अर्घाखाँची जिल्लाको सामान्य गाउँले परिवारमा मेरो जन्म २०५२ सालमा भयो। २०५२ त्यो ऐतिहासिक वर्ष हो, जतिखेर नेपाली समाजमा ठूलो उहापुह ल्याउने गरी माओवादीहरूले आन्दोलन सुरु गरेका रहेछन्। सामान्य गाउँले केटीमा रूपमा म हुर्किएँ, परिवारको कमजोर आर्थिक अवस्थाका कारण, परिवारकै दबाबका कारण कलिलै उमेरमा मेरो बिहे २०७१, चैत्र ६ गते भयो। मेरा पति उमेरमा मभन्दा २२ वर्ष जेठा थिए। म १५ वर्षको हुँदा मेरो श्रीमान् ३८ वर्षको हुनुहुन्थ्यो। बिहे भएको एक वर्ष पछि २०७२ सालमा मेरो छोरी जन्माएकी थिइन्, जति बेला म १७ वर्षको थिए। कानुनी रूपमा पनि मेरो विवाह पूर्णतया बालविवाह थियो।

हाम्रोजस्तो समाज! बिहे र बुहार्तनपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिन सम्भव भएन। घरको कमजोर आर्थिक अवस्थाका कारण बच्चा छाडेरै भए पनि विदेश जाने सोच आयो। आफ्नो र छोरीकै लागि पनि केही गर्नुपर्छ भन्ने ठानी म पासपोर्ट बनाउन जिल्लाको सदरमुकाम सन्धिखर्क गएँ। यो २०७१ सालको कुरा हो। म १६ वर्षको हुँदा अर्थात् २०७२ सालमा छोरीको जन्म भएको हो। २०७२ साल त्यो ऐतिहासिक क्षण हो, जतिखेर देशले नयाँ संविधान पाएको थियो।

त्यति बेला मेरो साथमा श्रीमान् हुनुहुन्थ्यो। जिल्लामा पासपोर्ट बनाउन अलि समय लाग्ने भएकाले जिल्लाबाट सिफारिस लिएर हामी दुवै जना काठमाडौँ लाग्यौँ। पासपोर्ट बनाएको केही महिनापछि मैले माल्दिभ्स र यूनाइटेड अरब इमिरेट्समा भिसाको आवेदन दिएँ, तीमध्ये युएइको भिसा छिटो आएकाले मैले युइइको दुबई शहर आउने निर्णय गरेँ। उतिखेर मेरा श्रीमान् दुबईकै कुनै कम्पनीमा काम गर्थे।

कम्पनी/हाउसमेड (अहिले म हाउसमेड भिसामा घरमा काम गर्छु युएईमा)

दृढ निश्चय गरिसकेका कारण आफ्नो सोच बदल्ने विचारमा म थिइनँ। जस्तो सङ्घर्ष गर्नु परे पनि आफ्नो र छोरीको भविष्यको निम्ति म बिदेसिन तयार थिएँ। मैले युएईका लागि कामदार भिसामा धेरै प्रयास गरेँ, तर धेरै समयको पर्खाइसम्म पनि कतै उपाय नलागेपछि भिजिट भिसामा नै भए पनि छिर्छु भन्ने सोच लिएर भिजिट भिसाको लागि सबै पैसा र आवश्यक कागजात तयार गरेँ। नेपालमा एजेन्टको माध्यमबाट दुबईमा काम नहुन्जेलसम्म खाना बस्नको व्यवस्था टिकटको हिसाब गरी तीन लाख ९५ हजार बुझाएर आजभन्दा करिब चार वर्ष अघि २०१८ मार्च २८ मा (२०७४ चैत्र १४) मा म भिजिट भिसामा युएई आएँ।

श्रीमान् पनि दुबईमा कार्यरत भएका कारण दुबई मेरा लागि सही गन्तव्य हो भन्ने मैले ठहर गरेको थिएँ। मैले विदेश जानका लागी आफ्नो गाउँमा भएका विभिन्न समूहबाट ब्याजमा पैसा लिएको थिएँ। साथै. एक जना दिदीले आफन्तमार्फत एक लाख दिलाइदिनुभएको थियो। यो सबै पैसा मैले चर्को ब्याज दरमा तिर्ने सर्तमा लिएको थिए।

एकातिर विदेश कस्तो होला भन्ने खुल्दुली भएका कारण देशबाहिर पुग्ने रहर ममा थियो, अर्कोतिर बाध्यता पनि। मेरा रहर र हरेक इच्छाका साथमा मेरो छोरी थिइन्। अहिले छोरी ८ वर्षकी भइन् र उनी काठमाडौँ, काठमाडौँको वनस्थलीको एक विद्यालयमा मेरो आमाको साथ र सहयोगमा अध्ययनरत छिन्। हामी छोरी मान्छेलाई त्यसमा पनि खाडी मुलुक भन्ने बित्तिकै घर, परिवार र समाजका व्यक्तिहरूले प्रश्न तेर्स्याउने नै भए। माइतीतर्फबाट मलाई पनि विदेश नजान आग्रह गरियो, तर पनि मलाई आफ्नो भविष्यको चिन्ताले बढी सताएको थियो, आफ्नो अडान छाडिनँ।

दुबई आइसकेपछिका मेरो दिन

दुबई आएको २५ दिनमा मैले एक जना नेपाली दिदीमार्फत एक भारतीय परिवारको घरमा घरेलु कामदारका लागि जागिर पाएँ। तर त्यस घरमा काम गरेका क्षण मेरा लागि कहाली लाग्दा रहे। अहिले सम्झँदा पनि मेरा आँखाबाट आँसु खस्छन्, कहालिन्छु।

त्यस घरमा एक महिना सम्मत मलाई राम्रै व्यवहार गरिएको थियो, तर जब त्यस घरकै कामदारका रूपमा मेरो भिसा लाग्यो, त्यसपछि भने घरपरिवारले अत्याचार गर्न थाल्यो। मैले त्यहाँ जति नै मेहनत र इमानदारीका साथ काम गरे पनि जस पाइनँ। उल्टो अपजस अपमान हुन थाल्यो। "तैँले राम्रो काम गरिनस्" भनेर मलाई मानसिक पिडा दिन थालियो। उनीहरूले मलाई कैयौँ दिन त खाना र पानीसमेत दिएनन्। बाथरुमको पानीसमेत पिएर आफ्नो प्यास मेटेँ। जबकि दुबईमा धाराको पानी खानु स्वस्थ्यकर ठानिँदैन। त्यतिसम्म मलाई नियन्त्रित गरिएको थियो।

मलाई लाग्छ, लेखेर मेरा पीडा लेखिन्नन्। मनभित्र थुप्रिएका पीडालाई जाबो अक्षरले कति नै भन्न सक्ला र? त्यसैले म आफ्ना पिडाहरू लेखेर यहाँ व्यक्त गर्न सक्दिनँ। त्यस घरमा रहँदा समयमा आफ्नो तलब नपाउने समस्या थियो, तलबकै निम्ति मैले धेरै सङ्घर्ष गर्नुपर्थ्यो। पैसा नभएकाले र घरभित्र बन्दीझैँ घरभित्र थुनिएकाले मन लागेका कुरा किनेरै खान पनि पाइनँ। मलाई त्यस घरबाट बाहिर फेर जानका कहिल्यै बिदा मिलेन।

बेलाबेला साथीहरूले फोन/मेसेज गरेर 'सीता के छ?' भन्नुहुन्थ्यो। मैले आफ्नो दुख कसलाई देखाउनु? म रुँदै बसेको भए पनि फोनमा हाँसेर "सबै ठिकै छ, खुसी छु" भनिदिन्थेँ। त्यस घरपरिवारले मलाई दिएको कष्ट र यातनाबारे साथीभाइ र आफन्तलाई बताउन सक्ने तागत ममा थिएन। कसैलाई भनिहालौँ झैँ लागे पनि उनीहरूले मेरो कथा थाहा पाएपछि झनै मेरै अपमान गर्लान् या मलाई नै दोषी पो देख्लान् कि भनेर आफ्नो दुख बाँड्न सक्दैनथेँ।

म नरोएको सायदै कुनै रात थिएनन् होला। आफ्ना साहु साहुनीसँग कति रोएँ, कराए तर कहिले राम्रो साथ, सहयोग र माया पाइनँ। म मानसिक रूपमा पुरै विक्षिप्त भैसकेको थिए, किनकि म आफ्नै निर्णयले विदेश आएको थिएँ। मलाई आफ्नै परिवारको त साथ थिएन भने अरू कसले मेरो भावना बुझ्ला र भन्ने लाग्थ्यो। जेलको बन्दीजस्तो पिडादायी जीवन जिउनुभन्दा आत्महत्या गर्छु भनेर कैयौँ पटक असफल प्रयास गरेँ।

त्यस घरमा मलाई दिन प्रतिदिन कामका कुराहरू लिएर मानसिक तनाव दिन थालियो। त्यस घरमा काम गरेको १८ महिना पछि मलाई झुटा आरोप र लाञ्छनाहरू लगाई फसाउन खोजियो। मैले दुबई मा नै गुल्मीका दाइ भाउजू चिनेको थिएँ। त्यो घरबाट भागेर हारगुहार गर्दै उहाँहरूकोमा गएँ। मेरो केही महिनाको तलब र मेरा सबै कागजात छाडेर त्यहाँबाट निस्कन बाध्य भएँ। मैले आफूमाथि भएका चरम यातनालाई कोही माझ पनि खुलेर व्यक्त गर्न सकिनँ।

मैले त्यति धेरै पिडा हुँदा पनि सहन बाध्य हुनुको एउटै कारण थियो, मेरो चर्को ऋण। गाउँबाट चर्को ब्याजमा ऋण लिएर परदेश आएको थिए। त्यही ऋण तिर्नकै लागि भए पनि अझै केही वर्ष विदेशमा बस्नुपर्ने बाध्यता थियो, किनभने स्वदेश फर्कँदा पनि मेरा लागि कुनै सहज रोजगारी पाइने सम्भावना थिएन।

यता विदेशीको दुर्व्यवहार त सहेकै थिएँ, एउटै शहरमा रहेको लोग्ने पनि मेरो भावना सुन्ने साथी बन्न सकेको थिएन। श्रीमानले मेरा बाध्यता र परिबन्दलाई बुझ्न सकेको थिएन। सोही कारण ममाथि निरन्तर उसले शंका गर्थ्यो। उ कम्पनीमा, म अर्कैको घरमा घरेलु मजदुरका रूपमा। यस्तो भँगालोमा हेलिएकी मैले आफ्ना दुख बिसाउने साथी कहीँबाट नपाउँदा झनै निराश थिएँ। आत्तिएकी थिएँ।

मेरो माइतीलाई बताऊँ भने 'विदेश गएकी छोरी, त्यसमाथि अर्काको घरमा काम गर्ने!' माइतीका कुरा नमानेरै विदेश आएका थिएँ, उनीहरूलाई पनि आफ्ना दुखका कुरा बाँड्न मन लागेन। एक कान, दुई कान मैदान होला भनेर मैले माइतीलाई आफ्नो पिडा सुनाउन सकिनँ, किनकि मेरो परिवारलाई पनि मेरो भन्दा बढी चिन्ता त समाजले के भन्ला भन्ने चिन्ता थियो। तथाकथित इज्जतको थियो। मान्छेलाई समाजको डरले कतिसम्म गाँजेको हुन्छ भन्ने कुरा मैले बुझेको छु। समाजको डरले कस्ता-कस्ता अत्याचार सहेर मान्छे बाँच्न विवश छ भन्ने कुरा पनि बुझेको छु।

यता म काम गर्ने घरको ताडनाबाट त्रस्त हुन्थेँ, उता दुबइमै रहेको श्रीमानले फोन गर्दा तत्कालै फोनसमेत उठाउन मिल्ने अवस्था हुन्थेन। कामको व्यस्तताले श्रीमानलाई समय दिन सक्दैनथेँ। त्यसैमाथि पितृसत्तात्मक सोचले ग्रस्त पुरानो समयको लोग्ने मान्छे, त्यसमाथि अरूको घरमा काम गर्न बसेकी श्रीमतीले समयमै फोन नउठाउनु! श्रीमानले गरेका शंका र लगाएका वचन सम्झी साध्य छैन।

उनले मेराबारे माइतीलाई समेत फोन गरेर ममाथि यौनजन्य आरोप लगाए। यता यातना त भोग्नै पर्थ्यो, आफ्नै श्रीमानसमेतको अनुचित शंका र आरोपले म भित्रभित्रै जलिसकेको थिएँ। मेराबारे मेरा श्रीमानले सर्वत्र गलत हल्ला चलाए। त्यति भइसकेपछि मलाई आफन्त र साथीहरूसँग पनि बोल्न मन लाग्न छाड्यो। विदेशमा रहेको मैले कति जनालाई स्पष्टीकरण दिन सक्थें र! कुनै गलत कर्म नगरेकी मैले के त्यस्तो स्पष्टीकरण दिन आवश्यक नै थियो र?

विवाहित महिलाको जीवनमा श्रीमानको साथ, सहयोग, हौसला र मायाले आत्मविश्वास र सुखपूर्ण जीवन सम्भव हुन्छ, तर मेरो जीवनमा उल्टो भइदियो। घरेलु काममा न कामको कुनै दायरा हुन्थ्यो त न कुनै समय। साहु साहुनीले जति बेला काम गर भन्यो, त्यति नै खेर जस्तो सुकै काम गर्नुपर्थ्यो। समयमा काम गर्न नसक्दा कुटिन्थ्यो, कपाल लुछिन्थ्यो, दुर्वचन बोलिन्थ्यो। तर जस्तोसुकै कष्ट र यातना सहन विवश थिएँ किनकि मेरो जाने कुनै ठाउँ थिएन, घर फर्केर मैले सुख पाउन्नथेँ किनकि आएपछि लिएको ऋण तिर्नै पर्थ्यो।

गरिब परिवारमा जन्मिएकी मलाई जीवनमा केही गर्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने लाग्थ्यो। आफ्ना अनेकौँ इच्छा र चाहानालाई उडान भर्न आएकी म, तिनलाई मारेर बस्न विवश थिएँ। तर मैले हार मान्न उचित ठानिनँ। मन मस्तिष्क टुटे पनि केही आसाहरू बाँकी नै भएकाले अहिले पनि लडिरहेको छु। बाहिर हेर्दा सबै ठिक भए पनि भित्र टुटेकी छु तर हार मान्ने छुट मलाई छैन। असह्य भएपछि श्रीमानबाट अलग्गिएकी म अहिले पनि दुबइमै छु।

विदेश आउन चाहने दिदीबहिनीलाई मेरो सुझाव

विदेश आउनु पूर्व धेरै कुरा बुझेर मात्र यहाँ आउनुहोला। परिवार र श्रीमानलाई आफ्नो कामको प्रकृतिका बारेमा पहिल्यै बुझाउनुहोला। घरको काममा कुनै समयको सीमा हुँदैन। एकदमै सभ्य र समझदार परिवार परे मात्र, नत्र परिवारका सदस्य या श्रीमानले फोन गरेको बेलामा समेत हत्तपत्त फोन उठाउन सहज नहुन सक्छ। नेपालको र खाडी मूलकको समय फरक पर्ने हुँदा यता आफू फ्रि हुँदा नेपालमा परिवार व्यस्त हुने र आफू व्यस्त हुँदा नेपालमा परिवार फ्रि हुने हुनसक्छ। भनेको समयमा कुरा गर्न नमिल्न सक्छ। साना साना कुराहरूबाट मनमुटाब सुरु भई पछि पारिवारिक सम्बन्धमा टुटफुटसम्म हुने गर्छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका परदेशका देखावटी फोटो र भिडियोहरू देखेर परदेशमा सुखै सुख रहेछ, जीवन रमाइलो भन्ने ठानेर नआउनुहोला। विदेश आउने धेरैले फेसबुक र सामाजिक सञ्जालमा आफ्ना दुःखका कुरा राख्दैनन्। सफा बाटो, बगैँचा, ठूला भवन र चिल्ला गाडीका फोटो देखेर नझुक्किनुहोस्। त्यसैले आफ्नो कोही नभएको ठाउँमा अवश्य पनि सङ्घर्ष गर्न सक्छु भन्ने सोच बोकेर र कानुनी रूपमा श्रम स्वीकृति लिएर जाने देशको काम, सिप र भाषा बुझेर मात्र विदेश आउनुहोला। 'भिजिट भिसामा राम्रो काम लगाई दिन्छु' भन्ने एजेन्टको आश्वासनमा परेर आउँदा मैले पाएजस्तो दुःख कसैले नपाउन्।

परदेशमा पनि पाइला–पाइलामा ठग्ने मान्छेको कमी छैन। पाइला पाइलामा ठेस खानु पर्छ। त्यसैले विदेश आउनु अघि सबै बुझेर, जानकारी लिएर मात्र आउने गर्नु होला।

विदेशिने नेपाली महिला श्रमिकहरूको तथ्यांङ्क कस्तो छ ?

जुलाइ १७, २०२१ देखी जुलाइ १७, २०२२ सम्म श्रम स्वीकृति लिएर खाडी राष्ट्र र मलेसिया जाने महिला कामदारहरूको तथ्याङ्क हेर्दा विदेशिने महिलाको सङ्ख्या मध्ये युनाइटेड अरब इमिरेट्स (युएई)मा सबै भन्दा बढी २१ हजार एक सय ८९ जना गएको देखिन्छ। वैदेशिक रोजगार विभागको तथ्याङ्कले नेपाली महिला श्रमिकहरूको गन्तव्यमा दोस्रोमा कतार ७ हजार एक सय ३८ जना, तेस्रोमा कुवेत पाँच हजार तीन सय ६५ जना त्यस पछि मलेसिया एक हजार चार सय ६४ जना परेको देखिन्छ। त्यस्तै, बहराइनमा एक हजार सात जना, ओमानमा आठ सय ८५ जना र साउदी अरबमा सात सय २६ जना महिला श्रमिक साथीहरू गएको देखिन्छ। श्रम स्वीकृति लिएर खाडी राष्ट्र र मलेसिया जान घरेलु कामदारहरूलाई रोकिए पनि विभागसँग कस्ता कस्ता कामका लागी ती महिलाहरू गए भन्ने यकिन तथ्याङ्क छैन।

विभागमा महिलाहरूका उजुरी धेरै कम आउँछन्–कृष्ण प्रसाद भुसाल (प्रवक्ता–वैदेशिक रोजगार विभाग)

वैदेशिक रोजगारीका लागी खाडी राष्ट्र र मलेसिया जाने क्रममा वा गन्तव्य मुलुकमा पुगेपछि समस्यामा वा ठगीमा परेँ भनी उद्धारको लागी उजुरी आउने क्रममा महिलाहरूको उजुरी एकदमै कम आउने गरेको विभागका प्रवक्ता कृष्ण प्रसाद भुसाल बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ, ‘जोर्डन बाहेकका मुलुकहरूमा श्रम स्वीकृति लिएर जाने घरेलु कामदार भिसामा जान रोकिएको र पुरुष श्रमिकको अनुपातमा १० प्रतिशतका हाराहारीमा मात्र महिला कामदार बिदेसिने देखिएकाले सायद महिला श्रमिकका धेरै कम उजुरी आएको होला।' उहाँ थप्नुहुन्छ ‘श्रम स्वीकृति लिएर जाने कामदारको मात्र उजुरी लिने गरेकाले पनि भिजिट भिसामा गएर समस्यामा पर्ने वा तेस्रो मुलुक प्रयोग गरी अवैधानिक तरिकाले जाने महिला कामदारको समस्याहरू विभागमा आउँदैनन्। तर महिला कामदारहरूको समस्याहरू पहिले भन्दा अलि कम भएको पनि हो कि भनेर तथ्याङ्कहरूले पनि देखाएको छ।’

विदेश गएका महिला श्रमिकहरूले समस्यामा परे कहाँ, कसलाई र कसरी सम्पर्क गर्ने भन्ने प्रश्नमा भुसाल भन्नु हुन्छ, वैदेशिक रोजगारीलाई सुरक्षित र श्रमिक मैत्री बनाउने क्रममा गन्तव्य मुलुकमा कुनै समस्या परेमा श्रमिकहरूले २४ सै घण्टा विभागको हटलाइन नं–००९७७–९८५१३३४१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै ती समस्यामा पर्ने श्रमिकहरूका परिवार, आफन्त वा साथीभाइ जो कोहीले पनि आवश्यक कागजात सहित वैदेशिक रोजगार विभागमा उजुरी दिन सक्नु हुनेछ।