
झापाका रमेश शर्मा यति बेला मलेसियाको क्वालालम्पुरमा छन् । उनी करिब तिन महिना अघि मात्र मलेसिया पुगेका हुन । उनलाई गेन्टिङ हाइल्याण्ड भन्ने स्थानमा रहेको होटेलमा सरसफाइ (क्लिनर्स) कामका लागी लगिएको हो । तर अझैसम्म काम मिलेको छैन । यसरी काम नपाउने उनी मात्र होइनन्, अरू धेरै नेपाली र बंगलादेशी कामदारहरू पनि छन् ।
यसरी विदेशमा काम गर्न आएर समस्यामा पर्दा झनै सकस हुने रहेछ । "करिब तीन महिनादेखि हामी त समस्यामा पर्यौं –पर्यौं हाम्रो परिवारका हरेक सदस्यलाई पनि उस्तै तनाव छ," शर्मा भन्छन्, "यस्तो तनाव त शत्रुलाई पनि नपरोस् ।" उनी थप्छन्, "सुरुमा त के गर्न, के नगर्ने भनेजस्तो भयो, तर बिस्तारै म मात्र होइन, अरू साथीहरू पनि छन् भन्ने लाग्यो। खाना खाने पैसा दिएपछि अलि सजिलो भयो । हामी सबै साथीहरू अहिले अत्यन्त तनावमा छौँ, किनकि अब कहिलेबाट कस्तो काम मिल्ने हो ? सधैँ यही पीडाले पोलिरहन्छ ।"
सेवा शुल्कबापत म्यानपावरमा २ लाख ७५ हजार नगद, २ पटक मेडिकल, श्रम स्वीकृति, अभिमुखीकरण तालिम अन्य तयारीका लागी पटक–पटक झापा काठमाडौँ आउँदा–जाँदा गरी करिब ३ लाख १५ हजार रुपैयाँ मलेसिया जाने क्रममा खर्च भएको शर्मा बताउँछन् । उनी भन्छन्, "सबै पैसा ऋणमा लिएको थिएँ । अब त्यसको ब्याज अनि साँवा कसरी तिर्ने होला?"
यसरी भाइ मलेसियामा अलपत्र परेपछि कसरी काममा लगाउने वा कानुनी सहयोगमा नेपाल फर्काउने भनेर उनको दाजु उमेश काठमाडौँ आएको पनि महिना दिन काटी सक्यो । म्यानपावर कम्पनी, वैदेशिक रोजगार विभाग, मलेसियामा रहेको नेपाली दूतावास, कम्पनी र मलेसियाको सरकार लगायतसँग लामो छलफलपछि उनीहरूले अब अर्को कम्पनीहरूमा काम गर्न पाउने भनिएको छ ।
उमेश भन्छन्, "तर नयाँ भिसा लगाउन र काम सुरु गर्न अझै समय लाग्ने भनेकाले हाम्रो तनाव अझै कायम छ ।" उनी थप्छन्, "एक त फ्रि भिसा फ्रि टिकटको लागी नेपालमै म्यानपावर र एजेन्ट मिलेर यत्रो पैसा ठगे, अर्को उता पुगेपछि भाइहरूले यति लामो समय हुँदा पनि काम पाएका छैनन्, अनि भाइ जाँदाको ऋण बढेको बढ्यै छ । हामी सबै जना अत्यन्तै तनावमा छौँ ।"
त्यसै गरी मलेसियाको जोहोरबारुमा कामका लागी पुगेका खोटाङका श्रवण राई समस्यामा परेको ४ महिना भई सक्यो । उनलाई नेपालबाट म्यानपावरले ढाँटेर सप्लाइ कम्पनीमा पारेछ । राई मलेसिया पुगेपछि ३ महिना जति त काम मिल्यो, तर अहिले विगत ४ महिना देखि काम नै छैन । उनीसँगै त्यहाँ पुगेको अरू १६ जनाको समस्या पनि उस्तै छ । कम्पनी अनि नेपालको एजेन्टले "पर्ख, कम्पनीले सम्झौता पाएपछि तिमीलाई पनि काम मिल्छ" मात्र भन्छ, तर कहिलेसम्म मिल्ने भन्ने यकिन छैन।
राई भन्छन्, "बस्न त कम्पनीले दिन्छ, लामो समयदेखि काम पनि छैन, अब त खाना खान पनि घरबाट ऋण खोजेर पैसा मगाउन सुरु गरेका छौँ।" २ लाख ९० हजार रुपैयाँ नगद बुझाएर मलेसिया आएका राई र उनका अरू १६ जना साथीहरू यति बेला न काम न दामको अवस्थामा छन्। राई भन्छन्, "यस्तो पीडामा रहँदाको अवस्थालाई शब्दमा त्यक्त गर्न सकिँदो रहेनछ।"
राई थप्छन्, "मलेसिया आएको करिब ७ महिना हुँदा पनि यहाँ आउँदा लागेको खर्चको ऋण तिर्न सुरु गर्न सकेको छैन । ब्याजको पनि स्याज भयो, अब कसरी ऋण तिर्ने होला ?"
भोजपुरका सुनिल बुढाथोकी यति बेला साउदी अरबमा छन् । उनी त्यहाँ पुगेको ९ महिना भयो । तर विगत ५ महिना देखी उनको काम पनि छैन र तलब पनि आउँदैन । उनी भन्छन्, "मसँगै अन्य २३ जना साथीहरू पनि छौँ । हामी नेपालबाट एकै पटक उडेका हौं । हामीले पटक–पटक हामीलाई पठाउने म्यानपावर कम्पनीलाई काम नपाएको र तलब नपाएको बारे जानकारी गरायौँ । कम्पनीले सम्झौता सकिएर काम नमिलेको, छिट्टै काम मिल्छ भन्छ भन्यो। म्यानपावरले पनि पर्खिन मात्र भन्छ", बुढाथोकी भन्छन्, "साउदीको नेपाली दूतावासमा फोन गर्दा पनि हामी कम्पनीलाई फोन गर्दिन्छौँ मात्र भन्छ । अब के गर्ने होला।"
आफ्नो पीडा सुनाउँदै भन्छन्, "आएको ऋण पनि हामीले तिर्न सकेनौँ, कमाउने त कुरा छाडौँ । अहिले खाना खान पनि समस्या परिरहेको छ । हामी यसरी विदेशमा बिना काम बस्दा त डबल तनाव हुने रहेछ । घरमा त्यस्तै तनाव यता त्यस्तै ।" बुढाथोकी र उनका साथीहरू नेपाल फर्कन चाहन्छन् तर फर्कनको लागी म्यानपावरले कुनै सहयोग गर्न सक्दिनँ भन्छ । यता कम्पनीले घर जान्छौँ भन्दा १० हजार रियाल (करिब ३ लाख ५० हजार नेरु) प्रति व्यक्ति उल्टै माग्छ । खाना खाने पैसा त छैन, यत्रो पैसा कहाँबाट ल्याउनु ? हामी सबै तनावमा छौँ, बसौँ काम र दाम छैन, घर फर्कौँ उल्टो पैसा माग्छ।"
यता वैदेशिक रोजगारीमा जाँदा समस्यामा परेमा सहयोग गर्ने वैदेशिक रोजगार विभाग भने यस्ता समस्यामा परेका श्रमिकहरू वा तिनीहरूका परिवार मार्फत यस्ता मुद्दाहरू आएमा तत्काल सहयोग गर्ने बताउँछ ।
विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी भन्नुहुन्छ, "पछिल्ला समय विशेष गरी मलेसिया र साउदी अरबमा गएका कामदारहरू विविध कारणले समस्यामा पर्ने क्रम बढेको छ । हामीसँग आएका गुनासाहरूमा ठ्याक्कै यस्तै प्रकारका र यो देशबाट यति गुनासाहरू आए भन्ने यकिन तथ्याङ्क भने छैन । तर दैनिक रूपमा हामीलाई सम्बन्धित देशहरूमा रहेको दूतावासमार्फत, यहाँ विभागमा कामदारका परिवार वा आफन्त मार्फत गुनासाहरू आउने गरेका छन् । हामीले त्यस्ता श्रमिकहरू बिचल्लीमै परेका उजुरीहरूलाई विशेष चासोका साथ सहयोग गर्ने गरेका छौँ र आवश्यक परेमा बोर्डसँग सहकार्य गरेर उद्धार समेत गर्ने गरेका छौँ ।"