
महिला- स्वामी नजाऊ छाडी विदेश…२
पुरुष- यस्तो राम्रो रमाइलो देश…२
छाडी जाँदैन म त विदेश…२
महिला- स्वामी नजाऊ छाडी विदेश…२
मित्रसेन थापामगर (१८९५ –१९४६) सहितले गाएको यो गीत आज पनि उत्तिकै सान्दर्भिक लाग्छ। अहिले आफ्नो लोग्नेलाई 'स्वामी' भन्नेहरू त कमै छन्, तर "विदेश नजाऊ न बुढा, यतै मिलेर दुख:सुख केही गरौँ न" भन्ने जोइहरू अझै भेटिन्छन्। भारत, हिमांचलका मित्रसेन थापामगर पछि 'मास्टर मित्रसेन'का रूपमा चिनिए, भारतीय गोर्खाली र नेपाली जनताको साङ्गीतिक मास्टर/आइकनका रूपमा छाए। भारतको हिमांचलमा जन्मेका उनको पुर्ख्यौली घर पर्वत जिल्लास्थित राखुखोला थियो। यिनका बाजे सुन्द्रु थापा मगर भारतीय सेनामा थिए। सुन्द्रु थापा युद्धताका काँगडा किल्लाभित्र परेका हुँदा त्यतिखेरदेखि नै यिनीहरू स्वतः भारतीय भूभागमा पर्न गएको बताइन्छ। सुन्द्रु थापाका नातिका रूपमा मित्रसेन भारतमा जन्मन पुगेका थिए।
सन् १८९५ मा हिमांचलको तोतारानीमा जन्मेका मित्रसेन सोह्र वर्ष नपुग्दै नेपाल (पाल्पा) की कलावती थापासँग विवाह गरे। मित्रसेनको पुर्ख्यौली घर पर्वत जिल्लास्थित राखुखोला थियो। उनी बेलाबेला पाल्पा र तोतारानी आउने-जाने गरिरहे। पछि पाल्पाको 'शीतलपाटी'बारे पनि उनले गीत गाए। नेपाली आधुनिक गीतसंगीतमा अत्यन्त पुरानो र श्रद्धेय उनको यो गीत भने उत्तिकै कालजयी छ, त्यसको सान्दर्भिकता आज पनि उत्तिकै छ:
पुरुष- धारामा चिसो भरौँला पानी…२
महिला- कोदो र फापर छरौँला स्वामी
कोदो फापर छरौँला स्वामी
पुरुष- आहा पहाडमा आनन्द रौँला
हामी पहाडमा आनन्द रौँला
महिला- स्वामी नजाऊ छाडी विदेश…२
हेर आफ्नै मुलुक छ वेश…२
स्वामी नजाऊ छाडी विदेश…२
आफ्नी किशोरी पत्नीसँग गाउँकै धारामा पानी थाप्दै, जंगलमा गाई बाख्रा चराउन जाँदै र जिस्किँदै जीवन बिताउनुपर्ने मित्रसेन बिहेलगत्तै सेनाको तालीममा गाँसिन पुगे। आफ्नी नवविवाहिततासँगै सिंगो परिवारको भविष्यको समृद्धि र खुसीकै रहरले उनी पल्टन छिरेका थिए। तनमनका रहर छाडेर भविष्य कल्पेर बिदेसिनु आज पनि धेरैको बाध्यता हो। सेनामा आबद्ध भएको तीन वर्ष लाग्दा नलाग्दै प्रथम विश्वयुद्ध सुरु भयो। यसबीच उनले अनेकन् युद्धमा भाग लिन पुगे। भारतीय गोर्खा लाहुरे उनी प्रथम विश्वयुद्धमा संलग्न भई युरोप, सिरिया र इराकसम्म लड्न पुगे उनी।
चार वर्षसम्म उनी तिनै लडाइँमा लडे। तर उनी थिए रौसे, गीत संगीतमा मन थियो। बन्दुक छाडेर उनी संगीतमा जोडिन चाहे। सात वर्षसम्मको कठोर सैनिक सेवाबाट अनेक उपाय रची बिदा भए। दोस्रो विश्वयुद्ध लडेर भारत फर्केपछि उनले अनेकन् अनगिन्ती गीत–सङ्गीत रचना गरे। उनका गीतहरू भारतको प्रसार भारती रेडियोमा बज्न थाले।
उति बेलाको उनको फौजी जीवन पक्कै पनि कष्टकर र रोचक दुवै थियो। सैनिक सेवाबाट फर्केपछि उनी साङ्गीतिक, साहित्यिक र सामाजिक गतिविधिमा लागे। मित्रसेनका पुराना गीतसंगीत नेपाली भाषीका अमूल्य सम्पदाका रूपमा रहेका छन्। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको’–गीत पनि उनकै हो, जसमा लाहुरेका कथाव्यथा समेटिएका छन्। उनले गाएका चर्चित गीतहरूमा 'आगे आगे तोपैको गोला, पछि पछि मेसिनगन बरर', 'अब त कान्छी जाऊँ क्यारे घर' 'मलाई त खुत्रुक्क पारो जेठान तिम्रो बहिनीले' लगायत छन्। उनको गीतलाई अल इन्डिया रेडियोले 'झाम्रे गीत' (गोर्खाली समुदायको गीत) का रूपमा परिचय दिएको बताइन्छ, पछि गएर त्यही झाम्रे शब्द अपभ्रंश भई झ्याउरे भएको बताइन्छ।
यस लेखको शीर्षक बनेको गीतलाई नै हेरौँ, जहाँ उनले जन्मेको गाउँको शान्त/सुखाय जीवनको चर्चा गर्दै लाहुरमा दुख र क्लेश हुने बताएका छन्:
पुरुष- अल्गो डाँडामा सानु गाऊँ हाम्रो
डाँडामा सानु गाउँ हाम्रो
महिला- जनम् भएको ठाउँ हाम्रो २
पुरुष- बिर्सिने पुर्खाको नाउँ हाम्रो
बिर्सिने पुर्खाको नाउँ
हुन्छ लाहुरमा दुःख कलेश…२
महिला- स्वामी नजाऊ छाडी विदेश २
पहिले पाकिस्तानको लाहोरसम्म गएर श्रम गरेर फर्केका नेपाली पहाडियाहरूलाई 'लाहोरे' भनिन थालेकोमा पछि सो शब्द अपभ्रंश हुँदै लाहुरे हुन गएको ठानिन्छ। देश छाडेर कमाउन जाने जोकोही पुरुषलाई लाहुरे भन्न थालियो। हुँदाहुँदा भारतीय गोर्खाली अंग्रेज सेनामा जागिर खाएकाहरूलाई नै लाहुरे भन्न थालियो। पहाडी जनजीवनमा विदेश गएर चिरिच्याँट्ट परेर ठाँटिएर हातमा घडी र सफा पहिरनमा बुट कसेर झोली तुम्बा बोकेर गाउँ फर्कनेलाई अब लाहुरे भन्न थालियो। देश छाडेर नेपालीहरू 'लाहुर जान थालेको' झन्डै २ सय वर्ष भएको जानकारहरूको बुझाइ छ। नयाँ पुस्ताको अलग कुरा, २०/२५ वर्ष काटेका धेरै नेपालीलाई लाहुरे शब्दको भाव थाहा छ।
तर अहिले विदेश जानेहरूलाई लाहुरे भन्न छाडिएको छ। विदेश आफैँमा रहस्यको विषय नभएबाट पनि विदेशको 'करिश्मा' पहिलेझैँ छैन, तर नेपालीको सहज रोजगारीको पहिलो विकल्प अब विदेश बनी नै सक्यो। स्वदेशको कमाइले थोरैमात्र नेपाली खुसी हुने स्थिति बनिसक्यो।
मित्रसेनको कुरा गरौँ, उनी सेनाबाट फर्केको केही वर्षमा हैजाका कारण उनकी श्रीमती र तीन जना सन्तानलाई हैजाले लग्यो। महामारीको क्रूर नियतिका कारण उनीलाई सम्हालिन गार्हो भयो। जीवनको बिछोड पनि कस्तो भने लाहुरबाट फर्केर रमाइरहेका बेला उनका कलिला सन्तान र बच्चाहरू बिते।
संगीत, पत्नी र बालबच्चाको यादले जागिर छिटै सक्काएर मित्रसेनहरू स्वदेश फर्केका थिए, तर अब त पत्नीहरूसमेत श्रीमानलाई छाडेर विदेश जाने युग आयो। मान्छे कोही अमर त आज पनि छैन, तर औषधी विज्ञानको प्रतापले आज पहिलेभन्दा मान्छेको मृत्युदर घटेको छ।
कतिसम्म भने स्वदेशमा दुधे बच्चा छाडेर, रसाएको आफ्नो दूधमाथि सोस्ने प्याड लगाएर काम गर्ने आमाहरू खाडी/मलेसियामा देख्न पाइन्छ। जापान र कोरियामा पनि त्यस्ता आमा पक्कै भेट्टाइएलान्। अहिले त युरोपका सडकतिर पनि प्रशस्त नेपाली देखिन थालेका छन्। दुःखका पुरानै आयाम अहिले नहोलान्, बन्दुक नै बोकेका नहोलान्, तर संसारका अनेकन् देशमा पुगेर नेपालीहरू जीवन संघर्षमा होमिएकै छन्।
यता बालबच्चा र आफ्ना जवान श्रीमान् र श्रीमती छाडेर विदेश जानुपर्ने बाध्यता धेरैलाई छँदैछ। सन्तानको हातको पानी पिएर तिनकै काँखमा मर्ने रहर कैयौँ बाआमाको अपूरो हुने गरेको छ।
मित्रसेनले गीतमा आफ्नै देशमा रहँदै धारामा चिसो भर्ने सपना देखेका छन्। शायद, हरेक विश्व नागरिकलाई सम्मानपूर्वक आफू खेलेको बाटो पँधेरो आसपासमै बस्ने रहर होला। उनले भनेझैं कति नेपालीलाई आफ्नै बारीमा कोदो र फापर छरेर ताजा र स्वस्थ खाने रहर होला। पहाडमा सँगै जंगल र खोला डुल्दै बैँसका रहरहरू पूरा गर्ने रहर कयौं जोडीलाई होला। 'आफ्नै देश छ वेश' भन्दै गीत गाउने रहर होला।
तर जीवन उमेरजन्य भावनामात्र होइन। समाजशास्त्रीहरू भन्छन्, मान्छेका सर्बथोक आर्थिक-सामाजिक विषयसँग जोडिन्छन्। जन्मेपछि बाँच्नुपर्छ। शिक्षादीक्षा प्राप्त गर्नुपर्छ। दुःख रोगव्याधी पर्दा खर्च गर्ने पैसा आवश्यक हुन्छ। उमेरजन्य चाहना र रहरमात्र नभएर कतिपय अवस्थामा पारिवारिक दबाब हुन्छ। बिहे र जायजन्म पनि गर्नैपर्ला। बालबच्चा जन्मेपछि तिनको पनि उपचार, खानपान र शिक्षादीक्षा! अहो, यो निरन्तरको चक्र कहिले पो सकिएला र! आफ्नै मात्रै कुरा गर्ने हो भने पनि बुढ्यौलीमा बाँच्न र उपचारका लागि केही सञ्चय पनि आवश्यक पर्छ। त्यसका लागि पनि उमेरमा केही कमाउनु आवश्यक छ।
तर यहाँ कमाउने अवसरहरू सहज छैनन्, कमाउने अवसर हुने ठाउँसम्म पुग्न पनि फेरि पैसा नै चाहियो। सोचिल्याउँदा जीवन जटिल चक्रव्यूहजस्तो! एक ठाउँबाट छिरेपछि सहजै पहिलेकै ठाउँ फर्कन कठिन। आफ्नै जन्मघरतिर सहज कमाई हुन्थ्यो भने भने मित्रसेनले भनेझैं 'जनम भएको अग्लो डाँडाको सानु गाऊँ'मै बसेर जीवनको लीला भोग्न पाइन्थ्यो। 'लाहुरमा दुःख कलेश' झेल्न जानु पर्दैनथ्यो।
गमेर ल्याउँदा पहिलेभन्दा लाहुर अहिले सहज छ। लाहुरबाट लाहुरेनी या लाहुरेहरू यताका आफ्ना परिवार र प्याराप्यारीसँग प्रविधिमार्फत बोल्न र देख्न मिल्छ। रुन र खुसी हुन मिल्छ, जबकि बिरानो ठाउँमा उहिले उहिले आफ्ना दुःख गुनासोलाई लिएर रुने र चिच्याउनेबाहेक अरू केही उपाय हुँदैनथ्यो। अहिले विदेशमा समेत मानवअधिकार र आप्रवासीका समस्या सुन्ने निकाय छन्। पहिलेभन्दा लाहुरको अनुहार र स्वभाव पनि बदलिएको छ। त्यसो हुँदा, स्वामी हुन् वा सुवासिनीहरू, यही माटोमा पसिना बगाऊँ भन्नेभन्दा विदेशमा गएर केही साल दुःख गरे जीवन केही समृद्ध हुन्छ भन्नेमै छन्।
सरकार, देशका सक्षम नागरिकहरूले छलाङ मार्ने खालको प्रयत्न नगरेसम्म यो चित्र बदलिन्छजस्तो लाग्दैन र तबसम्म यी गीतहरू पनि सार्थक नै रहिराख्नेछन्, किनकि जन्मभूमिको मोह र तृष्णा ज्यादै बलशाली हुन्छ। यस्ता गीतहरूले जहिल्यै हाम्रा मनहरू खिचिरहन्छन्।
