
उतिखेर देशमा जनयुद्ध चर्किरहँदा बन्द-हड्तालले जनजीवन त्रस्त थियो। मान्छेहरू अन्याैल र असुरक्षाले वाक्क थिए। नेपालमा उचित रोजगारी र रोजगारीअनुसारको पारिश्रमिक नपाउने अवस्थामा आम युवाजस्तै म पनि खाडी राष्ट्रमै भएपनि रोजगारीका लागि जाने सोचमा थिएँ।

यत्तिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुर दैनिकको एउटा बिज्ञापनमा आँखा पुग्यो: “कुवेतमा रोजगारी,फ्रि-भिसा।" विज्ञापनलाई पच्छ्याउँदै मैले दाना ओभर्सिज, ललितपुर, कुपण्डोलतर्फ पाईला बढाएँ। त्यस वैदेशिक रोजगारीसम्बन्धि कार्यालय (म्यानपावर) मा धेरै नेपाली युवायुवतीहरूको भीड थियो। बाहिरबाट हेर्दा त कतै जात्रा नै त होइनजस्तो लाग्थ्यो। सबैले रमाइलो मानेझैँ देखिन्थ्यो। अवसर छोप्न खोजेझैँ बुझिन्थ्यो। 'राम्रो अवसर' भएकोले होला, कोही आफ्नो ब्यापार छाडेर, कोही पढाइलाई बिचमै पूर्णबिराम दिएर, त कोही सरकारी जागिरसमेत छोडेर भीडमा लाइन लागेका थिए।
सोही भीडको एउटा लाइनमा म पनि उभिएँ एउटा फाइल बोकेर। अन्तर्वार्तामा छानिएको अवस्थामा म नेपालको प्रसिद्ध होटल, याक एण्ड यतीको अस्थाई जागिर छोडेर विदेश पुग्ने थिएँ। सेतो सर्टमा बट टाई अनि कालो पाइन्ट र कालो जुत्ता। लाइनमा उभिनेहरूमध्ये धेरैको पोशाक यस्तै थियो।
अन्तर्वार्ताका लागि मेरो पाले आएपछि मलाई बोलाइयो। म कोठाभित्र पसेँ। 'गुड मर्निङ'बाट सुरु गरेर आफुले भ्याएसम्म राम्रोसँग अन्तर्वार्ताकारसँग बोलेँ। ऊ सायद मबाट प्रभावित भएछ। र, तत्कालै मसँग हात मिलाउँदै रोजगारीका लागि बनाइएको कन्ट्र्याक्ट पेपर (सहमति पत्र) मा सही गरायो। म खुसी हुँदै त्यहाँबाट बाहिरिएँ। भोलिपल्ट थाहा भयो कि म ३ सय जना प्रतिस्पर्धीहरूबाट छानिएर असी जनामा परेछु। र, त्यसमा पनि चौथो नम्बरमा परेछु। फेरि म म्यानपावरको कार्यालयमा पुगेँ। त्यहाँको मान्छेले मलाई मेडिकल परिक्षण गराए। त्यसमा पनि सबै राम्रो देखिएपछि अबको सात दिन भित्र फ्लाईट हुने शुभ-समाचार दियो। अब १५ दिनमै म देश छाडेर प्रवासतर्फ उड्ने भएँ। 'के खोज्छस् भोको, भोजन' भनेझैँ भयो मलाई।
त्यसपछि म होटलबाट पाउने सबै तलबहरू लिएर, सबै चिनजानका साथीहरूसँग बिदा भएर लागेँ जन्मघर सिन्धुपाल्चोकतिर। बाआमा, श्रीमती, छोराहरू, भाइबहिनी, दिदिहरू, गाउँले साथीभाइ र आफन्तहरूसँग सिन्धुपाल्चोकबाट बिदा भएँ। घर र आफन्त छाडेर विदेशिनुको पीडा विदाईका बेला महसुस हुने रहेछ। मन कुड्याउँदै र 'मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्छ' बोलेको नारायण गोपालको गीत सम्झँदै बाटो लागेँ। डाँडाको गणेशलाई अनि गाउँको देवीलाई मनमनै प्रार्थना गर्दै राम्रो काम गर्ने अनि मोठो खाने र परिवारमा सबैलाई सुख दिने चाहनालाई पालेर लागेँ चेहेरेतिर।
अरनीको राजमार्ग हुँदै म जेष्ठ ३ गते लागेँ काठमाण्डौँ। घरपरिवारबाट छुट्दा दुःख लागेपनि विदेश जाने कुराले अर्कोतर्फ मन खुसी पनि थियो। केही प्राविधिक कुराहरू मिलाउँदै मसँगै ४ जना केटी र ३१ जना केटा साथीहरू २०६१ जेष्ठ ५ गते कतार एयरवेजमार्फत नेपाली समयअनुसार बेलुकी पाँच बजे कतारलाई ट्रान्जिट बनाउँदै उड्यौँ। विदेशतर्फ उडेको पहिलो अनुभव, त्यसमा पनि खाडी मुलुक, म पुग्ने गन्तव्य कस्तो होला, आगामी जीवन कस्तो रहला? यस्तै विषयमा सोचमग्न थिएँ। मनमा एकखालको त्रास र अर्कोतर्फ उमंग थियो। सायद सबै साथीले यस्तै सोचमा मग्न थिए।
बेलुकीको आठ बजे (कतारको समय) हामी दोहा एयरपोर्टमा पुग्यौँ। अनि १८ घन्टाको ट्रान्जिट कटेर आएकाले आराम गराउनका लागि हामी सबैलाई होटल होराइजन, दोहामा लगियो। पहिलो पटक एयरपोर्टबाट होटलको बसमा चढ्दा अति नै गर्मी महसुस भयो। अनि मैले तत्कालै मेरा दाइले केही वर्ष अगाडि कतारबाट नेपाल पठाउनुभएको पत्रमा कतारको तातो हावाले शरीर फुलेको सन्दर्भ सम्झेँ। साच्चैँ रापिलो हवा थियो त्यो। अनि मनमा कुरा खेल्यो–कति कठिन होला है कतारमा काम गर्न।

तर विदेशमा काम गर्नु हाम्रो बाध्यता थियो। कतारमा रहेका नेपाली साथीहरूमार्फत कतारको दोहामा रहेको नेपालीहरूको जमघट स्थल, 'नेपाली चोक' अनि केही स्थानहरू घुमेर हामी फेरि कुवेतको फ्लाइटको लागि दोहा एयरपोर्ट आयौँ। कतारबाट बेलुकी पाँच बजे हामी कुवेत आइपुग्यौँ। र, एयरपोर्टमा ओर्लेको केही बेरपछि केही हाम्रा कम्पनीका मान्छे हामीलाई लिन आए। अनि हामी सिधै कम्पनीको हाउजिङ(आवास)मा लगियो। हाउजिङमा पुग्दा उही भाव आयो मनमा, 'जता गए ताते, तातोले खायो सातो।' तर पनि धेरै साथीहरू सँगै भएर होला, आत्मविश्वास उति ढलेन।
हामी सबैलाई एउटै फ्ल्याटमा राखियो। कोठा अलग भएपनि खानाचाहिँ आँफैले बनाउनु पर्ने रहेछ। त्यसैले धेरै साथीहरूलाई गाह्रो नै भयो किनकि जीवनमा कहिल्यै खाना नबनाएका साथीहरू पनि हामीसँग थिए। तर विदेश आइसकेपछि यस्ता झिनामसिना कुरासँग सम्झौता गर्नु स्वभाविक नै भइहाल्यो। त्यसैले हामी सबैले एकअर्काका सीप साट्यौँ, सहयोग गर्यौँ। केही दिनमा हाम्रो नियमित काम पनि शुरू भयो। रमाइलो नै हुँदै थियो। करिब दुई महिनाभित्र पुन: यहाँ हाम्रो स्वास्थ्य परिक्षण गरियो। कम्पनीका सबै तालिम तथा काममा पनि ज्ञान र सीप बढ्दै थियो।
यत्तिकैमा हामीसँग भएको भिजिट भिसाको अवधि सकिएको ३ दिन भएको थियो। यसबारेमा हाम्रो कम्पनीले तत्कालै ईमेल पठाएछ हामीले काम गर्ने रेस्टुरेन्टमा। मसँगै एउटै कोठामा बस्ने अनि मसँगै ड्युटी गर्ने काठमाण्डौको साथी रबिन ठकुरी र म जुलाई १६ को दिन बिहान ११ बजे सिभिल आईडी (कुवेत भित्र स्थायी वा अस्थायी बसोबास गर्ने सबैले बोक्नुपर्ने आइडी) लिनको लागि रूटमा चल्ने बसबाट हाम्रो हेड अफिसतिर लाग्यौँ।
तर दुर्भाग्य! हामी चढेको बसलाई कुबेती प्रहरीले बाटोमा रोकेर चेकिङ गर्यो। कुबेती नियमअनुसार त्यस देशमा रहने व्यक्तिसँग यदि सिभिल आइडी छैन भने कि त पासपोर्ट, त्यो नभए समय-अवधि भएको पेपर भिसा चाहिने रहेछ। यी कागजात देखाउन नसके हाम्रो काम गैरकानुनी ठहरिने रहेछ। तर हामी दुई जना लगायत अरू सात जनाको भिसा सकिएको मात्र पेपर भएकोले प्रहरीकै मोटरमा राखेर हामी नौ जनालाई नै कैफ्यान भने ठाउँको जेलमा लगियो। भर्खरै कुबेत आएका अनि अरबिक भाषाको ज्ञान पनि उति नआउने हामीलाई यहाँको नियम के थाहा? हामीसँग कैदी बन्नुको विकल्प रहेन।
हामीलाई त्यहाँको कैफ्यानस्थित प्रहरी कार्यालयको प्रमुखले एउटा कोठामा लगेर ९ जनालाई नै लाइनमा उभ्यायो। अनि सबैलाई पालैपाले आफू काम गर्ने कम्पनी, आफ्नै नाम र आफ्नै धर्म सोध्यो। हामीले बतायौँ। त्यसपछि हामीले आफ्नो कम्पनीमा फोन गरेर खबर गरायौँ। तर हाम्रो मेनेजरले हाम्रो सिभिल आइडी लिएर आउन ढिला गरेकोले हामीलाई २४ घन्टे मुद्दा दर्ता गराएर अर्को कोठामा लगियो। मसँग भएको मोबाइल पनि लग्यो। अनि पेटी, नैनालगायतका धातुनिर्मित सामानहरू आफैँसँग राख्यो। म, रबिनजी र अन्य दुईजना बङ्गलादेशी नागरिक गरेर चार जनालाई एउटा कोठामा राख्यो।
जुलाईको मध्य गर्मी, त्यसमा पनि पहिलो पल्ट खाडी मुलुकमा, अनि एयर कन्डिसनबिनाको अँध्यारो कोठा। ओच्छ्याउने केही पनि नभएको खाली भुइँ र घुडासम्म बरिएको खुल्ला चर्पी। अनि त्यसको गन्धको पिरलो! उल्लेख गर्नै पनि दिगमिग र अत्यासलाग्ने! पहिले त भित्र छिर्नै गाह्रो लाग्यो तर हामी निम्छरा कैदीसँग अर्को विकल्प के थियो र? हामी खाली भुईमै बस्यौं। अनि केही बेरमै प्रहरी कार्यालयमा हाम्रो कम्पनीको मेनेजर आयो र भन्यो, 'केही चिन्ता नलिनु, अब भोलि हामी लिन आउँछौँ।' यसो भन्दै ऊ पनि बाहिरियो। हामीले ठहर गर्यौँ, हामी बन्दी नै भएका रहेछौँ।
केही क्षणमा त्यस जेलमा कार्यरत एक जना बङ्गलादेशी नागरिकले हामीलाई पानी ल्याइदियो। अनि फलामको बार भित्रपट्टि रहेको धेरै पुरानो लाग्ने पानीको बोटलमा बाहिरबाट अलग्गै पानी हालिदियो। यो दृश्य देख्दा चिडियाघरमा जनावरहरूलाई मान्छेहरूले बाहिरबाटै खानेकुरा फालिदिएजस्तो लाग्यो! तर हामीलाई त्यस्तो पानी पिउन सकेनौँ। २४ घन्टा पानी हामीले पानी नपिएरै बितायौँ।
एकै छिनपछि फेरि अघिकै बङ्गाली स्टाफले हामीलाई खाना लिएर आयो। सानो प्लास्टिक-कागजमा प्याक गरिएको खाना अघिकै फलामको बारबाट छिराईदियो। हामीले खोलेर हेर्दा त्यो त बिफ-पुलाउ (गाइगोरुको मासु हालेको पुलाउ) रहेछ। हामिले त्यो पनि खाएनौँ। तब एक मिनेटलाई एक घन्टा जस्तो लाग्ने घडिको सुई हेर्दै बस्यौँ।
हाम्रो सेल (कोठा) मा चार जना थियौँ। बेलुकाको सात बजेतिर हामी चार जनाका लागि बेलुकाको खाना स्वरूप खबुस (सुख्खा रोटि) र एक-एक ओटा सुन्तला अनि एक-एक कप सुन्तलाको जुस दिईयो। अति पानी प्यास र खरोपन भएकोले सुन्तला र जुस हामीले खायौँ। छिर्नुअघि बस्नसमेत घिन लागेको भुइँलाई ओच्छ्यान बनाउँदै र आफ्नै हातलाई सिरानी बनाउँदै अनि आफूले लगाएको सर्ट पाइन्टलाई नै सिरक र डसना बनाउँदै हामी खाली भुइँमा पल्टियौँ।
विदेशको पहिलो जेल अनुभव, कसरी निन्द्रा लाग्थ्यो र? कडा र खाली भुइँ भएकोले बस्दा-बस्दा जिउ नै दुखेको थियो। मन हतास र चिन्तित भएकाले त्यहाँको बसाई लामो लाग्दै थियो। हामी रातभर जागाराम बस्यौँ। हरेक घण्टा-घण्टामा ड्युटिमा रहेका कुवेती प्रहरीहरू जेलको कोठाको ढोकामा रहेको बारलाई आफ्नो लठ्ठिले हान्दै र जुत्ता बजाउँदै आउने-जाने गरेको र कतिपय कैदीहरूलाई पिटेको र कैदीहरू रोएको स्वर पनि प्रष्ट सुनिन्थ्यो।
बिहान हुँदै गर्दा बाहिरको उज्यालो हाम्रो कोठामा पनि छिर्याे। उज्यालो भएको केही बेरमा हिजोको बङ्गाली स्टाफ हाम्रा अगाडि देखापर्याे। उ बिहानको खाजास्वरूप खबुस (सुख्खा रोटि) र जुस लिएर आएको थियो। हामीले एकाबिहानै खबुस त खाएनौँ तर जुस चाहि 'सिल्डप्याक' भएकाले खायौँ। अनि फेरि घडी हेर्दै 'कति बेला एघार बज्ला र कम्पनीबाट मान्छे आएर लिएर जाने हो' भन्दै बस्यौँ। आफ्नै रुचि र रहरको विषयमा भुल्न पाउँदा मान्छे समय गएको पत्ता पाउँदैन तर कष्टको बेला घडीको सुई नै घुम्दैन! अनि साथीहरूसँग गफ पनि के गर्नु? अनि यस्तो बेलामा परिवार सम्झँदा मन एक तमासको हुने।
जब बिहानको दस बज्यो तब हाम्रो मेनेजर हाम्रो सिभिल आइडी र हाम्रो कन्ट्र्याक्ट पेपर लिएर आए। एक प्रहरी आएर म र रबिनजीलाई हातको इसाराले ढोका खोलेर बोलायो। अनि हामी चुपचाप उसको पछि लाग्दै काउन्टरतर्फ गयौँ। प्रहरीले हिजो हामीसँग लिएको मोबाइललगायतका सामान फिर्ता दिएर एउटा कागजमा सही गरायो अनि 'मा-सलाम' (अरबिक भाषामा बिदाइको अभिवादन) भन्दै हामीलाई मेनेजरको जिम्मा लगाइदियो।
अनि हामी पनि त्यही मेनेजरको कारमै सिधै हेडअफिस गयौँ। उसले बाटोमा हामीलाई हाम्रो सन्चो-बिसन्चो सोध्यो। अङ्रेजी भाषामा कुवेतको नियम-कानुनका बारेमा सम्झायो र हामीलाइ समयमै निकाल्न नसकेकोमा क्षमा पनि माग्यो। हामी पनि 'जेजस्तो भयो, यसलाई ठूलो इश्यू बनाएर काम छैन' भन्दै हेड अफिसमा कफि र नास्ता गरेर कम्पनिको मोटरबाटै कोठामा गयौँ। हाम्रा सबै साथीहरू हाम्रै बाटो हेरेर बसेका रहेछन् र हाम्रो ईजिप्सियन रेष्टुरेन्ट मेनेजर पनि हामीलाई नै कुरेर बसेको रहेछ। साथीहरूमाझ आफ्नो छोटो बन्दी जीवनको दुःख बाँड्यौँ। मेनेजरले 'बन्दी भएवापत' दुई दिनको विदा दियो। हामीले सुतेरै बिताइदियौँ।
नेपालबाट कुवेत आएको चालीस दिन जतिमा भोग्नु परेको कुवेतको चौबिस घन्टे जेल बसाइँ सार्है नरमाइलो लाग्यो। सामान्य नियम उल्लंघन गर्दा हाम्रो त्यो हाल भयो भने डोल्मा शेर्पालगायत सम्पूर्ण खाडी मुलुकमा जेल सजायँ पाएका नेपाली र अन्य प्रवासी श्रमिकहरूको स्थिति होला? र, मेरो अनुभवमा कुवेती प्रहरीहरूमा खासै मानवता र अनुशासन देखिएन। किनकि उनीहरू कार्यालय समयभित्र कार्यालयमै चुरोट पिउँथे, पक्राउ परेको व्यक्तिलाई सोधपुछकै क्रममा पिट्थे र अरबिकमा अश्लील गाली गर्दथे।
अझ छोटो समयका लागि थुनिने बन्दीको हकमा त्यहाँ नेपालभन्दा गएगुज्रेको हालत रहेछ। खाने र बस्ने व्यवस्थाको हकमा। कैदीखानाको त्यो अवस्था र सुरक्षाकर्मीको त्यस्ता व्यवहार देख्दा विश्वकै महँगो मुद्रा भएको त्यस देशसँग ठूला तेल खानी भएपनि, अमेरिकनहरूसँगको हातेमालोले भौतिक समृद्धि हासिल गरेपनि मानवीय मर्यादा र सामाजिक जीवन भने तल स्तरको रहेको महसुस भयो। अहिले म नेपालमा छु। तर त्यहाँ हुँदा, कहिलेकाहीँ कुवेत सिटी जाँदा-आउँदा 'कैफान बस स्टेसन'मा पुग्दा २४ घन्टे बन्दी जीवनको कुरा याद आउँछ।
मान्छेहरूले भनेको सुनेको छु, 'खाडी देशमा त शत्रु पनि नआओस्।'
तर मलाई लाग्छ। यो एउटा जीवनमा संसारका अनेकौं अनुभूति संगाल्ने ठाउँ खाडी पनि एक हो, जहाँ संसारका सबै देशका मान्छे काम गर्न आइपुग्छन्। अर्को कुरा, केही अपवादहरू छाडेर नियम-कानून कार्यान्वयनको सवालमा खाडी कडा छ। त्यो कुरा तारिफयोग्य छ। तर छोटो होस् या लामो, चराझैँ उड्न चाहने मानवले कुनै पनि देशमा कैदी जीवन बिताउन नपरोस्।