
आफ्नै देशमा आफ्नो परिवार संग आफ्नो मात्री भुमिमा रम्ने रहर सायदै कसको पो नहोला र झन म त एउटी आमा हु। गरिबिको कारण रहर भन्दा पनि बाध्यताले मलाई परदेशमा डोर्यायो। आफ्ना ति कलिला छोराछोरीलाई आमाको छहारी बाट टाढॉ बनाएर श्रीमानलाई घर व्यवहार जिम्मा लाएर परदेश आएको पनि औला भाच्दा भाच्दै २ वर्ष पो हुन लागि सकेछ । मेरो श्रीमानले आफ्नो घरपरिवारको कमजोर आर्थिक अवस्था र घरको जेठो छोरा भएकाले भाई बहिनीको जिम्मेवारीका कारण एस.एल. सी भन्दा माथि पढ्न सक्नु भएन। २३,२४ वर्ष हुदॉ क्यान्सरका कारण आफ्नी आमा गुमाउनु परेको थियो। आमाको निधन पश्चात घरको सम्पूर्ण आर्थिक बोझ र जिम्मेवारी आइपरेपछि पढाईलाई बिचमै बिट मारेर परदेशको पहिलो यात्रा साउदी अरवबाट सुरू गर्नु भयो। साउदीमा सुरूका वर्षहरूमा केही कमाई थिएन् परिवारका निम्ति खर्च जुटाउन पनि सारै धौ धौ अवस्था थियो। यता घरमा बुवा लाई पनि प्यारालाइसिस भएको थियो परिवारको निम्ति धेरै खर्च थियो। धेरै वर्षको संघर्ष पश्चात ८/१० साल बस्दै गएपछि केही कमाई राम्रै हुदै थियो तर के गर्नु त्यही परदेशको संघर्षले श्रीमानलाई ढाड दुख्ने समस्या निम्त्यायो, विस्तारै ढाडको समस्याले गर्दा काम गर्नै गारो भएर काम गर्नै नसकेर नेपाल फर्कनु भयो। नेपालमा आफ्नो खेतीपाती थोरै भएकाले आम्दानीको श्रोत पनि केही भएन। २ जना छोराछोरी पढाउन सारै गारो अवस्था थियो। श्रीमान अब विदेश जान सक्ने अवस्थामा हुनुहुन्न थियो त्यसै क्रममा गाउँमै चिनजानको एक दिदिको आफन्तको म्यानपावर रहेछ उहॉले नै विदेश जाने भए कुरा गर्दिन्छु भन्नु भयो। हामीलाई नि आर्थिक समस्याले चेपेका कारण गह्रौं मन पारेर हुन्छ कुरा गर्दिनु भने उहॉ दिदिले १ लाख जति लाग्छ काम चै कतार एयरपोर्ट भित्र क्लिनिग सेक्टर हो भन्नु भएको थियो मैले हुन्छ भने।
१ महिना पछि भिषा पनि आयो अब त झन मन आतिन थालेको थियो छोराछोरी सानै छन् श्रीमानले कसरी छोराछोरीको हेरविचार गर्नुहोला भनेर कति रात निन्दा नै परेन। छोरीलाई सधै आमाको छातीमा टासिए पछि मात्र निन्द्रा लाग्थ्यो यी सबै सोचेर मन गाँठो परेर आउथ्यो भने अर्को तर्फ फेरि आफ्नै मनलाई बुझाउँदै २/४ वर्ष छोराछोरीको उज्ज्वल भविष्यकोलागी नै त हो आखिर मैले परदेशको बाटो रोज्नु परेको भनेर मन समाल्ने गर्थे। यसरी नै आफ्नो मनलाई गाँठो पारेर छोराछोरीलाई स्कूल पठाएर म घरबाट काठमाण्डौ हुदै कतार उडे।त्यो समय कोभिडले गर्दा सबै तिर कोभिडका मापदण्ड कडा गरिएको थियो। कहिले काँही विदाको दिन बाहिर निस्कँदा बाहिरी नियमहरू नबुझेका कारण कयौं हण्डर र ठक्कर खाएको छु। मेरो काम कतार एयरपोर्टमा किलनिगं सेक्टरमा हो काम त गारो छैन् भित्रै सबै कामहरू गर्नु पर्ने भएका कारण घाममा निस्कनु पर्दैन। काम भन्दा नि परदेश आएपछि छोराछोरीको यादले चैं धेरै सताउने गरेको छ । काम भने बमोजिम कै भएकाले काम प्रति कुनै गुनासो छैन । खाना, बस्न राम्रै सुविधा छ। हप्तामा एक दिन छुट्टी मिल्छ। छुट्टिको दिन त्यति बाहिर निस्कन मन पनि लाग्दैन खाडीको यो जुन, जूलाई, अगस्ट, सेप्टेम्बरको ४५-५० डिग्रीको गर्मि सम्झिएर नै बरू विदाको दिन परिवार छोराछोरी संग अनलाईनमा कुराकानी गरेर मन भुलाउने गरेको छु।
मेरो परदेशको यो पहिलो यात्रा हो अब एक वर्ष यहाँ बसेर नेपालमा छोराछोरी र श्रीमानको साथमा बसेर दु:ख-सुख केही गर्ने सोच बनाएको छु। म २ वर्ष यहाँ हुँदा मेरा छोराछोरीलाई मेरो अभाव कति खट्किएको छ भन्ने मजाले बुझेकी छु तर पनि अझै एक वर्ष बस्नुपर्ने मेरो रहर भन्दा पनि बाध्यताले उनीहरूको भविष्यको निम्ति केही गरौं भनेर नै हो। परदेश आएपछि मैले शारीरिक समस्या भन्दा पनि बढी भाषागत कठिनाई बढी भोगेकी छु । हामी नेपालमा आफ्नो देशमा नेपाली भाषा बोल्छौ तर यहाँ अरबिक देशमा बोलिने भाषा भनेको अरबिक, हिन्दी र अंग्रेज़ी भाषा रहेछ। नेपालमा हिन्दी भाषा बोल्न जानेका कारण हिन्दी बोलेर काम गर्न त सकिन्छ तर अंग्रेज़ी लेख पढ गर्न नजानेका कारण सानो सानो काम गर्न नि कसैको सहारा लिनुपर्छ। परदेशमा भाषा एकदमै महत्वपूर्ण हुने रहेछ यसै कारणले सामान्य कामकोलागि आउने नेपाली दिदि बहीनीहरूलाई भाषा तथा सामान्य सीपहरू सिकेर आयौं भने काम गर्न नि सहज हुने र सामान्य कामकालागि अरूमा भर नपर्नु पर्ने आफूले भोगेका अनुभवहरू सेयर गर्न चाहान्छु। हामी नेपालीहरूको महान चाड नजिकै गर्दा घर परिवारको याद, आफन्त, साथीभाईको यादले धेरै नै सताइरहेको छ। परदेश हो आफ्नो देश जस्तो त कहाँ हुन्छ र। सधैंको काम, व्यस्थता यसरी नै दिन बितिरहेछ।
परदेशमा हुँदा चाड पर्व आउँदा कहाँ रमाइलो लाग्दो रहेछ र, झन धेरै घरपरिवारको यादले सताउदो रहेछ। नेपालमा हुदा चाड पर्व आउँदा हर्षोल्लास, उमंग नै छुट्टै हुन्थ्यो तर हामी परदेसीलाई चाड पर्व आउँदा थोरै खुसी भएतापनि कामको व्यस्थताले गर्दा खासै हर्षोल्लास छाउँदैन।
चाडवाड नजीकदै गर्दा कतारमा कार्यररत एक जना श्रमिक महिलाको परदेश अनुभव