
कोरोना (कोभिड–१९)का कारण संसारभर धेरै उतार–चढाब भई रहेका छन्। सन् २०१९ डिसेम्बरबाट देखिएको कोभिड संक्रमणले विश्वको सबै ठाउँ प्रभावित रहे। अझै त्यसका प्रभाव र असरहरू सर्वत्र छन्। भाईरस संक्रमणका कारण लाखौँले ज्यान गुमाए। लाखौंका खुशीहरु बिचमै खोसिए। यो लेखमार्फत कोरोनाको कारण १५ अप्रिल २०२१ का दिनमा कुबेतमा ज्यान गुमाएका सुनसरीका ३८ बर्षिय सन्तोष कुमार दर्जीको घटनाबारे लेख्दै छु। सन्तोषसँग लामो समय कुबेत अनी इराकमा समेत सँगै काम गरेको हुनाले उनी मेरा नजिकका मित्र थिए। नेपालको ठेगानामा हामी भौगोलिक हिसाबले टाढा भए पनि म सन्तोष र उनका परिवारका सदस्यहरूसँग भावनात्मक हिसाबले भने नजिक थिएँ।
बुवा पूर्ण दर्जी र आमा मिठू दर्जीका ३ छोरी र २ छोरा मध्ये कान्छो सन्तानका रूपमा सन् १९८२ जनवरी २२ मा सुनसरीको बारहाक्षेत्र नगरपालिका–६, मुनाल चोकमा सन्तोष जन्मेका थिए। सन्तोष सानैदेखि नयाँ कुराहरुलाई टपक्कै टिप्ने क्षमताको भएको उनका दाजु राजु दर्जी सम्झिन्छन्। उनी थप्छन्, ‘भाइ निकै मेहनती र फास्ट लर्नर थियो। १२ कक्षा पास गरेपछि मैले नै उसलाई सन् २००३ मा कुवेतमा आफँै कार्यरत कम्पनीमा ल्याएको थिएँ। कुवेत र यूएयीमा मैले पनि लामो समय बिताएँ तर भाईलाई भने घर फर्काउन सकिएन। अब धेरै विदेश बस्दिनँ, छिट्टै फर्किन्छु भन्दै कोरोनाको महामारीकै बिच ७ महिना अघि (२०२० सेप्टेम्बर)मा मात्र यूएयीमा १४ दिन क्वारेन्टाइन बसी कुवेत पुगेको भाई अब कहिल्यै नफर्किने भयो। सास त के पापी कोरोनाले गर्दा लाशसमेत देख्न पाइएन भाईको।’
सन्तोषको मागी विवाह बिराटनगरकी समुन्द्र दर्जीसँग बि.सं. २०६४ फाल्गुन ११ गते भएको थियो। कुबेतबाट छुट्टीमा आएर विवाह गरेका सन्तोषले आफ्नो जीवनसंगी समुन्द्रलाई बि.सं. २०६६ देखि २०६८ सम्म कुबेतमै लगेका थिए। मैले पनि समुन्द्रलाई कुबेतको रिगाइमा पहिलो पटक भेटेको थिएँ। धेरै मिल्ने साथी भएका कारण सन्तोष र उनको श्रीमती समुन्द्रसँग मेरो राम्रो आउजाउ हुन्थ्यो। एक पटक हामी क्रिसमस मनाउन कुबेतको चर्चमा पनि सँगै गएका थियौँ। समुन्द्र २ बर्ष कुवेत बसेर गर्भवती भएपछि नेपाल फर्कीइन्। उनीहरूको बि.सं. २०६८ माघमा बच्चा जन्मियो र बाबुको नाम स्मिथ राखियो। सन्तोषले बच्चा जन्मिएको उपलक्ष्यमा साथीहरूलाई बोलाएर कुबेतमै पार्टी पनि दिएको अझै सम्झना छ। समुन्द्रले पनि ठुलो बाबु जन्मिएपछि नेपालमै बसेर स्टाफ नर्स पढ्दै बुवा–आमासहित घर व्यवहार सम्हालिन्।
हरेक बर्ष छुट्टीमा आउने जाने हुँदै गर्दा सन्तोष र मबीच बीच–बीचमा घरायसी लगायत प्रगतिका कुरा हुन्थ्यो। सन्तोष लि–रोयल होटलको बाजा क्याफेमा मेनेजरको रूपमा काम गर्थ्यो अनि नयाँ शाखा खोल्न समय–समयमा साउदी अरब पनि जानु पर्थ्यो। जब कोरोनाको प्रकोप आयो, कुबेत र साउदीमा व्यापारमा पनि गिरावट आयो अनि उनले सन् २०२०को फेब्रुअरीमा नेपाल छुट्टी आउने निर्णय गर्यो। नेपाल आएपछि अन्तर्राष्ट्रिय रूपमै उडानहरू ठप्प भए। सन्तोष सपरिवार नेपालमा लामो समय बस्यो।
बेला–बेलामा फोनमा कुरा हुँदा लामो समयसम्म सपरिवार बस्दाको सुखद अनुभव सुनाउँथ्यो। समुन्द्र पनि १० बर्षको छोरोलाई पढाउँदै नर्सको काम गर्दै थिइन् बिराटनगरमा। दुख–सुख उनीहरूले संयुक्त रूपमा बिराटनगरमै सुविधायुक्त नयाँ घर पनि बनाएका थिए। लकडाउन र छुट्टीको सदुपयोग गर्दै घरको फिनिसिङमा आफैँ जुटेका थिए सन्तोष। उ भन्थ्यो, ‘बुवा–आमाको मेहनतको घर त सुनसरीमा छ। यता बिराटनगरमा पनि एउटा घर बनाउँदै छौँ हामी दाजुभाइ मिलेर।’ करिब सात महिनाको छुट्टी कटाएर सन्तोष सन् २०२० सेप्टेम्बर २६ तारिकमा गर्भवती श्रीमतीलगायतको परिवारलाई छोडेर उनी यूएयी हुँदै कुवेत फर्किए।
यूएयीमा १४ दिन क्वारेन्टाइन बसेर सन्तोष सेप्टेम्बर २०२०को अन्तिममा कुबेत फर्किए। कोरोनाको कारण साउदी अरब जानु नपरेकाले कुबेतकै शाखामा काम गर्थे उनी। उता कुबेतमा कामकाजमै दिन बित्दै थियो भने यता नेपालमा पनि बि.सं. २०७७ कार्तिक ३० गतेका दिन उनीहरूको जुम्ल्याहा छोराहरू जन्मिए। जुम्ल्याहा बच्चा जन्मिएको खुशी साट्न सन्तोषले फोनमा भनेथ्यो, ‘सँगै बसेर जुम्ल्याहा बच्चा जन्मिएको खुशी साट्न पाइएन यार। कोरोनाले गर्नु गर्यो। इन्सल्ला, २०७८ सालको दशैँमा घर जान्छु, त्यो बेलामा त बाबुहरू ११ महिनाका हुन्छन्।’
हामीबीच समय–समयमा कुरा हुन्थ्यो फोनमै। ८ वर्षको फरकमा जुम्ल्याहा छोराहरू जन्मिएकोमा सन्तोष निकै हर्षित थियो र भन्थ्यो, ‘दुईजना बाबुहरूलाई हुर्काउन श्रीमतीलाई पनि गार्है हुने भयो। यस्तो समयमा समेत सँगै हुन पाईएन। कति बेला बाबुहरुलाई भेटँझैँ भएको छ।’ यति धेरै कुरा हुँदै गरेको साथीको अप्रिल १५ तारिक, २०२१ का दिन कोरोनाको कारण कुवेतमै मृत्यु भयो। उसले न आफ्ना कलिला जुम्ल्याहा छोरालाई अँगाल्न पायो न त जुम्ल्याहा बाबुहरूले आफ्नो बुवालाई देख्न पाए। सन्तोषलाई पापी कोरोनाले कुबेतमै लग्यो, कहिल्यै फर्कन नमिल्ने गरी।
सन्तोषले मार्च २८ तारिक २०२१ का दिन मलाई म्यासेन्जरमा फोन गरेको थियो। उसले कुवेतको फर्वानिया अस्पतालको बेडबाट भिडियो कल गरेको थियो। त्यति राम्रो बोल्न नसक्ने अवस्थामा उसले लामो–लामो सास फेर्दै मलाई भन्यो, ‘मलाई तपाईँको सहयोग चाहिन सक्छ। मलाई कोभिड भएछ, म फर्वानिया अस्पतालमा छु। समुन्द्र र राजु दाईहरूलाई सम्पर्क गरेर मेरो अपडेट दिईराख्नु। अनि मेरो राम्रो उपचारको लागि दुतावासमा पनि कुरा गरिदिनुहोला।’ उसले फोन राखेपछि मेरो मन दिनैभर गर्हुङ्गो भईरह्यो। यस्तो खाइलाग्दो साथी कोरोनाको कारण निकै सिथिल भएको पाएँ। मैले सन्तोषको दाजु र श्रीमतीसँग पनि नियमित संचार सम्पर्क गरिरहेँ। यता कुबेतमा रहेको उसको गाउँकै साथी फणिन्द्र निरौलासँग पनि सम्पर्कमा रही दुतावास र सन्तोषको कम्पनीसँग संपर्क गरिरहन भने।
उसले पुनः मार्च ३० तारिकमा मलाई भिडियो कल गर्यो र भन्यो, ‘अहिले त अलिक सुधार भए जस्तो छ यार। अब त बाँच्छु कि?’ सँगै उसले यो पनि भन्यो, ‘मलाई कोभिड पोजेटिभ मात्र होइन, छातीमा हल्का इन्फेक्सन भएको छ भनेको छ डाक्टरले।’ मैले भने, ‘सन्ते, अरु चिन्ता नलिइकन औषधी–उपचारमा ध्यान देउ, तँलाई छिट्टै ठीक हुन्छ यार, हरेस नखा, म घरमा पनि र तसँग पनि निरन्तर संपर्कमा रहन्छु।’ उसले भन्यो, ‘“बड्डी, आइएम रियल्ली विक दिस् टाइम, प्लिज हेल्प मी इन अ निड।” मैले उसलाई भनेँ, ‘डन्ट वरी यार, वि आर हेयर, टेक केयर।’ यति भनेर मैले कल राखेँ। त्यही कल नै हामीबीचको अन्तिम कल बन्न पुग्यो।
सन्तोषको जीवनको करिब १८ बर्ष लामो उर्जाशिल समय र जवानी कुबेत, इराक र साउदी लगायतका मरुभूमी देशहरूमा बित्यो। सुखी जीवनका लागि सस्तोमा समेत पसिना साट्दै सुन्दर भविष्य बनाउने र स्वदेशमा सपरिवार रिटायर्ड लाइफ बिताउने सपना बोकेका सन्तोषको सास मात्र होइन, लाशसमेत कुबेतमै बिलायो। कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शवलाई एक देशबाट अर्को देश लान नपाउने नियमका कारण अप्रिल १७ तारिकमा सन्तोषको शवलाई पनि कुवेतको सुलेबियाखातमा अन्त्येष्टी गरियो। पापी कोरोना कारण असंख्य मान्छेहरूले बिदेशमा ज्यान गुमाए। त्यसो हुँदा, धेरैले आफ्ना आफन्तको अन्त्येष्टीमा समेत सामेल हुन पनि पाएनन्। प्रिय साथी सन्तोषको अल्पायूमै भएको अकल्पनीय दुःखद मृत्यू अनि उनको कुबेतमै गरिएको अन्त्येष्टीलाई आज पनि पत्याउन सकिरहेको छैन। प्रिय सन्तोषको मृत आत्माको चिरशान्तिको कामना। मिस यू सन्ते।