
गएको अप्रिल १९ मा मेरो फेसबुक मेसेन्जरमा धेरै वर्षपछि सँगै स्कुल पढेको साथीको मेसेज आयो। सँगै स्कुल पढेको भएता पनि एसएलसी पछि साथीहरूसँग त्यति सम्पर्क हुन पाएको थिएन। जसले म्यासेज गरेकी थिइन्, उनीसँग पनि मेरो दसौँ वर्ष भएको थियो सम्पर्क नभएको। उनले मेसेजमा लेखेकी थिइन, ‘मेरो श्रीमान पनि यूएईमै हुनुहुन्छ। हिजो आइतबार बिहानबाट उहाँसँग कुरा भएको छैन। आज मंगलबार भैसक्यो। म एकदमै आत्तिएको छु । उहाँको मोबाइल पनि स्विच अफ छ । धेरै पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन। मेरो भाई नि त्यहीँ छ। भन्न त मैले भाइलाई पनि भनेको छु–भिनाजुको नम्बरमा सम्पर्क हुन्छ कि, गर्दै गर है भनेर, तर कतैबाट पनि अहिलेसम्म सम्पर्क हुन नसकेको कारण तिमिलाई सम्झिएको।’ उनले रूँदै थपिन्,‘तिमि केही संघसंस्थामा आबद्ध भएको छौ भन्ने सुनेर तिमीले सहयोग गर्न सक्छौ कि भन्ने आसाले तिमिलाई सम्झिएँ।’ र, उनले त्यसपछि पनि धेरै पटक आफ्नो श्रीमानको खोजी गरिदिन भनेर मलाई सम्पर्क गरिरहिन्।
‘हामी सकेजति सहयोग गर्छौँ’ भनेर मैले उनलाई सहानुभूति दिएँ। हामीले धेरैतिर उनको श्रीमानको खोजी कार्यको लागि कुरा गर्यौँ। तर उनले मलाई सम्पर्क गरेको तीन÷चार दिन बित्दा पनि कतैबाट सम्पर्क नभएपछि भने अब नेपाली राजदूतावासमा अबुधाबीमा सम्पर्क गर्नुपर्छ भन्ने लाग्यो। किनकि मेरी साथीको श्रीमानले काम गर्ने कम्पनीमा पटक पटक कल गर्दा सम्पर्क हुन नसकेपछि अब नेपाली दूतावासमा सम्पर्क गर्दा मात्रै थप कुरा बुझ्न सकिएला भन्ने लाग्यो। र, नेपाली दुतावासमा सम्पर्क गर्ने सोच बनाएकै दिन दिउसो तिन बजेतिर मलाई फोन आयो। फोन मेरै साथीको भाइको रहेछ। उसले फोनमा भन्यो, ‘दिदी अब भिनाजुलाई खोज्नुपर्दैन। सानीमालाई फोन आएको रहेछ।’ मैले राम्ररी उसको कुरा बुझिनँ। मलाई लाग्यो शायद, मेरी साथीको श्रीमान आफैँले फोन सम्पर्क स्थापित गरेछन् भन्ने लाग्यो। तर साथीको भाइले उताबाट एकैचोटि भक्कानिएर भन्यो, ‘दिदी भिनाजु इज् नो मोर।’ साथीको भाइले त्यसो भन्दा म आफैँ झस्किएँ र भक्कानिएँ। त्यत्तिकैमा उसले बोल्न नसकेर फोन काट्यो।
केही समयपछि पुनः मैले साथीको भाइलाई सम्पर्क गरेर ‘के कारणले उनको भिनाजुको मृत्यु भएको रहेछ’ भनेर बुझ्न खोजेँ। उसले ‘दुई÷चार दिनमा रिपोर्ट आएपछि मात्र आधिकारिक कारण थाहा हुन्छ’ भन्यो। पछि रिपोर्ट आएको र रिपोर्टमा हृदयघात उल्लेख भएको भन्ने जानकारी पाइयो। कम्पनीबाट आधिकारिक जानकारी पाएपछि कम्पनीबाट कागजात तयार पारेर मृतकको शवलाई नेपाल लैजानमा हामी जुट्न खोज्यौँ। तर त्यतिखेर यूएईमा इदको विदाका कारण सम्पूर्ण सरकारी कार्यालयहरू बन्द भएकाले आवश्यक कागजात प्रक्रिया तत्काल पूरा हुन सकेन र मृतकको शव पठाउन २० दिन सम्म शव नेपाल पठाउन सकिएन।
उता मृतकको परिवारमा भने के भएको हो भन्नेबारे विस्तृत जानकारी गराइएको थिएन । श्रीमतीको अवस्था एकदमै नाजुक हुँदै गएको थियो। ईदको बिदापश्चात सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर मृत शरीरलाई नेपाल पठाइयो। वास्तवमै परदेशमा कसैको मृत्यु हुँदा विदेशका नियम कानुन र कागजी प्रक्रियाका ढिलाइका कारण कतिपय अवस्थामा महिनौँ दिन बितिसक्दा पनि विविध कारणले गर्दा समयमा घरपरिवार माझ पार्थिव शरीर पुर्याउन नसक्दा मृत्युसंस्कार गर्न र शोक मनाउन एकदमै कठिनाइ हुने गरेको छ।
मृतकको परिवारमा बुबा, आमा, भाईबुहारी, एक बहिनी, श्रीमती र एक छोरी छिन्। उनी परिवाका जेठा छोरा थिए । २०४२ सालमा मोरङ जिल्लामा उनी जन्मेका थिए। उनको पहिलो वैदेशिक यात्रा कतारबाट सुरू भएको थियो। करिब दुई वर्षजतिको कतारको वैदेशिक रोजगारीपछि २०१४ तिर उनी एक सेक्युरीटी कम्पनीमा काम गर्न यूएई आएका थिए। यूएई आएर २–२ वर्षमा विदामा घर गएर परिवारसँग भेटघाट गरेर बिदा मनाएर फर्किएका थिए।
अन्तिम पटक उनी कोभिड–१९ को महामारी फैलनु अघि २०१९ मा घर गएर युएइ आएका थिए। परिवारसँगको अन्तिम मिलन उनका लागी त्यति नै रहेछ। कोभिड– १९ को महामारी सामान्य भएपछि मात्र घर जाने उनको सोचाइ रहेछ। तर पुरानो कम्पनी छाडेर केही महिना अघि नयाँ कम्पनी जोइन गरेकाले घर जाने चाहनालाई थाति राखेर बसेका रहेछन्। तर यसै बीचमा ३७ वर्षको उमेरमै आफन्त र परिवारलाई छाडेर उनी यस संसारबाट बिदा भए।
उनले कहिलेकाही श्रीमतीसँग फोनमा भन्ने गर्दा रहेछन्, ‘यदि मलाई केही भइहाल्यो भने तिमी के गरेर छोरी पाल्छेउ, कसरी पढाउँछौ?’ मध्यम वर्गीय परिवारका उनी आफ्नो वैदेशिक रोजगारीबाट नै आफ्नी छोरी र श्रीमतीको निम्ति खर्च पठाउने गर्थे। परिवारको आडभरोसा नै उनीमाथि थियो। परिवारको एउटा मियो यूएईमा बिलाएपछि यता घरपरिवार र छोरीको पालन पोषण र शिक्षादिक्षा अब उनको श्रीमतीको काँधमा आएको छ।
खाडी मुलुक प्रवासी कामदारहरुका लागि गर्मी मौसममा सबैभन्दा बढी तापक्रम हुने ठाउँमा पर्छ। त्यसैले यहाँका कतिपय कामदारहरु प्रायः हृदयघातको जोखिममा पर्छन्। सन् २०२२ मार्चमा मानव अधिकार संगठनहरूको अन्तर्राष्ट्रिय गठबन्धनले जारी गरेको प्रतिवेदनले कबेत, बहराइन, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र ओमानमा दक्षिण र दक्षिण पूर्वी एसियाका करिब १० हजार आप्रवासी कामदारहरुको (वार्षिक रूपमा हो कि अरु नै? )मृत्यु हुने गरेको देखाएको थियो । ‘तीमध्ये आधाभन्दा बढीको मृत्युको कारण प्रष्ट खुलाइएको छैन,’ प्रतिवेदनमा भनिएको छ।