
वैदेशिक रोजगारी र 'पलायन' अचेल आफैंमा समानार्थी शब्दझैं सुनिने गरेको छ। त्यसैगरी मिडियामा बोलिन्छ र लेखिन्छ। अनि सबैले पलायन-पलायन भनिरहेका हुन्छन्। नेपाल वृहत् शब्दकोशमा पलायनको परिभाषा यसरी गरिएको छ: १. आफ्नो जिम्मेवारीबाट पन्छिने काम, २. डराएर वा परिस्थितिसँग हारेर भाग्ने काम वा आफ्नो डेग छाड्ने काम, सुइँकुच्चा।
तर देश र गाउँ बस्ती छाडेर अन्यत्र जाने कामलाई 'पलायन'को सम्बोधन अपमान हो। किनकि विदेश जाने कोही पनि आफ्नो जिम्मेवारीबाट पलायन भइरहेका मान्छेहरू होइनन्। उनीहरू परिस्थितिसँग हारेर सुइँकुच्चा ठोकेका पनि होइनन्। त्यसकारण, वैदेशिक रोजगारीमा जानेका लागि या गाउँ छाडेर शहर जानेका लागि यो शब्दको प्रयोग प्रथम दृष्टिमै अनुचित छ।
देश र गाउँवस्ती छाड्नुका दुई मुख्य पाटा हुन्छन्, एउटा पुल फ्याक्टर (आकर्षण) र पुस फ्याक्टर (आवश्यकता)। विदेश र शहरको जीवनले कसैलाई आकर्षित गर्यो, देश/गाउँमै जीवन चल्ने रोजगारी या अवसर हुँदाहुँदै पनि कोही थातथालो छाडेर हिँड्छ भने त्यहाँ पुस फ्याक्टरले काम गर्यो। विदेश अथवा शहरको आकर्षणले काम गर्यो। तर सत्य फेरि पनि के हो भने शहर या विदेशमा आफ्नो ठाउँमा भन्दा राम्रै अवस्था र अवसर भएकै कारण कोही त्यसतर्फ आकर्षित भएको हो।
आवश्यकताकै कारण देश/बस्ती छाड्नुपर्ने अवस्थाचाहिँ पुस फ्याक्टर हो। नेपालको सन्दर्भमा सम्भवतः पुस फ्याक्टरकै कारण धेरैले देश छाडे/बस्ती छाडेर काम/अध्ययन गर्न गएका छन्। जति वर्गीकरण गरेपनि आखिर आर्थिक समृद्धि र सुरक्षाकै कारण मान्छेहरूले आफू जन्मेखेलेको प्यारो ठाउँ छाडेका हुन्। आफ्ना प्यारा सन्तान, पति/पत्नी र बाआमा छाडेर विदेश लागेका हुन्। सामर्थ्यले पुग्थ्यो भने अहिले देशबाहिर रहेका धेरै युवायुवतीले आफ्ना प्रियजनलाई उतै लग्थे। सम्भव नभएर मात्रै नलगेका हुन्। सक्नेले लगेका छन्, परिवारै 'पलायन' भएका छन्।
देश या गाउँवस्ती छाडेर हिँड्नुलाई पलायन भन्ने अवधारणा "कुनै पनि हालतमा देश/गाउँ छाड्नुहुन्न, जस्तोसुकै अवस्थामा पनि आफ्नै कुल/वंश/राष्ट्र धानेर बस्नुपर्छ" भन्ने पुरातन-आदर्शवादी धारणा हो। एक प्रकारले भन्ने हो भने पुरानो युगको राष्ट्रवादी अवधारणा हो। तर बिस्तारै पुरानो युगका धेरै मान्यता बदलिँदै छन्। राष्ट्रवादको पुरानो परिभाषा धेरै संकुचित हुँदैछ। यस्तोमा हामीले विख्यात गायक जोन लेननले गाएको 'इम्याजिन देयर इज् नो कन्ट्री, इम्याजिन अल द पिपुल लिभिङ लाइफ इन पिस' (कल्पना गरौं, देशका सीमाहरू नहुन्, सबै मान्छे आनन्दले बाँचिरहेका होउन्) भन्ने गीतको मर्मलाई ख्याल गर्न सक्छौं। आखिर हामी जहाँ गएपनि आखिर धर्ती एउटै हो। हाम्रो आङमाथि उदाउने घाम एउटै हो। हाम्रो आँखालाई शीतल दिने चन्द्रमा एकै हो।
लेननको सो गीत आदर्शवादी र महत्त्वाकाङ्क्षी छ, तर त्यसको सपना साँच्चै महान् लाग्छ। सँगै, कुनै देश, धर्म वा जेसुकै नाममा कसैलाई मार्न नपरोस् भन्ने त्यस गीतको आशय छ। सबै मिलेर यो साझा धर्तीमा बाँच्न पाइयोस् भन्ने चेत बोकेको सो गीतले सबै खालका परिभाषित सङ्कुचनमुक्त साझा विश्वको परिकल्पना गर्छ। सनैसनै हाम्रो विश्व पनि सीमारहित त्यसै दिशातर्फ हिँड्न खोजेझैं बुझिन्छ। कमसेकम माइग्रेसनले त्यसको केही झलक दिइसकेको छ।
आज मध्यपूर्वका धेरै देशमा सैयौं देशका मान्छे एकै कम्पनीमा काम गरिरहेका भेटिन्छन्। एउटै सडक वा रेलमा कुदिरहेका भेटिन्छन्। उनीहरू कोही फोनमा 'रामराम' भनिरहेका हुन्छन्, कोही 'अहमदुलिल्ला।' कोही 'कुमास्ताका' भनिरहेका हुन्छन् त कोही 'ओली ओत्या' भनिरहेका हुन्छन्। यसरी विश्वका धेरै देश आज बहुपरिचयका साथ उभिएका छन्। फरक खाना, फरक उच्चारण शैली, फरक रूपरंग, तर बस्ने शहर एउटै। कुद्ने रेल र सार्वजनिक सवारी उस्तै। बिस्तारै पुराना राजनीतिक परिभाषा बदलिँदै गएका छन्। मध्यपूर्वकै कुरा गरौं, कति नेपालीका भारतीय 'पार्टनर' छन्, कतिका फिलिपिना। कतिले अफ्रिकनसँग सम्बन्ध विस्तार गरेका छन्। कतिले घरजम नै गरेका छन्। काममा समेत कतिका प्रिय साथी स्वदेशी नभएर विदेशी छन्।
जीवनमा दालभात र ढिँडोलगायतका परम्परागत खानबाहेक अरूथोक नचाखेकाहरूले अनेकन् देशका स्वाद चाख्न थालेका छन्। फरक भाषा र संस्कृति सिकेका छन्। 'पलायन भएका'हरू बिस्तारै यसरी समृद्ध बनेका छन्। तिनले आफ्ना सीमितता थाहा पाउने अवसर पाएका छन्। "फलानो धर्म त यस्तो र उस्तो" भन्ने 'थर्डह्यान्ड' ज्ञान पाएका तिनले सिधै फरक धर्म/संस्कृतिसँग अन्तर्क्रिया गर्ने अवसर पाएका छन्।
आर्थिक उपार्जन आफ्नो ठाउँमा छ, सार्वजनिक स्थानमा नाक कोट्याउनु गलत हो र त्यसो गर्नेबित्तिकै हातको सरसफाइ आवश्यक पर्छ भन्ने थाहा पाएका छन्। गुट्खा र चुरोट जहाँसुकै खानहुँदैन र फोहर जहाँसुकै फ्याँक्नुहुँदैन भनेर जान्न पाएका छन्। कतिले नियमित दाँत माझ्न र नुहाउनसमेत सिकेका छन्। प्रविधिको राम्रो प्रयोग गर्न सिकेका छन्। टुटेफुटेकै सही, उनीहरूले हिन्दी र टुटेफुटेको अँग्रेजी सिकेका छन्। सारमा भन्दा 'पलायन' एक अर्थमा धेरैका लागि विश्वविद्यालय बनेको छ।
तर पनि केही मान्छे "वैदेशिक रोजगारीले धेरै कुरा बिग्रियो" भन्दै यसलाई दुत्कार्छन्। सामाजिक अर्थमा वैदेशिक रोजगारीका केही दुष्परिणाम पक्कै छन्। बच्चाले बाउआमाको न्यानो मायाबाट वञ्चित हुनुपरेको र बल्दो उमेरमा यौवनको सुख छुटेलगायत विषय अवश्य छन्। अतिरिक्त सम्बन्धले सिर्जना गरेका द्वन्द्व र हिंसा पनि एकातिर छ, तर वैदेशिक रोजगारी ल्याएका सकारात्मक परिणाम पनि धेरै छन्।
रोजगारीमा लाग्नेका बालबच्चाले राम्रो लाउन खान पाएका छन्। पैसा भएपछि राम्रो शिक्षा र स्वास्थ्य सेवा मिल्ने सम्भावना बढ्ने भइहाल्यो। फेरि 'यही पाखामै सुन फलाउँछु' भन्नजति सहज छैन स्वदेशमा सुन रोप्न। फेरि कुनै पनि उत्पादनको बजार र व्यवस्थापन हाम्रोमा यति असहज र खर्चिलो छ कि सुनै रोप्दा पनि त्यो फलाममा रूपान्तर हुने डर छ। किन त्यसो हुन्छ भने थोरै क्षेत्रफलका खेत, बारी आदिमा हुने उत्पादनको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र घाटाजन्य हुनजान्छ। फेरि हाम्रो बजार आफैंमा सानो छ। यस्तोमा सुन फलाउने गफ गीत र कवितामा मात्र मिठो सुनिन्छ।
वैदेशिक रोजगारीमा जाने कुरालाई 'पलायन' भन्न छाडेर अवसरको खोजी भन्नुपर्छ। विदेश गएर देशमा पैसा पठाइ सहयोग गर्नेहरू 'पलायन' भएका होइनन्। बरु जिम्मेवार भएका हुन्। कोही स्थायी रूपमै विदेश गएको छ भने पनि उस/उनलाई मातृ-पितृभूमिको याद आउँछ। तिनको भावना यस ठाउँसँग जोडिएकै हुन्छ। उताभन्दा यता झनै राम्रा अवसर आउने अवस्था देख्दा ती भोलि फर्केर पनि पक्कै आउनेछन्।
फेरि, 'ब्रेन ड्रेन' सधैं कायम रहिरहन्छ भन्ने पनि हुँदैन। हाम्रा राजनीतिकर्मीहरूले मेहनतपूर्वक काम गर्न लागे भने भोलिका दिनमा देशको अवस्था फिर्न पनि सक्छ। हामी कमसेकम दक्षिण एसियाको राम्रो अर्थतन्त्र बन्न पनि सक्छौं। त्यस्तो अवस्थामा ब्रेन ड्रेन उल्टन पनि सक्नेछ। चीनमा त्यस्तो भएको छ। केही हदसम्म भारतमा पनि त्यस्तो भएको बताइन्छ। ब्रेनड्रेन खासगरी विपन्न र विकासोन्मुख देशको विश्वव्यापी चुनौती हो। तर त्यसो हुँदैमा देश छाड्नेलाई लाञ्छित गर्नु गलत हो।
मान्छे स्वभावैले अरूभन्दा अगाडि पुग्न र समुन्नत हुन चाहने प्राणी हो। अरूभन्दा निम्छरो हुनेबित्तिकै आफूले अनेक खाले उत्पीडन र शोषण सहनुपर्छ भन्ने बोध मान्छेमा छ। बिहे गर्न या सामान्य रोगको उपचार गर्नसमेत अरूसँग हात फिँजाउनु पर्नाको सकस सार्है ठुलो हो। अहिले पनि कैयौंसँग यस स्तरको विपन्नता छ देशमा। २०-४० वर्षअघि त यस्तो अवस्था अझ धेरैको थियो। तर अहिले वैदेशिक रोजगारीका अवसरले कैयौंका घर उज्याला भएका छन्, तिनका जीवनमा साँच्चै बहार आएका छन्।
रोजगार पाउने व्यक्ति र परिवारले विदेशी पैसा खेलाउन पाएका छन्। मिठो मसिनो खान पाएका छन्। बाआमालाई देश देशान्तर घुमाउन सकेका छन्। फरिया र मजेत्रोभित्र खुम्चने आमाहरू अचेल सहज वस्त्र र स्पोर्ट्स सुजमा विदेशका नदीकिनारहरूमा नातिनातिनासँग खेल्दै छन्। धेरैको जिन्दगीमा नयाँ क्षितिज उघ्रेको छ। यो सानोतिनो परिवर्तन बिलकुलै होइन। वैदेशिक रोजगारी र आप्रवासनले ल्याएको त्यो उज्यालोलाई नजरअन्दाज नगरौं। नयाँ युगमा धेरै विषयलाई नयाँ दृष्टिले हेरौँ।