
कामदारहरू आफ्नो कम्पनीको भिसामा ल्याउने अनि कामका लागि भने अर्को कम्पनीमा पठाउने कम्पनीलाई सप्लाइ कम्पनी भनिन्छ । अझ सोझो भाषामा कामदार सप्लाइ गर्ने रिक्रुटमेन्ट कम्पनी (बिचौलिया) लाई नै सप्लाइ कम्पनी भनेर बुझ्न सकिन्छ ।
रोजगारदाता नै निश्चित नगरी पहिले कुनै देशबाट कामदार लैजाने र गन्तव्य मुलुक पुगेपछि अलपत्र पार्ने क्रम निकै बढेको भन्दै २०७३ साल मङ्सिरमा नेपाल सरकारले साउदी अरबमा सप्लाइ कम्पनीका लागी श्रम स्वीकृति नै बन्द गरेको थियो । केही समय पछि नै म्यानपावर व्यवसायीको अडानपछि सो प्रतिबन्ध फुकुवा गरियो । अहिले पनि गन्तव्य मुलुकमा कामदार पुगेपछि एजेन्ट सप्लाइ कम्पनीहरूले धेरै कामदारलाई जोखिमपूर्ण र अप्ठेरो काममा लगाउने क्रम निकै बढ्दो छ । कतिले काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट नै भागिरहेको गुनासा दिनदिनै बढिरहेका छन् ।
जनकपुरका रमण मुखिया यति बेला मलेसियामा काम र पारिश्रमिक नपाएर समस्यामा परिरहनुभएको छ। प्रति व्यक्ति २ लाख १० हजार रुपैयाँ एजेन्टलाई बुझाएर ६ महिना अघि मात्र त्यहाँ पुग्नु भएका मुखिया र उनका अन्य १८ जना नेपाली सहकर्मी यति बेला खाना खान पनि घरबाट पैसा मगाउनु पर्ने स्थितिमा हुनुहुन्छ ।
ग्लब्स (पंजा) निर्माणसम्बन्धी कम्पनी भनेर त्यहाँ पुर्याइएका मध्ये केहीले ३ महिना देखि त केहीले ५ महिना देखि काम पाएका छैनन् । मुखिया भन्नु हुन्छ ‘ हामीलाई मलेसियाको तामादेसा भन्ने ठाउँको सप्लाइ कम्पनीमा पारिएछ । नेपालमा म्यानपावरले दिएको 'अफर लेटर' अनुसारका तलब दिने कम्पनी रहेनछ । अहिले एजेन्टलाई काम नभएको र खाना खान समेत समस्या भएको बताउँदा कम्पनीको धेरै कन्ट्रयाक्ट सकिएको र नयाँ कन्ट्रयाक्ट पाएपछि काम सुरु हुने बताउँछ। म लगायत अरू ६ जनालाई सुरुको २ महिना अर्को कम्पनीमा कामका लागि पठाएको थियो । त्यहाँको काम सकिएपछि ४ महिना देखि हामीले काम र दाम पाएका छैनौँ।'
मुखिया थप्नुहुन्छ ‘हामी क्वालालाम्पुरमा रहेको नेपाली दूतावास पुग्न यहाँबाट धेरै टाढा पर्छ, त्यहाँ जाने आउने पैसाले १५ दिन खान पुग्छ । इमेल र फोन मार्फत भने धेरै पटक गुनासो गर्यौँ तर दूतावास कर्मचारी जहिले पनि हामी बुझ्दैछौं मात्र भन्नु हुन्छ । काकालाई भनेर काठमाडौँको वैदेशिक रोजगार विभागमा उजुरी गरेको २ हप्ता नाघ्न थाल्यो तर अझै कुनै सुनुवाइ भएको छैन ।'
उनी भन्छन्, 'उता एजेन्टसँग कुरा राख्दा पर्खिनु मात्र भन्छन्, अहिले त फोन पनि हतपत उठाउँदैनन् । घरमा ऋणको व्याज बढेको बढ्यै छ, बुवा–आमा, श्रीमती र बच्चाहरूलाई कति तनाव दिनु ! यता ४ महिना देखि काम र दाम दुवै छैन । पहिले २ महिना सप्लाइ कम्पनीमार्फत काम गर्दा पनि सम्झौता पत्रमा भनिए जस्तो २ हजार रिंगेट प्रति महिना तलब पाइएन, जम्मा १३ सय महिनाको दिएको थियो, त्यही पनि सकियो । अब के गर्ने होला?'
साउदी अरबमा भने अनुसारको काम र दाम नपाएपछि दूतावासको सहयोगमा 'एक्जिट पर्मिट' लिएर नेपाल फर्कनु भएका सुनसरीका श्याम सुन्दर लावतीको वैदेशिक यात्रा कठिन बन्यो । करिब ७ महिना पहिले लावती लगायत ३४ जना नेपाली श्रमिकहरूलाई फ्याक्ट्री वर्कर (प्याकेजिङ) कामका लागी साउदी पुर्याइएको थियो । त्यसमध्ये लावतीसहित १४ जना प्याकेजिङ मेसिन अपरेटर हुनुहुन्थ्यो। । गल्फ रिटर्नलाइ मात्र लगिएकोले उहाँहरू सबै जना यो भन्दा पहिले अन्य मुलुकमा र केही व्यक्ति भने साउदीमै काम गरेर फर्किएका अनुभवी हुनुहुन्थ्यो । 'कम्पनीकै प्रतिनिधिले अन्तरवार्ता लिएको र तलब पनि राम्रो अफर गरेकाले सबै जना खुसी नै थियौँ,' आफ्नै टिकटमा मार्चको ६ तारिक नेपाल आइपुगेका लावती भन्छन्, ‘लामो समय त्यही काम कतारमा गरेकाले त्यस्तै होला भन्ने सोचेर गइयो, तर त्यहाँ पुगेपछिको अवस्था सोचेभन्दा ठ्याक्कै उल्टो भयो ।'
उनले थपे, ‘पहिलो कुरो त कम्पनी सप्लाइ परेछ । कम्पनीको आफ्नै काम (प्रोडक्सन) नहुनाले कम्पनीले त्यहाँको अन्य ठूला कम्पनीमा हामीलाई पठाउने रहेछ । दोस्रो कुरा, कामको कुनै निश्चितता र यही काम भन्ने नहुँदो रहेछ । हामीलाई १५–२० दिन एउटा कम्पनी १०–१२ दिन अर्को कम्पनी फरक–फरक काम (लेबर काम) मा लगाउने रहेछ । सुरु–सुरुमा हामी आएको प्रोजेक्ट सुरु नभएसम्म काम गर्न कम्पनीले अनुरोध गर्यो । हामीले मान्यौँ तर पछि त्यस्तै काम पनि छुट्यो । साउदी गए देखि नै भने जस्तो काम नमिलेपछि एजेन्टले फोन उठाउनै छाड्यो । कम्पनीले काम र दाम पनि नदिने अनि घर जान पनि नदिने गर्दा हामी ट्र्यापमा पर्यौं । नेपालमा परिवारहरूले विभागमा उजुरी गरे, उता हामीले दूतावास गुहार्यौं । बल्ल बल्ल अनेक हन्डर खाँदै देश फर्किन पायौँ ।
वैदेशिक रोजगार विभागमा म्यानपावर र एजेन्टबिरुद्ध सामूहिक मुद्दा दायर गरेको हप्ता दिनसम्म कुनै जानकारी नआएपछि अवस्था बुझ्न सुवेदी छिट्टै पैसा र क्षतिपूर्ति पाउनेमा आशावादी हुनुहुन्न । उहाँ थप्नु हुन्छ ‘म्यानपावर गयो भने एजेन्टहरूले उल्टो हामीलाई गाली र धम्की दिन्छन्, विभाग आयो हामी गर्दैछौं मात्र भन्नु हुन्छ । आजचाहिँ विभागको हाकिमलाई नै भेटेर जाने हो ।'
यता कुवेतबाट एक महिना पहिले फर्किएकी काभ्रेकी मिना पौडेल र साथीहरूको पिडा उस्तै छ । उनी लगायत अन्य ८ जना महिला श्रमिकहरू कुवेत पुगेको १९ दिनमै नेपाल फर्किनु पर्यो । होटेलको इन्डोर क्लिनीङ भनेर लगिएकोमा त्यस्तो कुनै काम दिइएन । कुवेत पुगेकै भोलि पल्टबाट काममा पठाइए पनि उनीहरूलाई होटेलको साटो सुपर मार्केट क्लिनिङमा लगाइयो । ९ घण्टा प्रति दिन काम गर्न राजी भएर लगिए पनि घटीमा १२ घण्टा काम गर्नु पर्ने भयो ।
मिना भन्नुहुन्छ ‘हामी सबैको काम सपिङ सेन्टरको ट्वाइलेट र मल बाहिर-भित्र हिँड्ने बाटो र गार्डेनहरू सफा गर्न पर्यो । होटेलको इन्डोर काम, ९ घण्टा दिनको, टिप्स अनि होटेल भित्रै खाना भनिएकोमा त्यस्तो केही पनि भएन । प्रायः बाहिरकै काम, खाना नि छैन, पानीसमेत किन्नु पर्ने अनि मुख्य कुरा, काम भने १२ घण्टा । हामीले भनेजस्तो काम र दाम नभए पछि म्यानपावरसँग धेरै अनुरोध गरेपछि हामीलाई फिर्ता त गरियो, तर पहिले तिरिएको १ लाख ७८ फिर्ता गर्नका लागि विभागमा उजुरी दिन आएका हौँ ।’
अहिले सप्लाइ कम्पनीको समस्या बढेको छ, त्यसैले युएई र कतारका राइडर तथा ट्याक्सी ड्राइभर भिसाका लागी श्रम रोकिएको हो..उमाकान्त आचार्य–महानिर्देशक (वैदेशिक रोजगार विभाग)
अहिले सप्लाइ कम्पनीको समस्या बढेको र विभागमा यस्ता खालका उजुरी पनि बढेको विभागका महानिर्देशक उमाकान्त आचार्य बताउनु हुन्छ, ‘खास गरी पछिल्ला केही महिनामा युएई र कतारमा राइडर र ट्याक्सी ड्राइभर भिसामा जाने कामदारहरूको समस्या बढेकाले हामीले त्यस क्याटगोरीमा जानेहरूका लागी फागुन ८, २०७९ (फेब्रुअरी २०,२०२३) बाट सम्बन्धित दूतावासहरूलाई माग प्रमाणित नगर्न र यहाँबाट श्रम स्वीकृति दिन पनि बन्द गरेका छौं ।’
आचार्य भन्नुहुन्छ, ‘विशेष गरी कन्ट्याक्ट्रिङ, इन्जिनीयरीङ, क्लिनिङ, सेक्युरिटीलगायत फेसिलीटि म्यानेजमेन्टमा काम गर्ने कम्पनीहरूमा जाने नेपाली कामदारहरूलाई बढी समस्या आउने गरेको देखिन्छ । यस्ता कामका लागी जाने श्रमिकहरूले यहाँ भने अनुसारको काम, सेवा–सुविधा र पारिश्रमिक समेत नपाउने गुनासो आउने गरेका छन् ।’ आचार्यका अनुसार सम्बन्धित मुलुकमा रहेका दूतावासहरूलाई माग प्रमाणीकरण अघि नै कम्पनीको पृष्ठभूमि, बस्ने तथा काम गर्ने स्थान लगायत निरीक्षण गर्न भनिएको छ।
विदेशमा समस्यामा परे कहाँ, कसलाई र कसरी सम्पर्क गर्ने भन्ने प्रश्नमा महानिर्देशक अर्याल भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीलाई सुरक्षित र श्रमिक मैत्री बनाउने क्रममा गन्तव्य मुलुकमा कुनै समस्या परे श्रमिकहरूले २४ सै घण्टा विभागको हटलाइन नं–००९७७–९८५१३३४१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ। समस्यामा पर्ने श्रमिकहरूका परिवार, आफन्त वा साथीभाइ जो कोहीले पनि आवश्यक कागजात सहित वैदेशिक रोजगार विभागमा उजुरी दिन सक्नु हुनेछ । हामीसँग आएका गुनासा र उजुरीलाई सकेसम्म छिटो र कामदारहरूको हितमा हुने गरी प्रक्रिया अगाडी बढाउने छौं ।'