
मेरो जन्म सुर्खेतमा भएको थियो। गरिब र उत्पीडित परिवारमा जन्मिएकीले मेरो बाल्यकाल दुख र अभावमा बित्यो। सुर्खेत नेपालको विकट जिल्लामा गनिन्छ। त्यहाँ खासगरी पिछडिएका जातीका खासगरी युवती र किशोरीहरूलाई विभिन्न आश्वासनमा ललाई फकाई बेचबिखन र वेश्यावृत्तिमा समेत संलग्न गराइने गरिन्छ।
मैले सानैबाट आफ्ना गाउँघरमा, छरछिमेकका दिदीबहिनीले भोगेका त्यस्ता घटना सुनेकी र देखेकी थिए। सानैदेखि कतै मलाई पनि त्यस्तो पर्छ कि भन्ने कुराले सुर्ता लाग्ने गर्थ्यो। तर, मलाई आफू एक सक्षम व्यक्ति भएर आफ्ना गाउँसमाजमा घटेका घटनाको विरुद्धमा आवाज उठाएर केही गर्छु भन्ने अठोट थियो।
हाम्रो समुदायमा घटेका घटनाका कारण त्यस्ता घटनाहरूबाट बचाउन र सचेत गराउन विभिन्न सङ्घसंस्थाले छात्रवृत्तिमा काठमाडौँमा पढाउँदै आइरहेको छ। त्यस्तै एक संस्थाद्वारा प्रदान गरिएको छात्रवृत्तिमा मैले पनि काठमाडौँ आएर पढ्ने अवसर पाएँ।
म काठमाडौँमा कक्षा १२ मा पढ्दै थिएँ। त्यही क्रममा मेरो पारिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएको र मेरा वृद्ध बुबाआमाको लागि आर्थिक स्रोत केही नभएका कारण मैले विदेश गएर बुबाआमाको अनुहारमा खुसी दिन सकुँला कि भनेर सोचिरहेकी थिएँ। बाआमाका हामी तीन जनामध्ये ममाथि दुई जना दाजु हुनुहुन्छ।
तर उहाँहरूलाई बुबाआमाको उति चासो छैन। उहाँहरू आफ्नै सुरमा भारततिर बस्नु हुन्छ। त्यसो हुँदा मलाई आफ्नो बुबाआमा प्रतिको जिम्मेवारी बढी थियो। विदेश जान पाए भने छिटै परिवारको आर्थिक अवस्थालाई परिवर्तन गर्नेछु भन्ने सोच थियो। भर्खर २० वर्षको उमेरकी मेरो कमाउने भन्दा पनि पढेर भविष्य बनाउने समय थियो, तर मलाई त्यसो गर्न सम्भव थिएन।
यसै क्रममा एक जना नेपाली एजेन्टले 'दुबईमा रामो काम लगाइदिन्छु' भनेर मलाई विभिन्न खालका प्रलोभन देखायो। 'युएईमा राम्रो जागिरको अवसरहरू छन् र त्यहाँ जाने भए म भिसा र टिकटको तयारी गर्छु' भन्यो। मैले उसलाई विश्वास गरेर तयारी गर्न लागेँ। मैले सोधेँ, 'के कति खर्च लाग्छ?' तर एजेन्टले केही रकम तिर्नु नपर्ने, सबै व्यवस्था आफैँ मिलाउने जानकारी गराए।
केही दिनपश्चात् मेरो पासपोर्टमा भिसा लाग्यो। उडानको टिकटसमेत आयो। १५ जनवरी २०२३ का दिन म एयर अरेबियाको फ्लाइटमार्फत म युएई आए। मलाई एयरपोर्टमा लिनका लागि एक जना नेपाली आएका थिए।
उनले 'भोलिबाट मोबाइल चलाउन नपाइने' भनेर मलाई जानकारी दिए। मलाई डर लाग्यो। जाँदाजाँदै मसँग युएईको सिम हुने कुरा भएन। त्यसपछि केही दिन म सबैसँग सम्पर्कविहीन भए। ती नेपालीले मलाई अबुधावीको एजेन्सीमा लगेर छोडिदिए। उनले भने, 'तिमिलाई यहाँको एजेन्टले काम लगाइदिनुहुन्छ।' त्यहाँ अरू नेपाली दिदीबहिनी तथा अन्य देशका केही महिला पनि म जस्तै कामको खोजीमा आएका रहेछन्।
मलाई त नेपालको एजेन्टले दुबई पुग्ने बित्तिकै कम्पनीमा राम्रो कामको व्यवस्था छ भनेर ल्याएको थियो, तर त्यहाँ पुगेपछि मलाई थाहा भयो कि मलाई त घरको कामको लागि अर्कै 'आउटसोर्सिङ' (दलाल कम्पनी) कम्पनीमा बेचिएको रहेछ। त्यो थाहा पाउँदा एकदमै मलाई सार्है नराम्रो लाग्यो। त्यस अपरिचित ठाउँमा आफ्ना पिडा सुनाउन मेरा लागि कोही थिएन। मसँग युएईको सम्पर्क नम्बर पनि थिएन। त्यस एजेन्सीमा मजस्तै महिला कामदारहरूलाई ल्याएर राखिँदो रहेछ र कामको व्यवस्था भएपछि काम गर्ने घरमा पठाइँदो रहेछ।
म आएको १५ दिनसम्म काम फिक्स भएको छैन भनेर मलाई त्यही दलाल-एजेन्सीमा राखियो। मसँगै आएका दुई जना साथीलाई भने अगाडी नै कामका लागि कतै लगिसकिएको थियो।
अब सुरू भयो मेरो कहालीलाग्दा दिन। एक दिन मलाई काम लगाई दिन्छु भन्दै त्यही अफिसको एजेन्टले विभिन्न ठाउँमा लादै शारीरिक शोषण गर्यो। त्यसपछि म एकान्त ठाउँमा म कति रोएँ र कराएँ। तर मेरो वेदना र चित्कार त्यहाँ कसले सुन्थ्यो र? विरानो मुलुकमा म आफ्नो वेदना पोख्न कहाँ नै जान सक्थेँ र? जाने हिम्मत नै कहाँ थियो र?
मलाई फेरि त्यही एजेन्सीमा ल्याइयो। त्यहाँ नेपाली साथीहरूसँग मैले 'आफूलाई काम लगाइदिने एजेन्टले नै आफूलाई शारीरिक शोषण गरेको कुरा रुँदै सुनाएँ। म सँगै सबै साथीहरू मेरा दु:खमा पिल्पिलाए। उनीहरू आफैँ पनि मेरा लागि केही गर्न सक्ने अवस्थामा थिएनन्।
बिरानो देशमा आफ्नो शोषण भइरहँदा त्यसको प्रतिकार गर्न सक्ने अवस्थामा म थिइनँ। म मानसिक र शारीरिक रूपमा कमजोर भइसकेकी थिएँ। मलाई एक पटक मात्र होइन, तीन चार पटक नै कामको लाने भनेर शारीरिक शोषण गरियो। मैले अब आफू काम गर्न नसक्ने र मलाई नेपाल फर्काई दिन अनुरोध गरेँ, तर मलाई युएई दिराम ११ हजारमा घरेलु कामका लागि बेचिएको भन्ने थाहा भयो।
त्यसको केही दिनपछि मलाई युएईको अबुधाबी सहरको साउदी बोर्डर छेउ अल सिल्ला भन्ने एरियामा अरेबियन परिवारमा घरको कामको लगियो। त्यस घरमा सुरुका दिनमा सबैबाट मलाई राम्रै व्यवहार गरिएको थियो। काम पनि त्यति गारो थिएन। त्यस घरमा ३ जना कामदार राखिएका थिए। मेरो काम चाहिँ त्यस परिवारका साना छोराछोरीहरूलाई रेखदेख गर्नु र घरको सरसफाइ गर्नु थियो।
एक जना ईन्डोनेसियन कामदार पनि त्यहाँ थिइन्, उनीचाहिँ पूरै घरको सरसफाइ र लुगा कपडा धुने काम गर्थिन भने एक जना पुरूष कुक (खाना पकाउने व्यक्ति) पनि राखिएको थियो। त्यतिखेर पनि मलाई जून एजेन्टले शारीरिक शोषण गरेको थियो, उसले मलाई ह्वाट्सएपमा विभिन्न अश्लील फोटोहरू पठारहन्थ्यो र उसले गरेको शोषणबारे कसैलाई नभन्न दबाब दिइरहन्थ्यो।
मैले त्यस व्यक्तिले आफूलाई केही गर्ला भन्ने डरले ममाथि भएको शोषण धेरै समय कसैलाई भन्न सकिनँ। तर पटक पटकको उसको धम्की र दबाबले म मानसिक र शारीरिक रूपमा कमजोर भएँ। आफू काम गर्न नसक्ने जानकारी घर मालिक्नीलाई पनि गराए, तर उनले मलाई ११ हजार युएई दिराममा सिनेको र आफ्नो पैसा फिर्ता नदिउन्जेलसम्म कतै जान नपाउने बताइन्।
त्यस कुराले म झनै बढी मानसिक रूपमा कमजोर हुँदै गईरहेको थिएँ। काम गर्न पनि मन लाग्दैन थियो। धेरै चिन्ताले गर्दा एकोहोरो भैसकेको थिएँ। मलाई कामप्रति ध्यान नभएकाले साहुनीले सधैँ गाली गर्ने गर्थिन्।
म त्यही काम गर्ने घरमा पनि सुरक्षित रहिनँ। एक दिनको कुरा हो, म घरमा पुछपाछ गरिरहेका बेला पछाडिबाट आएर त्यस घरको कुकम्यानले शारीरिक शोषण गर्ने कोसिस गर्यो। उसले मलाई पछाडिबाट नराम्रा आशयले छुन खोज्यो। म कराएर कोठातिर दौडिएँ। उसले 'यो कुरा कसैलाई नभन, म तिमिलाई पैसा दिन्छु' भन्यो। उसले मप्रति गलत नियत राखिरहेको थियो।
यसरी पटक-पटक फरक ठाउँमा अरूको उत्पीडनमा पर्दा मलाई एकदमै असह्य भयो। त्यसपछि मैले आफूलाई भएका कुराहरू सेयर गरेर मलाई नेपाल पठाइदिन नेपालका आफन्तसँग आग्रह गरेँ। अहिले म नेपाल फर्किएको छु।
मलाई एकदमै नकारात्मक सोचहरू मात्र आउन थालेको त्यस समय यदि मलाई निरन्तर रूपमा साथ र हौसला दिने व्यक्ति नभएको भए आज म जिउँदो भएर नेपाल फर्कन सक्दिन थिएँ होला। मेरो जीवन बचाउन र मलाई हिम्मत बढाउन सहयोग गर्नु हुने सम्पूर्णप्रति म आभारी छु। विशेष गरी लभ एन्ड होप, माईती ईन्डीयाजस्ता सामाजिक संस्था र नेपाली राजदूतावास युएईप्रति आभार प्रकट गर्दछु। होप नेपाल र माईती इन्डिया टिमको पहलमा परराष्ट्र मन्त्रालय तथा नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धानको आवश्यक समन्वय तथा युएई, अबुधाबीमा अवस्थित नेपाली दूतावासको सहयोगमा मलाई उद्धार गरी नेपाल ल्याइएको हो।
हामी नेपालमा रहँदा र बेरोजगारीले तड्पिँदा परदेशलाई जसरी बुझिरहेका हुन्छौँ, त्योभन्दा धेरै फरक हुने रहेछ विदेशको वास्तविकता। हामी अरूहरूको फुर्तिफार्तिको जीवन देखेर आफ्नो जीवन पनि त्यस्तै होला भन्ने सोच्छौँ, तर सबैलाई एकैनास नहुने रहेछ।
बाहिरी जीवन र भित्री यथार्थमा धेरै फरक हुने रहेछर। मेरो जीवनमा घटेको जस्तो घटना कुनै पनि नारीले परदेशमा आएर भोग्न नपरोस्। कहीँ पनि भोग्न नपरोस्।
अर्को कुरा, मैलेझैँ कसैले पनि अन्य व्यक्तिलाई छिटो विश्वास नगर्नुहोला। अरूको प्रलोभनमा परी धेरै महत्वाकांक्षी सपना नदेख्नु होला। मैले यस्ता घटनाबारे पहिले धेरै देखेकी र सुनेकी थिएँ, तर आज त्यसको सिकार म स्वयं हुन पुगेँ।
मेरा जीवनमा जे भए, त्यस्ता घटना हुन नदिन नेपाल सरकारले नै पहलहरू गर्नुपर्छ। झुटो आश्वासन र प्रलोभनमा पारी बेचबिखनमा संलग्न एजेन्टलाई कारवाही गर्नुपर्छ। नेपाल सरकारले परदेश जाने महिलाका लागि सिपमूलक तालिम तथा भाषागत तालिम दिएमा यस्ता घटना केही हदसम्म कम हुन सक्छन्। दुर्गम ठाउँ र पिछडिएका वर्गलाई लक्षीत गरी जनचेतनामूलक कार्यक्रम आयोजना गरियो भने यस्ता घटनाबाट हाम्रा नेपाली दिदी बहिनीहरू पीडकहरूको सिकार हुनु पर्ने थिएन।
प्लस टुसम्मको अध्ययन गरेका कारण सामान्य बोलचालको अँग्रेजी भाषा मेरा लागि त्यति कठिन थिएन। तर पनि हामी नेपालमा रहँदा अङ्ग्रेजी भाषा त्यति धेरै प्रयोग गर्दैनौँ। त्यसो हुँदा विदेशमा नियमित रूपमा विदेशीसँग कुरा गर्न नसकिने हुँदो रहेछ। जबकि परदेशमा भाषा एकदमै महत्त्वपूर्ण हुने रहेछ।
यदि तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ भने महिला दिदीबहिनीहरूले सम्बन्धित देशमा बढी बोलिने भाषाको ज्ञान लिएर जान अनुरोध छ। त्यसो गर्दा समस्या परेको बेला आफ्ना समस्या दोस्रो भाषीसँग व्यक्त गर्न पनि सहज हुन्छ। आफ्नो कुराहरू व्यक्त गर्न बुझाउन सहज हुन्छ।
त्यसैगरी अर्को महत्त्वपूर्ण कुरा, विदेश जाने तयारीमा हुने सम्पूर्णले सम्बन्धित देशमा रहेको नेपाली दूतावासको सम्पर्क नम्बर, हटलाइन नम्बर र नेपाल परराष्ट्र मन्त्रालयको सम्पर्क नम्बर डायरी तथा मोबाइलमा राख्ने गर्नुपर्छ। त्यसो गर्दा हामीलाई गन्तव्य मुलुकमा पुगिसकेपछि केही समस्या आइपरेमा सम्पर्क गर्न सहज हुनेछ।
(मानव तस्करको चङ्गुलमा परेर युएई पुर्याएर बेचिएकी एक नेपाली युवतीले आफूले भोगेको अनुभवको सम्पादित अंश।)
सोचे जस्तो छैन परदेश :
५ वर्षमा ७ सय ६४ मानव बेचबिखनका मुद्दा
मानव बेचबिखन अनुसन्धान ब्युरोले बिस २०७५ देखी २०७९ फागुन सम्म ४ सय ८३ जना मानव बेचबिखनमा परेका व्यक्तिहरूको विदेशबाट उद्धार गरेको छ । जसमा २३८ जना महिला र ३४ जना बालिका रहेका छन् । मानव बेचबिखनमा महिला मात्र परेका छैनन् । यही अवधिमा १सय ९४ पुरुष र १७ जना बालकलाई पनि उद्धार गरिएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीका अनुसार पहिले भन्दा मानव बेचबिखनका उजुरी घटे पनि नयाँ–नयाँ प्रकृतिका घटनाहरू आउन थालेका छन् । पंगेनी भन्छन्, ‘बिस २०७५ देखी २०७९ फागुन सम्म नेपाल भर ७ सय ६४ वटा मानव बेचबिखनका मुद्दा परेका छन्, जसमा १ हजार ७ जना महिला र १ सय ११ जना पुरुष पीडित भएका छन् । यी मुद्दामा ७ सय ४ जना पुरुष र २ सय ९५ महिला अभियुक्त पक्राउ परेका छन् भने अझै ४ सय ७८ पुरुष र १ सय ७३ महिला अभियुक्त फरार छन् ।’
पंगेनी थप्छन्,‘ पछिल्ला समयमा महिलाहरूलाई विदेशमा राम्रो काम र पारिश्रमिकको आशा देखाएर लाने गरिएको र त्यहाँ पुगेपछि बिचल्ली पार्ने, बेच्ने, शारीरिक शोषण गर्ने लगायतका अमानवीय व्यवहार गर्ने गरेको देखिएको छ । अझ कामदार भिसामा समय लाग्ने हुँदा भिजिट भिसामा लैजाने, युरोप, अमेरिका, क्यानडा लगायत देशमा पठाउने आश्वासनमा ट्रान्जिट देशमै लगेर छोड्ने र त्यतै शोषणमा पारिने गरिएको छ । त्यसबाट बच्न विदेश जाने व्यक्तिले म कुन प्रक्रियाबाट कुन देशमा जाँदै छु र यसबाट पर्न सक्ने जोखिम के के हुन सक्छन् भन्नेबारे पहिल्यै सोच्नु पर्दछ ।’