
नटुङ्गिने यात्रा हो जीवन। जबसम्म सास रहन्छ, मानिसमा कैयाैँ आशा-अभिलासाहरू एकपछि अर्को गर्दै जिन्दगीको यात्रामा रुमल्लिएकै हुन्छन्। यसैमा म पनि जीवन धकेलिरहेको छु, यात्रा गरिरहेको छु। बाटाहरूमा तगारा धेरै छन्, गन्तव्य अनिश्चित छ। यद्यपि गन्तब्यमा पुग्ने रहर छँदैछ। तर कहाँ, कहिले र कसरीजस्ता अनेकाैँ प्रश्ननहरू छन्। समय सधैँ एक जनाको मात्र अधीनमा रहँदैन। आफूले चाहेको कुरा पूरा भए समयले साथ दियो, नभए समयले गलहत्यायो भनेर समयमाथि नै आरोप लगाउनु न्यायसंगत पनि नहाेला।
जीवनयात्राकाे गाडी अाफ्नाे रहरअनुसार नगुड्ने रहेछ। समयको माग र समाजकाे परिवेशमा चल्नुपर्दो रहेछ। १५ बर्ष को उमेरमा एसएलसी पास गरेर घर-परिवारबाट टाढिएको म आजसम्म पनि टाढै छु। हजाराैं, डाँडा र समुन्द्र पारि अहिले म विदेशमा छु। कहिलेसम्म म यहाँ रहन्छु, त्याे पनि अनिश्चित छ। तथापि यात्रा त जारी छ, जीवन संघर्ष अनवरत छ!
मेरो जन्म दुर्गम जिल्ला सोलुखुम्बुको नेचा बेतघारी-५ मा भएको हो। घरनजिकैकाे श्री केदार निम्न माध्यमिक विधालयमा कक्षा ७ सम्म पढेपछी माध्यमिक तहको पढाई गर्न घरबाट हिँडेर १ घण्टा लाग्ने श्री हिमाल दर्शन माध्यमिक विद्यालयमा गएँ। त्यहाँबाट एसएलसी प्रथम श्रेणीमा पास गर्दा म खुसीले गदगद भएँ। उफ्रिएँ, रमाएँ। त्यस कुराले घरपरिवार र अाफन्तमा उल्लास छायाे। किनकि त्यस समयमा गाउँठाउँका विद्यालयहरूमा कमै मात्र विद्यार्थी हुन्थे एसएलसीमा प्रथम श्रेणीमा पास गर्ने।
उच्च शिक्षाकाे उदेश्य राख्ने प्राय: सबैकाे गन्तव्य राजधानी काठमाडाैँ हुनेगर्थ्याे त्यस समय। म पनि त्यसका लागि काठमाडाैँ लागेँ। गन्तब्य पहिल्याएर 'ठुलो मान्छे' रहर पूरा गर्नलाई। बुबा र ममीले पनि त्यही समय पहाडको बसाईलाई बिट मारेर तराई (झापा) बसाई-सराईँ झर्ने निर्णय गर्नुभयाे। काठमाडौंमा मेराे पढाई निरन्तर चलिरहेको थियो। झापा आउन र जान मलाई सजिलो थियो। त्यसैले चाडपर्वमात्रै नभएर अरु बेला पनि झापा आउने जाने र रासन-पानी लैजाने क्रम जारी नै भयो। कलेजमा पढ्दै गर्दा विभिन्न क्षेत्रमा काम गर्ने मौका पनि मिले। म काठमाडाैंकाे ल क्याम्पसमा कानुनको विधार्थी थिएँ। तर पत्रकारितामा झुकाब भएकोले देशान्तर साप्ताहिकलगायत अन्य विभिन्न पत्रपत्रिकामा काम गर्ने मौकासमेत मिल्याे।

त्यतिखेर माओवादी द्वन्द्वकाे समय थियाे। त्यस्ताे समय काठमाडाैंमा साधारण जागिर खाएर जीवन धान्न सहज थिएन। भनेजस्ताे जागिर खान त धेरै पापड बेल्नुपर्थ्याे। एनकेन-प्रकारेण कानुनमा ब्याचलर डिग्री हासिल गरेपछि पनि जीवन धान्ने खालकाे सामान्य जागिरमै झुन्डिरहनु मेराे वाद्यता थियाे।
मान्छेले के सोच्छ अनि तग्दिरले कहाँ पुर्याउछ? सन् २००३ मा कोरिया जाने चक्करमा थिएँ तर हुँदाहुँदै कुवेतमा पाे आइपुगेँ। ठूलाठूला आशा र धेरै पैसा कमाउने रमाउने रहर प्राय: सबै मान्छेमा हुन्छ। त्यही आशाकाे घनचक्करमा मैले परदेशको बाटो राेजेँ। तर नेपालमा बसेर कल्पना गरेजस्ताे हुँदैन विदेश। खोजेजस्तो र रोजेजस्तो हुँदैन विदेश। यस्तै कुराहरू सुन्दासुन्दै म पनि हिँडे विदेश, खाडीको लाहुरे हुन।
सुरुका दिनहरू निकै कष्टकर बने, आफ्नाे प्यारो जन्मभूमि छोडेर विदेशिँदा मनमा गाँठो पर्याे। परिवारको न्यास्रोले अति सतायो। बिछोडका पीडा फुकाउन पनि धेरै समय लाग्यो। मलाई लाग्छ, घरपरिवारको याद आँखामा नआउला भनेर परदेशीहरू आँखा झिम्मसमेत पार्दैनन्। कदाचित् अाँखाका ढकनी बन्द भएपनि भोलिपल्ट सम्झनाहरू आँखावरिपरि झुत्ती खेल्न थाल्छन्, फिल्डमा सैनिकहरूले बुट बजारेझैँ।
जब परिवार र देशको मायाले मन भरिन थाल्थ्यो, खाँदै गरेको खाना पनि बेस्वादे लाग्थ्यो। जिब्रोले स्वादको आँकलन गर्दैनथ्यो, स्वादै बिर्सन्थ्यो। काठमाडौंको तापक्रम २४ डिग्री सेन्टिग्रेट र झापाको ३० डिग्री हुँदा, काठमाडाैंबाट झन्डै पाँच घन्टा उडेर अबु-धावीकाे १ दिन होटेल बसाई सकेर भोलिपल्ट १ घण्टाको उडानबाट कुवेत नगरिमा उत्रँदा त्यहाँकाे तापक्रम ४४ डिग्री मापन भइरहेको थियाे। जति बेला मेरा पाइला जमिनतर्फ सोझिइरहेका थिए, मलाई लागेकाे थियाे, 'बाफरे कति गर्मी?' भोलिपल्टबाटै सुरु भयो काम। त्यहाँबाट सुरु भएकाे कामकाे जाेताइमा अहिलेसम्म निरन्तर छु।
वियोगको भारी बोकेर खाडी पसेको पनि १७ वर्षभन्दा बढी नै भएछ अहिले त। दुई वर्ष काम गरेर पहिलो छुट्टिमा घर गएँ। अनि साथीभाइ र घरपरिवारले 'विदेशबाट आएपछि त मोज मस्ती गर्नु पर्छ' भन्दै फुर्क्याए, मख्ख पारे। उनीहरुको लहलहै र अाफ्नै खुसीका कारण पनि नै दुई महिनाको छुट्टी पत्तै नपाई सकियो।
त्यसपछि फेरि विदेशकाे गन्तव्य त जारी नै रह्याे। फेरि सुखदुःखकाे प्रवाह नगरी काम गरेर दुइ साल बिताइयाे। फेरि छुट्टीजाने दिन आइहाल्यो। 'यसपालि चाहिँ झ्याई पार्नुपर्छ भनेर घरपरिवार तथा साथीभाइ सबैले अर्ति उपदेश दिनथाले। आफूलाई पनि अबचाहिँ घरजम गर्नुपर्छ है भन्ने साेच एक मनमा आएकै हाे। तर अर्काे मनले परदेशी जीवन छ, बिहे गरेर कसरी छुट्नु भन्ने लाग्याे। यस्तै दोधारमा थिएँ।
सबैतिरकाे सल्लाह र अर्तिउपदेश सिरोधार्य गरेजस्ताे पनि हुने, अर्काेतर्फ आफ्नै मनमा 'यस पालिको छुट्टीमा बिहे गराैँ' भन्ने उल्लासमय कल्पना त छँदै थियो। आखिर सपनालाई विपनामा परिणत गरेर नै छाडियो, जोडी खोजेर झ्याइँ पारियो। एक्लो जीवन थियो, जे गर्दा पनि आफ्नै मर्जी गियाे। अब जोडी बाँधिसकेपछि दुवै जनाकाे सरसल्लाहमा जीवन चलाउनु पर्ने भयाे। बिहे भएपछि करीब १ महिना बचेको छुट्टीमा हनिमुन- घुमफिर हुँदाहुँदै मायाप्रिती गहन भयो। जीवन सगिनीसँग जुनी-जुनी सँगै मर्ने र बाच्ने बाचा बाँधियो।
आखिर परदेशीको जीवन हाे। बिछोड त हुने नै भयाे। बिहे भएकै एक महिनामा छुट्नुपर्दा श्रीमतीजीको रुवाई मेराे मनमा गाँठो परेर मुटुमा बज्रिरहेझैँ लाग्याे। काठमाडौंमा मलाई बिदाई गर्न आएकी श्रीमती रोएर उस्तै बेहाल! सम्झाउँदा बुझाउँदा बल्ल उनी अलिक शान्त भइन्। त्यसपछिमात्रै एयरपोर्टबाट बिदा भइयाे।
कहिले सम्झनाको आँधिहुरी आइदिन्छ। मनमा जेजे आए पनि आओस् तर मन नभत्कियोस्। मन भत्किएन भने आँट र साहस पलाउन सक्छ। आफूले आफैँलाई सम्हाल्न सक्नुपर्छ। यस्तै साेच्दै कठाेर मन लिएर आफ्नाे गन्तव्यतर्फ लागि नै रहेँ।
सामान्यतया खाडीको कामलाई 'थ्रीडी'अर्थात् अन्तर्गत डेन्जर, डर्टी र डिफिकल्ट (खतरापूर्ण, फाेहरी र कठिन) ठानिन्छ। तर समग्रमा मेराे काम सहज छ। त्यसैले कम्पनीको कामका शिलशिलामा खाडीका विभिन्न मुलुकमा गएर काम गर्ने मौका मिल्यो। कुवेतमा काम गरिरहँदा बिभिन्न सामाजिक संघसंस्थामा अावद्ध रहेर 'सामाजिक पत्रकारिता' पनि गरिँदैछ। घरेलु कामदारका रूपमा आएका नेपाली महिला र अरु विभिन्न क्षेत्रमा आएका नेपाली कामदारहरूको दु:ख देख्दा मन दुखी हुन्छ।
आफ्नाे देशमा राजनीतिक स्थायित्व भएर विकाशनिर्माणका काम अघि बढेमा देशमा नै रोजगारी सिर्जना हुन्थ्याे कि? नयाँ पुस्ताले नेपालमै गरि खान पाउँथे कि! घरेलु काममा कुवेत आएका महिलाहरूलाई अनेक बहानामा फकाइफुल्याइ गरेर त्यहाँबाट निकालेर अन्यत्र गैरकानुनी रूपमा लगाउने नेपालीहरू पनि देख्छु। अनि दिक्क लाग्छ। पैसाका लागि कति गिर्छन् मान्छेहरू! देशमा त त्यस्ता ठगहरूकाे बिगबिगी नै छ, विदेशमा पनि त्यस्ता जमातकाे बिगबिगी नै छ। महिला तथा पीडित वर्गहरूलाई जता पनि सास्ती!
गत वर्षदेखि काेभिड-१९ को महामारीबाट संसार आक्रान्त छ। त्यसकै मारमा परेका हामी परदेशीको जीवन झनै पीडित छ। पारिवारिक वेदना अनि कामको तनाव त छँदैछ, नोकरीको उतारचढावले थप चिन्ता छ। तर पनि समय र परिस्थिति अनुसार चल्नुकाे विकल्प छैन। कतिन्जेल यो भुमरीमा फसिने हो, थाहा छैन। अब त बर्सेनी छुट्टि जाने तालिका पनि बन्द भयो। त्रास र आशाको बीच जिन्दगी आफैँ बन्दी बनेकाे छ। कतिन्जेल जिउनु पर्ने हाे यस्ताे जीवन, टुंगो छैन। हेरौँ, समयले कस्तो गति लेला।
पारिवारिक मिलन हुनुको साथै याे महामारीबाट हामी सबैले छुटकारा पाइएला भन्ने आशा गराैँ। अहिले संसारभर जीवन असामान्य छन्। अब सामान्य जीवन जिउन सकियोस्। दु:खसुखका कथा धेरै लामा हुन्छन्। जीवनका पल-पलमा पात्रहरू भएपछि कथाले आकार लिने नै भो, तर आजलाई यति नै।