
बाग्लुङका राम घले मलेसिया आएको ३ वर्ष हुन लाग्यो। उनी १२ कक्षा पास गरेर गाँउमै शिक्षण पेशा गर्ने गर्थे। उनलाई शिक्षण पेशा गरेको ४ वर्षपछि विदेश जाने ईच्छा लाग्यो। घरमा आमा–बुबा, श्रीमती र एक छोरीलाई छाडेर उनी मलेसिया जाने तयारीमा जुटे। घलेलाई नेपालमा परिवार धान्न खासै गाह्रो थिएन तर विदेशको मोहले आखिर बिदेश (मलेसिया) पुर्याएरै छाड्यो। मलेसिया पुगे पश्चात उनले सुनेको मलेसिया र भोगेको मलेसियामा धेरै फरक पाए। राम भन्छन, ‘हुन त विदेशको काम किन सजिलो हुन्थ्यो र?’
रुकुमका अनन्त सिलवाल ४ बर्ष देखि मलेसिया मै कार्यररत छन्। मलेसियामा गर्नु पर्ने लामो समयको काम भन्दा पनि त्यहाा पाइने सेवा सुविधा कम भएको र अचेल मलेसियामा महँगी झन बढेको प्रति चिन्तीत छन् अनन्त। अनन्त थप्छन्, ‘मलेसिया आएको ४ वर्ष हुदाा पनि भने जस्तो पैसा बचाउन सकिएन। तर पनि नेपालमा भने जस्तो अवसर नहुदा सधौको लागि घर फर्किन सकिएन। आखिर जहान परिवार त पाल्नै पर्यो।’
रोजगारीको सिलसिलामा काभ्रेकी रमीता बम्जन ७ वर्ष देखि क्वालालम्पुरमा छिन्। उनी एक सुपरमार्केटमा कपडा बेच्ने (सेल्स लेडिज)का रुपमा काम गर्दैआएकीछिन्। उनको श्रीमान पनि क्वालालम्पुरकै अर्को कम्पनीमा काम गर्छन्। श्रीमान र श्रीमती सागै भएर पनि होला, रमीतालाई मलेसिया बसाइ रमाइलो र सहज नै भएको छ। रमीता भन्छिन्, ‘काम गर्ने समय पनि एउटै र काम गर्ने स्थान पनि नजिकै भएकाले सँगै जान–आउन मिल्छ। मिलीजुली काम गरेका छौा। राम्रै काम छ अनि कमाइ पनि ठीकै छ।’
‘१२ घन्टाको सेक्यूरीटिको काम छ, त्यो पनि बाह्रै घन्टा उभिनुपर्छ। काममा आउन–जान घटीमा ७०–८० मिनेट लाग्छ। सँधै लामो डिउटी हुने हुँदा खाना पकाउने र सुत्ने समय पनि कम हुने। त्यसैले बिहानको लागि पनि पुग्ने गरी बेलुकी नै तरकारी र भात बनाउने गरेका छौ। बिहान ७ बजे त खाना खाएर तयार भैसक्नुपर्छ,’ बाग्लुङका राम घले ले थकित मुद्रमा सुनाए। ‘अझ मेरो काम होटलमा भएकाले काम गर्ने ठाउँमै खाजा खान पाइन्छ, धेरै साथीहरुको त खाजा पनि घरबाटै ल्याउनु पर्छ। ४ वर्ष हुन लाग्यो, मैले त छुट्टी लिएकै छैन भन्दा पनि हुन्छ। छुट्टी पाउन बिरामी नै हुनुपर्ने व्यवस्था छ कम्पनीको। त्यसैले अहिलेसम्म जम्मा २ दिन छुट्टी बसे, त्यो पनि बिरामी नै परेर। अरु साथीहरुको पनि हालत त्यस्तै हो, हाम्रो कम्पनीमा कसैको पनि छुट्टी नै छैन।’ चाडपर्बको बेलामा घरपरिवार सँग खुलेर बोल्न नपाउदा घलेको मन भक्कानिएर आउाछ, ‘दशैं–तिहार वा त्यस्ता पर्वहरुमा भने छुट्टी पाए नि हुने जस्तो लाग्छ। उता परिवारमा चाडपर्वका बेला पनि भने जति बोल्न नपाउने।’ उनी दिक्क मान्दै भन्छन्, ‘विदेशमा के सजिलो हुन्थ्यो र?’
अनन्त सिलवालको काम पनि सेक्यूरीटि गार्डकै हो। उनी मलेसियाको एक चर्चित सपिङ सेन्टरमा काम गर्छन्। उनी दैनिक १२ घन्टा काम गर्छन। अनन्त भन्छन, ‘३ जना सेक्यूरिटीले बिहान ८ बजे देखि बेलुकी ८ बजेसम्म सपिङ सेन्टर भित्र जाने र आउने ग्राहकहरुको शरीर र झोलाहरू चेक–जाँच गछौँ। त्यसै गरी आउने डेलीभरीको व्यवस्थापनमा पनि काम गर्नु पर्छ।’
‘काम गर्न कहाा सजिलो छ र?’, प्रतिप्रश्न गर्दै अनन्त भन्छन्, ‘सेक्यूरिटीको काम, जति बेला पनि उभिनु पर्ने र सधै एक्टिभ हुनु पर्ने हुन्छ। त्यो पनि १२ घन्टा उभिादा, निकै थाकिन्छ। झन छुट्टी पनि छैन, गाह्रो मानेर के गर्ने? काम त गर्नै पर्यो।’
काभ्रेकी रमिता बम्जन दैनिक १० घन्टा काम गर्छिन्। उनी भन्छिन्, ‘कपडा बेच्ने (सेल्स लेडिज)को काम पनि कहाा सजिलो छ र? उठेको उठ्यै गर्नुपर्छ। झन् सार्वजानिक बिदाको दिन त यति धेरै ग्राहक आउँछन, पसलभित्र डुलेको डुल्यै गर्ने हो, धेरै थाकिन्छ।’ डिउटीका बेला खानाको कुनै ब्यवस्था नभएकाले प्राय: घरबाटै खाना ल्याउने गरेको छु। उनी थप्छिन्, ‘बिदेश आएपछि कम्पनीले लगाएको काम गर्नैपर्यो नि, हप्ताको १ दिन छुट्टी मिल्ने भएकाले त्यो दिन भने सुतेरै वा आराम गरेरै बिताउँछु।’
मलेसियाको रोजगारी नेपाली कामदारको रोजाइमा परेको देश पनि हो मलेसिया। वातावरणीय समानता र जान कम लागत पर्ने हुँदा पनि मलेसिया धेरैको रोजाइ परेको हो। र, बचतको हिसाबले यो देश सामान्य मानिन्छ। किनकी धेरै नेपाली कामदारहरूले सरदर मलेशियन रिङ्गेट एक हजार (नेरू करिब ३० हजार) पारिश्रमिक पाउँथे। लामो समयदेखी पारिश्रमिक बढेको थिएन। बिश्व बजारमा महगीको दर बढिरहेको छ। मे १, २०२२ देखी मलेशियन सरकारले न्यूनतम पारिश्रमिक एक हजार पाँच सय(नेरू करिब ४५ हजार) पुर्याएको छ। यसले धेरै आप्रवासी श्रमिकहरूलाई धेरै राहत मिलेको छ। तर केही कम्पनीले आफ्ना कामदारलाई भने अझै उक्त पारिश्रमिक दिएको छैन। नेपाली राजदूतावास, क्वालालम्पुरले त्यहाँको सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिए दूतावासमा लिखीत उजुरी दिन आग्रह गरेको छ।
केही नेपाली कामदारहरूको पारिश्रमिक भने सोचेभन्दा पनि राम्रो रहेको छ। ७ वर्ष अघि मलेसिया पुगेका रौतहटका श्याम चौहान भन्छन, ‘म यहाा आउदा फ्याक्ट्री वर्करकोरुपमा काम गर्दा मेरो तलब ९ सय रिंगेट थियो। अहिले म त्यही कम्पनीमा सुपरभाइजर छु, ओभरटाइम बाहेक नै २ हजार ४ सय रिंगेट तलव छ। काम भएको बेला त ओभरटाइम सहित ४ हजार सम्म बचााउँछु। उनी मात्र होइन, एक प्रतिष्ठित कम्पनीमा प्रोडक्सन कामदारका रूपमा काम गरिरहेका स्याङ्जाका रोशन खड्का पनि महिनामा २ हजार रिंगेट सम्म बचाउने गरेको सुनाउँछन। उनी भन्छन्,‘महिनै पिच्छे ६० हजार नेपाली रुपैयाँ घर पठाउनु राम्रो होइन र?’
मलेशियाको एक शब्जी मण्डप (भेजिटेबल मार्केट)मा काम गरेर नेपाल फर्किएका रितेस तामाङ फेरि मलेसिया जाने तयारीमा छन्। उनी थप्छन,‘पहिले ९ सय रिंगेट तलब थियो। अब जाादा त १ हजार ५ सय रिंगेट तलव हुन्छ। यो त राम्रो तलव हो।’ त्यहि भएर पुन जाने तयारीमा छु।
२०७५ कात्तिक ११ गते शून्य लागतमा मलेसियाले नेपालबाट श्रमिक लैजाने भन्दै श्रम सम्झौता गरेको थियो। यो सम्झौता कार्यान्वयनमा कठिनाइ र एजेन्टहरूको चलखेलपछि नेपाल सरकारका तत्कालिन श्रम मन्त्री गोकर्ण बिष्टले सुन्य लागत, नेपाली श्रमीकहरुको सुरक्षा र श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाउनै पर्ने अडान लिए। उनको अडानपछि सन् २०१८ देखि २०२२सम्म मलेसियाका लागी नेपाली श्रमिक पठाउनै रोकिएको थियो।
त्यसको लगत्तै विश्वभर कोरोनाको प्रकोप फैलियो। कोरोनाको समयमा धेरै नेपालीले मलेशियामा रोजगारी गुमाएको भनिए पनि कति नेपाली फर्किए भन्ने यकिन तथ्याङ्क नेपाल सरकारसग छैन। लामो समय मलेशियाको भिसा रोकिए पनि सून्य लागत (फ्रि भिसा–फ्रि टिकट) र मे १, २०२२ देखी मलेसियन सरकारले नेपाली श्रमीकहरुको सुरक्षा, न्यूनतम पारिश्रमिक एक हजार पाच सय (नेरू करिब ४५ हजार) तोकेपछि भने नेपाली कामदारहरू मलेसिया पठाउन थालीएको छ। अहिले मलेसिया धेरै नेपाली श्रमिकहरूको गन्तब्य मुलुक बनेको छ।
मलेसियाका धेरै कम्पनीहरूले सून्य लागत (फ्रि भिसा–फ्रि टिकट) मा कामदार लैजान शुरू गरेका छन्। मलेसियाको विस्र्टन टेक्नोलोजी ले त ४५० नेपाली कामदारलाई घरदेखि कम्पनीसम्मका सबै खर्च ब्यहोर्ने गरी लैजाने भनेर आफ्नै प्रतिनिधिमार्फत अर्थात् विचौलीया बिना नै कामदार छनौट गरिसकेको छ। तर अन्य कम्पनीहरूमा जान चाहने श्रमिकहरूको हकमा भने सून्य लागत (फ्रि भिसा–फ्रि टिकट) भनिए पनि १ लाख देखी ३ लाखसम्म सेवा शुल्क मागिदैँ आएको र १० हजार रूपैयाँ को मात्र बिल दिने गरिएका घटनाहरू बाहिर आएका छन्।
यसरी सेवा शुल्क धेरै लिने मेनपावरहरूलाई कसले अनि कसरी कारवाही गर्ने भन्ने जानकारी श्रमिकहरूलाई नहुदा धेरै श्रमिकहरू सोझै ठगिँदै आएका छन्। मेनपावरले श्रमिकहरूलाई ठगे–नठगेको हेर्ने र ठगिएका उजुरी आएमा आवश्यक कारवाही गर्ने निकाय बैदेशिक रोजगार विभाग हो। बैदेशिक रोजगार विभागमा आएका गुनासो सुन्ने अधिकारी पनि विभागमा दैनिक दुई–तीन गुनासो आउने गरेको बताउछन। बैदेशिक रोजगार विभागका एक अधिकारी भन्छन्,‘मलेसिया र खाडीका देशहरूमा काम गर्न जान चाहने श्रमिकहरूलाई पठाउँदा लाग्ने सेवा शुल्क बढी असुल गरेका घटना र उजुरीहरूको संख्या बढेको छ। हामीसँग गुनासो आएमा चर्को शुल्क असुल गर्ने मेनपावरलाई अनुगमन गरी कारवाही गर्ने गरेका छौँ।’