
उज्यालो भविष्यको सपना बोकेर नेपालबाट ठूलो सङ्ख्यामा युवाहरू मजदुरीका लागि खाडी मुलुक आउने क्रम कहिले रोकिएला? किन म यसो भनिरहेको छु भने लाखौँको सङ्ख्यामा खाडीमा रहेका कामदारमध्ये कैयन युवाहरू लगभग अमानवीय अवस्थामा समेत बाँच्न बाध्य छन्। यद्यपि, खाडीमै युरोप अमेरिकाको स्तरमै सम्मान र कमाइ गर्नेहरू पनि नभएका होइनन्।
पछिल्लो समय बिदेसिनेको सङ्ख्यामा पहिलेको तुलनामा अझै वृद्धि देखिएको छ। धेरै युवाले दलालको चपेटामा परेर सपना मात्र गुमाएका छैनन्, बाध्यता र समस्या झेल्न नसकेर सिंगो जिन्दगी नै समाप्त पारेका छन्।
कुवेत, युइए, ओमन, कतार, र साउदी अरबलगायतका खाडी मुलुकहरूमा रूखमा पैसा फल्छ भन्ने महसुस गर्ने पनि धेरै होलान्। बेरोजगारीको चपेटमा परेका या अरूले ट्रलि र ब्रिफकेस बोकेर फर्केको देख्दा कतिलाई त्यस्तो लाग्दो हो। तर खाडीमा गएर काममा जोतिएपछि बल्ल यथार्थ वोध हुन्छ।
अरबी देशहरूमा काम गर्ने हजारौँ नेपालीहरूको कथा डरलाग्दो छ। सरकारले 'युवालाई रोजगारीका लागि पठाउने नीति लिए यता धेरैजसो गरिब जनता आफ्नो सर सम्पत्ति धितो राखेर खाडी आउन बाध्य भएका हुन्। उसो त देशमै अवसर भएको भए आफ्ना जहान, लालाबाला र बा आमा छोडेर हत्तपत्त को जान्थ्यो र विदेश?
धेरै वर्षदेखि कुवेतमा काम गर्ने एक नेपाली भन्छन्, 'नेपालबाट यता पैसाकै रुख छझैं ठान्दै, सत्य तथ्य नबुझी युवाहरू हतारिएर आउँछन्। तर यहाँ आएपछि त जोतिएर काम गर्नै पर्छ। यहाँ आउने मानिस अलि व्यावसायिक हुनै पर्छ, किनभने यहाँ बहाना चल्दैन। आठ घण्टाको सिफ्ट भयो भने आठ घण्टा काम गर्नुपर्छ। नेपालभन्दा यहाँ मौसम पनि बिल्कुल फरक छ।
उनी भन्छन्, 'गर्मीमा यहाँको ५० डिग्री सेल्सियससम्म तापक्रम पुग्छ। यस्तो मौसममा पनि मजदुरले काम गर्नुपर्छ। यहाँ नेपाली मजदुर हुन् या अन्य देशको नागरिक, उनीहरूमाथि उचित व्यवहार गरिँदैन। कम्पनीले धेरैको पासपोर्ट खोसेर राख्ने, तलब पनि रोकिदिने, अनावश्यक यातना दिनेलगायत विभिन्न किसिमका समस्या देखिएका छन्।'
कुवेतमा अहिले पनि ८० हजारभन्दा धेरै नेपाली कामदार छन्। मध्यपूर्वका सबै देशको गणना गर्दा यहाँ लाखौं नेपाली युवा कार्यरत छन्। लाखौ युवामध्ये वर्षौं सैयौं नेपालीको मृत्यु हुने गर्दछ। कतिपयको मृत्यु स्वाभाविक भए पनि कतिको मृत्युमा कम्पनीको लापरबाही र अन्यायपूर्ण व्यवहार जिम्मेवार हुने गर्छ। खाडी देशमा रहेका नेपाली दूतावासबाट प्राप्त जानकारी अनुसार अधिकांशको मृत्यु 'प्राकृतिक कारण' वा सवारी दुर्घटनाका कारण भएको देखिन्छ।
सुविधा सम्पन्न र आर्थिक रूपमा बलिया ती देशहरूमा अहिले पनि कम तलबमा नेपालीहरू आइरहेको देखिन्छ। कम तलबमा आउनेहरू खास गरी भवन निर्माण मजदुर, वेल्डर, रेस्टुरेन्ट वेटर, सफाइकर्मी र चालक पेसामा संलग्न छन्। अहिले पनि यी काममा आबद्ध श्रमिकहरूलाई कतिपयले 'तल्लो स्तर'को ठान्छन्। खाडी मुलुकका शारीरिक परिश्रमका यस्ता काम गर्न चाहँदैनन्। अहिले पनि धेरै नेपाली र अन्य आप्रवासी कामदारहरूले यी देशमा आफ्ना रोजगारदाताबाट दुर्व्यवहार र अत्याचारको गुनासो गरिरहेको पाइन्छ।
तुलनात्मक हिसाबमा यहाँ काम गर्ने नेपाली मजदुरले मुद्रास्फीति अनुसार ज्याला निकै कम पाउँछन्। जबकि मुद्रास्फीति बढ्दै छ र डलरको विश्वसनीयता घट्दैछ। उसो त कुबेती दिनार विश्वकै शक्तिशाली मुद्रामध्ये एक हो। तर कम तलब र महँगीका कारण यहाँ बसोबास गर्ने आप्रवासीको पीडा पनि बढ्दै छ। समस्या यहाँ बाँच्ने मात्र होइन, पर्याप्त मात्रमा पैसा बचाउने पनि हो।
यहाँ नेपालीहरू बस्न र खानको लागि मात्र होइन, केही सुन्दर सपना लिएर आएका हुन्छन्, तर सपना धान्ने पैसा यहाँ फल्दैन। कुबेतलगायत खाडीका अग्ला भवनहरू पछाडि ठूलो सङ्ख्यामा नेपालीहरूको पसिना र रगतले पोतिएको छ।
त्यसो त मानवअधिकार संगठनहरूले खाडी देशहरूको कमजोर मानवअधिकारको हकमा आवाज उठाउने कार्य निरन्तर जारी राखेका छन्। सञ्चारमाध्यममा पनि मजदुरमाथि दुर्व्यवहार हुने गरेको भन्दै खबर आउने गरेको छ। कतिपय गुनासो यहाँ आएपछि भएका सम्झौतासँग पनि सम्बन्धित छन्। सम्झौता पत्रमा अरबीमा लेखिएका हुनाले हस्ताक्षरकर्ताहरूलाई के कुराको सम्झौता भयो भन्ने र आफूले कुन कागजातमा हस्ताक्षर गरेको भन्ने नै थाहा हुँदैन यस कारणले पनि समस्या परेको देखिन्छ।
कैयन पीडित पक्षको कुरा बुझ्दा यहाँ आएपछि आफूहरूले अरबीमा लेखिएको पत्रमा सम्झौता गरेका बताएका छन्। त्यसमा के लेखिएको थियो भन्ने उनीहरूले थाहा पाउने कुरा भएन।
अरबका प्राय: देशले नेपाली नागरिकहरू आफ्नो देश निर्माणमा संलग्न रहेको स्वीकार गर्छन्। नेपाल सरकारले पनि खाडी देशमा बस्ने नेपालीको महत्त्व बुझ्नु आवश्यक छ। किनकि खाडीबाट अरबौँ रुपैयाँ रेमिटेन्स देशमा भित्रिएको हुन्छ।
दक्ष श्रमले सहजै काम र सम्मान पाउने सम्भावना हुन्छ। तर स्वदेश होस् या विदेश, अदक्ष कामदारको अवस्था विडम्बनापूर्ण छ। एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनले पनि खाडी मुलुकको कुनै पनि देशमा आप्रवासी श्रम कानून र श्रमिकको मृत्युलाई उद्धृत गर्दै सो कुरा उल्लेख गरेको छ। अर्को कुरा मेडिकल, इन्जिनियरिङ वा यस्तै उच्च कामका लागि जो कोही पनि अरब आउन आँटेको हो भने कुनै समस्या नहोला, तर अध्यक्ष कामदार वा मजदुरका रूपमा विदेश आउँदा भने त्यो झनै असहज र दुखपूर्ण हुनसक्छ।
देशबाट 'बेचिएर' खाडी तथा खाडीको धनी देश कुवेतलगायत अन्य देशमा आएका मजदुरको पीडाको खबरले पनि यहाँ नेपाली कामदारहरूको सुरक्षा अवस्था सहज छैन भन्ने बताउँछ। यहाँ काम गर्ने विदेशी श्रमिक र अदक्ष कामदारप्रति देशको श्रम कानुन उदासीन र निर्दयी छ कि भन्ने प्रश्न फेरि उठ्न थालेको छ। कुबेत पनि खाडीमध्येको एक धनी देश हो, जुन केही समययता घरायसी कामदारको विषयलाई लिएर निकै विवादमा छ।
आर्थिक अवस्थामा बलियो रहेको कुवेतले यस अघि विकासको गति लिन सकेको थिएन, तर केही वर्ष यता भने विकासको आक्रामक गति लिइरहेको छ। पछिल्लो केही समय यता बृहत् निर्माण कार्यका लागि यहाँ अन्य देशका श्रमिकहरू आएका छन्। नेपाल, भारतलगायत देशबाट ठुलो मात्रामा श्रमिकहरू कुबेत भित्रिएको देख्न सकिन्छ।
नेपाल सरकारको आधिकारिक तथ्यांक हेर्दा सन् २०२१ देखी २०२२ सम्ममा वैदेशिक रोजगारीमा गएकामध्ये चौध सय ७९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये अधिकांशको प्राकृतिक मृत्यु भएता पनि श्रम कानुनहरूको उल्लंघन र निर्माण कम्पनीहरूको बेवास्ता र शोषणका कारण प्रशस्त मजदुरहरूले ज्यान गुमाएको बुझ्न सकिन्छ।
नेपाल सरकारले पनि सपना सुनौलो बनाउने नाममा अरब देशमा पुगेका नेपाली मजदुरहरूको चिन्ता र सुरक्षाका लागि केही ठोस कदम चाल्नुपर्छ।