
गएको आश्विन ११ गते (सेप्टेम्बर २७ तारिक) बिहीबारको दिन परिवारसहित पारिवारिक भ्रमणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिनको १ः१५ बजेको श्रीलंकन एयरको यूएल १८२ को उडानमा श्रीलङ्का ट्रान्जिट बनाएर हामी अस्ट्रेलिया जाँदै थियौँ। बिहानको १०ः३० बजे विमानस्थलको प्रस्थान कक्ष सदाझैं व्यस्त थियो। बिदेसिने युवायुवती अनि तिनलाई बिदाइ गर्ने आफन्तजनको भिड थियो विमानस्थलमा।
विमानस्थल कार्यालयले केही समय पहिले भनेजस्तो विमानस्थलमा एक जनालाई लिन र पुर्याउन बढीमा दुई जना मात्र जान पाउने भन्ने नियम लागू भएको पाइएन, किनकि बिदेसिनेहरूका आफन्तजन धेरै थिए। छुटिने बेलाको सामूहिक फोटो सेसन र बिदाइमा हात हल्लाउने तथा प्रियजनसँगको बिछोडमा मलिन अनुहार बनाउनेको भिड थियो विमानस्थलमा। बोर्डिङ पास लिने कक्ष र अध्यागमनमा भने त्यति धेरै भिडभाड थिएन।
धेरै पटक वैदेशिक रोजगारीको क्रममा ओहोरदोहोर गरेको व्यक्ति म। म विदेश जाँदा मजस्तै खाडी राष्ट्र र मलेसिया जाने नयाँ युवायुवती, विशेष गरी घरेलु महिला कामदारहरू ठुलो आशासँगै अनुहारमा अन्योल भाव नियाल्थें। उनीहरूलाई आवश्यक सहयोग गर्ने प्रयत्न गर्थें। यस पटक त्यति धेरै भिड नदेखेपछि सरकारले घरेलु कामदारमा जाने महिला कामदारलाई साँच्चै रोकको रहेछ कि के होजस्तो लाग्यो। तर जब उडानको अन्तिम प्रतीक्षालय (गेट नजिक) मा हामी बिहानको ११ः५० मा त्यहाँ पुग्यौं, पहिलेभन्दा झनै धेरै संख्यामा महिला कामदारहरू देखें।
उहाँहरू करिब १ घण्टा अगाडी नै त्यहाँ पुग्नु भएको रहेछ। तीन-चार लाइनमा करिब एकै समूहमा बस्नु भएका उहाँहरूले प्रायः रातो टिका लगाउनु भएको देखिन्थ्यो। मलिन र हताश भावका साथ आफन्तहरूसँग फोनमा बोलिरहनुभएको थियो। फोनको लाउडस्पिकरमा गरिएका कुराहरू बाहिरसम्म सुनिँदै थियो। हामी उहाँहरूको नजिकै बस्यौँ।
यसबीच करिब ५० मिनेटजति हामी यताउति टहलाउँदै समय बितायौं। ‘श्रीलंकन एयरको उडानबाट जाने यात्रुहरू गेटमा आउनुहोस्’ भन्ने अनाउन्समेन्टसँगै हामी लाइनमा बस्यौं। महिलाहरूको समूह हाम्रै अगाडीपछाडि हुनुहुन्थ्यो। सामान्य पोसाक अनि ससाना हाते झोला बोक्नु भएका उहाँहरूलाई उहाँहरूसँगै आउनु भएकी एक जना महिलाले नेतृत्व गरिरहनुभएको थियो। पोशाकबाट उहाँ मुस्लिम धर्मावलम्बी भएको अनुमान गर्न सकिन्थ्यो।
हामी सबैको बोर्डिङ पासको अर्धकट्टी राख्दै एयरलाइन्सका कर्मचारीले उडानका लागी सबैलाई सटल बसमा चढाउनू भयो। बसमा करिब २५ मिनेट उभिएरै बित्यो। त्यसपछि भने जहाजमा केही प्राविधिक खराबी भएको भन्दै ओरालियो। हाम्रै नजिक घरेलु कामका लागि श्रीलङ्का हुँदै कुबेत जान लाग्नु भएकी महिला कामदार पनि हुनुहुन्थ्यो। उहाँसँग बसमा उभिँदासम्म सामान्य कुराकानी भयो। म पनि कुबेत बसेर फर्किएको भनेपछि बसबाट ओर्लिएर प्रतीक्षालयमा उहाँ हाम्रै नजिक बस्नुभयो। हामीलाई बोर्डिङ पास फिर्ता दिएर करिब डेढ घण्टा यसै कुराइयो।
त्यसै क्रममा उहाँसँग निकै कुराकानी भयो। उहाँहरूलाई नेतृत्व गरिरहनु भएको महिलाले सबै ३४ जना महिलालाई खाजाका रूपमा बिस्कुट बाँडिरहनुभएको देख्यौं। हामी भने एयरपोर्टमै खाजापानी किनेर खान थाल्यौं। त्यस बखत भएका कुराकानीमा महिलाहरूले आफूहरू श्रीलङ्का हुँदै कुबेत जान लागेको र बिस्कुट बाँड्ने महिलाले नै आफूलाई कुबेतसम्म पुर्याउने बताउनुभयो। यसरी जान लागेका मध्ये केही महिला श्रमिक साथीहरूले भन्नु भएका प्रक्रियागत कुराहरू यहाँ जस्ताको तस्तै:
बर्दिया घर बताउने २६ वर्षिया सावित्री कडरिया पहिलो पटक विदेश जाँदै हुनुहुन्थ्यो। उहाँलाई श्रीलङ्का हुँदै कुवेतमा घरको कामको लागि लगिँदै गरेको भनिए पनि नेपालको एयरपोर्ट नकाट्दासम्म ओमनको भिजीट भिसा देखाउन भनिएको रहेछ। ६० हजार रुपैयाँ नेपालमै गाउँको एजेन्टलाई बुझाएको र तीन महिना जति प्रक्रियाका लागि लागेको सावित्रीले बताउनु भयो। ६० हजार त एजेन्टलाई बुझाइयो। घरबाट काठमाडौँ आउने र त्यहाँ सात दिन बस्ने अनि किनमेलमा २० हजार जति खर्च भयो।
सावित्री भन्नु हुन्छ, "त्यत्रो पैसा कहाँ हुनु हामीसँग? बूढाले ऋण खोजेका हुन् व्याज तिर्नेगरी।’ सावित्रीसँग उनकै गाउँका अरू दुई जना महिलाहरू हुनुहुन्थ्यो। सबै जनाको गाउँको एजेन्ट एउटै रहेछन्। उहाँहरूलाई पहिलो पटक खाडी जान लागेको र अरबिक भाषा नआउने भएकाले कुवेतमा सुरुमा ९० केडी (करिब ३७ हजार नेरु) तलब हुने बताइएको रहेछ। सानो हाते ब्याग बोक्नु भएकी सावित्री र साथीहरूको अरू झोला र सामान रहेनछ। एजेन्टले सामान्य कपडासहितको हाते ब्याग मात्र बोक्न भनेको रहेछ। नेपालबाट ओमनको पर्यटक भिसा देखाएर कुबेत जाँदा लगेज हात नपर्ने र अरू आवश्यक कुरा कुबेतमै किनिदिने भनिएको रहेछ। घरमा पाँच वर्षको छोरा, तीन वर्षीय छोरी र श्रीमान् रहेको बताउनुभयो सावित्रीले।
सावित्री र उनका साथीहरूलाई सुनधाराको एक होटेलमा सात दिन राखेपछि बल्ल उडाइएको रहेछ। सावित्रीले थप्नुभयो, "नेपालमा देखाउने भिसा र टिकट फरक (ओमानको) छ। तर श्रीलंकामा गएपछि कुबेतको भिसा र टिकट देखाउन भनिएको छ। हामीसँगै आउनुभएकी सारा दिदी (उहाँहरूलाई नेतृत्व गर्ने माथि उल्लेखित व्यक्ति)ले कुबेतको भिसा र टिकट ब्यागमा राख्न भन्नुभएको छ। हामीलाई थाहा छैन, श्रीलङ्काबाट कति बजेको फ्लाइट छ।’
त्यसै समूहमा सात वर्ष कुवेतमा काम गरेर फर्किनुभएकी सलिना तामाङ भेटिनु भयो। नुवाकोट घर भएकी सलिना सन् २०१९ मा विदेश नबस्ने योजनाका साथ कुबेतबाट फर्कनु भएको रहेछ। कुबेतको फिर्दोस, जाबरअलि र सवाअल सालिम गरी सात वर्षमा तीन वटा घरमा काम गर्नु भएकी सलिनासँग कुवेतमा काम गर्दाका राम्रा र नराम्रो दुवै अनुभव रहेछ। पहिलो दुई घरमा काम सहजै भएपनि अन्तिम घरमा भने मानसिक र शारीरिक यातना खेप्नु पर्यो। सलिना भन्नुहुन्छ, "अब कहिल्यै विदेश जान्नँ भने पनि घरमा कुनै आम्दानी नभएपछि नगई सुखै पाइएन। कुबेतबाट फर्किएपछि गाउँमै होटेल चलाएँ, तर भनेजस्तो भएन।"
सलिनाका एक छोरा र दुई छोरी हुर्किसके। त्यसो हुँदा उनीहरूलाई पढाइका लागि खर्च झनै चाहिने भयो। श्रीमान् भारतमा काम गर्दा दुर्घटनामा पर्नुभयो, धेरै काम गर्न सक्दैनन्, त्यस कारण आफैँ बिदेसिनु पर्यो। उहाँको एउटा हात राम्रोसँग चल्दैन। सन्तानको हेरविचार म गर्छु, फेरी विदेश जाऊ भनेपछि जानै पर्यो। सलिना थप्नु हुन्छ, "सारा दिदीसँग पहिले देखि नै फेसबुकमा चिनजान थियो। उहाँ ओमनमा मेरो फुपूसँगै काम गर्नुहुन्थ्यो। उहाँले नै ७० हजार लिएर कुबेत पठाउन लाग्नुभयो। किनमेल र काठमाडौँमा ११ दिन बस्दा झन्डै ३० हजार सकियो। कुबेतबाट फर्किएपछि बनाएको सुनको सिक्री बेचेर यो सबै खर्च गरेँ। अब पैसा राम्रो कमाइयो भने सिक्री किन्नुपर्ला।"
तलबचाहिँ कति दिने भनेको छ त भन्ने प्रश्नमा सलिना भन्नु हुन्छ, "मलाई अरबिक भाषा, घरको काम र अरबिक खाना बनाउन पनि आउने हुनाले अहिले १२० केडी (करिब ५० हजार नेरु) हुन्छ भन्नुभएको छ सारा दिदीले। हेरौँ काम गर्ने घर र साहु राम्रो परे राम्रै होला कि?"
यसै भीडमा रसुवाकी २० वर्षीय निम छेमो तामाङ हुनुहुन्थ्यो। पहिलो पटक विदेश जान लाग्नुभएकी छेमोलाई नेपाली भाषा स्पष्टसँग बोल्न आउँदैन। कनीकुथी उहाँले भन्नुभयो, "नेपाली भाषा त गाह्रोगरी बोल्ने म हिन्दी वा अंग्रजी त बोल्न र बुझ्नै सक्दिनँ। घरबाट कहिले बाहिर गएको थिइनँ। पहिलो पटक काठमाडौँ आएको थिएँ। मामाको साथीले कुबेत जाने र घरमा काम गर्ने हो भनेर सोध्नुभयो। पढाइ वा अन्य भाषा नजाने पनि हुन्छ भन्नुभयो, त्यसैले कुबेत जान लागेको।’
छेमो थप्नु हुन्छ, "सानै उमेरको एउटा भाइ र बुवाआमा घरमा हुनुहुन्छ। रसुवामै खेती किसानी गरे पनि त्यसले छ महिना खान पनि गाह्रो छ। त्यसैले पैसा कमाउन बिदेसिनु पर्यो। ८० हजार ऋणको पैसा लिएर बुबाले काठमाडौँसम्म पुर्याउन आउनु भयो। एजेन्टलाई ६० हजार तिर्यौं, अरू पैसा बुबा र म पाँच दिन काठमाडौँ बस्दै सकियो होला। बुबा एयरपोर्टसम्म छोड्न आउनु भो। छुट्ने बेला कस्तो नरमाइलो लाग्यो। पहिलो पटक खाडीमा जान लागेको र अरबिक भाषा नआउने भएकाले कुवेतमा सुरुमा ९० केडी (करिब ३७ हजार नेरु) तलब हुन्छ भन्या छ। हेरौँ कस्तो काम हुन्छ?"
१ः१५ बजेको उडानबाट श्रीलङ्का जाने भनिएका यात्रुलाई करिब डेढ घण्टापछि २ः४५ बजे पुनः सटल बस चढाइयो। हामी उडानका लागि तयार भयौँ। हामीसँगै पहिले कुरा गर्नुभएका महिलाहरू अघिपछि नै हुनुहुन्थ्यो। उडानमा बसे पछि पनि हवाई ट्राफिकका कारण भन्दै २० मिनेट कुर्नका हामी यात्रुलाई भनियो। अन्ततः करिब एक घण्टा ४५ मिनेट उडान तालिका भन्दा ढिलो हाम्रो जहाज उड्यो। श्रीलंकाको एयरपोर्टमा स्थानीय समयअनुसार दिनको ४ः४० बजे पुग्नु पर्ने तालिका भए पनि साँझ ६ः१० बजे पुगियो। हाम्रो ट्रान्जिट समय लामो भएकाले अर्को उडानमा कुनै समस्या परेन। तर थोरै समय मात्र ट्रान्जिट भएका यात्रुहरू साथै कुबेत जाँदै गर्नुभएका ३४ जना महिला श्रमिक साथीहरू भने अर्को उडानको व्यवस्था नहुँदासम्म त्यहीँ अड्किनु भयो।
(३४ जना घरेलु महिला कामदार श्रीलङ्का हुँदै कुबेत पुर्याउने महिला एजेन्ट र उडान छुटेपछि श्रीलंकाको एयरपोर्टको अस्तव्यस्तता अर्को लेखमा…)