
वीरेन्द्रनगर नगरपालिका–९, सुर्खेतका ४१ वर्षिय लाल बहादुर सुनार सकुशल नेपाल आई पुग्न पाएकोमा खुसी छन्। २१ नोभेम्बर २०२१ का दिन रोजगारीका लागि साउदी अरब पुगेका लालबहादुर नेपालबाट त्यसतर्फ जाँदा नै म्यानपावर कम्पनीले ढाँटेर पठाएका कारण आफूहरूले साउदीमा धेरै दुःख पाएको बताउँछन्। त्यसो त वैदेशिक रोजगारीकै क्रममा करिब तीन वर्ष पहिले पनि लालबहादुर साउदी पुगेका थिए।
उतिखेर लालबहादुरको कम्पनीमा आगलागी भएपछि अन्य धेरै विदेशी कामदारहरूसँगै लालबहादुर पनि घर फर्काइए। ‘तर यो पटक त साह्रै दुःख पाइयो। कति दिन त भोकै बसेँ, १९ दिन खबुस (सुख्खा रोटी) र पानी मात्र खाएर बाँचेँ,' विगतका दिन सम्झँदै भक्कानिए लालबहादुर।
पहिलो पटक साउदीबाट फर्किएर नेपालमै सामान्य प्लम्बरको काम गरेर घरायसी आवश्यकता पूरा गरिरहेका सुनारलाई दोस्रो पटक फेरि विदेश जाने रहर भयो। उनी काठमाडौँको सेफ ल्यान्ड ओभरसिज, सामाखुसीबाट साउदी जानका लागि फारम भरे।
म्यानपावर गएर उनले भने, "म साउदीबाट फर्केको हुँ, फ्री–भिसा, फ्री–टिकट हो भने जान्छु।" तर म्यानपावरले साउदी जानको लागि १ लाख ५५ हजार पैसा लाग्ने, तिर्न नसके साउदी नलैजाने बतायो। तर उनीसँग त्यति पैसा कहाँ पाउनु? उनले सयको ४ रुपैयाँ (सयकडा चार) प्रतिशतको दरमा ब्याजमा पैसा लिए। उक्त रकम मध्ये ३० हजार आईएमईबाट पठाए भने बाँकी रकम एजेन्टलाई नै नगदका रूपमा बुझाए। नेपालको सबै प्रक्रिया पुरा गरेर साउदीको कुखुरा फ्याक्ट्रीमा काम गर्न उनी अन्य नेपालीहरू सहित साउदी अरब पुगे।
लालबहादुरलाई म्यानपावरले काम गर्ने कम्पनी 'डाइरेक्ट कम्पनी' भनेको थियो तर साउदी गएपछि मात्र उनले थाहा पाए कि जुन कम्पनीसँग नेपालको म्यानपावरले सम्झौता गरेको थियो, त्यो त 'सप्लाई कम्पनी' रहेछ। भन्नुको मतलब यहाँको म्यानपावरले सप्लाई कम्पनीलाई मान्छे पठाउने, साउदी पुगेपछि त्यहाँको कम्पनीले यहाँबाट गएका मजदुर अन्य कम्पनीलाई 'बेच्ने'।
लालबहादुर भन्छन्, "८ घण्टा काम गर्दा एक हजार रियाल तलब र खाना बापत ३ सय रियाल भत्ता दिने भनी नेपालबाट लगिएकोमा उता पुगेपछि भने जति तलब पनि पाइएन। ११ घण्टा काम गर्दा जम्मा एक हजार रियाल तलब दिइयो। खाना बापतको दिनुपर्ने तीन सय रियाल थप पनि दिइएन। जेद्दा र मदिनाको बीचको रहेको 'अब्सर फर अप्रेसन एण्ड मेन्टीनेन्स' कम्पनीमा काम थियो। सुरुमा भने रदुवा भन्ने ब्रान्डको कुखुरा काटेर र प्याकिङ गर्ने काम गर्नु परेको थियो। ओभरटाइम १–२ घण्टा पाइन्थ्यो तर प्रति घण्टा ३ रियाल मात्र दिन्थ्यो जबकि सर्त अनुसार प्रति घण्टा ६ रियाल ओभरटाइम पेमेन्ट पाउनु पर्ने थियो।"
"अघिल्लो महिनाको तलब अर्को महिनाको १५ तारिकतिर मात्र दिइन्थ्यो। पहिलो महिना त्यहीँ नजिकैको बैंकमा खाता खोलेर २३ दिनको तलब बैक मार्फत दिइयो, तर दोस्रो महिनादेखि बैंकको कार्ड (एटिएम) नै कम्पनीले लग्यो। त्यसपछि हामीलाई कहिल्यै राम्रोसँग तलब दिएन। सर्तभन्दा धेरै घण्टा काममा लगाइयो। तलब पनि भने भन्दा कम भयो," लालबहादुरले थपे, "त्यसपछि मैले काठमाडौँमा रहेको साथीमार्फत वैदेशिक रोजगार विभागमा भने जस्तो काम र तलब नपाएकोले घर फिर्ता गराइ, क्षतिपूर्ति भराइ पाउँ भनी उजुरी हाल्न लगाएँ। त्यसपछि एक दिन नेपाली दूतावासले हामीलाई फोन गर्यो र फर्किनको लागि सहजीकरण गर्ने बतायो। तर कम्पनीले देश फर्किने भए आफ्नै टिकटमा फर्कन र प्रति व्यक्ति बाह्र हजार रियाल भिसामा भएको खर्च तिर्न भन्यो। हामीसँग त्यत्रो पैसा कहाँबाट हुनु?"
लालबहादुरले भने, "सुरुमा हामीलाई ८–९ जना एउटै कोठामा राख्थ्यो। चर्पी र भान्सा सबैको एउटै। तर हामीले यता स्वदेशमा उजुरी हालेको कुरा थाहा पाएपछि हामी १० जनालाई छुट्टै क्याम्पमा लग्यो र छुट्टै राख्यो। त्यस पछि करिब ४० दिन हामीलाई न काम दियो न त खाना नै। ४० दिन १० जना एउटै कोठामा सुतेको सुत्यै बित्यो। कतै जाउँ भने साउदीको आकामा कार्ड (परिचय पत्र) छैन, न त पासपोर्ट र भिसा नै। हामीले पहिले पाएको २३ दिनको तलबले नै ४० दिनसम्म रोटी र पानीको व्यवस्थापन गर्यौं।"
उनले थपे, "कम्पनी राम्रो थिएन। त्यसैले अलेलि हुने खाने र टाठा बाठाले घरबाट पैसा मगाएरै नेपाल फर्किए। कोही गएको ४ दिनमै त कोही १० दिनमा त कोही १५ दिनमा गरी १५ जना जति उतिखेरै फर्किए। तर देश फर्किने हिम्मत हाम्रो भएन। विदेश जाँदा लागेको ऋण सम्झियौं। विदेशमा आइएको छ, पछि केही राम्रो होला कि त भन्ने आशा गर्दै कुर्यौं तर कहिल्यै राम्रो भएन। भिसा पनि सकियो, कम्पनी र म्यानपावरलाई बारम्बार भन्दा पनि भिसा लागेन। हामी अन्ततः बिना कागजातका (अनडकुमेन्टेड) मान्छे भयौं। कि भागेर काम गर्ने या १२ हजार रियाल तिरेर आफ्नै टिकटमा घर फर्किने अवस्था आयो।"
लालबहादुरले भने, "अति भएपछि साउदी अरबको लेबर कोर्टमा गएर घर फर्काइ पाउँ भनी उजुरी गर्यौ। तर लामो समय लाग्यो मुद्दाको फैसला हुन। अन्त्यमा हामीले मुद्दा जित्यौं। मुद्दा जितेका मसहित २ जना साथी २२ नोभेम्बर, २०२२ मा नेपाल फर्कियौं। २४ नोभेम्बरमा अरू ५ जना पनि नेपाल फर्किए। फर्कने सबैले आआफैं टिकट व्यवस्था गर्नुभयो। हामीलाई केही सहयोगी व्यक्ति र श्रमिक सन्लालका साथीहरूले टिकट सहयोग र ३ दिन निःशुल्क खाने–बस्ने व्यवस्था गरिदिनु भयो। कम्पनीमा काम गरेको ४ महिना भन्दा बढीको तलब पनि पाइएन।
पछिल्लो कम्पनीका बारे सुनार भन्छन्, "कम्पनीको लाइसेन्स साउदी अरेबियन नागरिकको भए पनि कम्पनी चलाउने चाहिँ वंगलादेशी नागरिक भन्ने सुनेका थियौं। हामीलाई सबै कुराको खटनपटन गर्ने नै वंगलादेशी नागरिक थिए। सामान्य सुपरभाइजरदेखि मेनेजरसम्म बङ्गलादेशी नै थिए। त्यस कम्पनीमा श्रमिकहरूको अधिकार र श्रम कानुन पालनाको त के कुरा, त्यहाँ करिब ३ सय जति नेपाली साथीहरू भिसा र अकामा (साउदीको परिचयपत्र बिना) नै छैन। बिरामी हुँदा या नेपालमा अकस्मात् केही पर्दा बाहिर आउन पर्ने अवस्थामा छैनन्। अझ धेरैलाई त तलब पनि भने जति दिइएको छैन। नेपाल पैसा पठाउनका लागि पनि अर्को व्यक्ति खोज्नु पर्ने र पैसा पठाए बापत पनि कमिसन दिनु पर्ने अवस्था छ।"
उनी भावुक हुँदै थप्छन्, "हामीले सुने वा पढेभन्दा धेरै गुणा नाजुक अवस्था छ त्यो कम्पनीमा काम गरिरहेका साथीहरूको। तर जस्तोसुकै अवस्था भए पनि मालिक र सुपरभाइजरहरूको हप्कि–दप्की सहनै पर्ने। विदेशमा खाएको हन्डरले त अब ज्याला मजदुरी गर्नु परे पनि स्वदेशमै गर्छु भन्ने लाग्छ तर नेपालमा पनि काम गर्न सजिलो कहाँ छ र? हेरौं, केही त गर्नैपर्यो। बाँचुन्जेल त कुनै न कुनै काम त गर्नैपर्यो। आफ्ना बाल–बच्चा र परिवार त पाल्नै पर्यो।"