
मलेसियाकाे एक रेस्टुरेन्टमा काम गर्न भनेर गएका झापा मेचिनगर-३, भावनाचोकका नारायण गुरागाईँ ३ वर्ष काम गरेर बिहे गर्नका लागि स्वदेश फर्कनुभयो।
मलेसियामा रहँदा नारायणलाई एक दिन एक चिनियाँ रेष्टुरेण्ट व्यवस्थापकले थप ३ वटा रेष्टुरेन्ट खोल्न सरकारसँग अनुमति लिएको सुनाए। नारायणले त्यतिबेला ती व्यवस्थापनसँग जिस्कँदै भने, 'किन तिन वटा मात्रै, अरु धेरैको अनुमति लिएको भए मैले पनि एउटा रेष्टुरेन्ट सम्हाल्न पाउँथेँ। व्यवस्थापनका ती मानिसले उनको कुरा सुनेर "सक्छस् त ?" भनेर हिँडे।'
ती चिनियाँले आफ्ना पार्टनरलाई यो कुरा सुनाएछन् र त्यसको भोलिपल्टदेखि नारायणको काममाथि नजर लगाउन थाले। सुधार गर्नुपर्ने ठाउँहरूमा सिकाउन थाले र केही समयपछि एउटा चाइनिज रेष्टुरेन्ट जिम्मा दिए। उनलाई बेलाबेला "मलेसियाको ठाउँ, रेस्टुरेण्टको सबै जिम्मामा मेरो छ। कतै स्थानीय नागरिकहरू (मले) आएर मार्ने या लुट्ने पो हुन कि भन्ने डर लाग्थ्यो।"
गुरागाईँलाई रेस्टुरेन्टको एउटा ब्रान्च–म्यानेजर बनाएर पठाइएको थियो। सबै थोक राम्रै थियो चल्दै थियो। तर बिहे गर्न भनेर नेपाल आए उनी। नेपाल आउँदा कोरोनाको प्रकोप बिस्तारै बढिरहेको थियो। तर बिहे गरेर मलेसिया फर्कने बेलामा लकडाउन सुरु भयो र जान पाइएन। अहिले त नेपाल आएको पनि एक बर्ष भयो। "कोरोनाकै कारण त्यता फर्कन मिलेको छैन। जान पाए त राम्रै हुने थियो, अहिले त मलेसिया पनि बन्द छ," गुरागाईँ बताउँछन्।
उनी बताउँछन्, "आफूले मिहिनेत गरेर पाएको पद र चिनियाँ नागरिकले पत्याएको कामले हामी दुबै पक्षलाई नै फाइदा पुगिरहेको थियो। तर, कोरोनाले गर्दा मलेसिया फर्कन पाइएन। बेलाबेलामा व्यवस्थापकसँग सम्पर्क भइ रहन्छ। उनीहरुले काममा फर्क भनिरहेका छन्। मलेसियाले उडान बन्द गरेकोले गर्दा त्यहाँ जान पाइरहेको छैन।"
गुरागाईँ गुनासो गर्छन्, "अहिले त मैले काम गरेर बनाएको पदमा अर्कै आइसक्यो होला। केही गरी अहिले मलेसिया फर्कन पाए पनि त्यो पद नपाइने हो कि भन्ने चिन्ता छ। मालिकलाई त कामसँग सवाल छ। आफुले एउटा ठुलो अवसर गुमाउनु परेको छ। यता बेरोजगार भएर कति बस्नु भनेर आफ्नै ठाउँमा च्याउ खेति गरिहेरौँ भनेर लागिपरेँ। मौसम खराव भएर त्यो पनि बिग्रियो। अलिअलि भएको लगानी पनि च्याउमै गरियो। च्याउबाट सोचेजस्तो आम्दानी नहुँदा दिक्क लागेको छ।"