
उमेरले पच्चिस पुगेको, स्नातक सकेको छोरो घरमा बेरोजगार छ। आफू शिक्षक छु। त्यसैले जसोतसो घरव्यवहार चलेको छ। अर्को छोरा पर्यटक गाइड छ। श्रीमतीले सामान्य हस्तकलाका कामहरू गरेर जसोतसो दालचामलमा सहयोग गर्छिन्। बढ्दो महँगीमा काठमाडौँको जीवन साँच्चै चुनौतीपूर्ण नै छ। यस्तोमा पूर्ण रूपमा बेरोजगार छोरालाई विदेश पठाउन पाए उसले केही कमाई गर्ला, उसको जीवन पनि सुध्रेला र यता हाम्रो पनि दैनिकी सहज होला भनेर ठान्नु मेरो गल्ति थिएन। मान्छेहरू केही महिना पहिले पोल्यान्डलगायतका युरोपियन देशमा रोजगारी पाइने कुरा गरिरहेका थिए। (अहिले पनि गरिरहेकै छन्।)
८-१० लाखसम्म खर्चमा पोल्यान्ड पुर्याउने चर्चा/'मुखे विज्ञापन'पश्चात् मैले पनि त्यस्ता एजेन्सीहरू खोज्न थालें। आफ्नै भाइको साथी मेनपावर संचालक थिए। खोज्दै जाँदा उनले पनि नेपालबाट श्रमिकहरू पोल्यान्ड पठाउँछन् भन्ने सूचना थाहा पाएँ। वानेश्वरस्थित थापागाउँस्थित उनको 'सेतो दरबार'मा गएर सोबारे आफैं बुझें। म्यानपावरका मालिकले रवाफिलो कोठामा बोलाएर चिया पिलाए। आठ नौ महिनामा पक्कै भिसा लाग्नेछ भनेर आश्वासन दिए। सहजै पत्याइयो। पोल्यान्डका लागि अरूले १० लाखजति माग्छन् भन्ने सुनिन्थ्यो, उनले झन्डै आठ लाखमा 'पोल्यान्ड उडाउने' बताए।
त्यसमाथि, "अरूलाई 'एड्भान्स'वापत एक लाख लिएपनि तपाईं आफ्नै साथीको दाइ भएका कारण पचास हजार लिन्छु" भने। भाइका साथी, भाइजस्तै लागे। हुन्छ त नि भनें। छोराले सिभि बनाइवरी पासपोर्टलगायका कागजात म्यानपावरमा बुझायो। यो गत असारतिरको कुरा थियो। केही दिनमा पोल्यान्डको कम्पनीले पठाएको पोलिस र अंग्रेजी दुबै भाषामा भएको 'कन्फर्मेसन लेटर' (कम्पनीबाट जागिर सुनिश्चित भएको पत्र) पठाइएको बताइयो। इमेलमा हेर्दा कुनै कम्पनी पोल्यान्डमा रहेको र छोरालाई त्यसले जागिर दिने कुरा निश्चित भएझैं लाग्यो। थाहा छैन, सो पत्र नक्कली थियो या सक्कली। तर सो देश छिर्न भारतमा रहेको एम्बेसीमा पुगेर अन्तर्वार्ता दिनैपर्थ्यो।
कन्फर्मेसन लेटर आएसँगै नातामा मेरो भाइ पर्नेले पनि छोरासँगै म्यानपावरमा पैसा बुझाए। यहाँ सहजताका लागि तिनको नाम झुटबहादुर राखौं, किनभने तिनले यति धेरै झुलाएर र झुट बोले भनीसाध्य छैन। झुटबहादुरले भने, "अरूलाई एक लाख लिन्छु, तपाईंले चाहिँ पचास हजार दिनुस्। साथीकै दाइको छोरालाई किन धेरै लिनु?" आफूले कम तिर्न परेपछि कसले नाईं भनोस्? बैंकमार्फत ५० हजार बुझाएँ। ती भाइको पनि कन्फर्मेसन आएपछि तिनले एक लाख पैसा अनलाइन पेमेन्टमार्फत उनको अकाउन्टमा हालिदिएँ।
अब केबल प्रतिक्षा रह्यो विदेश जाने। पोल्यान्डमा फलफूल तथा मासुको प्याकेजिङ कम्पनीमा काम दिइने बताइएको थियो। 'एक्स्ट्रा टाइम' गर्दा दुई लाखसम्म नहुने, नभए कमसेकम एक लाख तीस हजार मासिक हुने कुरा थियो। युरोपको बास, महिनाको त्यति कमाई भनेपछि ठीकै नै होला भन्ठान्दै अब उताबाट सम्पूर्ण डकुमेन्टेसन सकेर त्यहाँको सरकारी निकायले समेत जब 'कन्फर्म' गरेकोलगायत पत्र दिएपछि बल्ल भिसा प्रोसेस सुरु हुने कुरा थियो। तर यसका लागि झन्डै ५-६ महिना पर्खन पर्यो।
"कहिले होला त जब कन्फर्म?" भनेर सोध्दा झुटबहादुरले छिटै हुन्छ भनिरहे। उनले दशैंसम्म पक्कै हुन्छ भनेका थिए। दशैं पनि सकियो र तिहार पनि। तर डकुमेन्ट कन्फर्मको कुरा आएन। झुटबहादुरले काम नभए पैसा फिर्ता गर्नेसमेत बताएका थिए। राम्रो के भने उनले पैसा दिएको रसिद भने दिएका थिए।
अन्तत: झुटबहादुरले भने, "सर, काम अघि नबढ्ने भयो। एक हप्तामा पैसा फिर्ता गरिदिन्छु" भने। एक हप्तामा पक्कै पैसा फिर्ता आउला भनेर पत्याएँ। तर आएन। पोल्यान्डका लागि एक लाख एड्भान्स तिर्ने भाइको समेत पैसा फिर्ता भएन। त्यस भाइले पनि मेरै भरोसामा पैसा जम्मा गरिदिएको थियो।
थोरै झुटबहादुरको व्यक्तित्वको चर्चा गरौं। उनी सधैं सुट लगाउँछन्। झन्डै डेढ करोडको गाढी चढ्छन्। घर र सम्पत्तिको धाक पनि उल्कै लगाउँछन्। उनलाई पहिलो पटक भेट्नेले उनी धेरै सम्पत्तिका मालिक हुन् भन्ने कुरा सहजै पत्याउँछन्। अनि मान्छेहरू पनि सायद यस्तै व्यक्तित्वका कारण सहजै झुटबहादुरका झुट पत्याउँछन्। रकम धेरै पनि थिएन, तर यी झुटबहादुरले पैसा फिर्ता दिएनन्। आज दिन्छु भन्छन्, भोलि दिन्छु भन्छन्, तर रकम फिर्ता मिल्ने होइन।
"बेलुका दिन्छु" भन्यो, "शनिवार दिन्छु" भन्यो। "एकैछिनमा दिन्छु" भन्यो। अहँ पैसा फिर्ता हुँदैन। बल्लबल्ल छोराले तिरेको पचास हजार दुई चार हप्तामा फिर्ता पाएँ। तर अब मेरो भाइले म्यानपावरको पैसाको ताकेता मसँग गर्न थाल्यो। शायद, झुटबहादुरले छोराको पैसा दिएर मलाई थामथुम पार्छु भन्ठानेका थिए होलान्, तर म नियमितजसो पैसा फिर्ता गरिदिनँ भन्न थालें।
बिहान फोन गर्छु, झुटबहादुर म्यासेज पठाउँछन्, "सर बेलुकासम्म पठाउँछु।" फोन गर्छु, उनी उठाउँछन् र भन्छन्, "सर एकैछिन है। म एउटा मिटिङमा छु। एक्कैछिन है।" लौ भनेर फोन राख्छु तर कल फिर्ता आउँदैन। केही दिनपछि उनी मेसेज पठाउँछन्, "यो शुक्रवार त तपाईंको भाइको पैसा स्योर पठाइदिन्छु। त्यस दिन मेरै अफिसमा आएर लैजानुहोला।" म भन्छु, "यो जमानामा पैसै लिन किन अफिस आउनु? खुरुक्क बैंक अकाउन्टमा मोबाइलमार्फत पैसा बचत गरिदिनुस् र स्क्रिनसट पठाउनुस् न यार।"
म गाउँमा वर्षौै पढाएर जागिरबाट निवृत्त भई शहरमा आई फेरि विद्यालयहरूमा पढाउन थालेकाे शिक्षक। समाजमा ठूलाठालुले गरीब र विपन्नलाई कति हैरानी दिन्छन् भन्ने जान्दछु। आफू शिक्षक भएपछि अलग कुरा, नत्र सानै उमेरमा ठूलाठालुले विपन्नहरूको विवशताको फाइदा कसरी उठाउँछन् भन्ने पनि जान्दछु। गाउँमा अहिले पनि ठगहरू नभएका होइनन्, गाउँसम्मै पुग्ने म्यानपावरका दलालहरू पक्कै होलान्, पहिलेका चरित्रका ठालुहरू पहाडमा घट्दै गएका छन्। तर छोरा र भाइलाई पोल्यान्ड पठाउने चक्करमा शहरमा म्यानपावरका साहुहरूले कसरी मान्छेलाई पासोमा पार्छन् भन्ने चित्र यस पटक देख्न पाएँ। पैसा नदिएपनि बेलाबेला झुटबहादुर एकै छिन फोन उठाउँथे, आफ्नो कुरा राख्न पाउँदा नपाउँदै भन्थें, "सर, तपाईंको मात्रै पैसा हो र, ७०० सय जनाजतिले मलाई पैसा बुझाएका छन्। सबैको पैसा दिनुपर्ने भएपछि त समय त लाग्छ त!"
झुटबहादुरको यस्तो कुरा सुनेपछि झनै कायल भएँ। उनले सत्य बोलेका हुन् भने त ७०० जना युवाहरूको पैसा उनले 'होल्ड' गरेर राखेको ठहर्थ्यो। त्यसो हुँदा केही महिनामा बैंकमै वचत गर्दा पनि प्रशस्त ब्याज आउने देखिन्थ्यो। शायद, मान्छेहरूलाई अल्झाएर महिनौं र वर्षाैं पैसा नदिने अभ्यास एउटा धन्दाकै रूपमा विकास भएको पनि हुनसक्थ्यो। शायद छ पनि होला। आखिर म्यानपावरका मालिकहरूलाई शान सौकातपूर्ण भवन, गाडीसहितको धाकपूर्ण जीवन जिउनुछ। विदेशबाट 'डिमान्ड' नआएपनि यता अफिस 'रन' गर्नुछ।
म राम्रो सामाजिक सम्पर्क भएको व्यक्ति हुँ। पत्रकार, प्रहरी र राजनीतिक नेतासँग राम्रो चिनजान छ भन्ने कुरासमेत यी झुटबहादुरलाई थाहा नभएको होइन। त्यसो हुँदाहुँदै पनि उनी मसँग नियमित 'ल्याङ' गरिरहेका थिए। भन्नुको अर्थ, उनी पनि शक्तिसँग बलियो सम्बन्ध बनाएर बसेका थिए। उनलाई वैदेशिक रोजगारीमा जानकै लागि मान्छे कति अधैर्य हुन्छन्, कतिसम्म हन्डर सहन तयार हुनसक्छन् भन्नेबारे उनलाई राम्रोसँग थाहा थियो।
म नियमित रूपमा उनलाई पैसा फिर्ता गर्न भनिरहेँ। कल र मेसेज गरेर मोबाइलको ब्यालेन्स सकियो, तर झुटबहादुरले पैसा फिर्ता गरेनन्।
"आज शुक्रबार बैंक छिटो बन्द हुन्छ, आइतबार पक्का। आज शनिवार भयो, आइतबार पक्का। एक जनाले ठूलो अमाउन्ट हालिदिनुछ, त्यो आएपछि पक्का।" यस्ता वाचा त कति, कति। हुँदाहुँदा उनले फोन नै उठाउन छाडे। मेसेजको मात्रै बेलाबेला प्रतिउत्तर दिए। कायल भइसकेपछि झुटबहादुरविरुद्ध कानूनी रूपमा लड्नुको विकल्प रहेन। उनीसँगका निरर्थक र पट्यारलाग्दा मेसेज संवादलाई खारेज गर्दै अब म भाइको तर्फबाट कानूनी लडाईं लड्ने टुंगोमा पुगें। करोडौंको मालिक दावि गर्ने म्यानपावर मालिकविरूद्ध एक लाख फिर्ता नदिएको आरोपमा अब म वैदेशिक रोजगार विभाग, ताहाचल गएँ।
त्यहाँ गएर झुटबहादुरबारे त्यहाँका कर्मचारीसँग कुरा गरें। कसैले भन्यो, "त्यो म्यानपावर नै खराब छ। त्यो त ब्ल्याकलिस्टमा परेको म्यानपावर हो। कसैले भन्यो-ब्ल्याकलिस्टमै त परेको छैन, तर त्यसबाट अन्य उजुरी पनि आएका छन्।" उजुरीको लामो फारम भरिसकेपछि त्यहाँका कर्मचारीले झुटबहादुरलाई फोन लगाए। पैसा फिर्ता नगरे विषय अदालतमा पुग्ने बताए। झुटबहादुरले अर्को हप्तासम्म पैसा फिर्ता गर्ने बताए। अन्तत: पैसा लिएको झन्डै ६ महिनापछि ब्याजस्याजको केही हिसाब नगरी आफूले बुझाएको पैसा मेरा भाइले पाए। मलाई एउटा ठूलै युद्ध जितेझैं भयो।
रोजगारी संसारभर नै सहज छैन। तर स्वदेशमा रोजगारी छैन भन्दैमा हतारिएर, आत्तिएर कसैलाई पैसा नबुझाइहालौं। पैसा बुझाउनेबित्तिकै पनि रोजगारी पाइहाल्ने होइन। विदेश पुग्नेवित्तिकै त्यहाँ जीवन सहज हुनेछैन। यहाँ फराकिलो कोठामा एक्लै सुत्न पाउनेहरू त्यहाँ पुगेपछि एकै कोठामा ५-६ जनासम्म सुत्नुपर्ला। यहाँ बिरामी पर्दा आफन्त हुन्छन्, त्यहाँ त्यो नहुनसक्छ।
यो विश्वव्यापीकरणको युग हो, जहाँका मान्छे जहाँसुकै जाँदा हुन्छ। जहाँ राम्रो अवसर पाइन्छ, त्यही जाने हो। त्यसमा केही आपत्ति छेन। फरक यत्ति हो कि आफू रहेको समाजको चरित्र बुझ्नुपर्छ। हाम्रो समाजमा धेरै विषयमा स्वतन्त्र अभिव्यक्ति दिँदा खासै फरक पर्दैन, तर कतिपय धार्मिक र सांस्कृतिक मुलुकमा कुरो बेग्लै हुन्छ। अत: स्वदेशमै रहिरहँदा पनि सानोतिनो काम गरिराखौं, ताकि कुनै क्षेत्र र विषयमा ज्ञान हासिल होस्, दुई चार पैसा कमाइयोस्। परिश्रम गर्न सिकियोस्।
तर हतारिएर कसैलाई पैसा बुझाउने गल्ती नगरौं। पैसा बुझाउँदा पनि वैदेशिक रोजगारीको फलानो प्रयोजनका लागि पैसा दिएको भन्दै सम्बन्धित कम्पनीको छाप, पैसा दिएको मितिसहितको रसिद लिन नभुलौं। पैसा फिर्ता दिएनन् भने वैदेशिक रोजगारी विभागमा गएर कानूनी रूपमा भिडौं।