
कतार सरकारको बन्दाबन्दी (लकडाउन) लाई सहज बनाउने नीतिअन्तर्गत अगष्ट महिनादेखि दोस्रो चरणको बन्दाबन्दी सहजिकरण हुने पूर्वसूचना अनुसार संग्रहालय, स्विमिङपुल, सपिङ मल र जिमखाना लगायत ठाउँहरुमा सीमित गतिविधि गर्न पाउने प्रावधान थियो । यो सूचनासँगसँगै बन्दाबन्दीका कारण सिर्जित दिकदारीको समय व्यतित गरेको म जिम खुल्ने कुराले भने निकै हर्षित थिएँ। बन्दाबन्दीका समय घरमै बरालिएर बसेकाले र कुनै पनि शारीरिक ब्यायाम नगरेकोले ज्यान अलिक मोटाएर भद्दा भएको अनुभूती गरिरहेको थिएँ । त्यसपश्चात् ‘अब भएन’ भन्दै मैले जिमखाना जाने निर्णय गरेँ र अगष्टको पहिलो हप्ताबाट जिम जोईन गरेँ ।
कतार सरकारको बन्दाबन्दी नियमअनुसार सिमित संख्या र सिमित समयको परिधीमा जिम संञ्चालन हुने भएपछी ढुक्कसँग जिमखाना जान थालें । सुरुको हप्ता साधारण वार्मअप् गर्ने मनिस्थिती थियो र त्यहीँ योजना अनुसार शारिरिक व्यायाम गरेँ । दोश्रो हप्ताबाट बिशेष सेटमै कसरत गर्ने योजना बनाएँ । अनि आफ्नो कसरतको योजना बनाई सिस्टम्याटिक अभ्यास गर्न थालें । खुट्टाको कसरत गर्न अलिक बढी दवाब पर्ने भएकाले बिहिबार साँझ अभ्यास गर्ने तय गरें । भोलिपल्ट शुक्रबार मेरो छुट्टी पनि हुने भएकाले राम्रो आराम मिल्छ भनेर यस्तो योजना बनाएको थिएँ । बिहिबार साँझ मजैसँग खुट्टाकै कसरत गरेँ ।
शारिरीक कसरतले शरिरलाई अलिक बढी नै दवाब पार्दछ । जिमबाट फर्किँदा पुरै शरीर सिथिल भैरहेको भान भैरहेको थियो । शरीर शिथील भएपनि मनोविज्ञान भने तन्दुरुस्त नै थियो त्यसैले शारीरीक तनाबलाई बलियो मनोवलले सन्तुलनमा राखिरहेको थियो । शुक्रबारको छुट्टीमा ढुक्कसँग आराम गर्न पाएकाले खासै दुखाईको महसुस गरिनँ । शनिबार ड्यूटी भएकाले म एकाबिहानै ड्यूटी गएँ। शरीर पुरै दुखीरहेको थियो, बिशेष गरी तिघ्रामा बढी पिडा महसुस भैरहेको थियो । सामान्य रूपमा हिँडडुल गर्दैथिएँ तर पनि तिघ्राले राम्रोसँग सपोर्ट नगरेको भान भैरहेको थियो ।
शनिबार जेनतेन ड्युटी सक्याएर म आफ्नो आवासमा फर्किएँ । अर्को ड्युटी आईतवार दिउसो जानु थियो । तर मलाई बिहानैदेखि शरीरमा असहज आभाष भैरहेको थियो । दिउसो काम सुरु हुने भएकाले म अलिक अबेरसम्मै सुतँे आइतबार । ओच्छ्यानबाट म उठ्दा बिहानको साढे दस बजिसकेको थियो । सो दिन पनि शरीरमा आलस्यपन र भित्री ज्वरो आईरहेको अनुभव भैरहेको थियो। सर्वत्र कोरोनोको चर्चा भइरहेको बेला मेरो मनमा पनि ‘कोरोना त भएन !’ भन्ने आशंका बढिरहेको थियो भने अर्कोतर्फ ‘मौसमी रुघाखोकिमात्रै हुनसक्छ’ भन्ने पनि लागिरहेको थियो। जिमखानाको कसरतको दवाबले पो हो कि भन्ने शंका पनि लागिरहेकै थियो। सबैकुराको निक्र्यौल गर्न त अस्पताल वा मेडिकल क्लिनिकमा गई डाक्टरकहाँ जचाउनै पर्ने थियो । त्यसैले सो दिन मैले आफ्नो अफिसमा फोन गरेर भने, ‘स्वास्थ्यका कारण म आज काममा आउन सक्दिनँ।’ त्यसलगत्तै म आफ्नो दाईसँगै नजिकको क्लिनिकमा स्वास्थ्यजाँचका लागि गएँ ।
क्लिनिकमा साधारण जाँचपछि डाक्टरले मेरा लागि पानाडोल(पारासिटामोल), कफ सिरफ र नाक बन्द भएमा बन्द नाक खुल्ने नोसल ड्रपलगायत औषधीको प्रेस्किप्सन लेखेर दिए । सल्लाहअनुसारको औषधी किनेर म डेरा फर्किएँ । डाक्टरले दुई दिनको लागी बिरामी विदा पनि सदर गरेका थिए । डाक्टरले दिएको बिरामी विदाको स्विकृती भएपछि थप दुई दिन म डेरामै बस्नका लागि मलाई सहज हुन्थ्यो । सोहीअनुसार बाँकी दुई दिन पनि म डेरामै बसेँ।
डक्टरले चेक गर्ने बेलामा ‘मौसमी ज्वरो वा कोरोना पोजेटिभ पनि हुन सक्छ। यदि २ दिन सम्म पनि निको भएन भने पिसीआर टेस्ट गर्न जानु’ भन्ने सल्लाह दिएका थिए । मलाई भने ज्वरोले झनै बढि च्यापिरहेको थियो। त्यही कारण कोरोनाको पिसीआर टेस्ट गर्नको लागी म कतार सरकारले तोकेको परिक्षण केन्द्रमा गएँ । परिक्षण केन्द्रमा मैले ‘ओरल’ र ‘नसल स्वाब’को स्याम्पल दिएँ । मेरो सहयोगका लागि म सँगै मेरो साथी पनि जानु भएको थियो। परिक्षण केन्द्रबाट हामी दुबै जना उबर चढेर डेरा फर्कियौँ । परिक्षणका लागि दिनको उत्तरार्धतिर गएकाले त्यो दिन रिपोर्ट आउने कुरा सम्भव थिएन ।
स्थानिय PRO office म्यानेजर, मिनिस्ट्री अफ पब्लिक हेल्थबाट पनि मेरो मोबाइलमा मिस्ड कलहरू आएको रहेछ । मन सन्त्रस्त थियो । नभन्दै मिनिस्ट्री अफ पब्लिक हेल्थबाट फेरी अर्को कल आयो । फोन उठाएँ। उताबाट मलाई कोरोना पोजेटिभ भएको पुष्टी भयो । र मलाई ‘क्वारेन्टीन सेन्टरमा जानको लागी तयारी अवस्थामा रहन’ निर्देशन दिइयो ।
कतारले आफ्नो देशमा कोरोना संक्रमणलाई नियन्त्रण गर्नको लागी एतराज मोवाईल नामको एप्लिकेसन बनाएको छ । यसमा चार वटा कलर कोड बनाईएका छन् । कोरोना पोजेटिभ हुनेको कलर कोड रातो हुन्छ। एतराज एप्लिकेसनमा मेरो नामसंकेत पनि रातो भैसकेको रहेछ । तर मिनिस्ट्री अफ पब्लिक हेल्थ र एतराज मोबाईल एप्लिकेसनले कोरोना पोजेटिभ भएको पुष्टी गरीसक्दा पनि मलाई भने आफूलाई ज्यानमारा कोराना लागेको कुरामा विश्वास लागिरहेको थिएन ।
मानिसको जीवनमा जुनकुरा नहोस् र नभैदिए हुन्थ्योजस्तो लाग्छ, त्यही भईदियो भने मानिसलाई एक किसिमको मानसिक झड्का लाग्छ । मलाई त्यही भैरहेको थियो । कोरोना पोजेटिभ मेरो जीवनको दोश्रो ठूलो झड्का थियो । मिनिस्ट्री अफ पब्लिक हेल्थबाट आएको फोनमा क्वारेन्टिनमा जानको लागि यातायातको व्यवस्था भएकाले डेरामा तयारी अवस्थामा बस्नु भन्ने निर्देशन थियो। निर्देशन अनुसार मैले मेरा व्यक्तिगत सामान र गुण्टा तयार गरी बसको प्रतिक्षामा बसेँ।
हामीलाई क्वारेन्टीनमा लैजानका लागि आएको बसका चालकले मेरो निवासनजिकै आइसकेपछि मलाई कल गरे । म गुण्टा लिएर बाहिर निस्किएँ तर मनमा चरम निरासा थियो । मलाई त्यतिखेर म जीवन र मृत्यूबीचको दोसाँझमा छुजस्तो लागिरहेको थियो । दिनदिनै आउने समाचारहरू र सोसल साईटहरूका न्यूजफिडमा आएका खबर र अफवाहहरूको गहिरो प्रभाव मनमा थियो।
क्वारेन्टिनमा भर्ना हुनेहरूको तत्काल पुनः स्वास्थ्य जाँच गर्ने नियम रहेछ । स्वास्थ्य जाँचपछि मलाई बेडहलतिर जान संकेत गरियो । बेडहरू भएको हलतिर जानुभन्दा पहिले स्वास्थ्य जाँच गर्ने हलसँगै तन्ना, बेड, सिरानि र ब्ल्याङ्केट दिने सानो लजिस्टिक स्टल रहेछ । म त्यहाँ आएर आफ्नो भाग लिएर अगाडी बढेँ ।
मेरो बेड ब्लक ‘बि’मा थियो । म ब्लक ‘बि’ को मेन ईन्ट्रासतिर अगाडि बढेँ । भित्र छिर्नेबित्तिकै एक किसिमको सन्नाटा छायो । क्वारेन्टिनको अवस्था हेर्द आफू नबाँचिने कुरा पनि अब लगभग तय भएझैं लाग्यो । कोरोनाबाट बच्ने उत्तम उपाय भनेकै सामाजिक तथा भौतिक दूरी भनेर विश्वभरीका वैज्ञानिक, स्वास्थ चिकित्सक तथा विश्व स्वास्थ्य संगठनले दिनदिनै उर्दी जारि गरिरहेको र सोहीअनुरुप प्रायः विश्वका सबै देशहरूले लकडाउन गरीरहेको अवस्थामा हलको भीडभाडपूर्ण अवस्था देख्दा झनै अत्तालिएँ । त्यस विशाल क्वारेन्टीन–हलमा एक हजार व्यक्ति अट्ने दुईतल्ले बेड राखिएको र करीब ६०० भन्दा बढी कोभिड १९ पोजेटिभ संक्रमितहरू सँगै राखिएका थिए । केही संक्रमितहरूबीच भने दुरी कायम गरिएको थियो ।
यो सबै दृष्य देखीरहँदा बाँच्ने आस मरेको जस्तो लाग्यो । तर त्यो केही क्षणको लागी मात्र रह्यो । मेरोलागी दिईएको बेडमा गएँ । आफ्नो गुण्टालाई बेडसँगै राखिएको सानो क्याबिनेटमा मिलाएँ । खाली म्याट्रेक्स माथी अर्को बिछ्याएँ । म अलि ढिला पुगेकाले गर्दा ग्रुप ४ का सेक्यूरिटी हरूले डिनर गर्न छिटो जानको लागी आदेश दिए । सामान्यतया त्यहाँको लागी डिनरको लागी समय छ बजेनै सुरु हुने रहेछ मेरो भने स्वास्थ्य चेकजाँच र बेड हल सम्म आएर सबै प्रकृयाहरू पुरा गर्दा साढे आठ बजि सकेको थियो ।
बिहानको खानाले छोडी सकेको भएर होला निकै भोक लागीसकेको थियो । म फटाफट डिनर हलतिर लम्किएँ । डिनर हल सम्म जानको लागी साँगुरो दुई पट्टी फलामे जालिले बेरीएको प्यासेज बाट जानुपर्ने रहेछ । त्यो साँझको खानापछी म आफ्नो बेडमा गएँ । धेरै पोजेटिभ केशहरू कारीब-कारीब पाँच सय भन्दा बडी भएकाले क्वारेन्टिन केन्द्रको क्षमता बढी हुनु पर्ने भएकाले होला बेडहलमा दुईतल्ले बेडहरु राखिएको थियो र अहिले पनि त्यहीनै छ । मेरो बेडस्पेस उपल्लो तहमा थियो । मलाई यस्तो बेडमा सुत्ने बानि थिएन त्यसैमा पनि माथिल्लो तलामा त झन् कहिल्यै पनि त्यसरी सुत्नु परेको थिएन त्यो रात राति सुतेको बेलामा खसिन्छकि भन्ने डरै डरमा सुतेँ ।
म डेरामा हुँदा मलाई कामज्वरो र खोकीले सताईरहेको थियो । क्वारेन्टीनको पहिलो रात पनि ज्वरो र खोकीबाट म अछुतो रहिनँ । बेलुकाको खानापछि मैले दुई गोली पानाडोल र एक बिर्को खोकिको औषधिको झोल खाएँ र सुतेँ । औषधीले काम गरुन्जेल त म राम्ररी नै सुते तर जब बिस्तारै औषधीको प्रभाव कम भयो तब कामज्वरोले मुटुबाट ज्वारभाटा नै छुटेझैं महसुस हुनथाल्यो । यसरी, कामज्वरोले मेरो निन्द्रा बीचमै बिथोल्यो। मध्यरातमा म बिउँझँदा पसिनाले मेरो शरीर निथ्रुक्क भिजेको थियो । उठेर फेरि दुई गोली पानाडोल खाएँ र फेरी सुतँे। औषधीले काम गर्न थालेपछि कति बेला निधाएँ, मैले पत्तै पाईनँ।
बिहान आपतकालीन साईरनको आवाजसँगै एक्कासी निन्द्रा खुल्यो। सेक्यूरिटीले गेटबाट ठूलो आवाजमा माईकिङ गरीरहेको थियो। क्वारेन्टीनमा मेरो पहिलो दिन पनि भएकाले यो केको अनौठो आवाज या उद्घोष हो? कोरोनाले शिथिल भएको शरीर र मनले फेरि ‘के संकट आइलाग्यो’ भन्ने ठानेर मेरो सातोपुत्लो गयो । मेरो बेडहल मध्यभागमा थियो । त्यसैले उठेर हेर्दा मजस्तै बिरामी साथीहरू लामबद्द भएर गेटतिर गईरहेको देखेँ । र, नियालेर सेक्यूरीटीको माईकिङ सुने, “Good morning guys”, “It's breakfast time”, “Prepare your mask” … आदि। (मित्रहरू, शुभ विहानी ! अब बिहानको खाजा खाने समय भयो)। बल्ल थाहा भयो, त्यो साईरन त बिरामीलाई बिहानको खाजा खुवाउन बिउझाउनको लागि बजाईएको रहेछ ।
मेरो बेडनजिकका संक्रमित छिमेकी साथीहरूचाहिँ म उठ्नुभन्दा पहिले नै ब्रेकफास्टको लागी गैसकेका रहेछन् । त्यसैले मैले कसैलाई पनि यहाँका विधिविधान र नित्य प्रचलनबारे सोध्न पनि पाईनँ । म खाजाको लाईनमा जानुभन्दा पहिले वासरुमतिर गएँ । वासरुम पनि बेडरुमभन्दा अलिक टाढा बनाईएको रहेछ । बिरामी मान्छेलाई उति टाढा जानआउन जाँगर नहुने तर नगई पनि नहुने ! म रिफ्रेस हुन वासरुम गएँ र त्यहाँबाट फर्केर डाईनिङ हलतिर लागेँ।
डाईनिङ हलको प्रबेशद्वार अगाडि ठूलाठूला कार्टुनहरूमा एउटामा सुन्तला र अर्कोमा कागती राखिएको रहेछ । भोक अलिक लागेकोले २ वटा सुन्तला लिने जमर्को गर्दा त्यहाँका पहरेदारहरूले मलाई झपारे, “My friend you are not allowed to take two oranges” and another security added, “you can take either one orange or one lemon”. (मित्र, कागती या सुन्तलामध्ये एक थोक मात्र लिन अनुमति छ ।) उनीहरूले यति सामान्य कुरालाई अलिक नम्र स्वरमा भनेको भएपनि हुन्थ्यो होला । तर उनिहरूले अलि कडा आवाजमा भनेको हुनाले मलाई त झपारेजस्तो लाग्यो।
सामान्यतया म आफ्नै स्वभाव पनि नम्र भएकाले अरुका अघि म प्रायः नम्र तरिकाले प्रस्तुत हुन्छु र मेरो स्वर पनि मलिनो नै हुने गर्छ । अनि फेरि कोरोनाको कहरले खङ्गारिँदै गरेको शरीर अनि कमजोर मनस्थितीबाट गुज्रिरहँदा त्यो रुखो आवाजले मेरो मनलाई नै अमिलो बनाईदियो। केही नबोली एउटा सुन्तला र एउटा कागती लिएँ अनि डाईनिङ हलतिरको प्रबेशद्वारतिर लागेँ।
डाईनिङ हलको प्रबेशद्वारमा एउटा सानो कार्टुन बक्ससँगैँ एकजना पहरेदार थियो। पहिलेदेखिका अनुभवि साथिहरू एउटा सानो निलो कागजको टुक्रा त्यो बक्समा खसाउँदै भित्र गैरहेको मैले देखें । मेरो पनि पालो आयो । सेक्यूरिटीले मसँग सानो निलो रंगको चिट माग्यो । मसँग त्यस्तो चिट थिएन । सेक्यूरिटीले सेक्युरिटी एक्सेस चेकपोस्टमा गएर त्यस्तो चिट लिएर आउन मलाई भन्यो । त्यो निलो कागजको टुक्रा खानाको लागी चाहिने टोकन रहेछ । भोक मेटाउनको लागि चाहिने लाइसेन्स रहेछ ।
म पुन: फर्किएर बेडहल तिर लागेँ । बाटोमा फलामे तारजालिले बेरेको बाटो सकिने ठाउँमा सेक्यूरिटीको एक्सेस चेकपोस्ट थियो। त्यहीँबाट खानाको टोकन लिएर डाईनिङ हल तिर लागेँ । अबभने प्रबेश निश्चित थियो । सरासर गएँ र टोकन बक्समा खसालेँ । र, डाईनिङ हलभित्र छिरेँ । हलभित्र जानेबित्तिकै देब्रेसाईडमा टेबुलमाथी राखिएका ससना कार्टुनहरू देखाउँदै त्यहाँका कर्मचारीले ‘एउटा लिनू’ भन्यो । त्यो मर्निङ ब्रेकफास्टको कन्टेनर रहेछ।
एउटा भाग लिएँ र डाईनिङ टेबलतिर गएँ । मैले बक्स खोलेर हेरेँ । सानो पानीको बोतल र सानो जुसको प्याकेट अनि ससना प्लास्टिकका पोकाभित्र सेतो पाउरोटिका दुई स्लाईस तर प्लास्टिक भित्र भएको भएर होला दुईवटा टाँसिएर एउटैजस्तो भएको रहेछ । त्यहाँ ब्रेडसँग खाने ससना सुगर सिरपका प्याकेटहरू पनि थिए । त्यो दिनको ब्रेकफास्ट जेनतेन टर्यो।
सामान्यतया सबैलाई पहिलो अनुभव बिशेष नै लाग्छ । मेरो पनि कोरोना क्वारेन्टीनको पहिलो बसाई बिशेष र पिडादायक रह्यो । क्वारेन्टिनमा खानाको स्वाद तथा गुणस्तर त्यति राम्रो थिएन, हुन पनि ३ हजार देखि पैँतीस सय जना जतिलाई बनाइएको खानामा स्वादको के कुरा गर्नु ? तरपनि खानाको गुणस्तरमा पक्कै पनि सुधार गर्न सकिन्थ्यो । कोरोना संक्रमणबाट बच्ने एउटै उपाय भनेको संक्रमितको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने हो । तर त्यो खान्की र खानाको गुणस्तर हेर्दा शक्ति बढ्नेभन्दा पनि घट्ने कुरामा म बिस्वस्त थिएँ। बेस्वाद खानाकै कारण मेरो खान्की घटेर गैरहेको थियो भने अर्कोतिर शरीर शिथिल हुँदै गईरहेको थियो। सुरुको हप्ता मेरा लागि निकै पिडादायक रह्योे ।
आफ्नो साबिकको खानाभन्दा कम भएकाले शरीर कमजोर हुँदै गर्दा मलाई सामान्य हिँडडुल गर्न पनि झन्झट लाग्न थालिसकेको थियो। क्वारेन्टिनमा रहँदा बाहिरबाट खाना मगाएर खान बर्जित थियो । त्यसो हुँदा बाहिरबाट मगाएर खान सम्भव भएन । त्यो बेला भने आफूलाई निकै निरिह भएको अनुभव भयो । आफूसँग श्रोत र साधन भएपनि त्यसलाई प्रयोग गर्न नसक्नु सर्है पीडाजनक हुनेरहेछ । किनकि हरेक मान्छेले आफ्नो जिवनमा केही न केही कमाएकै हुन्छ । उसलाई मर्दापर्दा सहयोग गर्ने थुप्रै आफन्त, साथिभाई र ईस्टमित्र पनि हुन्छन् । र, परेको बेला श्रोतसाधन जुटाउन सकिन्छ । साथै मानिसले पनि आफ्ने लागि केही श्रोतहरू तयारी अवस्थामा राखेको हुन्छ ।
र, मेरो सन्दर्भमा पनि मेरा केही आफन्त र साथीभाइहरू छन्, जसले परेको बेला बिनासंकोच सहयोग गर्नुहुन्छ । म आँफैले पनि केही श्रोत जुटाउन सक्थें । तर परिस्थिति अनुकुल नहुँदाती सबै कुराहरू गौण भए । संकटको घडीमा आँफूसँग भएको श्रोत, साधन र सामथ्र्यको सदुपयोग गर्न असमर्थ भैयो । जीवनमा अत्यन्तै निम्छरो र कमजोर महशुस गरें त्यतिखेर मैले । हजारौँको भीडमा मैले आफूलाई एक्लो ठानें । त्यो मेरो बिबशता र बाध्यता थियो, न कि मेरो रोजाई ।
बाध्यतामा मानिस रमाउन सक्दैन । त्यही भएर होला, क्वारेन्टिनको चौध दिने बसाई मेरा लागि पहिलो दिनभन्दा खासै फरक रहेन। बसाईको हप्तादिनपछि शारिरीक रुपमा केही सहज महसुस गरेँ तर पनि मानसीक रुपमा कमजोर, निरीह र असहाय नै महसुस भई रह्यो। चौध दिनको क्वारन्टीन बसाई मेरो लागी चौधवर्षको जस्तै लाग्यो।
कतारको कोरोना क्वारेन्टिन नियमअनुसार चौधदिनपछि आफ्नो डेरा फर्किने कुरा निश्चित नै थियो । तर क्वारेन्टिनको दशौँ दिनदेखि नै काउन्टडाउन सुरु भैसकेको थियो । दशौँ दिनदेखिका पहिला दिनहरूमा एकदिन काट्दा पनि विशाल युद्द जितेर फर्केको सिपाहीलाई जस्तै ठूलो राहत र आनन्दको महसुस हुन्थ्यो । हुन त अरु मजस्तै संक्रमित साथीहरूका फरक अनुभव भए होलान् । सामान्य परिस्थितिमै यहाँहरूले पनि क्वारेन्टिन कहर काट्नु भयो होला। कोरोना संक्रमणबाटै गुज्रेपनि सहज वातावरणमा रहनु भयो होला । तर कतारको कोरोना क्वारेन्टीनमा मैले जस्तो भोगेँ, अनुभव गरेँ, त्यो सहज र स्वभाविक थिएन। अब अरुले यस्तो भोग्नु नपरोस् । अब अरुले यस्तो भोग्नु नपरोस्।