
नाम अमर (परिर्वतन गरिएको)। गत मिति 5th June 2022 अमरको फोन नम्बर पाएँ अनि मैले उनलाई फोन गरे । शुरुमा उनलाई आफ्नो परिचय दिएँ अनि उनको परिचय सँगै उनलाई के समस्या परेको हो, सो बारेमा जानकारी लिएँ । जति उनीबाट मैले जानकारी पाएँ, ती सबै कुराले मेरा आँखा रसाएर आयो ।
उनी नेपालबाट रोजगारीका लागि विदेश पुगेको नौ महिना मात्र भएको रहेछ । यत्रो अवधीमा समेत कम्पनीले ‘अकमा’ नबनाई दिएको, इन्सुरेन्स नगरिदिएको अनि चार÷पाँच महिनादेखि काम बन्द भएर तलब पनि नपाएको उनको पीडा त छँदै थियो, त्यसमाथि पनि अनुहारभरि एलर्जी भएका उनी त्यही एलर्जीको उपचार गर्ने पैसा नभएर छट्पटाएका रहेछन्। खानाको लागि पैसा समेत पैसा रहेनछ ।
आफूले ‘सकेको सहयोग गर्ने’ भन्दै आश्वासन दिएर श्रमिक संजालमा आवद्ध साथीहरूलाई अमरको समस्याका बारेमा कुरा राखेँ । उहाँहरूले सबै समस्याहरु बुझिसकेपश्चात सञ्जालका साथीहरुबाट सहयोग स्वरुप केही रकम उनलाई दिलाउने प्रतिबद्धता व्यक्त गर्नु भयो र उक्त कार्यमा थोरै भएपनि सफल भइयो ।
अमरको पिडा ः उनी दिनभरी कतैबाट केही उपाय लाग्छ कि भनेर कहिले जिद्दामा रहेको नेपाली कन्सुलेट अफिसमा फोन गर्दथे त कहिले रियादमा रहेको दुतावासमा । जवाफमा जिद्दाको अफिसले रियादलाइ देखाउने गर्दथ्यो भने रियादको दुतावासले जिद्दामा । दिनभरिको प्रयासमा भएको कुराहरु अमरले मलाई सुनाउने गर्दथे । अनि भन्थे, ‘सर तपाईँलाई सम्पूर्ण कुरा सेयर गर्दा अनि तपाइँले मेरो कुरा सुनेर सम्झाउँदा दिनभरिको पिडालाइ भुल्ने गर्छु ।’ म आफूले सकेसम्मको प्रयास गरिरहेको हुन्थे तर पनि केही हुन सकेको थिएन । यी सब पीडाका बीचमा एकदिन अचानक अमरको फोन आयो । उनको परिवारमा अर्को बज्रपात आइपरेछ । मलेसियामा रहेका अमरको दाजुको कामकै क्रममा उतै निधन भएछ । उनले मलाई रुँदै सबै कुरा सुनाए ।
उनलाई सम्झाउँदै सान्त्वना दिन बाहेक अरु खासै उपाय थिएन मसँग । उनी र मबीच कुराकानी भएको लगभग दुई महिना मात्र भएको थियो तर पनि उनी मेरो आफ्नै परिवारको सदस्यझैँ लाग्न थालेको थियो र मैले उनलाई मेरो आफ्नो भाइसरह सम्झेर बारम्बार हरेस नखानु भन्दै सम्झाउने गर्थेँ ।
उनको र मेरो हरेक दिन उनकै दुःख सुल्झ्याउने अनेक प्रयासहरूमा नै बित्ने गर्दथ्यो । जतिखेर उनको दाजुको शव पनि नेपाल आइपुग्यो, त्यसै बखत नेपालमा रहेकी उनको श्रीमती पनि बिरामी भएर हस्पिटलमा भर्ना गर्नुपर्यो। यी भाइसँग कुराकानी गरिसकेपछि म सोच्ने गर्थेँ, ‘यी भाइमाथि किन एकैपटक यति धेरै बज्रपात !’ उनलाई हाल कार्यरत कम्पनीबाट निस्कन पहिले एक्जीट भिसाको जरुरत थियो तर उनको कम्पनीले नौ महिना हुँदा पनि ‘अकमा’ नबनाई दिएकोले भिसा लगाउनलाई समस्या भएको थियो । साउदी अरेबिया एउटा यस्तो देश हो, जहाँ मरेको लाशलाइ पनि एक्जीट भिसा नलगाई यहाँबाट अन्य देश लैजान पाइँदैन, झन उनको त कुरै नगरौँ।
समस्या धेरै थिए तर पनि म निरन्तर लागि रहेको थिएँ र उनी पनि हरेक दिन दुतावासलाई फोन गर्ने गर्दथे । लामो प्रयासमा पनि केही उपलब्धी हुन नसकेपछि म आफु नै हरेस खान लागिसकेको थिएँ र उनलाई बारम्बार ‘मलाई माफ गर्नुहोला, मैले धेरै प्रयास गर्दा पनि केही हुन सकिरहेको छैन’ भन्ने गर्थेँ तर पनि प्रयास भने जारी राखेको थिएँ ! कतैबाट केही नभएको र परिणाम नआएकाले म आफू पनि दुखी थिएँ। मेरो मनमा ‘उनलाई जसरी पनि नेपाल पु¥याउनु छ’ मैले भन्ने मात्रै थियो तर सबै प्रयास असफल मात्रै भईरहेका थिए ! एकदिन उसको सम्पूर्ण समस्या श्रमिक संजालका साथीहरूलाई पुनः लेखेरै राखेँ अनि अन्तिममा ‘कृपया कसरी हुन्छ, उनलाई पठाउने व्यवस्था मिलाउन मलाइ सहयोग गर्नु होला’ भनेर लेखेँ । त्यो लेखाइमा धेरै जना भावुक हुनुभयो र उहाँहरूले सान्त्वनास्वरुप धेरै म्यासेज गर्नु भयो तर सान्त्वना मात्रै ले समस्याको समाधान हुने वाला थिएन ।
त्यसै क्रममा अन्तिममा एउटा म्यासेज आयो, ‘आरके सर, मलाई उहाँको बारेमा सम्पूर्ण जानकारी र उहाँको फोन नम्बर उपलब्ध गराउनु होला ।’ यो म्यासेज कुबेतबाट श्रमिक संजालका एक सदस्यले गर्नु भएको थियो । उहाँलाई सम्पूर्ण विवरण दिएँ । त्यससँगै आफू पनि निरन्तर प्रयासमा लागिरहेँ । दुई दिनपछि अचानक उनको नेपाल भिसा लागेको खबर पाएँ श्रमिक सञ्जालबाट । यो सुनेर मेरो खुशीको सिमा नै रहेन । ‘यति छिटो कसरी काम भयो ?’ भनेर श्रमिक संजालको कुबेत टिमलाई सोधेँ। जसले यो प्रयत्न गर्नुभयो, उहाँको चिनजान एनआरएनएका खाडी मुलुकभरीको उपसंयोजकहरूसँग रहेछ । उपसंयोजकसँगको सहयोगमा तुरुन्तै भिसा लागको रहेछ ! लेखेरै यस्तो जादु हुन्छ भन्ने थाहा पाएको भए मैले उनका बारेमा पहिले नै लेख्ने थिएँ होला । तर भनिन्छ, ‘हरेक कुराको एक निश्चित अवधि हुन्छ ।’ म पनि अवश्य नै कुनै न कुनै समाधान निस्कने छ भन्दै आशावादी हुँदै आफ्ना प्रयत्नहरू गरिरहेको थिएँ । र, उनलाई पनि निरन्तर सम्झाउँथे र नआत्तिकन बस्न अनुरोध गर्थेँ । ढिलै भएपनि उनी नेपाल फर्कन पाए अनि आफ्नो तर्फबाट सञ्जाल र एनआरएनएलाई धेरैधेरै धन्यवाद दिएँ । मैले सुनाउनु भन्दा पहिला नै उनले आफ्नो भिसा लागेको कुरा थाहा पाइसकेका थिए ।
तर मसँगको कुराकानीमा भिसा लागेको कुरा बताउँदा उनको बोलीमा जुन खुसी थियो, त्यसलाई म वर्णन गर्न सक्दिनँ । कस्मम्, खुशी के हो भन्ने कुरा उनको अभिव्यक्ति सुन्दा थाहा हुन्थ्यो । भिसा त लाग्यो तर प्लेनको टिकट किन्ने पैसा उनीसँग थिएन । तर नेपाली दुतावासले ‘टिकटको व्यवस्था तुरुन्तै गर्नु’ भनेर उनलाई खबर गरेको थियो, किनभने तीन दिनपछि नजिकैको एअरपोर्टबाट नेपाल एअरलाइन्सको फ्लाइट नेपालतर्फ हुँदैथियो । तर यति छिटो उनले कहाँबाट टिकट किन्न सक्थे?
उनीसँग त खानाका लागि पनि पैसा थिएन । र, टिकटको मूल्य नेपाली रूपैयाँ ७० हजार भन्दा माथि थियो ! अन्नतः उनले नेपालमा रहेका आफ्ना बुवालाई भनेर ७४ हजारमा टिकट खरिद गरे र दुतावासलाई जानकारी गरायो । अनि दुतावासले पनि जिद्दामा गएर होटलमा बस्नु अनि भोलिपल्ट बिहान कोरोना चेक गरेपछि रिपोर्ट नेगेटिभ आयो भने भोलि नै फ्लाइट गराउने भन्ने जानकारी दियो । दुतावासको सुझाव मान्दै उनी जिद्दा गए । उनले होटलमा रुमसमेत लिए । त्यस रात त्यही होटलबाट उनले राति अबेरसम्म मसँग च्याट गरे । भोलिपल्ट बिहान उनले कोरोना परिक्षणका लागि हस्पिटल जानुपर्ने थियो । त्यसैले मैले उनलाई छिटै सुत्न अनुरोध गरेँ अनि भगवानसँग प्रार्थना गरेँ, ‘हे भगवान, भोलि उसको रिपोर्ट नर्मल आओस् । ’
बिहान उठेर उनको म्यासेज हेरेँ । उनले हस्पिटल गएर रिपोर्टका लागि स्वाब जम्मा गरेका थिए । केही बेरपछि उनको अर्को म्यासेज आयो, ‘सर, मेरो रिपोर्टमा पोजेटिभ देखायो ।’ अति दुःख लागेर मैले उनलाई तत्कालै फोन गरेँ, तब उनी रुन थाले र भने, ‘सर म घर जान नपाउने भएँ । अरु केही उपाए भए मलाइ अन्तिम पटक सहयोग गर्नुस न प्लिज सर !’ बल्लबल्ल मिलेको खुसीमा अर्को पीडा थपिएको थियो। तर पनि उनलाई मैले ढाडस दिने प्रयास गरेँ र सबैतिर यिनका कष्टका बारेमा म्यासेज गरेँ। त्यस दिन छुट्टीको दिन थियो, त्यसकारण कतैबाट जवाफ आएको थिएन ।
करिब एक घण्टापछि भिसा लगाउनका लागि सहयोग गर्नुभएका एनआरएन उपसंयोजकले मेरो म्यासेज हेरेर कल गर्नुभयो । उहाँले पनि रिपोर्ट पोजेटिभ आएपछि तत्कालै नेपाल आउन नमिल्ने कुरा बताउनुभयो । दुतावासको कुरो पनि यही थियो । केही नहुने देखेपछि उलाई मैले ‘अहिलेलाई नमिल्ने भयो’ भनँे अनि मलाई माफ गरिदिन अनुरोध गरेँ । म आफैँ पनि नराम्रो महसुस गरिरहेको थिएँ ! उनलाई दुतावासमा कुरा गरेर हस्पिटलमा भर्ना हुनको लागि सल्लाह दिए अनि उनले पनि जिद्दाको नेसनल हस्पिटलमा गएर बुझेछन्। र, अत्यन्त सुखद संयोग के भएछ भने अस्पतालमा कार्यरत एक नेपाली चेलीसँग उनको भेट भएछ । र, आफ्नो व्यथा ती नेपाली चेलीलाई उनले सुनाएछन् ।
सबै कुरा बुझेर उसले दुताबासलाई आफै फोन गरेर सम्झाई दिएपछि दुताबास उसको फ्लाइट गराउन तयारि भयो । भएको के थियो भने पहिला उसलाई कोरोनाको संका गरेर पिसीआर चेक गरेको थियो जसको रिपोर्ट नेगेटिभ आएको थियो एक महिना अगाडी । अहिले उसले आरडिटी चेक गरेको थियो त्यसमा पोजेटिभ देखाएको थियो आरडिटी चेकमा सामान्य मान्छेको पनि रिपोर्ट पोजेटिभ देखाउने कुरा प्रमाणित भयो ।
अन्तत ः उनी नेपाल एअरलाइन्सको फ्लाइटबाट नेपाल फर्किए । आशा छ उनले अब कहिले पनि परदेश जानुपर्ने छैन । आफ्नै देशमा उनले मेहनत गरेर एक पेट खान र एक आँङ ढाक्न पाउनेछन् । र, मिठो मसिनो जे छ त्यही खाएर आफ्नो परिवारसंग रमाउने छन् । र, विदेश जानै पर्दा पनि यस्ता हण्डरहरू व्यहोर्नु पर्ने छैन । उनको उज्ज्वल भविष्यको कामना गर्दछु ! धन्यवाद ( सत्य घटनामा आधारित )