
मामाले दशैंमा दिएको नयाँ जिन्स,
गला तन्केको, नाभीभन्दा थोरै तल सानो प्वाल परेको टि-सर्ट,
परार साल आमाले खसि बेचेर किनिदिएको कटन पेन्ट,
घुँडाबाट फाट्न थालेपछि आँफैले रचेकाे हाफपेन्ट,
बाबुले जन्मदिनमा किनीदिएको हातको बाहुलामा
बटम नभएको कमिज,
दुईवटा फित्ता भएको सानो झोलामा पोको पारेर,
अनि फर्कँदा ठूलो सुटकेसमा बच्चालाई खेलौना,
जहानलाई मोबाईल, आमालाई धोती,
बाबुलाई भित्ते टिभी!
र, छिमेकीलाई खजुर भरेर
ल्याईदिने आश्वासन सहित,
भर्खरै दलाललाई दिएर बचेको पैसाले
भृकुटीमन्डपबाट किनेको
पोलो टि-सर्ट र स्ट्रेचेबल पेन्टमा
ठाँटिएर हिँड्यो उ झोलाभन्दा पनि ठूलो सपना बोकेर!
सँधै घरमाथिबाट आधारातमा
गाउँ नै थर्काउने गरी उड्ने बिमान!
त्यही बिमानमा चढ्न पाएकोमा
आफूलाई भाग्यमानी ठान्याे उसले।
तर परदेशकाे एयरपोर्ट झर्ने बित्तिकै,
तातो हावासंगै मन गरुङ्गो भयो उसकाे।
अनि कतै टाढाटाढा अनकन्टार मरुभूमिमा
आकाश हुँदै आँफू आउँदाको बाटो हेर्याे।
चारैतर्फ फर्केर उसले आँफै अनुमान लगायो
मेरो देश... उ.....उता होला!
याे लाहुरमा उसकाे घरमा बाख्रा थुन्ने खोरभन्दा
साँघुराे सुत्ने ठाउँ,
गोठमा कुँडो बनाउने ठाउँभन्दा फोहोर भान्छा,
अनि तेल परेका प्लास्टिकका पाेकामा अमिलिएका खाना
गाउँमा पिएको लोकल झोलभन्दा पनि कम पानिसँग निल्दै गर्दा,
पहिले चोटी धिक्कार्याे आँफूलाई आँफैसँग।
दिनभरिको तालु पग्लिने चर्को घाम,
रातभरीको रगत जमाउने चिसो एसी,
आफ्नै छेउमा हिजाे सँगै सुतेको साथी,
बिहान चिसाे मुढाे भएको देखेर,
उसले फेरी धिक्कार्याे आफूलाई।
आफ्ना सपनामा खाडिको घामले एकएक गरी
आगो लगाएपछि उ अर्थात् श्रमबहादुर
आजकल त धिक्कारलाई धरी धिक्कार्छ।