
विश्वका धेरै देशमा रोजगारीको क्रममा नेपालीहरू कार्यरत भएपनि मुख्य गन्तव्यका रूपमा कतार, मलेसिया, साउदी अरेविया, युएई ,दक्षिण कोरिया, जापान लगायत मूलुकमा ठुलो संख्यामा नेपालीहरू कार्यरत छन् ।
२०७८ सालको जनगणनाको अनुसार बिदेशमा रहेका नेपालीको शंख्या २१ लख ६९ हजार ४ सय ७८ रहेको छ । यसमा महिलाको शंख्या ४ लाख ६ हजार १ सय ३ र पुरुषको शंख्या १७लाख ६३ हजार ३ सय १५ रहेको छ । जसमध्ये मध्यपूर्वका राष्ट्रहरूमा काम गर्ने नेपालीहरुको बाहुल्यता धेरै छ । नेपालबाट ८० प्रतिशत श्रमिक कतार, साउदी, यूएई, ओमान, कुवेत, बहराइन, जोर्डन र मलेसिया जाने गरेको बैदेशिक रोजगार विभागको तथ्यांकले बताएको छ। यी मुलुकहरुमा कम आय भएका श्रमिक साथीहरू धेरै छन्।
२०७७÷७८को नेपाल सरकारको तथ्याङ्कअनुसार यो १ वर्षमा १ लाख ६६ हजार ६सय ९८ जना पुनः श्रम स्विकृती लिएर र ७२ हजार ८१ जना नयाँ श्रम स्विकृती लिएर कामका लागि बिदेशिएको देखिएको छ । अझै पनि अन्य देशमा भन्दा खाडी मूलुकमा आउने श्रमिकलाई हेर्ने दृष्टिकोण नै फरक छ । तर, खाडी मूलुक आउने श्रमिकलाई बाहिरबाट बुझ्ने र हेर्ने दृष्टिकोणभन्दा भित्रि वास्तविकता केही फरक रहेका छन्। म आफू पनि कूवेत र युइई गरी साताँै वर्षको वैदेशिक यात्रा र अनुभवलाई बुझेको र श्रमिककै हकहितको निम्ति स्वयंमसेवाहरूमा आबद्द भैरहेको आधारमा यो लेख लेख्दै छु।
खाडी मूलुक आएका युवाहरुले भोगेका समस्या, दुःखका कथाहरू, समाचार धेरै नै पढ्न, सुन्न र देख्न सकिन्छ तर ती दुःख भित्र लुकेर रहेका सफलताका कथाहरूको चर्चा कम नै गरिन्छ । आउनुपूर्व आवश्यक ज्ञान, सीप र भाषागत दक्षता लिएर आउने हो भने परदेशमा आएपछि हामीले धेरै समस्याहरू भोग्नुपर्ने छैन। यसरी आएमा आफ्नो सीप र दक्षता अनुरूपको काम पाउनाले समस्या भोग्नुपर्दैन।
अझैपनि मध्यपूर्वका देश जाने युवाहरू र यूरोप जाने युवाहरूलाई हेर्ने दृष्टिकोण नै फरक छ । ‘भिसा आयो, अब विदेश जाने’ भन्ने बित्तिकै आफन्त, साथीभाइ र घर परिवार छिमेकबाट प्रश्न आइहाल्छ, ‘कुन देश जान लागेको ?’ उत्तरमा ‘खाडीमुलुक’ भन्नेबित्तिकै नाक खुम्च्याउने चलन छ। खाडीमुलुक भन्ने बित्तिकै उराठ मरूभुमि, भेडा र उँटको दृश्य आउँदो हो आम मान्छेको दिमागमा। ‘आफ्नो देशमा केही गर्ने ज्ञान, सीप र आँट नभएपछि मात्रै खाडी जान्छन्’ भन्ठान्छन् मान्छेहरू ।
हामी सबैजनालाई रहर त स्वदेशमै आफ्नो परिवारसँगै बसेर जिवीकोपार्जन गरौँ भन्ने नै हुन्छ तर हामी सबैको विदेश आउनुका आफ्नाआफ्नै छुट्टै बाध्यताहरू छन्। आफ्नै देशमा युवाहरूका लागि पर्याप्त रोजगारीको अवसर हुन्थ्यो भने पक्कै पनि हामी अहिले आफ्नै परिवारसँग रमाएर आफ्नै देशमा बसेका हुन्थ्यौँ होला । खाडी मुलुक आउनुका सबैका छुट्टाछुट्टै बाध्यताका कहानी छन्। पारिवारिको आर्थिक अवस्था, देशको राजनीतिक अवस्था, अवसरको खोजी, सीप तथा तालीमका अभावका कारण नै नेपालीहरू विशेषतः खाडीमुलुक आउने गर्दछन्। तर परदेशले पैसा मात्र नभएर ज्ञान र सीप पनि बढाएको छ । विदेशमा सिकेको सीप र पुँजीको सदुपयोग गरी स्वदेशमै आयमूलक व्यवसाय गर्ने संस्कृतिको विकास पनि हुदै गइरहेको देख्न सकिन्छ । परदेशको कमाइले मान्छेहरूले आफ्नो व्यक्तिगत जीवनमा मात्र नभइ, आफ्नो परिवारको जीवनमै परिवर्तन र खुशि ल्याएका छन् ।
खाडीका मूलुकका दुःख र समस्याका कथाहरू धेरै सुनिन्छन्, तर मैले यस लेखमा खाडीमुलुक आएर नेपाली आप्रवासी श्रमिकले पाएका अवसर र सफलताका कुराहरू लेख्ने कोसिस गर्दै छु। धेरै नेपाली श्रमिकहरू सामान्य पदबाट काम शुरु गरेर कम्पनिका माथिल्ला ओहोदामा पुगेका उदाहरणहरू पनि धेरै नै छन् भने कतिले यिनै राष्ट्रमा ज्ञान, सीप र अनुभव बटुलेर सफल व्यवसायीदेखि उच्च ओहदामा पुग्न सफल भएका पनि छन् । उनीहरूले आफ्ना लागी मात्र नभएर परिवार र आफ्नो देश नेपालको निम्ति पनि विभिन्न सहयोग र सहकार्य गर्दै आएका धेरै उदाहरणहरू छन्। यहाँ धेरैजसो नेपाली लगानीकर्ताले हस्पिटलिटी, रिटेल, ट्राभल एण्ड टुरिजम, व्यूटिपार्लर, इलेक्ट्रोनिक्सजस्ता क्षेत्रमा ब्यवसायिक लगानी गरेका छन्।
खाडी मूलुकमा कार्यरत नेपाली श्रमिकलाई हेर्ने नजर त्यति राम्रो नभएता पनि अन्य मूलुकमा गएका नेपालीका तुलनामा हेर्दा आफ्नो देशलाई बढी माया गर्ने, विदेशमा कमाएको रकम आफ्नै देशमा लगानी गर्ने, देशमा भैपरिआउने विषम परिस्तिथिमा दिलो ज्यान लगाएर सहयोग गर्नेहरू व्यक्तिहरू भने तुलनात्मक रूपमा खाडीमा नै छन् । उदाहरणका रूपमा यो वर्ष हाम्रो देशमा धेरै संख्यामा कोरोना संक्रमण फैलियो । त्यस्तो विषम परिस्थितिमा खाडीमा रहेका नेपाली आप्रवासी श्रमिकहरूले दिनरात नभनि सहयोग रकमहरू जुटाए । र, आफ्नो देशका जनताहरू अक्सिजनको अभावमा छट्पटाइरहेको बेलामा यहाँ अवस्थित नेपाली राजदूतावासको समन्वयमा अक्सिजन सिलीण्डर पठाए । त्यसै क्रममा विभिन्न मेडिकल किट्हरू पनि सहयोग गरियो ।
मध्यपूर्वका विभिन्न राष्ट्रमध्ये उदाहरणको रूपमा यूएईलाई हेर्ने हो भने यस देशले सबै देशका नागरिकप्रति गर्ने समान व्यवहार, यहाँको सामाजिक न्याय, नियम, कानून, शान्ति सुरक्षा, धार्मिक सहिष्णुताजस्ता विशेष कारण नै वर्षेनी ठुलो शंख्यामा नेपाली श्रमिक रोजगारीको निम्ति यूएई आउने गर्दछन्। यस देशबाट हामीले धेरै राम्रा कुराहरू सिक्न सक्छौँ। यहाँका महिलाहरूलाई गरिने सम्मान र महिलाहरूको सुरक्षा व्यवस्था पनि एकदमै राम्रो रहेको छ । जसको कारण रोजगार गर्ने महिलाहरूको संख्या पनि धेरै छ । उदाहरणका रूपमा नेपाली महिला दिदिबहीनीलाई नै हेर्न सकिन्छ । नेपालबाट सामान्य पदका लागि जागिरमा आउनु भएकाले यही देशमा विभिन्न क्षेत्रको ज्ञान, सीप, अनुभव र तालिम लिएर आफ्नै व्यवसाय खोलेका उदाहरणहरू पनि धेरै छन्। विशेष गरेर व्यवसाय गर्ने महिला–दिदिबहीनीमा उनिहरूको रोजाई ब्यूटीपार्लर रहेको छ भने केहीले अनुभवका आधारमा बिभिन्न कम्पनी पनि खोलेका छन् । केही महिला दिदिबहीनीहरू माथिल्ला पदमा पनि कार्यरत छन् ।
यूएइको सरकारी क्षेत्रमा निर्णायक ओहदामा ३०% महिलाहरू रहेको तथ्यांक रहेको छ भने राजनीतिक क्षेत्रमा पनि महिलाहरूको सक्रिय सहभागिता रहेको छ । यूएईको गौरवशाली मार्स–मिसनमा पनि ३४% महिला सक्रिय रूपमा सहभागी छन् । तसर्थ महिलाहरूको अधिकार, स्वास्थ्य सुरक्षाको हिसाबले हेर्ने हो भने अन्य खाडीमूलुकहरू भन्दा यूएई अग्रपंक्तीमा रहेको छ ।
यति भन्दैमा यहाँ महिलाहरूका समस्या छँदै छैनन् भन्ने होइन तर अन्य मूलुक कबेत र साउदीमा घरेलु कामदारको रूपमा आउने महिलाहरूका तुलनामा यहाँ आउने महिला कामदारको उच्च सम्मान र सुरक्षा छ। प्रवासीहरूका समस्यालाई अझ न्यूनीकरण गर्न नेपाली आप्रवासी महिला श्रमिकहरूले विशेष ध्यान दिन जरूरी छ । नेपाल सरकारबाट श्रम स्विकृती लिएर नेपालकै बाटो हुदै आउँदा परदेशमा आइसकेपछि परेका समस्याको सहजीकरण गर्न पनि सहयोग हुन्छ। यसरी वैदेशिक रोजगारीमा आउँदा परदेशमा भैपरि आउने समस्याको समाधान पनि चाँडो हुने र स्थानीय दूतावासले पनि सक्रिय रुपमा सहयोग गर्नेछ । रोजिरोटीका लागी श्रम गर्न खाडी मूलुक यूएई पुगेका आम नेपाली श्रमिकहरू सबैमा आफ्नो मातृभूमिप्रति माया र श्रद्धा देख्न सकिन्छ ।
सोही दुःखसुखका कथाहरू समेटिएको पुस्तक ‘युएईले बाँडेको मुस्कान’ (संकलन÷संयोजन जे. सागर र रामप्रसाद ढुङ्गेल÷बुलबुल पब्लिकेशनद्वारा प्रकाशित) भित्र पर्यटक, रोजगार वा व्यवसायीका रूपमा यूएई पुगेर आफू, आफ्नो परिवार, समाज तथा राष्ट्रकै लागी टेवा पुर्याइरहेका चालिस जना नेपालीहरूको कथा समेटिएको छ । त्यस पुस्तकभित्र युएईमा रोजगारी वा व्यवसायमा रहेका नेपालीहरूले आफ्नो आर्थिक अवस्थामा राम्रो सुधार गरेका साथसाथै परिवारलाई खुशि तथा समद्ध बनाएका कथाहरू पढन सकिन्छ । यहाँका आप्रवासी नेपाली आम श्रमिकले रेमिट्यान्सका साथसाथै नयाँ काम सीप र ज्ञान पनि नेपालमा भित्राएका छन्। ‘खाडी मूलुक भनेको शारीरिक प्ररिश्रम गर्ने मजदुरका लागी मात्रै उपयुक्त हो’ भन्ने भावनाले अझै पनि जरो गाडेको अवस्थामा खाडी मूलुकमा रहेका नेपालीले विकसित वा पश्चिमा मूलिकहरूमा झैँ प्रगति गरेका कथा, कुराहरू पढ्न, देख्न र सुन्न सकिन्छ । यस देशबाट सामान्य पदका लागी मात्र नभइ धेरै शिक्षित वा दक्ष नेपालीहरूले पनि प्रगति गर्न सक्छन् भन्ने यस पुस्तकमा पढ्न सकिन्छ ।
समग्रमा खाडीमूलुक आएका श्रमिकहरूको पारिवारिक तथा सामाजिक जीवनमा धेरै परिवर्तन आएको छ। यस सँगै देशमा रेमिट्यान्स भित्रिनाले मूलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुगिरहेको छ । श्रमिकहरूका प्रत्यक्ष आश्रित बर्गलाई धेरै नै राहत मिलेको छ भने बिदेशमै रहेर श्रम गरी रहेका श्रमिकहरुका छोरा–छोरीले बैदेशिक रोजगारीको आयबाट उच्च शिक्षा हासिल गर्न सफल भएका छन्। देशको राजनीतिक अवस्था स्थिर हुने हो भने धेरै नेपाली श्रमिकहरूले भारतलगायत खाडी मुलुकमा पसिना बगाउनु पर्ने थिएन। बैदेशिक रोजगारीमा सिकेका ज्ञान, सीप र अनुभवलाई आफ्नै मातृभूमीमा उपयोग गरेर परिवार, समाज तथा राष्टकै समृद्धिमा उल्लेख्य योगदान पुर्याउने थिए। र, हामी प्रवासीहरू विदेशमा रहेर पसिना बगाउँदै गर्दा सोचिरहेका छौँ, ‘आफ्नै मुलुकमा रोजगारी सिर्जना भइदिए कति सजिलो हुन्थ्यो !’