
सन २०१७, अप्रिल २ देखि तत्कालीन व्यवस्थापिका सांसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध अझै कायमै छ। उतिखेर समितिका सभापति प्रभु शाह सहितको टोली कामदारहरूको अवस्था बुझ्न र अनुगमन गर्न भन्दै खाडीका विभिन्न मुलुक गएका थिए। त्यहाँ रहेका नेपाली संघसंस्था, नेपाली कामदार तथा नेपाली दूतावासका प्रतिनिधिसँग भेटघाट अनि छलफल गरी नेपाली कामदारको अवस्था अध्ययन गरी फर्केपछि समितिले नेपालबाट घरेलु कामदारका रूपमा श्रमिक पठाउन रोकेको हो। समितिले घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ कार्यान्वयन नभएको र मानव बेचबिखन मौलाएको भन्दै प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो।
खाडी लगायत मुलुकमा लामो समययता घरेलु कामदारका रूपमा आधिकारिक बाटोबाट (श्रम स्वीकृति लिएर) जान बन्देज लगाइएपछि विभिन्न सरोकारवालाले समय समयमा सो बन्देज फुकुवा गर्न सरकारलाई दबाब दिइरहेका छन्। यसैबीच यही फेब्रुअरीको दोस्रो हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी अतिथि रहेको कार्यक्रममा खाडी राष्ट्रमा काम गरी फर्किएका महिला घरेलु कामदारहरूले आफूहरू वैधानिक रूपमा ती देशमा जान नपाउँदा अन्य तरिकाले त्यहाँ जाँदा विभिन्न ठाउँ र परिस्थितिमा भोग्नु परेको पीडा सुनाएका थिए। त्यसमध्ये केहीले दुःख पाएर फर्किएको, केहीले राम्रो काम गरी फर्किएको तथा वैधानिक बाटो नखुलाएकाले आफूलगायत धेरै घरेलु श्रमिक (विशेष गरी महिला कामदार) ले दुःख पाएको कहानी सुनाए।
पाँचथरकी रचना लावतीले भन्नु भयो,‘धेरै हन्डर खाएर दिल्ली हुँदै कुवेत त आइयो, तर एजेन्टले भनेजस्तो सेवा सुविधा पाइएन। काम पनि लामो समय गर्नु पर्ने, कामको कुनै समय सीमा नै नहुने, रातको समयमा समेत साहु–साहुनीले जति बेला बोलायो उठ्नु पर्ने। यता, नेपालमा आफ्नो परिवारसँग कुरा गर्ने समय पनि नमिल्ने। अति नै सास्ती पाएँ। सरकारी निकायमार्फत जान पाएको भए हामीले उजुरी गर्ने ठाउँ हुन्थ्यो, तर अहिले न यता, न उता भइयो। मन्त्रीज्यू, सरकारले घरेलु कामदारमा जाँदा पनि श्रम गरेर जान पाउने व्यवस्था छिटो मिलाउनु पर्यो।’
सीता वाइबा २ लाख ५० हजार तिरेर युएई जानु भयो। तर भनेजस्तो काम र दाम भएन। तीन महिनामै उहाँ फर्कनु पर्यो। उहाँ भन्नुहुन्छ, ‘सरकारी तवरबाट जान पाएको भए सरकारको सहयोग पाइन्थ्यो। अहिले २ लाख ५० हजार पनि गयो, दुःख पनि पाइयो। त्यति मात्रै होइन, हामीलाई ठग्ने एजेन्टलाई राज्यले कारबाही पनि गर्न सकेन।’
कुमारी राजवंशीलाई भिजिट भिसामा युएई पुर्याइयो। उता पुगेर उहाँ धेरै बिरामी पर्नु भयो। उपचार खर्च धेरै लाग्ने देखेपछि साहुले नेपाल फर्काइदियो। यहाँ नेपाल आउनु भएको एक हप्तामात्र भयो। उहाँ भन्नु हुन्छ, "बिदेसिएका कामदारको सुरक्षा खोइ? सरकारले हामी महिला कामदारहरूलाई कहिले सम्म दोस्रो दर्जाको नागरिकलाई जस्तो व्यवहार गर्ने?"
सिन्धुपाल्चोकककी मिरा मगरको भोगाइ फरक थियो। उहाँलाई युएई लाने भनेर एजेन्टले कुवेत पुर्यायो। उहाँलाई १३० केडी मासिक पारिश्रमिक दिने सर्तमा कुवेत पुर्याइएको थियो। उहाँलाई एकबाट अर्कोमा, अर्कोबाट अर्कोमा गरी चार वटा घरमा बेचिएको थियो। उहाँले काम गरेको अन्तिम घरमा भने उहाँलाई धेरै यातना दिइयो। त्यति मात्र होइन, उहाँलाई त्यस घरमा 'केही मिसाएको दूध' खुवाइयो। उहाँका अनुसार त्यसपछि उहाँलाई तीन दिनसम्म होस आएन। होस आउँदा बोली नआउने भएको थियो। पछि नेपाली दूतावासको सहयोगमा उहाँलाई फर्काइयो। उहाँको अझै बोली राम्रोसँग आउँदैन। मिराको भोगाइलाई कार्यक्रममा उहाँको दाइले सुनाउनु भएको थियो।
सानीमाया खत्रीको भोगाइ भने फरक थियो। उहाँ लेबनान जानु भएको र त्यहाँ काम र ज्याला राम्रै थियो। तर त्यहाँबाट फर्किएपछि भने श्रम स्वीकृति नवीकरण नभएपछि पुनः जान पाउनु भएन। उहाँ भन्नुहुन्छ, ‘कि यही नेपालमा राम्रो रोजगारीको व्यवस्था हुनु पर्यो या त निर्विवाद रूपमा श्रम स्वीकृति लिएर हामी घरेलु महिला कामदारहरू पनि विदेश जान पाउनु पर्यो। मन्त्रीज्यू हाम्रो मागको सम्बोधन होस्।’
त्यसैगरी हेमा कुमारी घिमिरेले श्रम स्वीकृति लिएरै विदेशमा घरेलु कामका लागि आफू गएको र आफूलाई कुनै शोषण नभएको बताउनुभयो। तर अहिले सरकारले ढोका बन्द गरेर झ्याल खोलेझैं गरी अरू बाटोबाट महिला कामदारलाई पठाइरहेको कारणले नेपाली दिदीबहिनी झनै बढी शोषण र समस्यामा परेको तर्क गर्नुभयो।
सहभागीहरूको प्रश्नपछि अमृतसार संस्थाकी प्रतिनिधिले यो वर्ष आफूहरूले मात्र समस्यामा परेका ७०० भन्दा बढी घरेलु महिला कामदारलाई उद्धार गरेर फिर्ता ल्याएको बताउनु भयो। त्यसैगरी मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रतिनिधिले समस्यामा परेका धेरै महिला कामदारले उजुरी नै नगर्ने गरेको बताउनुभयो। पौरखी नेपाल, माइती नेपाल तथा महिला आयोगका प्रतिनिधिहरू सुरक्षित र मर्यादित बनाएर घरेलु कामदारहरूलाई सरकारी निकायको स्वीकृति सहित पठाउनु पर्ने र सम्बन्धित निकायले छिटै यसतर्फ काम गर्ने आशा व्यक्त गरे। आयोजक संस्थाका प्रतिनिधिले घरेलु महिला कामदारको विषयमा कानी शेर्पाको घटना (सन् १९९८) पछि उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउने विषयमा ४२ पटक नियम विनियम ल्याई कडाइ गरिएको बताउनु भयो।
प्रमुख अतिथि रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले भन्नु भयो, ‘हामीहरू सबै यी समस्याबारे जानकार छौं। सबै सरोकारवालाहरूको आ–आफ्नो स्वार्थका कारण घरेलु महिला कामदारको विषय लामो समयसम्म विवाद र तर्कमै सीमित भए। हामी सबै सम्बन्धित मन्त्रालय, व्यवसायी, मानव अधिकारकर्मी, सम्बन्धित सङ्घसंस्थाहरू सबैको एउटै आवाज भएको भए यति लामो समयसम्म यसरी घरेलु कामदारका लागि आधिकारिक बाटो रोकिने थिएन। तर सबैले भन्ने एक र गर्ने एक चरित्र देखाई रहे।’
उहाँले थप्नु भयो, ‘श्रम मन्त्रालय घरेलु महिला श्रमिकलाई रोक्ने पक्षमा छैन। त्यसैले हामीले घरेलु कामदार पठाउने राष्ट्रसँग द्विपक्षीय सम्झौता गरेर उनीहरूको न्यूनतम सुरक्षाको ग्यारेन्टी गर्दै उनीहरूको लागि वैधानिक बाटो खोल्न भनी संसदीय समितिमा पठाएका छौं, आशा गरौँ चाँडै नै घरेलु महिला कामदारहरू श्रम स्वीकृत लिएर विदेश काम गर्न जान पाउने छन्।’
खाडी वा कुनै पनि राष्ट्रमा घरेलु कामदारका रूपमा काम गर्न जाने भन्नाले हामी धेरैले महिला कामदारलाई मात्र बुझ्छौँ, तर त्यसो होइन। विशेषगरी खाडी राष्ट्रहरूमा घरेलु कामदारका रूपमा घरेलु कामदार भिसामा काम गर्नेमा महिला कामदार धेरै भए पनि घरमा खाना पकाउने (सेफ), घरको सुरक्षाकर्मी, व्यक्तिगत सवारी चालक, गार्डेनर, कृषि फार्म (मजरा), भेडाबाख्रा पालन लगायतमा काम गर्ने श्रमिक पनि पर्छन्। नेपाल सरकारको संसदीय समितिले सन् २०१७ मा खाडी तथा मलेसियामा काम गर्न जाने घरेलु महिला श्रमिकहरू बढी समस्यामा पर्ने गरेको र सरकारले उनीहरूको आधारभूत सेवा–सुविधा तथा सुरक्षाको लागी सम्बन्धित मुलुकलाई जिम्मेवार बनाएर मात्र खोल्ने भनेर सबै घरेलु कामदारका लागि आधिकारिक बाटो बन्द गर्यो। यसरी सबै घरेलु कामदारलाई एउटै श्रेणीमा राखेपछि घरेलु कामदारका रूपमा जान चाहने र सम्बन्धित देशमा कार्यरत पुरुष श्रमिक पनि पीडामा परेका छन्।
सरकारले आधिकारिक बाटोबाट घरेलु कामदार भिसामा काम गर्न जान रोकेपछि घरेलु कामदारको रूपमा जान चाहने श्रमिकहरूले बाध्यतावश अनौपचारिक बाटो रोजेको देखिन्छ। खासगरी पहिले पहिले भारतका विभिन्न सहर हुँदै विभिन्न सेटिङ मिलाएर एजेन्टले श्रमिकहरूलाई खाडीका मुलुक पठाउँथे। तर पछिल्ला दिनमा भने एजेन्टहरूले घरेलु श्रमिकलाई पठाउने देश उही भएता पनि बाटो परिवर्तन गरेका छन्।
केहीलाई नेपाल एयरपोर्टबाटै विभिन्न सेटिङ मिलाएर, केहीलाई विभिन्न देशको भिजिटका लागी भनी दुई वटा देशको भिसा थमाएर त केहीलाई कार्यक्रमहरूमा जाने भनी काममा पुर्याइन्छ। त्यति मात्र होइन, धेरै श्रमिकलाई त भिजिट भिसामा लगेर घरेलु कामदारका काममा लगाएको पाइन्छ। अझ, अहिले त कुबेतमा केही नेपाली महिलालाई 'क्लिनर'का लागि भनी लैजाने र त्यहाँ पुगेपछि घरको काममा लगाएको पाइन्छ।
यसरी अनौपचारिक बाटोबाट गएका अधिकांश घरेलु महिला कामदार अझै बढी सुरक्षा जोखिममा परेको भुक्तभोगी महिला कामदार बताउँछन्। यसरी घुमाउरो बाटोबाट जाने घरेलु महिला कामदार गन्तव्य मुलुकमा नपुग्दै यौन शोषणमा परेका घटना पनि बेलाबेला बाहिरिने गरेका छन्। गन्तव्य मुलुकमा पुगेपछि पनि उनीहरू समस्यामा पर्ने गरेका छन्। समस्या परेको खण्डमा आफूलाई पठाउने एजेन्टहरू नै बेपत्ता हुने, श्रम नगरी काम गर्न विदेश जाँदा नेपाल सरकार (सम्बन्धित राजदूतावास ) ले वा वैदेशिक रोजगार विभागले कुनै पनि सेवा सुविधा नदिने तथा कामदारको मृत्यु नै भए पनि शवसमेत नल्याउने तथा ठगीमा परे पनि गुनासो नसुन्ने हुँदा श्रमिक समस्यामा पर्छन्। यसबाट समस्यामा पर्ने श्रमिक र तिनका परिवार पनि समस्यामा अल्झन पुग्छन्।
अनौपचारिक बाटोबाट घरेलु कामदार भिसामा गएका घरेलु कामदारहरूसँग श्रम स्वीकृति नहुने हुँदा उहाँहरू छुट्टीमा स्वदेश आउने आउने र बिदा सकिएपछि विदेश फर्कन पाउनुहुन्न। यसरी, अनौपचारिक रूपमा जाने घरेलु कामदारले लामो समयसम्म आफ्ना प्यारा सन्तान, घर–परिवार र आफन्तसँग भेट गर्न सक्नुभएको छैन। यसरी लामो समयसम्म घरपरिवारबाट टाढा भएर बस्नु भएकी झापाकी श्रमिक साथी रोशनी महत (कुवेत) भन्नु हुन्छ, ‘अनौपचारिक बाटोबाट आउन बाध्य म र मजस्ता धेरै दिदीबहिनी अहिले गम्भीर समस्यामा छौं। कि त यहाँ खाइपाइ आएको तलब सुविधा सहितको काम छोडेर सधैँका लागि घर जानुपर्यो कि त छोराछोरी, परिवार तथा आफन्तसँग लामो समयसम्म टाढिएर बस्नु पर्यो।’ उहाँले थप्नुभयो,‘सात वर्ष पुरा भयो छोराछोरीसँग नभेटेको, अब कहिले पो भेट्न पाइएला?’
नेपाल सरकारले औपचारिक रूपमा घरेलु कामदारमा जान रोके पनि विभिन्न बाटोबाट विदेश गएका घरेलु श्रमिकको अवस्था कतिपय मिडियामा आएजस्तो विकराल अवस्थामा नरहेको घरेलु कामदारका रूपमा काम गरिरहेका श्रमिकहरू बताउँछन्।
कतारको मजरा (कृषि) मा सात वर्षयता काम गरिरहेका काभ्रेका प्रभु तामाङ भन्नुहुन्छ, ‘काम गर्न त सजिलो कहाँ छ र? तर पनि कृषिमै काम गर्दा पनि कमाइ राम्रो छ। खाएर बसेर महिनाको ९० हजार बचाउँछु। यदि नेपालमा भएको भए के गर्दै हुन्थें होला ?’
युएईमा १२ वर्षयता घरेलु महिला कामदारका रूपमा काम गर्ने महिला श्रमिक साथी आयुशा घर्ती (मकवानपुर) भन्नु हुन्छ, ‘भन्नलाई घरको काम त हो नि भन्छन्। अझ रिस गर्नेले त अरूको भान्से भएर कहिलेसम्म फुर्ती लाउँछेस् भन्छन्, तर म थोरै नेपाली मध्येको भाग्यमानी महिला कामदार हुँ। दुःख पनि गरेँ, आम्दानी पनि राम्रो छ। अब त यहाँको परिवारको सदस्यजस्तो भइसकेको छु। नेपालको चाडपर्वमा म नेपाल जानुभन्दा छोराछोरी र श्रीमानलाई युएई बोलाएको छु। तीन पटक त साहु आफैंले सबैको भिसा, हवाई टिकट र १५ दिनको बसाइको व्यवस्था गरिदिनुभयो। उहाँहरू सपरिवार युरोप वा अमेरिका जाँदा मलाई पनि लिएर जानुहुन्छ। मैले त यस्तो काम र सेवा – सुविधा सोचेको पनि थिइनँ।’
लामो समययता आप्रवासी महिला कामदारको हकहितका लागी काम गरिरहनु भएकी तथा पौरखी नेपालको संस्थापक मञ्जु गुरुङ भन्नुहुन्छ,‘घरेलु कामदार बन्द गरिराख्नु र उनीहरूलाई वैकल्पिक रोजगारीको सिर्जना नगरी आउजाउ नै बन्द गर्नु समस्याको समाधान होइन। दुई पक्षीय सम्झौता नभएको देशमा त्यस्तो सम्झौता गरेर, हाम्रा घरेलु महिला कामदारहरूको सेवा सुविधा वृद्धि गर्दै आधारभूत सुरक्षाको ग्यारेन्टी गरी उनीहरूको बाटो खोल्नुपर्छ।
उहाँ थप्नुहुन्छ, ‘घरेलु महिला कामदारको पनि त आफ्नो जीवन छ, मेहनत गरेर खान्छु भन्न पनि नपाउने? उनीहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारमा जानको लागी सरकारले औपचारिक बाटो खोल्नुपर्छ, तर यथास्थितमा होइन। सम्झौता सुधार गरेर मात्र।’
(गोपनीयताका लागी माथि उल्लेखित नाम–थर परिवर्तन गरिएको हो।)