करिब १५ लाख लगानी डुब्यो। परिवार चलाउन मुस्किल भयो। करिब २ वर्ष गाउँ बसेपछि अन्ततः २०२२ देखि फेरि यूएइमै कार्यरत छु।
सुरूमा सीप र भाषागत ज्ञान नहुँदा धेरै समस्या भोगेँ। अवसर पनि छुटे। अहिले विदेश आउने सोचमा हुनुहुन्छ भने सम्बन्धित देशको भाषा र आवश्यक सीप सिकेर मात्र आउनुहोला भन्ने अनुरोध छ।
(वैदेशिक रोजगारीमा रहनु भएका एक जना श्रमिक साथीको कुराकानीमा आधारित संपादित अंश)