
जसलाई क्षमताअनुसार कसैले जस्तापाता त कसैले आरसीसी ढलानले बनाएका/छाएका हुन्छन्। घरको भौतिक परिभाषा हो यो। आजभन्दा दुई तीन दशकसम्म ढुंगामाटो र झिँगटीले घर बनाउने कुरा सामान्य भएपनि अहिले त्यो बिरलै छ। महँगा रिसोर्ट, क्याफे र होटलहरूले कहीँकहीँ त्यस्तो 'परम्परागत छाना र पर्खाल' बनाएका हुन्छन्। पूरानो 'फिलिङ' दिएर आगन्तुक/ग्राहकलाई तान्ने तिनको ध्येय हो।
घरको ठाडो परिभाषा त्यसको भौतिकता र संरचना हो। निश्चित भुगोलभित्र घर पर्ने भएकाले त्यो भेगले पनि घरको भाव छुन्छ। यदि तपाईं गाउँ या देहातबाट शहर आएर बसिरहनुभएको छ र बेलाबेला गाउँठाउँ फर्कनुहुन्छ भने, फर्कँदा, निश्चित ठाउँ पुगेपछि तपाईंलाई घरगाउँको फिलिङ हुन्छ। त्यो महसुस हुने रेडियस (क्षेत्र) तपाईंको घर हो, जहाँ तपाईंको मन बसेको छ।
पाठकले के गर्नुहुन्छ कुन्नि, कतिपयले घर भन्नेबित्तिकै पुराना बाल्यकालिन र लामो समय व्यतित गरेका आवास, कोठा, आँगन र करेसाबारी सम्झँदा हुन्। जहाँ धुलोमा खेलियो, खाना खाइयो, बाआमाको काखमा निदाइयो, परिवारका सदस्य, आफन्त र गाउँले साथीसंगीसँग चाडबाड मनाइयो। जहाँ झरी र घाम छेलियो। जहाँ कैयौं पटक सानोतिनो समस्यामै रोइयो, कहिले धीत मर्नेगरी, धक फुकाएर गलल हाँसियो। त्यही ठाउँ हो घर।
घरको प्रारम्भिक परिभाषामा ढुंगामाटो र कंक्रिट थिए, दोस्रोमा बाआमा, परिवार, निकट भूगोल र सम्झनासमेत आए। त्यसले घरको परिभाषालाई व्यापक बनायो। घरसँग नजिकको परिवेश पनि जोडिन्छ, घर नजिकै कुनै आइकनिक (धेरैले याद गर्ने–विशेष) रूख, ढुंगा, फाँट, खोला, चौतारा र वन हुन्छन्। कतै खोल्सा होला, कतै धारा होलान्, कतै स्कुल त कतै के। जेहोस्, विशेष छाप छाड्ने ठाउँ हुन्छन्। कसैका लागि घाँस काट्ने पखेरा र भीर होलान्, कसैका लागि मायाप्रेम गर्ने र लुक्ने खोल्सा र गौँडा होलान्। ती सबैले घरलाई अझ खास बनाउँछन्।
घर भन्नेबित्तिकै रौं ठाडा बनाउने सम्झना धेरैसँग हुनसक्छन्। शायद त्यसैले होला, सन् २०७१ मा जोन डेन्भरले सार्वजनिक गरेको उनको अजम्मरी गीतले अहिले पनि लाखौं करोडौँका रौं ठाडा बनाउँछन्:
लगभग स्वर्गझैँ, मेरो पश्चिम भर्जिनिया
जहाँ 'ब्लू रिज' पर्वत छन्, शेनान्दोआ नदी छ
त्यहाँ जीवन पुरानै छ, रुखहरूभन्दा पनि पुराना
पहाडहरूभन्दा जवान, हावाजस्तै फैलँदै गएका…
गाउँका बाटाहरू, मलाई मेरै घरतिर डोहोर्याऊ
मेरो आफ्नै त्यस ठाउँमा लैजाऊ
पश्चिम भर्जिनिया, पहाडकी आमा
गाउँले बाटाहरू, मलाई घरतर्फ तानेर लैजाऊ…
(कन्ट्री रोड टेक मी होम, टु द प्लेस आइ बिलङ)
हाम्रा नाटककार बालकृष्ण शम्सेर राणाले सम्भवत: अति भावुकतामा पुगेर आफ्नै देशको माटो र बुटीका 'इच्छा' कविता लेखे होलान्। तर घरचाहिँ देशभन्दा पनि बढी मुटुमा गढ्ने विषय हो। किनकि देश राजनीतिक विषय हो, घर व्यक्तिगत पारिवारिक। त्यसो हुनाले उत्पातै भावनात्मक! संसारमा वैंशालु मायाबारे प्रशस्त गीत र कविता लेखिएका छन्, घरबारे पनि शायद प्रशस्तै कविता र गीत लेखिएका होलान्। मान्छेलाई थोरैमात्रै प्रेरित गर्ने हो आफ्ना घर र बाल्यकालबारे मान्छेले प्रेमकै बारेमाझैं करोडौँ कविता लेख्नेछ, किनकि डेन्भरलाई झैं सबैलाई आफू जन्मेको हुर्केको ठाउँ प्यारो लाग्छ। (अत्यन्त अत्याचार, भोकमरी र उत्पीडनयुक्त बाल्यकाल भएका मान्छेहरूको अलग कुरा!)
सम्भवत: घर यही स्तरको भावनात्मक विषय हो, जहाँ बाँच्नमात्रै होइन, मर्नसमेत मन लागोस्। कहलिएका नेपाली स्नायु-डाक्टर उपेन्द्र देवकोटाले आफू जन्मिएको/हुर्केकै ठाउँमा प्राण त्याग्न चाहेझैं घर त्यस्तो ठाउँ हो, जहाँ मर्न पनि आनन्ददायक होस्। जहाँ मर्न रहर गरियोस्।
लेखक तर्कशास्त्रमा विश्वास गर्ने व्यक्ति भए पनि के कुरा जान्छ भने मान्छे मूल रूपमा भावनात्मक प्राणी हो। जीवनमा कतिपय क्षणमा मान्छे तर्क छाडेर भावनमा बहकिन्छ। हामी जन्मेका गाउँ र देहातमा जीवन कठिन छ, अब त जिविका धान्नै कठिन छ, तर गाउँदेहातका स्मृतिले हाम्रा मन र मुटु ढक्क फूल्छन्। जहाँ हामी जन्म्यौं र खेल्यौं, त्यहीँ सबै प्रियहरूलाई लैजान पाए! सबै प्रियहरूलाई आफ्नै घर वरपर लगेर बस्ती बसाउन पाए! पुरानै बाल्यकालमा पुगेर जीवन बाँच्न पाए! तर तिनै स्मृतिका फूलहरूमा लडीबुडी गर्दै जीवन बाँच्न सम्भव नहुने रहेछ। हाम्रा मनहरू विछट्टै भावुक हुने भएपनि जीवनका आवश्यकताचाहिँ ढुंगाजत्तिकै कठोर हुनेरहेछन्।
तर बाँच्ने उपक्रम झण्डै युद्धझैं हुनेरहेछ। सम्झना हुनेबित्तिकै कुनै बालसखालाई भेटुँ न त भन्दा पनि तिनका लागि समय नमिल्दो रहेछ। लौन त बाल्यकालमा बिज्याइँ गरेका तिनै पाखामा एक चोटी पुगौँ न त भनेर कल्पन त सकियो, तर पुग्न महाभारत हुनेरहेछ।
र, बाँच्नुकै सकसले हामी आफ्ना प्रिय गाउँले गोरेटोहरूसम्म पुग्न नसक्ने रहेछौं। त्यहाँ सधैं बस्ने र रमाउने त परको कुरा। विगत २० वर्षकै कुरा गर्ने हो भने गाउँहरू तिव्र खारेजीमा पुगिसके। अब त स्मृतिका गाउँ नै हराउन थालिसके। गाउँको भौतिक स्वरूप कतिपय ठाउँमा उस्तै होला, कतिपय ठाउँमा त त्यो पनि छैन। २०७२ को भूकम्पले गाउँमा ढुंगामाटाका संरचना भत्काएपछि त्यहाँ कंक्रीटका बुर्चा र टिनका छानायुक्त अनौठा संरचना बनेका छन्। अस्थायी क्याम्पझैं देखिन थालेका छन् गाउँ। त्यसले गाउँको सुन्दरता खाइदिएको छ।
त्यही अस्थायी संरचनासमेत छाडेर गाउँबाट मान्छे हिँडेपछि गाउँको भावनात्मक पाटो पनि खुम्चेको छ। मान्छेको अभावमा खेती र मेलापात झन्डै सकिएको छ। (यो पहाडको कथा हो, मधेसमा पनि मान्छेहरू शहर केन्द्रित हुन थालेपछि त्यस्तै देखिन थालेको छ भन्छन् तराई मधेसका मित्रमण्डलीहरू।) सदरमुकाम, बजार वा केन्द्रमा बसाईं सर्न नसक्नेहरूमात्रै अब गाउँ देहातमा रहने डर छ। गाउँको हल्लाखल्ला, चिया पसल, रक्सी पसल, मेलापात, मनोमानिल्य र झगडा ती सबै शहरतिर छिरेका छन्।
बसोबास र बसोबासीका हिसाबले वर्षौं उस्तै रहने ठाउँका रूपमा गाउँ चिनिन्थ्यो शहर। तर अब त शहर पनि अस्थायी डेराझैं भएको छ। मान्छेहरू तिव्र रूपमा विदेश र बसाईं हिँड्न थालेपछि शहरका सम्बन्धहरू एकदमै अस्थायी देखिन्छन्। यस्तो लाग्छ, संसारमा पहिलो खुसी, सम्पन्नता र अवसरका लागि पहिलो पटक यो दर र स्तरमा मान्छे संसारभर हिँड्दै छन्, थातथलो छाडेर छरिइरहेका छन्। त्यसले मान्छेको असिमित सम्भवानालाई प्रकट गरेको छ। भौतिक प्रगतिको बाटो खुलेको छ, तर अब मान्छेसँग पुरानो भौतिक र भावनात्मक घर भने गुम्दै छ। आफ्नै कुरा गरेको, मलाई त त्यस्तै भएको छ।
पहिले स्थायी घर भएका पृथ्वीका मान्छेसँग अहिले संसारभर धेरै अस्थायी घरहरू छन्, कतिपय व्यापारी र पैसावाला यात्रुहरू त प्रत्येक बासमा अलग होटलका कोठाहरूमा बस्छन्। त्यसो हुँदा तिनका हजारौं घर छन्। तर मन बस्ने घर भने बिस्तारै खोसिँदैछ। एकै ठाउँ र समुदायमा बसेर र भिजेर त्यस समाज र संस्कृतिमा बस्न मान्छेलाई असहज हुँदै गएको देखिन्छ। त्यसले एक खालको रिक्तता, त्रास र असुरक्षाको भाव पनि सिर्जना गर्दोरहेछ। यद्यपि, मानव समाज सुध्रिँदै जाँदा त्यसले मानव अधिकार, मानव स्वास्थ्य र सहअस्तित्वका पक्षमा काम पनि गर्दैछ, तर पनि घरको पुरानो परिभाषा भत्किँदै जाँदा मान्छेले आफूलाई निसहाय महसुस पो गर्दै छ कि?
र, धेरैजसो आप्रवासीहरूमाझ यो भाव ज्यादा हुन्छ भन्ने लाग्छ। शायद, त्यसैलाई कम गर्न आप्रवासीहरूले आफ्नो देश र समुदायका संघसंस्था बनाउँछन्। आफ्ना देश र समुदायका चाडपर्व मनाउँछन्। मूलघरप्रतिको गहिरो प्रेम भुल्ने प्रयास गर्छन्। तिनलाई जहिल्यै त्यही पुरानो भौतिक वा भावनात्मक घरले लखेटिरहन्छ, जुन घर र समुदायलाई हवाइजहाज, रेल वा बसमा गुडाएर आफू रहेकै ठाउँमा ल्याउन सकिँदैन।
तर यसो भन्दै गर्दा हामीले के कुरा भुल्नुहुन्न भने हाम्रा पुर्खाहरू पनि कुनै समय फिरन्ते थिए। उद्विकासको कुनै चरणमा तिनको स्थायी डेरा थिएन, अहिले पनि नेपालका राउटे जाति जंगलमै घुमेर हिँड्छन्। आजको मानवको पूर्खा जो शरीर र चेतनामा झन्डै आजको जस्तै थियो, त्यो करिब दुई लाख वर्षअघि अफ्रिकामा उद्विकास (इभोलुसन) ले सिर्जना गरेको थियो। ती हाम्रा पूर्वजहरू, त्यतिबेला देखि नै जलवायु परिवर्तन, जनसंख्या वृद्धि, नयाँ सिकार क्षेत्रको खोजलगायतका कारण अफ्रिकाबाट अन्यत्रसम्म निस्किन थाले।
ती अनेकौँ वस्ती, गाउँ र शहरहरू घुम्दै, महामारी छिचोल्दै, महामारी र विपत्तीले बगाएका, पुरेका, वस्ति र आफन्त सम्झँदै सम्झँदै नयाँ ठाउँ पुगेर वस्ती र समुदाय बनाए। संस्कृति र परम्परा बनाए। आफूलाई पल्लो पाखा, पल्लो गाउँ या टोलको भन्दा अलग रूपमा चिनाए।
तर विगत झन्डै ५० वर्षयताको हाम्रो लघुस्मृति पच्छ्याउने हो भनेचाहिँ अचम्मसँग घरका हाम्रा परम्परागत परिभाषा कमजोर भए। दुर गाउँ र देहातबाट नजिकको शहरबजार, शहरबजारबाट मध्यम स्तरका बजार र त्यहाँबाट देशको राजधानी र त्यहाँबाट भारत, अरब, मलेसिया, जापान, कोरिया, युरोप, अमेरिका र अस्ट्रेलियातर्फ नेपालीहरू जाँदै गर्दा तिनको खास घरचाहिँ कहाँ भन्ने एक खालको अस्पष्टता सिर्जना भएको छ। मन छ नेपाली। गाउँका घर, शहरका घर, जागिरको घर, विदेशको घर/डेरा। साँच्चै कहाँ हो आजको?