
इराक र कुवेतमा रहँदा ठुला–ठुला गाडीका स्टेरिङ घुमाएका बालकृष्ण घिमिरे अहिले डेरी व्यवसायमा लागेका छन्। घरभन्दा पनि ठूला र लामा ट्रेलर चलाएका घिमिरेको हात अहिले दूध, दही, घ्यू र पनीर लगायतका दुग्ध पदार्थ उत्पादनमा लागेको छ। बिदेशमा सिकेको समयको महत्व र कामप्रतिको लगावले गर्दा उनले अहिले डेरी व्यवसायबाट पनि मनग्य कमाइ गरेका छन्।
उक्त व्यवसायमा उनकी श्रीमती, छोरी र छोराले समेत सघाउँछन्। उनको काभ्रेको धनेश्वरमा रहेको आफ्नै घरमा दुध संकलन तथा प्रशोधन केन्द्र छ, जहाँ दुधका परिकारहरू बनाईन्छ। घिमिरेको बनेपाको गोदामचोकमा पनि ‘न्यू संकल्प दुधदही पसल’ छ। उनी जगतेमा रहेको छोरीको पसलमा र काठमाडौँको बानेश्वरमा रहेको आफ्नै भाइबुहारीको पसल र समेत दुध र यसका परिकारहरू पुर्याउँछन्। उनी र उनी जस्तै २६ जना उद्यमीहरूको लगानीमा ‘संयुक्त डेरी एन्ड फुड कम्पनी’ पनि खोलेका छन्। त्यहाँ आफ्नै दूध बोक्ने ट्यांकरले चितवनदेखि दुध ल्याइन्छ।
काभ्रेको नालामा जन्मिएका घिमिरेका धेरैजसो छिमेकीहरू डेरी व्यवसायमा लागेका थिए। उनको बुवा पनि पहिले गाईभैँसी पाल्ने र दुध बेच्ने गर्थे। घिमिरेका अनुसार उनका बुवाले ४० लिटरसम्मको दूधको क्यान एक्लै बोक्थे। ‘मैले पनि ४० लिटरको दूधको क्यानलाई नालाबाट बनेपासम्म बोकेर पुर्याउँथे। दूध पुर्याएर आएर मात्र स्कूल जानु पर्थ्यो’, घिमिरे भन्छन्, ‘डेरी व्यवसायबारे सानैदेखि राम्रै ज्ञान थियो। प्रविधी भने फरक छ। अहिले प्रविधी र गुणस्तरीयताका हिसाबले डेरी व्यवसाय केही सुधारिएको छ।’
सानैदेखि नयाँ काम र कुराहरू सिक्न चाहने घिमिरेले नेपालमा आएपछि शुरुमा टेम्पो चलाए। टेम्पोबाट माइक्रो हुँदै ठूला गाडीहरू पनि चलाए। उनलाई नेपालको कमाइले पछिसम्म टिक्न गार्हो होला भन्ने लाग्यो। साना–साना बालबच्चाको सुखद भविष्य र करिब ४ लाख ऋणका कारण स्वदेश छोड्नैपर्ने भयो। बिदेश जाने सोच बनाए। ३ छोरी र १ छोरा साना–साना भएपनि उनीहरूको हेरचाहको जिम्मेवारी श्रीमतीलाई दिए। कुवेतको एक कम्पनीमा ठुलो गाडी चलाउने सवारी चालकका रुपमा उनी छानिए।
कुवेत पुगेपछि उनलाई इराक जानु पर्ने भयो। उनले नाइँ भनेनन्। इराकको पनि कुना–काप्चामा पुग्नुप¥यो। बमबारी र अमेरिकी स्कर्टिङका समयका अनगिन्ती सम्झना छ उनीसँग। करीब ८ वर्ष कुवेत अनि इराकमा काम गरेपछि उनको शरीरले पनि साथ दिएन। आँखा चिलाउने र पाइल्सको समस्याले गाँज्यो उनलाई। उता घरमा पनि छोराछोरी र श्रीमती न्यास्रिए, यता ज्यान पनि सधैं आधि सन्चो। त्यसैले उनले सधैंको लागि घर फर्किने निर्णय लिए। उनी भन्छन्, ‘समयमै सही निर्णय लिएछु।’
घिमिरे नेपाल फर्केको दिन बेलुकीको समय भएको थियो। बिमानस्थलबाट घर जाने क्रममा ट्राफिक अव्यवस्था र सडकको स्थिती देख्दा ट्याक्सीमै उनलाई ‘नेपालको ड्राइभिङ’ डर लाग्यो। बिदेशमा चिल्ला सडक, राम्रो ट्राफिक प्रणाली र अनुशासित सवारी चालक हुन्थे। यता सबै अस्तब्यस्त। त्यसैले घिमिरेले घर जानेबित्तिकै भने, ‘अब नेपालमा पेशागत रूपमै ड्राइभर हुन सक्दिन। अब डेरी व्यवसाय गर्ने।’
त्यसपछि उनले सबै परिवारको सल्लाह लिए। अनि सल्लाहबमोजिम उनीहरूले काठमाडौंको तीनकुनेमा डेरी खोले। व्यापार राम्रै थियो। तर दूधका लागि सधैं अरुकै लागि भर पर्नु परेको थियो। उनीहरूले ६ वर्षजति व्यवसाय चलाए। भिमेश्वर (पनौती जाने बाटो) नजिक बिदेश जानु पहिले नै आफूले किनेको जग्गा थियो। उनीहरूले दुःख–सुख गरेर त्यहाँ घर बनाए। अनि आफ्नै घरमा दुध संकलन केन्द्र खोले। त्यही प्रशोधन हुन्छ। अहिले यहाँ दूधका परिकारहरू बनाइन्छ। त्यहीँबाट र बनेपाको पसलबाट डेरीका उत्पादनहरू बेचिन्छ। भक्तपुर, काठमाडौँ र ललितपुरको संयुक्त डेरीमा पनि केही उत्पादनहरू पुर्याउँछन्।
उनी कुबेतमा सवारी चालकको काम गर्थे। उनका भाई गोकर्णले पनि दाइकै कम्पनीमा आउने इच्छा राखे। बालकृष्णले पनि सो कुरा कम्पनीमा भने। कम्पनीले पनि उनको भाईलाई कुवेत आउन ढोका खोलिदियो। केही वर्ष दाजुभाईले एउटै कम्पनीमा काम गरे। उनले सधैंका लागि कुवेत छोड्दै गर्दा भाईले खल्लो माने। भाइलाई छिट्टै नेपाल फर्किने सुझाउँदै उनी सधैंको लागि घर फर्किए।
उनका भाईको काम राम्रै थियो। आफ्नै कार किनेका थिए उनका भाईले। भाइले बाहिर अन्य काम गरेर अतिरिक्त आम्दानी पनि गरे। तर समय सधैं उस्तै नहुँदो रहेछ। घिमिरे भन्छन्, ‘सन् २०१९ जुलाई ८ तारिख भाईको सडक दुर्घटनामा कुवेतमा मृत्यु भयो। भाइको मृत्युले निकै बिक्षिप्त बनायो। उसको २ वटी श्रीमती र छोराछोरीहरूको हेरविचार गर्ने जिम्मेवारी पनि थपियो।’
भाइको शव ल्याउन पनि लामो समय लाग्यो। श्रम स्वीकृतिको अवधि सकिएको भन्दै श्रम मन्त्रालय तथा अन्य निकायबाट कुनै आर्थिक सहयोग पाइएन। घिमिरे थप्छन्, ‘सडक दुर्घटनामा मृत्यु भएको भाईको परिवारले अझ कुनै पनि दुर्घटना बीमा वा केही सहयोग पाएका छैनन्। श्रम मन्त्रालय गयो, परराष्ट्रको काम भन्छन्। परराष्ट्र गयो, दूतावासको काम भन्छन्। कता जाने, कसलाई भन्ने? परिवार गुमाएपछिको चोटमा झन चोट थपियो।’
देशको अस्थिर राजनीतिक अवस्था, सरकारी संयन्त्र र अस्वस्थ प्रतिस्पर्धाका कारण स्वदेश फर्किएपछि व्यापार–व्यवसाय गर्न सहज छैन। घिमिरे भन्छन्, ‘बिदेश जाँदा यता गरिरहेको काम अनि साथीसंगती टुट्छ। उर्जाशील समय बिदेशमै बित्छ। सरकारले बिदेशबाट फर्किएकालाई आकर्षक योजनासहित सहुलियत कर्जा लगायतका योजना ल्याउँछ। तर कार्यान्वयनमा कोटा सकिएको भन्दै सामान्य किसान वा व्यवसायीलाई यो सुविधा दिइँदैन।’
घिमिरेलाई डेरी व्यवसायमा परिवारका सबैको राम्रो सहयोग छ। श्रीमती, कान्छी छोरी र छोरो सबै यही व्यवसायमा संलग्न छन्। बिहान करिब ४ बजे नै उठ्नुपर्छ। घिमिरे भन्छन्, ‘केही उत्पादन काठमाडौँ र भक्तपुर पु¥याउनुपर्छ। बनेपाको पसल खोल्नु पर्छ। यता दुध संकलन र प्रशोधन गर्नुपर्छ। त्यसैले हामी सबैले काम बाँडेर गर्छौँ।’ उनको बुझाइ छ, ‘कुनै पनि काम सानो हुँदैन र कुनै पनि काम देख्न सजिलो भए पनि गर्न सजिलो छैन।’ त्यसैले डेरी व्यवसायमा धेरै चुनौती छन्। उनी भन्छन्, ‘किसानलाई दूधको उचित मूल्य दिनु प¥यो। उनीहरूबाट लिएको दूधलाई सही तापक्रममा राख्न प¥यो। प्रशोधन (दूध उमालेर चिस्याउने) अझै काठिन काम हो। अझ सबैभन्दा ठूलो कुरा भनेको आफ्नो उत्पादनमा गुणस्तरीयता (सधैं उस्तै स्वाद) कायम राख्नसक्नु नै चुनौती हो। परिवारको सबैको सहयोग भएमा र निरन्तर मेहनत गरेमा व्यापार–व्यवसायमा टिक्न सकिन्छ,’ घिमिरे भन्छन्, ‘बिदेशमा हामी १२–१३ घण्टा खट्छौँ, यहाँ पनि त्यस्तै खट्न सके जीवन निर्वाहका लागि कठिन भने छैन।’
हामीले यो कथालाई भिडियोमा पनि उतारेका छौँ जुन तपाईँले हाम्रो यूट्यूबमा उपलब्ध छ।